~कृष्ण प्रसांई ~
ब्रहृमपुत्र नदीकिनारका अविकसित माझी जातिको विषयमा अनुसन्धान र अध्ययन गर्न अष्ट्रेलियाको सिड्नीबाट आएकी सुश्री सूजनले गिलासमा बचेको कक्टेल बियर एकैसासमा घुट्क्याइसकेर भनी – “साँच्चै ! तिमी नेपालीहरू अति नै भाग्यमानी र गौरवान्वित छौ, तिमीहरूका हिमालय श्रृङखंलाहरूले हामीहरूलाई समेत सधैँ लोभ्याउनँछन् । अझै नढाँटी भन्ने हो भने तिमीहरू त र्स्वर्गकै बासिन्दा हौ । हाम्रो देशमा चाहिँ हिमालय पनि किन सत्र हजार फीट मात्र उचाइ लिएर उभिएका होलान् नि !” रक्सीको नशामा रन्किएर ऊ अझै के के बकिरहेकी हुन्छे । हुन पनि ऊ नेपाल भनेपछि हुरुक्कै हुन्थी । मेरो पहिलो परिचयमै, नेपाल भन्ने वित्तिकै श्रद्धाका आँखा बिच्छ्याएर ऊ मसँग मिल्न आएकी थिई । हाम्रा प्राकृतिका सम्पदाको प्रशंसा गर्दै हिमालय पहाड र प्रकृतिका सुन्दर छटाहरूले आफ्नो मन चुम्बकले झैँ अचाक्ली तान्छ भन्ने कुरो मसँगको पहिलो भेटमै उसले फलाकेकी थिई । स्केटिङ गर्ने र फोटो खिच्ने रुचि भएकी सूजन गत चार महिना अघिको गर्मी मौसममा सगरमाथा हिमालको छातीलाई टेकेर स्केटिङ गर्न नपाए पनि प्रशस्त तस्वीरहरू खिचेर पुनः गौहाटी फर्केको थिई ।
हिमालय पैदल यात्राको विवरण म सामु सुनाउँदा ऊ नहिचकिचाई क्रमशः भनिरहेकी हुन्छे –
“पहिला तिमीहरूका हिमालयको वातावरण के कस्तो थियो थाहा छैन तर आज भोलि नेपालका हिमालय पहाडहरूमा निजी क्षेत्रका व्यापारिक निकायहरूले मनोखुसीको दरभाउमा पर्यटकलाई पैदल यात्रा गराउने भएकाले व्यक्तिगत रुपमा ज्यादा फाइदा उठाए पनि सरसफाइमा भने ती सम्बन्धित निकायले ठ्याम्मै ध्यान दिएका छैनन् । खानेकुरा खाएर जताततै मिल्काइएका टिनका बट्टाहरू, रद्दी कागजका खोल र कार्टुन र मादक पदार्थ सेवन गरेर यत्रतत्र छोडिएका बोतलहरूले हिमालय पहाड मैलो र फोहोर बनेर हिमश्रृङखंलाको इज्जतमै आघात पुग्न लागेको छ । स्वच्छ हिउँका टाकुराहरूमा त्यस्ता फोहोरमैलाका कत्ला जमेर हिमालयको वातावरण नै दूषित हुन पुगेको छ । त्यस्तै हो भने ती कञ्चन पर्वतमालामा यात्रा गर्ने पर्यटकले अब चाँडै रोगको शिकार हनुपर्ने स्थिति आउन लागेको छ । मैले आफ्नो नेपाल यात्रामा यस्ता केही नराम्राहरू पनि देखेकी छु ।”
उसमा चढ्दै गएको नशा अझ प्रबल रुपमा उत्रिदै थियो । कुइरेनीहरूको स्वभाव अर्काको आलोचनाभन्दा प्रशंसा गर्नु र ज्यादा औपचारिकता देखाउनु रहे पनि ऊ अहिले सत्य र यथार्थ कुरा ओकलिरहेकी थिई । डिनरको लागि आफ्नो अस्थायी पाहुना कोठामा बोलाएर, आगन्तुकभन्दा आफू त्यति सारो पिउँछे भन्ने मैले सोच्नै सकेको थिइनँ ।
रात निक्कै छिप्पिसकेको हुन्छ । उसेले कसै गरी मलाई आफ्नो कोठाबाट उम्कन दिएकी हुन्न । कैयौँ पटक पछिको छुट्टनिे बेलाको अन्तिम निम्तोलाई स्वीकार गरी उसलाई अपमान गर्नुमा पनि मैले एउटा मित्रघात सम्झेको हुन्छु, त्यसमा पनि कुइरेनीहरू स्वभावैले हठ र जिद्दी स्वभावका हुने गर्छन् ।
‘अर्को पेग थपौँ कि? ‘ ऊ रातारात आँख झिम्क्याउँदै मसँग प्रतिक्रिया खोजिरहेकी हुन्छे । ‘हुन्छ’ उसको अनुरोधलाई भित्रि तहले नचाहँदा नचाहँदै अनायासै मेरो बोली फुस्किन्छ । मेरो फुटिसकेको बोलीमा द्वन्द्व छट्पटाउन थाल्छ र म आफैप्रति एक किसिमको रिस उठेर आउँछ ।
मसँगै टाँस्सिएर बसेकी सूजनको जीउबाट एककिसिमको मीठो सुगन्ध आइरहेको हुन्छ । कोठाको एकान्त वातावरणलाई अझ रसिलो र उत्ताउलो बनाउँदै बाहिरको प्रतिकूलतालाई छेडेर पारिजात फूलको बास्ना बोकेर झ्यालबाट आएको चिसो हावाले उसको फुकेको पत्रे कपाललाई घरि घरि मेरो अनुहारैभरि छरिदिन्छ । संकोच, लाज र आत्महीनताको तात्तातो रगत मेरा शरीरैभरि छचल्काएर मेरो मुटु तीव्र गतिमा चलिरहन्छ ।
बिहान सूर्यका ताता किरणहरू उसको कोठाका खुला झ्यालहरूबाट छिरेर उसका पोटिला गालामा लागिसक्दा पनि ऊ उठेकी हुन्न । उसले राति फेरेको गाउन घुँडाभन्दा केही माथि सरेर उसका पुष्ट र लोभलाग्दा पिँडुलाहरूको आलो प्रदर्शन गराइरहेको हुन्छ । उसका सेता पिँडुलाहरूलाई निकैबेरसम्म अनिदा आँखाहरूले हेरेर म बिस्तारै तिनीहरूमाथि छेउमै रहेको उसैको पातलो शलले ढाकिदिन्छु । बिहानका कर्महरू सकेर नुहाउने कोठाबाट निस्केर उसको सुत्नेकोठामा म पुग्दा समेत ऊ उठेकी हुन्न । रक्सीको गहिरो नशाले सायद उसलाई आज स्वदेशिनर्ुपर्छ भन्ने कुराको सम्झना नगराएको हुनसक्छ ।
प्रवाशी नेपालीहरूको जीवन स्थिति बुझ्न स्वयंसेवकको रुपमा भाारतको ‘आसाम र मेघालय घुमेर गौहाटी पुगेको म उसको कोठानजीकैको पाहुनागृहमा बस्ने गर्छु । केही दिनअघिको मेरो शिलाङ भ्रमणमा पनि त ऊ सहभागी भएर यात्रालाई निक्कै रमाइलो पारेकी थिई । दिवासेवाका पांग्राहरूले सम्म मैदानलाई छोडेर उकालो लाग्नुअघि बाटामा बेआकार भएर लमतन्न निदाएका कैयौँ ठूला तालहरूले आकाशमा देखिने बादलको अनुहारहरूको तस्वीर जस्ताको तस्तै उतारिरहेका थिए ।
मेघालय राज्य पारिवहन सेवाको झ्यालछेउ बसेकी सूजन तालैमा झरुँला झैँ गरेर तिनीहरूको सौर्न्दर्य आफूमा निलिरहेकी थिई । नीलो तालको गाढा सौर्न्दर्यलाई निकैबेर हेरेपछि सूजनले वाक्य फुटाइथी-
“हेरन मोहन, शदियौँ पहिलेदेखि कैयौँ डाँडाहरूका बीचमा निदाएर रहेका यी तालहरू ती पर्यटकको अभावमा निसासिएका जस्तै छन् नि – फेरि यिनीहरूका छेउछाउमा कुनै गतिला होटलहरू पनि देखिदैनन् नि त -”
मैले कुरो घुमाउँदै प्रतिक्रिया पोखेथेँ ।
“प्यारी सूजन, यी सबै तिमीजस्ता निर्दोष आँखाहरू पालेका पर्यटकलाई पल्काउन र लोभ्याउन त्यसै त्यसै रोगाएर बसेका छन् । लाग्छ, यिनीहरू दृश्यका लागि मात्र हुन्, आँखासँग मित्यारी लगाउन मात्र तेर्सिएका छन्, नत्र त त्यहाँ बेगनास, रारा, फेवा र शिलाङको यार्ड लेक झैँ भाडाका मोटरबोटहरू राखिनुपर्ने, डुङ्गाहरू यत्रतत्र चिप्ल्याइनुपर्ने र यिनीहरूका सतहमाथि राजहंसका बथानहरू पौडी खेल्नुपर्ने अनि खुट्टै राख्न नपाउने गरी तन्देरी जोडीका जोडी युवा युवतीहरूको लम्बिइँदै गएका भीडहरू नअटाएर किनारै भरि घुइँचो हुनुपर्ने !”
मेरो दाहिने घुँडाको अग्रभागलाई पेन्टबाहिरबाट चिमोट्दै उसले भनेकी थिई- “व्यङग्य हान्न तिमीभन्दा सिपालु मान्छे मैले कोही देखिन बुझ्यौ ?”
कुरै कुरामा तालको सम्पूर्ण दृश्यलाई छिचोलेर हामी गौहाटी फर्किएका थियौँ ।
त्यस भन्दा पनि अघिल्लो एउटा यात्राको सम्झना अझसम्म ताजा भएर मलाई घच्घच्याउन आइरहन्छ । गौहाटीबाट स्टीमरमा चढेर तेजपुर जानलाग्दा ब्रहृमपुत्रको किनारी भागमा सोसहरूले डुबुल्की मारेको, माझीहरूले डुङ्गा खियाउँदै बेत, बाँस र खरका भारीहरू वारिपारि ओसारेको देख्दा उत्ताउलिदै उसले आफ्नो जन्मस्थल सिड्नीको बारेमा प्रकाश पारेकी थिई( “साठी प्रतिशतभन्दा बढी जनतालाई आफ्ना लालाबालासरह पिँठ्यु र आफ्नो काँधमा खेलाएर बाँचेका अष्ट्रेलियाली सहरहरूलाई प्रायः जसो समुन्द्रले आफ्नै किनारामा उभ्याएका छन् । हाम्रा पर्ुखाहरूको रगत र पसिनाले निर्मित अहिलेको अष्ट्रेलिया धेरै उद्योगधन्दा र पशुपालनको लागि प्रमुख रहेको छ । त्यसमा पनि अत्यन्तै रमाइलो र प्राकृतिक गरिमाले परिपर्ूण्ा सिड्नी सहरको किनारी इलाकामा सर्ूयास्त हुने समयमा मोटरबोटहरू कुदाउन औधिनै मजा आउँछ क्या !
कुराहरूको पहाड चुल्याएर ऊ आफ्नै देशलाई माथि उकासिरहेकी थिई । म उसको ध्यान अरुतिरै तान्न खोजिरहेको थिएँ । स्टीमर पानीको पेटलाई आफ्ना प्रवल पखेटाले चिरेर अघि बढिरहेको थियो । केही क्षणसम्म हाम्रो मौन तोडिएको थिएन ।
धेरै टाढा फाँटमा एकत्र भएर चरिरहेका गाईका बथानहरूलाई देखाउँदै ऊ पुनः अघि बढी-
“उ त्यस्तै बथानका बथान पशुहरू अष्ट्रेलियाको मैदानी फाँटमा त्यसरी नै चर्ने गर्छन्, तर मैले त्रि्रो देशका पहाडी इलाकाको भ्रमणमा कहिले पनि नेपाली गोठालाहरूलाई त्यस्तो फाँटमा देख्ने मौका पाइनँ । गाई चराउने गौचरनको अभावले गर्दा त्यहाँका कृषकहरूलाई निकै मुश्किल परेको होला, हैन ?”
‘हो, तिम्रो देशका जस्ता ठूल्ठूला गौचरनका फाँटहरू हाम्रो देशमा छँदै छैनन् भने पनि हुन्छ । भएन, हजारौँ भेडाहरूलाई एकतत्र पारेर हेर्न सक्ने हेलिकप्टरहरू नै हामीलाई कसरी प्राप्त हुन्थे र सूजन – तिमीहरूको जस्तो अथाह जलराशिले घेरि एका पर्थ, डार्बिन, ब्रिसवेन र सिड्नी जस्ता ठूला सहरहरू पनि खोई कहाँ छन् र हामीहरूसँग – जसको सहायताले हामी सामुन्द्रिक देशहरूसँग हाम्रो मित्रता अझ राम्ररी बढाउन सकौँ ! हाम्रा पोखरा, खप्तड, तानसेन र इलामे प्रकृतिका सुन्दर र आकर्ष छटाहरूले मान्छेको मन मात्र लोभ्याउने गर्छन् । सौर्न्दर्य पालेका आफ्ना शरीरहरूको प्रदर्शन गरेर तिनीहरूले मान्छेको मनलाई हुरुक्क हुरुक्क पार्ने मात्र गर्छन्, अनि आफ्नो रुप अरुका आँखाभरि बिच्छ्याएर कहिल्यै नरित्तिनेगरी मोहनी लगाँछन् ।”
हामीलाई बोक्ने स्टीमर पहाड छेउकै जलराशिलाई काटेर हिँडिरहेको थियो । स्टीमर भित्रैबाट पहाड देखिने गरी ऊ मेरा तस्वीरहरू खिचिदिन्छे, उसका तस्वीरहरू खिचिमाग्छे र हामी दुवैका तस्वीरहरू खिचिदिनकालागि छेउमै बसेकी आसामे विशाखालाई अनुरोध गर्छे ।
“हिमालय पर्वतमालामा त बहुमूल्य रत्नहरू पनि पाइन्छन् अरे नि हो -” मैले भन्नै चाहेर पनि बिर्सिरहेको कुरा एकाएक ऊ उक्काउँछे ।
“अँ, अति नै मूल्यावान् र असंख्य उच्चकोटीका रत्नहरू हिमालयको गर्भमै प्राकृतिक तरीकाले निर्माण भएर हिउँको पग्लाइसँगै क्रमशः तल झरेर ठूल्ठूला नदीहरूबाट बग्दै सागरमा मिल्न पुग्दछन् रे र प्रकृतिका उच्चतम् महत्व राख्ने ती बहुमूल्य रत्नहरूलाई अध्यात्म र भौतिकवादी दुवैले आ-आफ्नै तर्क र प्रमाणहरू दिएर मान्छेका गुणकारी वस्तु मानेका छन् ।
‘प्यारी सूजन, दिक्क मान्दिनौँ भने म तिमीलाई हाम्रो धरातल र परिवेश अनुसारको हिन्दू धर्मसम्बन्धी पनि केही कुरा भन्न चाहन्छु । हाम्रो जीवन निर्वाहको आधार नै प्रकृतिका समस्त स्रोतहरू भएकाले हामी हाम्रा डाँडा, पानी, घाम, वृक्ष र वायुलाईर् इश्वरका रुपमा पूजा गछौँ । तिनीहरूका नाउँलाई विभिन्न देवीदवताका प्रतिक ठानेर फूल, पाती र अक्षता चढाउँछौँ र हाम्रा शान्तिकामी उपदेशहरूलाई कोसेली बनाएर विश्वभरि नै शान्तिका शन्देशहरू छर्क हाम्रा शान्तिप्रिय हिन्दूदेवता महादेव पनि हिमालय इलाकामै बस्ने शान्तिप्रिय किरात देवता हुन् । उनले हिमालय पर्वतकी छोरी पार्वतीलाई नै आफ्नी श्रीमती बनाएका थिए रे !’
ऊ निकै चाख मानेर मेरा कुरा सुन्नमा मस्त थिई । म आफ्ना कुराहरू यसरी नै व्यक्त गरिरहेको थिएँ । तेजपुरको बन्दरगाह आइपुगेको सूचना हामीहरूले पाएका हुन्छौँ । बन्दरगाहबाट केही क्षण पैदलयात्रा गरेर तेजपुरको सहरी इलाकामा पुगिन्जेल उसले आफ्नो राष्ट्रकै प्रसंगलाई गफमा ओकलेकी थिई । त्यति बेला उसले आफूलाई कट्टर राष्ट्रवादी बनाई, उसको राष्ट्रियताको जल्दो बल्दो पाठसमेत पढाइ ।
मेरो देशको राष्ट्रियताको बारेमा अरु पनि केही कुरा सोध्नुअघि उसले भनेकी थिई- ‘मेरो देशमा सप्रनु भनेको राष्ट्रियताको पालना गर्नु हो, राष्ट्रको उत्थानमा सहभागी भएर राष्ट्रलाई गतिलो योगदान दिनु हो र सम्पूर्ण राष्ट्रलाई प्रगतिको पथमा माथि माथि उचाल्नु हो ।’
उसका प्रत्येक भनाइले त्यस समय म भित्र रहेको आत्महीनताको विरुवालाई मल र पानी मिलेको थियो र त्यो म स्वयंमलाई दिइरहेको व्यङग्य झैँ लागेथ्यो । उसका प्रत्येक प्रश्नको उत्तर दिनुअघि मैले उसको लहलहाउँदो र मौलाउँदो राष्ट्रियताप्रति विचारेथेँ । अनि ऊ जस्तै विदेशीहरूले सम्झेको नेपाल हेरेथेँ । त्यसबेला मलाई एउटा अथाह पीडाको महसूस भएथ्यो । केही क्षणअघि छाँटेका सम्पूर्ण भाषणहरू मैले विनासित्ती पुर्याउन खेाजेको औपचारिकता जस्तै लागेथ्यो । तब कसरी भन्नु मैले मेरो देशमा सप्रनु भनेको व्यक्तिगत भवन बनाउनु हो, जसरी भए पनि पैसा कमाउनु हो र ऐस आरामका पछि दगुरेर स्वराष्ट्रलाई नै बिर्सनु हो भनेर –
सम्झँदा सम्झँदै म ब्रहृमपुत्रको किनारमा उफ्रने ती जलप्राणीहरूलाई सम्झिन पुग्छु जसले ब्रहृमपुत्रका पानीको सतहभन्दा निकै माथि उप्रिmएर तेजपुर जानुअघि हाम्रो ध्यान भङ्ग गराएका थिए । उहिले उहिले प्राचीन समयमा पनि यस्तै सोँस र गोहीआकार लिएका छेपारा जातिका ‘डाइनोसोरस’ नाम गरेका अत्यन्त भीमकाय र डरलाग्दा जीवहरू थिए रे । कालक्रमको कुचक्रमा परेर शक्ति र बलको घमण्डले तिनीहरू आफू आफैँमा लडेर मरेका थिए रे र उनीहरूको जिलो नै संसारबाट नाशिएर बेपत्ता भएको रे ।
म पनि अहिले तिनैखाले मान्छे पाल्ने मेरो घरपरिवालाई सम्झिन्छु । ती विचार शुन्य ‘डाइनोसोरस’ झैँ लडेर मासिन खोजिरहेको मेरो संसारलाई सम्झिन्छु र आपसी शक्तिको होडबाजी चलाइरहेका मान्छे मान्छेबीचको षडयन्त्रकारी खेललाई नजीक ल्याउँछु ( कतै तिनीहरूले हाम्रो अस्तित्वलाई डाइनोसोरसको इतिहाँस झैँ पार्ने त होइनन् – उत्तरहरू मेरा मस्तिष्कका कुनाकुनामा हराएर जान्छन् ।
अँ, तेजपुर सहर पुग्ने बित्तिकै हामीहरूले सहरनजीकैको उषा पहाडमा गएर ब्रहृमपुत्र नदीको बीच-भागमा पुगेर डुङ्गाबाटै जाल बिछाएर माछा मार्ने माझीहरूको तस्वीर खिचेका थियौँ, त्यहाँ उर्लने असंख्य छालहरू हेरेर रमाइलो मनाएका थियौँ ।
निधारमा तीनधर्के चन्दन लेपेर टाउकामा टोपी लगाउने कैयौँ प्रवासी नेपालीहरूले ब्रहृमपुत्रको पल्लो किनारको गाउँदेखि वारि सहरको किनारसम्म डुङ्गा खियाउँदै दूध ओसारेको देख्दा प्रवासी नेपालीहरूको बारेमा सूजनले मसँग प्रशस्त जानकारी लिन खोजेकी थिई ।
“गाईको थुनबाट अविरल झर्ने दूधका सिर्काहरूले ढुङ्ग्राहरू भरेर आफ्ना खल्तीमा नोटका बिटाहरू घुसार्ने मीठो सपना देखेर मुङलान भास्सिए पनि नेपालीहरूलाई केही वर्षा आफ्ना स्वदेशी डाँडापाखाहरूले, पुजेका देवीदेउरालीले र लेकमा फुल्ने लालीगुराँसका फूलहरूको मायाले उनीहरूको हंसलाई तान्ने गरेको तथ्यलाई मैले स्पष्ट पारिरहेको थिएँ । ख ! कस्तो चुम्बकीय शक्ति छ हाम्रा निर्जीव पहाडहरूमा – फेरि नेपालीहरूलाई झुरो र चकमक नै मन पर्छ सूजन ! दर्शनढुङगा रगेटेर निकालिएको आगोबाट नै हामीहरू तमाखु सल्काउन रुचाउँछौँ, सरुवाको तेलमा सलेदो हालेर र सल्लाको दियालो सल्काएर नै हामीहरू अँध्यारो भगाउन चाहन्छौँ, न्यानो मनाउन मनपराउँछौँ । यो हाम्रो आदिम सत्यको उजागर हो ।”
‘उषा पहाड’ का टुप्पामा बसेर ब्रहृमपुत्रलाई हेरिहहेको बेला हामीहरूका टाउका माथिबाट सकुनका एक बथान राजहंश उडेका थिए । कैलाश पहाडबाट मानसरोवर ताललाई छिचोल्दै आउने ती राजहंशहरू गंगा र ब्रहृमपुत्रका किनारी भागमा गुड्डी खेल्न र सन्तान जन्माउन आउने गर्छन् रे । त्यस्ता धेरै थरी चराहरू तास्मानिया टापुबाट आकाशमा बिहार गर्न निस्केर धेरै टाढासम्म उडेर पुग्ने गर्छन् रे ।
स्टीमरको यात्रामा तस्वीर खिचिदिने सहयात्री विशाखाले ‘उषा पहाड’को बारेमा धेरै लामो कथा सुनाएकी थिई ( ‘बाणासुर भन्ने राक्षसकी एउटी मात्र सुपुत्री उषालाई श्रीकृष्णका छोरा अनिरुद्धले प्रेमपर्ुवक भगाएर डाँडो कटाउन खोज्दा त्यसको प्रतिरोधमा धेरै ठूलो संघर्ष भएर समस्त तेजपुर खूनैखुनले लेपिएको थियो रे ।
‘माया र यौनका उग्र तिर्खाहरूले पनि मनभित्र भूइँचालो जन्माइदिदो रहेछ । रगतका खोलाहरू बगनउन सक्दो रहेछ अनि देवता र राक्षसबीचका पर्खालहरूलाई पनि सजिलै तोडिदिँदो रहेछ हैन -’
उसले आफ्ना ठूल्ठूला कुण्डल हल्लाउँदै मलाई र्समर्थन जनाएकी थिई ।
‘तिमीलाई रातिको रमाइलोले रन्थन्याएजस्तो छ नि मोहन -’सूजनका तीखा स्वरहरू मेरा कानका पर्दामा ठोक्किन आउँदा म झसंग भएथेँ र मौनतालाई तोडेर अनौठोखाले हाँसो हाँसेको थिएँ ।
बेलुका उसलाई बिदा गर्न लाग्दा एकचोटि फेरि पनि नेपाल आउने कबोल गरेकी सूजनले मागेका माफीहरूले मेरो मन र मस्तिष्क अझैसम्म छटपटाउने गर्छ ।
अन्धकारको गर्भलाई चिरेर गौहाटी रेलवे स्टेशनबाट दक्षिणपूर्वी इलाकातिर बेगिइरहेको यात्रुवाहक रेलगाडीबाट उसले हल्लाएका मायालु हातहरू रेल ओझेल नहुन्जेलसम्म देखिइरहेका हुन्छन् । सधैँ झैँ हावाले उडाउने गरेको उसको कपाल अझ जोडतोडले हल्लिरहेको हुन्छ ।
पाहुना गृहमा पुगिसक्दा समेत रेलगाडीकीक सूजनसँग उडिरहेको मेरो हंसले केही भेउ पाएको हुँदैन । रेल चढ्नुअघि सफल यात्राको कामना गर्दा उसले झारेका आँसुहरू अझैसम्म मेरा दाहिने बाउलाबाट सुकेका हुँदैनन् ।
(श्रोत:- अन्तर्जाल अर्थात internet)