~रामेश्वरी पन्त~
बाहिरबाट हेर्दा यो घर खण्डहर जस्तो लाग्छ, मानौँ वर्षौँदेखि यो खालीखाली छ । चारैतिर अत्यासलाग्दो झाडी र झुम्म परेका रूखहरूको बीचमा ठडिएको यो घरलाई सडकमा ओहोरदोहोर गर्ने जो कोहीले पनि एकपटक पुलुक्क हेरेर जान्छन् । सायद उनीहरूको मनमा पनि यस्तैयस्तै जिज्ञासाहरू उठ्दा हुन् ।
यतिबेला म यो घरको माथिल्लो तलामा पश्चिमपट्टकिो सानो बरण्डामा उभिएर त्यही झाडी नियालिरहेको छु । म प्रायः यसरी नै यहाँ उभिएर यो झाडीको भित्रभित्र आँखा दौडाउँछु, मानौँ यसभित्र मेरो केही अमूल्य चीज हराएको छ ।
झाडीभित्र लुकेको घरको कुरा गरिहालेँ । घर र झाडी दुवैको परिचय पनि गराइहालुँ । झाडी खै केके उमि्रएर झ्याङ्गएिको छ
कुन्नि अनेक थरी रूप र रङ्गका बोटबिरुवाहरू छन् त्यहाँ । ऊ त्यो दक्षिण-पश्चिमको कुनामा यौटा अजङ्गको काफलको रूख झ्याङ्गएिको छ । अलि वर यौटा नास्पातीको बोट लटरम्मै फलेको छ । बोटले धान्न नसकेर कैयौँ हाँगाहरू जमिनतर्फ झुकेका छन् । एक दुई हाँगा त भाँचिएर जमिनमा लडिरहेछन् । कति फल्न सकेको होला आफ्नो क्षमताको पनि विचार गर्नु नि यसो हुन त यसले पनि मेरी आमाले जस्तै सोच्दो हो- ‘भगवान्ले दिएका जति हात थाप्नै पर्यो’ । धन्न मेरी आमा भगवान्ले दिएका जति सबै हात थापेर करिब एक दर्जन सन्तानकी आमा बनेर पनि असी वर्षको उमेेरसम्म ठमठम हिँड्दै हुनुहुन्छ ।
नास्पाती पाक्नै लागेका छन् । थुप्रै चराहरू आएर तिनलाई ठुँगिरहेछन् र रमाउँदै पेट भरेर भुर्रभुर्र उडिरहेछन् । यिनीहरूमध्येकै यौटा ‘बलिष्ट चरो’ काग आएर नास्पाती ठुँग्छ । यति जोडले ठुँग्छ कि, ठुँगाइलाई सहन नसकेर नास्पाती फुत्त भुइँमा र्झछ । एकैछिनमा त्यो झरेको नास्पातीमा कमिलाको हुल जम्मा हुन्छ र रमाइरमाई उनीहरू पेटपूजा गर्न थाल्छन् ।
नास्पातीका रहरलाग्दा दाना देख्दा मलाई पनि खान मन नलागेको कहाँ हो र ? मैले आˆनो इच्छालाई अप्रत्यक्षरूपमा साथीसँग जाहेर गरेँ- ‘तिमीहरू नास्पाती खाँदैनौ कि कसो ? पाकेर सबै चराले खाइसके ‘
‘कसरी खानु ? पहिलो कुरा त त्यो झाडी छिचोलेर नास्पातीको बोटसम्म पुग्नै मुश्किल छ, कसैगरी पुगियो भने पनि घरबेटीले थाहा पाए मारिहाल्छ । कस्तो कञ्जुस बूढो छ भने न आफू खान्छ, न अरूलाई खान दिन्छ ।’
साथीको कुरा सुनेपछि मलाई उसको घरबेटीको बारेमा पनि जान्न मन लाग्यो । घर कम्पाउण्डको मूल गेटैनिर झ्वाम्म परेको असारे फूलको बोट, जसलाई लहरै लहराहरूले छोपिदिएको छ र त्यही बोटलाई आधार बनाएर अर्को यौटा लहरे फूल घरको भित्ताभरि फैलिएर छतसम्मै ढपक्कै ढाकेको छ । मुश्किलले अलिकति भाग मात्र सडकबाट देखिने यस घरको माथिल्लो तलामा मेरो साथी बस्छ । तल भुइँ तल्लामा दुई बूढाबूढी मात्र छन् । बूढो सरकारी सेवाको उच्च पदबाट सेवानिवृत्त भएर पनि उही धाकरवाफमा आफूलाई राख्न खोज्ने पुरानै सोचको मान्छे । छोरो इन्जिनियर र बुहारी डाक्टर अरे । राजधानीभित्रै यहीँ नजिकै जागिर भएर पनि किन वृद्ध बाबुआमालाई एक्लै छोडेर डेरामा बसेका होलान् त ? बूढोको कञ्जुस र कचकचे बानी भएर हो ? अथवा पुस्तान्तरण र आधुनिक जीवनशैलीमा रमाउने चाहनामा बूढाबूढीहरू बाधक अथवा बोझ भएर हो ?
जेसुकै होस्, यो उनीहरूको निजी मामला हो तर यसो भनेर मेरो मन कहाँ मान्छ र ? मेरा पनि त ती बूढाबूढीका जस्तै एक छोरो र एक छोरी छन् । छोराछोरीलाई डाक्टर, इञ्जिनियर बनाउने चाहानाले मैले पनि त राजधानीको यो अत्यासलाग्दो वातावरणलाई आत्मसात् गर्दैछु।
छोरोलाई जन्माएर, हुर्काएर, पढाएर, इञ्जिनियर बनाउँदासम्म उनीहरूले कतिधेरै शारीरिक, मानसिक र भौतिक लगानी गरे होलान् । कति सपना सजाए होलान् त्यो अवधिमा । ‘बूढेसकालको सहारा यही त हो नि’ भन्दै आˆनो जीवनका सारा खुसीहरू उसैमाथि न्यौछावर गरेर भविष्यका सुन्दर सपनाहरू साँचे होलान् । तर खै, ती सपनाहरू कहाँ उडे आज ?
सन्तान भनेको वंश परम्परा धान्नकै लागि मात्र हो भनेर शास्त्रमा भनिएकै छ । यदि वंश धान्नकै लागि मात्र सन्तान चाहिने भए किन मान्छेले यति धेरै आशा गर्छ सन्तानबाट ? र अन्तमा फेरि किन निराश बन्न पुग्छ उनीहरूबाट ? आखिर मेरो हालत पनि त यस्तै होला नि यी बूढाबूढीको जस्तै- बूढोको सहारा बूढी, बूढीको सहारा बूढो ।
मेरो साथीसँग कहिले कहाँं बूढोले आफ्नो पीडा हल्का पार्छ रे भन्छ रे-’छोरोलाई भएभरको पैसा लगानी गरेर इञ्जिनियर गराएँ, बुहारीलाई मैले नै पैसा खर्च गरेर डाक्टर बनाएँ । आज उनीहरूलाई यो घर चाहिएन र बाहिर बस्छन् भने म बूढोलाई मात्र के चाहियो र मैले यो सब झ्याङ्झाडी सफा गर्नु ।’ मानौँ, बूढोले आˆना छोराबुहारीप्रतिको सम्पूर्ण आक्रोश यही झाडीमाथि खन्याएको रहेछ ।
मैले पनि त आˆना छोराछोरीलाई डाक्टर-इञ्जिनियर बनाउने सपना देखिरहेकी छु । आˆनो जीवनको सम्पूर्ण कमाई खर्च गर्नुपर्ने छ मैले उनीहरूमाथि तर भोलि ? उनीहरू डाक्टर-इञ्जिनियर भएपछि त्यही स्तरकासँग बिहे गर्नेछन् । अनि उनीहरूको जीवनशैली फेरिने छ र हामी पुरानो पुस्ताका ठहरिने छौँ । अनि त उही-’बूढोको बूढी, बूढीको बूढा’ । महिना मरेपछि पेन्सन थाप्यो, दिनभर ओछ्यानमा बसेर थोत्रो टिभी हेर्दै अखबारमा आँखा तन्काएर दिन बितायो,
बस् तर सबै छोराछोरी उस्तै त कहाँ होलान् र ? आशा त गर्नै पर्यो नि ।
म अझै पनि सानो बरण्डामा बसेर तल त्यो झाडीलाई हेरिरहेको छु । काफलको बोटनेर झुम्म परेको झाडी छ । त्यो अत्यासलाग्दो झाडीको बीचमा सुन्दर गुलाबका फूलहरू फुलेका छन् । कस्तो अचम्म ! झाडीभित्र गुलाबको बोट देख्न मुश्किल छ र पनि झाडीमाथि फुत्त निस्केर फूलहरू फुलिरहेछन् । फूलको धर्म फुल्नु हो । त्यसैले त अनेक व्यवधानको बीचमा पनि यो फुलिदिन्छ र मुसुक्क मुस्काइदिन्छ यी गुलाबहरूजस्तै ।
साँच्चि ! गुलाबको सौन्दर्य कसलाई मन नपर्ला र ? ऊ त्यो फक्रनै आँटेको कोपिला कस्तरी लजाइरहेछ ! अनि त्यो भर्खर फक्रेको फूल ! आ हा ! त्यसको मादकता !! यहाँसम्म आएर मलाई लठ्याइरहेछ । मेरो नजर घरि कोपिलातिर पुग्छ , घरि फूलतिर । छेवैमा दुईचारवटा फूल ओइलिनै आँटेका छन्, सायद हिजोअस्ति नै फक्रिएका होलान् । केही फूलहरू आधा झरिसकेका देखिन्छन् भने केही त पूर्णरूपले झरेर अस्तित्वविहीन बन्दै भेट्नामा मात्र सीमित छन् ।
ओ हो ! खै कहाँ छ फूलको अस्तित्व ? फुल्नुमा ? फक्रिनुमा ? अथवा कसैलाई लठ्याउनुमा ? फूल आफँैमा केही हैन ? के सधैँ अरूकै लागि मात्र फुलिदिनुपर्छ उसले हरेक व्यवधान पार गर्दै ? मेरो मगजमा प्रश्नहरूका ओइरो लागिरहेछन् यतिबेला ।
हेर्दाहेर्दै यौटा मस्त भँवरो भुनभुनाउँदै आएर ती फूलहरूमाथि परिक्रमा गर्छ अनि विस्तारै अर्ध-प्रष्फुटित कोपिलातिर बढ्छ र फकाउन थाल्छ । यस्तो लाग्छ, ऊ भनिरहेछ -’तिमी अत्यन्त सुन्दर छ्यौ’ । अनि कानैनेर पुगेर सुटुक्क भनेझैँ लाग्छ-’के तिमी मलाई तिम्रो सौन्दर्यको रसपान गर्ने अनुमति दिन्छ्यौ ?’
भर्खर जवानीको लाली चढ्दै गरेको त्यो कोपिला लाजले भुतुक्क भएर पसिनापसिना हुन्छे । पत्रपत्रमा उसको पसिना शीत बनेर टप्किन थाल्छ । मानौँ त्यो पसिना, त्यो शीत उसको अस्वीकृतिको सूचक हो ।
तर ऊ भँवरो न ठहर्यो ! जबर्जस्ती उसमाथि आफ्नो आधिपत्य कायम गर्दै टन्न अघाएर डकार्दै रोबसाथ एकपटक सारा पुलहरूमाथि फन्को मारेर बेपत्ता हुन्छ ।
हिजो पनि त ऊ त्यस्तै गरेर आएथ्यो, अनि ऊ त्यो फक्रिएको थुङ्गामाथि रजाईं गरेर गएको थियो । अस्ती ऊ त्यो…। त्यो कोपिला पनि भोलि त्यसरी नै फक्रिने छ र क्षणभरको लागि मुस्काउने छ ।
मैले पनि त कुनै दिन यस्तै कोपिला मन पराएको थिएँ । कति सुन्दर थिई
ऊ ! यो कोपिलाभन्दा पनि सुन्दर !! ऊ त्यो कोपिलाभन्दा भिन्दै थिई र मेरो मन पराईको चाल पाएपछि उसले भनेकी थिई- ”सक्छौ भने मलाई आˆनै बनाएर लैजाऊ, अनि मात्र तिमीलाई जेसुकै गर्न छूट हुनेछ-माया गर्न, चुम्बन गर्न…।”
तर म त्यो भँवरोजस्तो बन्न सकिन । मैले कोपिलामै उसलाई चुडेर छिट्टै ओइलिई झर्ने फूल बनाउन चाहिँन र भनिदिएँ- ”तिमी अझै फुल्नुपर्छ, फक्रिनुपर्छ र अझै खुल्नुपर्छ, अनिमात्र तिमीलाई आफ्नो बनाउने छु ।”
मैले उसको अगाडि आफू महान् बन्न खोजेँ । पूर्ण प्रष्फुटनपछि मात्र उसलाई आˆनो बनाउने चाहनामा अनेक सपनाहरू सजाउँदै म समयको प्रतीक्षा गर्न थालेँ तर समयले मलाई पर्खेन । मैले हेर्दाहेर्दै कसैले आएर मेरी उसलाई टपक्कै टिपेर बेपत्ता भयो ।
वषौंँसम्म मैले उसको कुनै पत्तो पाइनँ र पनि मेरो नजरबाट उसको आकृति ओझेल भएन । हृदयको कुनामा सधैँ बसिरहन्थी ऊ, अनि सपनामा आएर भन्ने गर्थी- ”म के गरुँ त ! तिमीलाई भनेकै हो…। तिमी महान् बन्न खोज्दा हामी एक-अर्काबाट टाढा भयौँ ।”
र आज समयको चक्रले एकपटक फेरि मलाई उसको नजिक ल्याइपुर्याएको छ । जीवनको यौटा मोडमा अपरिकल्पनीयरूपमा केही महिनाअघि उसँग भेट भयो ।
‘पूर्णरूपमा फक्रिन पाउनु फूलको अधिकार हो’ भन्दै आˆना रहरहरूलाई हतकडी लगाएर फूलको वकालत गर्ने म फूलको चोटले घाइते बन्न पुगेँ र पनि मुश्किलले घाऊ पुरिइसकेको थियो- अचानक फेरि मैले मन पराएकी उसलाई वर्षौँपछि देखेँ तर ऊ यतिञ्जेल कोपिलाबाट फूल भएर पनि ओइलिने तरखरमा थिई । हुन त म पनि कहाँ उस्तै रहेको छु र ?
हाम्रा नजर जुधे । उसले सहजरूपमा सोधी- ‘सञ्चै छौ ?’
‘ठीकै छु ।’
‘के गर्दैछौ त अचेल ?’
‘दुई सन्तान र श्रीमतीको भरणपोषणको लागि दौडधूप गर्दैछु’ उसँग आँखा जुधाएर मैले भनेँ- ”के छ त तिम्रो हालखबर ?”
‘आदर्श पत्नी र सफल आमाको भूमिका निर्वाह गर्ने कोसिस गर्दै जीवनका पल-पल धकेलिरहेकी छु ।’ उसको आवाजमा शुष्कता थियो ।
मुर्झाउने तरखरमा लागेकी ऊ आज पनि मलाई उत्तिकै सुन्दर लाग्दै थिई । धेरैबेर उसको चेहरामा नजर डुलाइरहेँ र उसले पनि । केही क्षणको त्यो हेराइमा हामीले मनमनै एक-अर्कासँग धेरै कुरा गर्यौँ अनि फेरि भेट्ने वाचा गरेर आ-आफ्नो गन्तव्यतिर लाग्यौँ ।
आजकल कहिलेकाहीँ हामी आˆनो समय चोरेर यसो भेट्ने गर्छौं र आपसमा सुख- दुःखका कुरा गरेर जीवनलाई सहज बनाउने कोसिस गर्छौं । उसले मसँग कुनै गुनासो गर्दिन तर म मौका पाउनासाथ पुरानो घाउ कोट्याएर उसँग गुनासो पोख्छु । जवाफमा ऊ भन्छे- ‘मैले भनेकै थिएँ, मलाई आˆनो बनाएर लैजाऊ, तर तिमीले…….।” म चुप लाग्न विवश हुन्छु ।
अचेल मलाई उसको झन् धेरै माया लाग्न थालेको छ । उसले पनि भन्ने गर्छे- म उसका सपनामा सधैँ सधैँ आउने गर्छु रे !
उसले एकदिन मलाई भनी- ”हामी शरीरले टाढा भएर के भो त मन अझै उस्तै छ मेरो र सायद तिम्रो पनि । त्यसैले हामी सधैँभरि एक अर्कालाई मनले माया गरौँ हुन्न र ?” उसको कुराले चित्त बुझ्यो । किनकि हामी दुवै आज जुन धरातलमा उभिएका छौँ त्यो धरातलबाट एक इञ्च पनि यताउता हुन सक्दैनौँ । यो हाम्रो तपस्या हो । मलाई आज त्यो कोपिलाभन्दा ऊ त्यो फक्रिएको फूल झनै सुन्दर लागिरहेछ । म त्यसलाई धित मरुञ्जेल हेर्दैछु यो बरण्डाबाट र यति नै बेला एक हातमा थाली र अर्को हातमा लामो लठ्ठी लिएर घरबेटी बूढी झाडी पन्छ्याउँदै गुलाफ फुलेतिर लम्किन्छिन् र लठ्ठीले तानेर फक्रेका केही गुलाफहरू टिपी थालीमा राख्छिन् । सायद पूजा गर्नको लागि होला ।
फूल ! चाहे हजारौँ भँवराले चुसेर छोडेको नै किन नहोस्, ईश्वरको लागि त्यो सधैँ पवित्र नै हुन्छ, जस्तो मेरो लागि मेरी ऊ……….।
मैतीदेवी, काठमाडौँ ।
(श्रोत:- मधुपर्क २०६६ चैत)