कथा : जिन्दगीको अर्थशास्त्र

~विवश पोखरेल~Biwash Pokharel

‘अहो सर! लु बसौं, हेर गर्मीले ।’ अफिस पुग्नासाथ सधैंझैँं वस्ती सरका अगाडि कृपानाथले कुर्सी राखिदियो । उनी पसिनाले निथ्रुक्क भिजेका थिए ।

उसले फेरि थप्यो– ‘अनि सर आज पनि साइकलमा नै ।’

‘साइकलमा नै, यी हेर न यस्तो छ हालत ।’ खुइँय सुस्केरा हाल्दै वस्ती सर पसिनाले भिजेको सर्टको बटम खोलेर कृपानाथले राखिदिएको कुर्सीमाथि थ्याच्च बसे । कृपानाथले पङ्खा खोलिदियो ।

विचरा वस्ती सर कार्यालयमध्येकै सोझा, गाईप्राणी । कागका पूmल चोर्ने अधिकृतहरूका भीडमा एउटा अपवाद । सबैका हँसीमजाकका रसिक पात्र । कहिले कोही कसैसँग पनि नरिसाउने । खाएपनि सधैं बाघको मुख रातै, नखाए पनि रातै । सधैं ‘एभरग्रीन’ अनुहार । कार्यालयरुपी वृक्षमा झुन्डिएको पाकेको अम्बकको पर्याय । जसलाई चमेरारुपी उनका सहयात्रीहरू यदाकदा ट्वाक्क ट्वाक्क ठुङ्छन् । र पनि ‘नो कमेन्ट ।’

‘हरे सर !’ अब यो सर्टको पसिना सुक्न दिनभरि लाग्छ । साह्रै माया लाग्छ सरको मलाई ।’ सहानुभूतिसगैँ लेग्रो तान्छ कृपानाथ ।

‘अब के गर्छौं, यस्तै हो, जसरी भएपनि जिन्दगीको गाडी चलेकै छ ।’ स्वभावअनुरुप ङिच्च हाँस्छन् वस्ती सर ।

‘चल्नु र चलाउनुमा फरक हुन्छ सर मैले भनेकै हो नि एउटा बाइक किन्नुस्, सर माुन्नुहन्न । जिन्दगीको टुमटुम सधैँं यस्तै हो, मानिसलाई पैसाले कहिल्यै पुग्दैन । पैसा भनेको हातको मैलो हो ।’ कृपानाथ फेरि थप्छ ।

‘भन्छौ नि कृपानाथ भन्न सजिलो छ , पु¥याउन गाह्रो । मन त कसलाई हुँदैन र बाइक चढ्ने, मजबुरीका नाम महात्मा गान्धी ।’ उनी विवशता पोख्छन् ।

‘यो मुटु भन्ने जिनिस नै त्यस्तो हो, यसलाई सुमसम्याएर राख्यो भने यो पिन्चे हुन्छ, पुल्पुलिन्छ । यसलाई ढुङ्गा बनाउनुपर्छ सर ढुङ्गा । तपाई हामीले जुनसुकै काम गर्दा पनि मुटु नै मिचेर काम गर्नुपर्छ, नत्र जिन्दगी गोलखाडी ।’ अझ रौसाउँछ वस्ती सरलाई कृपानाथ ।

‘शुभप्रभात सर ! भर्खरै ?’ वस्ती सरलाई देख्नैवित्तिकै टुप्लुक्क टुप्किन्छन् प्रकाशनाथ ।

‘शुभप्रभात ! प्रकाशजी, शुभप्रभात !’ अभिवादन ग्रहण गर्दै सर्ट फिजाउँदै वस्ती सर बाँकी सर्टको बटम पनि खोल्छन् । उनलाई थाहा छ मौसम हेरेर प्रकाश पनि उसलाई ठुङ्न आएको हो । यहाँका प्रत्येक अनुहार पढेका छन् उनले ।

‘अनि जिन्दगीभर पसिनाले नै नुहाएर बस्ने सर ! सुरुवालको इँजार घरभित्र पैसा राखेर कोही माथि जाँदैन ।’ ठीकै भन्छ कृपानाथ, समयमा बुद्धि पु¥याऊँ सर ! एउटा बाइक किनौ । प्रकाशनाथ पनि वस्ती सरलाई भ¥याङ लगाउँछन् ।

सधैं एउटै विषयमाथि केन्द्रित रहेर वार्ता चल्ने प्रसङ्ग थाहा पाएर धमिलो पानीमा माछा मार्न अर्को जागिरे पात्र डम्बरजी पनि थपिन्छन् त्यहाँ । गौरव थपिन्छ । बोधनारायण थपिन्छन् । के. सी. थपिन्छ । गोविन्द थपिन्छ ।

‘यी हेर्नुस् त,सरको अगाडि हामी के छौ ? यी हामीजस्तो टाँटपुजियासँग त बाइक छ, आरएक्स नै किन नहोस् । कमसेकम पसिनाको इन्धनले त सवारीसाधन हाँक्न पर्दैन । धरोधर्म ! सरलाई यो साइकल ठ्याक्कै सुहाएन ।’ डम्बरजी थप्छन् ।

‘त्यही त, पेट्रोल पचहत्तर रुपैयाँ लिटर पर्छ । पसिनाको मूल्य बताउनुस् त सर ? हजार रुपैयाँ लिटरभन्दा पनि महँगो पर्ला । सर त कमर्श र अर्थशास्त्र पढेको मान्छे ,खै बुझेको जिन्दगीको अर्थशास्त्र ?’ प्रकाशनाथ थप्छ ।

सधैं एउटै सोच, एउटै मनस्थितिमा गम्भीर रहने वस्ती सर आज पनि गम्भीर हुन्छन् र हाँस्दै सुनिरहन्छन्, आफ्ना सहकर्मीका सल्लाह, सुझाव र राय । उनलाई थाहा छ, जसलाई सुन्न पैसा लाग्दैन । यीमध्ये कोही उनका शुभचिन्तक पनि छन् अनि सुखदुःखका अंशियार पनि । कोही भने पुच्छरमा सर जोडेर चिडियाखानाका बाँदर बनाएर उनलाइ जिस्काइरहेका छन् ।अधिकाश उनको विवशताको उपहास उडाउन आउँछन् । यो मान्छेको स्वभाव हो, जसलाई कुकुरको पुच्छरसँग तुलना गर्न सकिन्छ । जुन स्वभाव बाह्र वर्षसम्म ढुंग्रोमा हाले पनि सोझि“दैन ।

‘तपाईहरुका सल्लाह, सुझावप्रति विचार गरुँला । ल कृपानाथ एक चरण बृटी ख्वाऊ ।’ अति नै भएपछि उनीहरूबाट मुक्ति पाउन प्रसङ्ग फेर्छन् वस्ती सर ।

‘लु सर ! यो बुटी खाऊँ र ठन्डा दिमागले सोचूँ ।’ यसपल्ट कच्याककुचुक पारेर एउटा बाइक त किन्नैपर्छ, सधैँ सरको यो हरिबिजोक हामी हेर्न सक्दैनौं ।’ कृपानाथले हातमा लट्याएको बुटी अर्थात् बलवान छाप खैनीको एक पित्को सरलाई दिन्छ ।

‘हैन सर ! नो टेन्सन्, मेरै लिऊँन सस्तैमा दिन्छु । राम्रो माइलेज दिन्छ ।’ वरिपरि बस्नेहरुबाट विज्ञापन सुरु हुन्छ । बोधनारायण विज्ञापनको प्रारम्भ गर्छ ।

‘लु सर ! त्यस्तो गल्ती चाहिँ नगरौं ,यसको बाइकले त मुकुन्द सरले जाँड खाएजस्तै तेल खान्छ । ससुरालीले दिएको बाइक न प¥यो, ‘मेड इन चाइना, मेरो लिनुस् ।’ गौरव थप्छ ।

‘अनि तिम्रोचाहि कुन गतिलो हो नि !’ विष्णु माड्साबले घुस खाएजस्तो तेल खाने ।’जारी रहन्छ एकअर्काको खोइरो खन्ने प्रक्रिया ।’

‘यी कसैको बाइक पनि कन्डिसनमा छैनन् सर † मेरो छ वन ह्यान्ड, मेरो लिऊँ ।’ अर्को च्याँखे थाप्छ ।

‘अनि यहाँको कुन मोडल प¥यो नि ?’ दिक्क भएपछि वस्ती सर विज्ञापनदाताहरूको मोडल कोट्याउँछन् ।

‘यसको नाइन्टिन वाइन्टिन मोडल हो सर !’ यसको मोडल काहीँंबाट पनि देँखिंदैन । कुन मोडल भन्नु खुइलिङ मोडल । ब्लुबुक र चेसिस नम्बर नै मेल खाँदैन । तै पनि सोझो सरलाई मुर्गा बनाउन खोज्छ । धन्य देश जसरी चलेको छ, त्यसरी नै चलेको छ यसको बाइक । ससुरालीमा टीकाको दिन लिएर हिँड्योभने पूर्णिमाको भोलिपल्ट पुगिन्छ ।’ गोविन्द खोइरो खन्छ ।

‘गोविन्द काजी ! हजुरको बाइक नदेखेको होइन । हर्नदेखिबाहेक सबैथोक बज्छ । स्वस्थानी पात्र सतीदेवीजस्तो, कुन ठाउँमा पुगेर के पतन हुने हो थाहा हुँदैन । यसको बाइकभन्दा त सर ! सरको साइकल नै ठीक । किक मार्दामार्दा हैरान । किक मारुन्जेलसम्म त साइकलकै पाइडल मा¥योभने बरु गन्तब्यमा पुगिन्छ ।’ परस्पर चर्काचर्की र गलबदी चलिरहन्छ । मुकदर्शक भएर हेरिरहन्छन् वस्ती सर, सुनिरहन्छन्,हाँसिरहछन् ।

‘सर ! बाइक किन्दा फस्ट हयान्ड नै किन्ने नि † आफू चढ्ने कुरो पनि कसैले सेकेन्डह्यान्ड किन्छ । अहिले स्टलमेन्टमा बाइक पाइन्छ । यी पन्डाहरूको कुरा नसुन्नुस् । ‘फस्टह्यान्ड इज फस्ट ह्यान्ड’ नया“ किन्नुस् । यिनीहरु त चाहन्छन् अरुको बाइक पनि आफ्नै जस्तो खटारा होस् ।’

‘न भड्काउनुस् न मित्र ! आफू पनि किन्ने होइन, अरुको ग्राहकलाई पनि भड्काउने ?’

‘तिमीहरुको बाइक किन्न मलाई बौलाहा कुकुरले टोकेको छ ?

‘अनि तपाईहरु चाहिं कतिकतिमा बेच्ने आफ्नो बाइक ? ल दाम पनि सुनूँ न त ।’ वस्ती सरलाई झँयाउरझँयाउँ रमाईलो लाग्छ । उनलाई लाग्छ, उनी माछा बजार पुगेका छन् जहाँ माछा व्यापारीहरू आ–आफ्नो माछा राम्रो हुनुको विज्ञापन गर्दै तँछाडमछाड गरिरहेका छन् । अथुवा भनाँै यस बेला वस्ती सर बसपार्क पुगेका छन् । जसलाई बस व्यवसायीहरु कहाँ जाने ? कहाँ जाने ? भनेर पाखुरा तान्दै हाराबारा खेलाइरहेका छन् ।

‘ल अरूलाई भए पैँसट्ठी हजार हो । सरलाई ‘ह्याभी डिस्काउन्ड ’ पचपन्न हजार भो । मेरै लिनुस् ।’

‘मेरो लिनस् सर ! नाइन्टीफोर मोडलको हो, सरलाई ‘फिक्स प्राइस’ त्रिसट्ठी हजारमा दिन्छु ।’

‘नो दलाली ,नो बार्गेनिङ ! मेरो पचास हजारमा लिनुस् सर † गाडी च्वाँक छ ।’

हाँिसरहन्छन् वस्ती सर । मानौं– उनको अगाडि कुनै क्यामराम्यान क्यामरा तेस्र्याएर भनिरहेछ–‘स्माइल प्लिज ।’

‘ल कृपानाथ ! सरलाई बढी गर्मी भयो, रेगुलेटरको भोलम बढाऊ, सरको मुड चेन्ज हुन्छ कि !’

‘हाकिमसाबको मुड र सरको मुड उस्तैउस्तै हो । कहिलै चेन्ज हुँदैन ।

हाकिमसाबको बाह्रैमास गन्हाउने अनुहार । सरको प्रफुल्ल, हँसिलो,
हाकिमसाबको ठीक विपरीत ।’ कृपानाथ थप्छ ।

‘त्यसै भन, हाकिमसाबले सुनेभने भकुर्लान् ।’

‘सत्य कुरा भन्न केको डर सर † सबै त्यसै भन्छन् क्यार !’

‘यी त भए क्यासका कुरा, अनि फ्रिवाला चाहिं कसैको छैन । भए त्यो पनि सुनुँन ।’ अति भएपछि ठट्टा गर्छन् वस्ती सर । तर, उनको अन्तर्मनभने सधैं मर्माहत छ । सधैं साथीहरूको सल्लाह, सुझाव, दाउपेच, छेडछाड सहजै पचाउँछन् उनी । आफ्नो स्थिति सम्झेर किंकर्तव्यविमुढ हुन्छन् । कुनै टुङ्गोमा पुग्न सक्दैन् उनी । साइकल चढेर आउँदा पनि सुख छैन, बस चढेर आउँदा पनि सुख छैन । आफूलाई भन्दा अरूलाई सकस । आफूलाई अप्ठ्यारो भएको छैन, अरूलाई अप्ठ्यारो । हरे ! यो समाज ! यी साथीभाइ । आफ्ना लागि नभएपनि अरूकै लागि गरिदिनपर्ने ।

‘कति किचकिच गरेको तिमीहरूले माड्सापलाई । उहाँ फ्रिमा दिएपनि लिनेवाला हुनुहुन्न, उहाँको दिमाग नचाट । तिमीहरूले चाट्दाचाट्दा दिमागमा भएको उहाँको दुईचारवटा रौं पनि झर्लान् ।’

‘तपाईहरू कुरो बुझ्नुहुन्न क्या ! मन त छ नि, तर अहिले बाइकमा लगानी गर्ने अवस्था छैन । तपाईहरू विमाको एजेन्टजस्तो नहुनुस्न बा † समाएपछि नछोड्ने, लिसो । ल आ–आफ्नो फाँटमा गएर काम गर्नुस् । मलाई सोच्न दिनुस् ।’ सोचमग्न हुन्छन् वस्ती सर ।

‘माड्साप फेरि सोच्दासोच्दै जिन्दगीको ट्रेन छुट्ला नि !’

‘छुटे छुटोस् के को चिन्ता, अब जिन्दगी आधा त बाँकी छ ।’

निरन्तर उही प्रक्रियापछि लखत्रान घर पुग्छन् वस्ती सर, तर उनको कानमा भने झ्याँउझँयाउँ तिनै आवाजहरूले पछ्याइरहन्छन्, ठँुङिरहन्छन् । साथीभाइका तिनै शब्दहरू प्रतिध्वनित भइरहन्छन् ।

– ‘सर ! पैसा सुरुवालको इँजार घरभित्र हालेर लानुहुन्छ कि क्या हो ?’

– ‘भैगो सरलाई किचकिच नगर, सरको पुर्पुरोमा त्यही साइकल नै लेखेको छ ।’

– ‘बसमा राम्री–राम्री केटीहरूसँग टाँसिएर हिंड्न पाइन्छ भने कसले किन्छ बाइक ?’

विचरा वस्ती सर ! अहिले कार्यालयमा सर्कसको जोकरजस्तो भएका छन् , सबैका लागि रमाइलो । आफुदेृखि माथिका त भएभए, मुनिकाले समेत तीखो व्यङ्ग्यको बाकटे हान्छन् । आफ्ना सहकर्मीका शब्दशब्दले अचेल ङिच्च हिच्च हँसाउँछ उनलाई । कहिलेकाहीँ उनी एकान्तमा एकलै हाँस्छन्, बर्बराउँछन्–‘कार्टुन नै बनाए मोराहरूले ।’ अचेल आफ्नो बूढाको अचम्मको स्वभावले उनकी मेडमलाई पनि अचम्भित पारेको छ ।

एकदिन उनले मुटु नै मिचेर सोधिन्– ‘हैन, अचेल के भएको छ ह“, हजुरलाई ? एक्लै ङिच्चङिच्च हाँसिरहनुहुन्छ ?’

‘हेर न ! स्टाफ मोराहरूले मोटरसाइकल किन भनेर हैरान पारिसके, कुरो बुझ्दैनन् । फेरि अफिसमा आफै मात्र भइएछ बाइक नभएको । मलाई असजिलो भएको छैन उनीहरूलाई असजिलो । सधैं एउटै प्रसङ्ग कोट्याउँछन्, –मोटरसाइकल किन्नुस्, मोटरसाइकल किन्नुस्, दिक्कै लाइसके । आफ्नो इज्जत र उनीहरूकै लागि भएपनि एउटा किन्नुपर्ला जस्तो छ ।’ मन नलागी नलागी आफ्नो मेडमसमक्ष्ँ प्रस्ताव राख्छन् वस्ती सर ।

‘ऋणै गरेर किने त हो नि, अहिले पैसा छैन । ’

‘त्यही पनि गर्नपर्ला के गर्ने ।’

‘अहा ! हाम्रो मोटरसाइकल किन्ने ।’ केटाकेटी न हुन्, टावरमुनि राखेको एफएम रेडियोजस्तै ट्याप्प टिपी हालेछन् खेल्न गएका उनीहरूले मोटरसाइकल खरिद प्रसङ्ग र फुकेछन् टोलभरि ।

‘क्या हो वस्तीजी बाइक किन्ने हुनभएछ नि ! ल बधाई छ ।’

‘ल काँग्रेचुलेसन वस्ती सर ! नयाँ बाइकका लागि ।’

‘सेकेन्डह्याण्ड किन्ने कि न्यू ब्रान्ड ?’

‘ल है प्रगतिको लागि शुभकामना ।’

‘अनि किस्तामा कि फुल पेमेन्टमा सर !’

छक्क पर्छन् वस्ती सर । हरे ! यी भुराहरू ! साँच्चै नै लोकल बीबीसीका सम्वाददाता रहेछन् । बुढाबुढीको खुसुक्क सल्लाह राष्ट्रिय अन्र्तराष्ट्रिय समाचार बनाएर सर्वत्र फैलाएछन् । बाइक किन्न कहिले कहिले, बिहानै बधाई दिनेहरूको ओइरो । विचरा छिमेकीहरु आफूले बाइक किन्ने समाचारले कतिको निन्द्रा हरण हुने हो । कतिको तालुमा पानी ठोक्नुपर्र्ने हो । कतिलाई आइ.सी.यू.मा राख्नुपर्ने हो । अस्ति बीस वर्षपछि प्रमोशन हुँदा कति त झन्डै फेन्ट भएका थिए । उनीहरूलाई नाङ्लोले हम्केर ब्युँताउन परेको थियो । मेरा मात्र छिमेकी यस्ता हुन् कि, अरुका छिमेकी पनि यस्ता हुन्छन् ?

फेरि गम्भीर हुन्छन् उनी र सोच्छन् । आफ्नो तलब, परिवार, आफूले लिएको घरकर्जा, सामाजिक कर्जा कट्टा गरी हातमा पच्चीस प्रतिशत तलब पनि हात लाग्दैन । विवाह गर्न बाकी दुई तरुणी बहिनीहरू । रोगी बा, बृद्ध आमा, तीनवटा केटाकेटीको स्कुल फी, घर खर्च आफ्नो सामान्य चलेको जीवन । बाइक किनेपछि– ‘यसको तलबले बाइक किन्न कहाँ पुग्छ, कुन चाहिंलाई बोरामा हालेर किनेको हो घुस खाएर ।’ ऋणै लिएर किनेको भए तापनि छिमेकीहरुको कटु टीका –टिप्पणीको सम्भावना, र लामो सोचपछि उनी खुइँय् सुस्केरा हाल्छन् र अन्तिम निर्णय गर्छन्– ‘होस् म बाइक किन्दिनँ । आफुलाई मात्र नभएर दुनियालाई टेन्सन ।’ उनकी मेडम पनि उनको निर्णयमा ल्याप्चे ठोक्छिन् ।

जसले जेसुकै भनुन् बरु वस्ती सर सुनिरहन्छन्, कुनै प्रतिक्रिया जनाउँदैनन् । कुनै निर्णय गर्दैनन् । उनी हिजो जसरी अफिस गएका थिए, त्यही पुरानो साइकल चढेर आज पनि अफिस जान्छन् ,फर्किन्छन् । आफ्ना प्रियजनहरूको जिस्क्याउने उही प्रक्रिया, सम्वाद जारी छ– ‘हरे सर † भनेको मान्नुहुन्न । यो सर्ट सुक्न अब दिनभरि लाग्छ । वर्षामा पनि भिज्दै, हिउँदमा पनि भिज्दै ।’
उनी निर्लज्ज हाँस्दै जवाफ दिन्छन् , एउटा बाध्यात्मक जवाफ, एउटा दार्शनिक जवाफ –‘जाबो सर्ट सुक्न दिनभरि लाग्छ भने लागोस्, एउटा सालिक जसलाई कुनै घामपानीले पनि फरक पार्दैन । प्रज्ज्वलित इन्धनले चलेको बाहनभन्दा शीतल पसिनाको इन्धनले चलेको बाहन चढ्नुको सन्तुष्टि र आनन्द बेग्लै हुन्छ । बरु जिन्दगीको अर्थशास्त्र नबुझे न बुझियोस् ।’

(श्रोत:- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.