~भैरव अर्याल~
संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामा परे। खाईपिई आएको आस्था अर्चनाको एक लक्षांश उनको निवृत्तभरणको रुपमा पाउने भए।
निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साख्ये भाइ म हुँ भनी किरिया खायो। ज्ञान गनगन गर्दै थियो, विज्ञानले सबैको दाबी निराधार हुन् भनी एक-एकको पर्दाफास गर्यो। बुद्दि खितितित्त हाँसी, विवेक ट्वाल्ल पर्यो। भावना भागी संसार विभागको निर्देशकमा मान्छे स्वयं मनोनित घोषित भयो।
आफू निर्देशक हुनासाथ मान्छेले पाप धर्मको कानुन संशोधन गरी नरकअड्डा खारेज गरिदियो। मान्छेलाई धेरै शासन दिएको अभियोगमा यमराज सस्पेन्ड भए; अमृत र अप्सरामा लम्पट भएको अभियोगमा देवताहरु कार्यभारमुक्त भए। भाग्यको ठाउँमा पुरुषार्थ र अन्धविश्वासको ठाउँमा शिक्षा भर्ना भए।
एउटा हातमा शक्तिको ड्रम अर्को हातमा एटम बम लिएर विज्ञान सल्लाहकार भयो मान्छेको। संसार विभागको हर्ताकर्ता स्वयं भएकोमा गजक्क फुली टेबलमा थ्याच्च बसेर मान्छे गर्ज्यो – “संसार विभागका सहायिकाहरु को को छन्, लौ यहाँ आओ!”
मेच छँदाछँदै टेबुलमा बसेको निर्देशकलाई देख्ता मर्यादाले नमस्कारै नगरी मुन्टो बटारी। मान्छेले उसलाई अनुशासन नभएकी बुढी भनी तुरुन्तै निकालिदियो। अर्की सहायिकाले थर्र कामेर हात जोड्दै भनी – “म नैतिकता हुँ।” मान्छे च्याँठ्ठिएर गर्ज्यो – “यस्ती लुली सहायिका लिएर म यत्रो विभाग चलाउन सक्छु?” तेस्री सहायिका सद्भावनाले भनी – “म आफ्नो कार्यभारबाट राजीनामा गर्न चाहन्छु।” मान्छेले मर्यादाको ठाउँमा उच्छृङ्खलतालाई, नैतिकताको ठाउँमा स्वच्छन्दतालाई र सद्भावनाको ठाउँमा सङ्कीर्णतालाई भर्ना गर्यो।
पुनर्गठनपछि केही नयाँ ऐन बने। सत्ता, शक्ति, सम्पत्ति र विलासलाको साधनामा धेरैले सुविधा पाए। संसार विभागले सांसारिक विधिबन्धनहरुमा धेरै स्वतन्त्रता ल्यायो। तर अपसोच! केही दिनपछि संसार विभागमा साह्रै गोलमाल चल्न थाल्यो। कसैले कसैलाई टेर्न छाड्यो। विभागभित्रै अनाचार, व्यभिचारहरु बढ्न थाले। रिसारिस, भुत्लाभुत्ली र पिटापिट चल्न थाले।
हत्या, अपहत्या र आत्महत्याका टेलिफोन आउन थाले।
विस्फोट, युद्द र महायुद्दका आकाशवाणी आउन थाले।
मान्छे कहिले बोलाएजस्तो भई टेबुलमा उफ्रन्थ्यो, कहिले झोक्राएजस्तो गरी भूइँमा पसारिन्थ्यो। कहिले तमाम कर्मचारीलाई भेला गरी सोध्थ्यो – “आस्थाको फाइल खोइ?” कहिले तमाम कर्माचारी ऊसँग सोध्थे – “विश्वासको फाइल खोइ?” खोइखोइको डाँको भित्तामा ठोक्किएर प्रतिध्वनित हुन्थ्यो – “खोइखोइ!”
(श्रोत: बान्की )