कथा : संक्रमण काल

भाउपन्थी ~Tilak Prasad Sharma Khanal 'Bhaupanthi'

यो तस्बिरमा जुन मान्छे देखिइरहेको छ, यद्यपि त्यो तस्बिर यहाँ छाप्न सकिएन, त्यो मरिसकेको छ । गोपाल त्यो तस्बिर खल्तीमा राखेर हिँड्छ र उसको यो बानी भइसकेको छ, कहिलेदेखि हो त्यो भन्न सकिन्न, तर मैले उसलाई भेटेदेखि, चिनेदेखि भनौँ न, मैले थाहा पाइराखेको कुरो हो यो । ऊ अस्थायी मान्छे हो, भन्नाले कहीँ पनि स्थायी नोकरी पाउन सकेको छैन । परिवार पनि छन् । उसकी स्वास्नीको कुरो पनि छ । केटाकेटी त स्कुल जाँदै छन् तर उनीहरू सामान्यभन्दा अलि बढी खर्च लाग्ने स्कुलमा पढ्छन् र निश्चय नै यो उसको आम्दानीले थेग्न सक्ने होइन ।

यो गोपाल, गोपाल समथिङ्ग । यो नभनौँ थर के हो । बढी परिचित हुनु पनि छैन तपाईंलाई हामीसित ।

तस्बिर उसको बुबाको पनि हुन सक्थ्यो अथवा उसैको पनि, मैले त्यति रुचि राखिनँ । सुरुमा हेरेँ, तर नोटिस लिइनँ । पछि त्यो आदत बन्यो, उसको हेर्ने र मेरो पनि तर नहेर्ने । तस्बिर हेरेर फतफताउने गर्छ ऊ खाएको बेलामा । अहिले पनि ऊ र म सधैँको भट्टीमा छौँ, रेस्टुराँमा । रेस्टुराँको मालिक श्याम यसलाई रेस्टुराँ भन्न रुचाउँछ ।

साथमा लेखक पनि छ । ऊ पनि पिउने साथी भएको छ । बेलामौकामा यसरी हामी बस्छौँ, यो रेस्टुराँमा, नभए यति नै परिचित अर्कोमा । उधारो कोही दिँदैन । रेस्टुराँ नै लिलाम हुन्छ भन्छन् ।

लेखकहरू प्रायः आत्मप्रशंसामा डुबेका हुन्छन् । खासमा जब उनीहरू चर्चा पाउँदैनन् । लेखक कहिले भन्छ, ‘म आत्महत्या गर्ने विचार गर्दैछु ।’’

ऊ हामीलाई त्रस्त पार्न र आफूपट्ट िध्यान खिच्न त्यसो भन्दो हो । माथिमाथि त ऊ भनिरहेको हुन्छ, ‘म चर्चा चाहन्नँ । मेरो लेखनको मूल्य अर्कै छ, सङ्कट अर्कै छ । अहिले मैले आत्महत्या गरिराखे यस शताब्दीकाले नबुझे अर्को शताब्दीकाले बुझ्लान् ।’ आत्महत्या उसको थेगोजस्तै हो, तर भित्र दारु पसेपछि यो थेगो बाहिर आउने गर्छ ।

अँ, अर्को शताब्दी त के दशकदशकमै पनि अर्काअर्का जन्मिसकेका हुन्छन् । यो सिङाने लेखकीय आत्मरतिको काम छैन अब । सकिन्छ भने घच्च्याएर, लत्याएर अघि बढ्ने होइन भने क्लेम गर्न नआएको बग्गीखानामा थन्किएको चोरीको बाहनभै”m कुनै कुनामा गुमनाम बस्ने ।

शताब्दीको कुरो आएपछि भन्न पर्छ, देश कैयौँ शताब्दीसम्म ट्रयाकमा आउला भन्ने लाग्दैन । यो शताब्दीकाले नबुझ्ने लेखक मात्र किन सबै नेपालीलाई अर्को शताब्दीकाले झन् बुझ्न सक्लान् भन्ने लाग्दैलाग्दैन मलाई त । कारण यो छ कि अब बुझ्नेबुझाउने सार कुरो केही छैन । मानिस टेन्सन बढी भयो भने प्राणायाम र अनुलोमविलोमतिर लाग्छ अथवा एक बोतल बियर खाएर टन्न सुत्छ । भोलिको कुरो भोलि देखा जाएगा । त्यो साहित्य वा अरू केही पढेर समसामयिक उथलपुथलमय र अनिश्चित जीवनको सन्तापलाई शान्त पार्न चाहँदैन । भन्छ पनि, ‘टेन्सन लेनेका नहीँ, टेन्सन देने का, समझे क्या ?’’ हिन्दी भाषाको मागको असर परिहेछ मलाई ।

टेन्सनको कुरोमा के छ कि यो गोपालकी स्वास्नी पनि पहिले धेरै टेन्सनग्रस्त रहन्थी । पछि त्यसको निकास पनि मैले नै पहिल्याइदिएँ । यो परिवारसित उताकै जिल्ला मिल्ने हुनाले चिनजान र हिमचिम बढाउन सजिलो भयो । गोपालकी स्वास्नी राम्री छ । एक छोरी र एक छोरा जन्माए पनि ऊ राम्री छ । सुगठित शरीरकी, अनुपात मिलेको देहयष्टिकी । स्त्रीको त्यस्तो शरीर पनि एउटा पुँजी बन्न सक्छ यो महानगरमा । मैले सेक्सी भनिरहेको छैन, कारण त्यो भनाइ सस्तो हुन्छ, तर मूलतः सेक्सी हुनु नै हो पुँजी यो भाङ्गि्रएको महानगरमा । बिकाउ पनि हुन्छ त्यो शरीर बढी मोलमा । बाहिर धेरै सभ्य र शिष्ट देखिए पनि भित्रभित्रै कुहिएर फतक्क गलेको छ यो महानगर ।

गोपालले पहिले भन्थ्यो, “अरू कामभन्दा त ड्राइभिङ्ग सिकेर ट्याक्सी चलाउन थालेको भए हुने थियो ।”’ यस्तो लाग्न सक्छ कि, अरू पेसाभन्दा ट्याक्सी चलाउनु उत्तम मात्र होइन सजिलो रहेछ । म सोच्छु, यो डायलग दिँदा गोपालले मलाई किन मक्ख परेर हेर्छ । कतै उसले उसकी स्वास्नी र मेरो बीचको साँठगाँठ थाहा पाइसकेको छ कि ? थाहा पाएर पनि थाहा नपाएजस्तो गरिरहेको पो हो कि ? त्यसो भए सस्पेन्स नै खतम भैगो त ? ल, उसकी स्वास्नीलाई यो लाइनमा ल्याउन पनि लामो प्रक्रिया तय गर्नुपरेको हो । अभाव, गरिबी र रहरइच्छाहरूको दबाब पनि थियो । त्यो राजनीतिले भन्ने आवश्यकताको सिद्धान्तले पनि कर गर्‍यो । गोपालकी सुन्दर स्वास्नी गरिमाले बडो बोल्ड फैसला गरेकी हो, निकै सोचविचारपछि, कि यो जीउ पनि पुँजी हुन सक्छ, महानगरमा सुखले बाँच्नको लागि, आर्थिक उपार्जनको ।

तर शङ्का गर्नु व्यर्थ छ । गोपाललाई मैले भनेको छु कि उसलाई एउटा प्राइभेट कम्पनीमा काममा लगाइदिएको छु । मतलब, एक सम्पन्न परिवारको वृद्ध र अल्झाइमरपीडित आमाको हेरचाह गर्नुपर्ने काममा । अल्झाइमर हो वा त्यसको शुद्ध नाम के हो, त्यो कसैले सोधेन । मेरो सात पुर्खामा भएको बिरामी होइन, त्यसैले के थाहा, तर पेपरमा पढेको सूत्रका आधारमा भनिदिएको थिएँ- अल्झाइमर । यो बिरामी भएपछि, मान्छे सबथोक बिर्सन्छ, आफू को हुँ भन्ने पनि, खान र दिसापिसाबको कुरा त छाडिदिउ”m । अल्झाइमरग्रस्त हाम्रो मुलुकजस्तै । हो, त्यहाँ त्यो सेठकोमा हप्ताको दुई वा तीन पटक गरिमा जानुपर्छ सेठकी वृद्धा आमाको सेवाका लागि । रोग गोप्य राख्नुपर्ने हुनाले कसैलाई थाहापत्तो दिइएको छैन । सेठको इज्जतको कुरो भयो । किन भयो इज्जतको कुरो, त्यो स्पष्ट नपारेरै गोपाल सन्तुष्ट भयो । काम भए पनि अस्थायी मान्छे गोपालको लागि आठ दस हजारको आम्दानी नै प्रशस्त थियो, त्यो पनि स्वास्नीको मिहिनेतले कमाउने भएपछि ।

गोपालले मेरो विश्वास गर्‍यो । म असमञ्जसमा हुन्छु कहिलेकहिले । ममा त्यस्तो खासियत के छ ? यत्ति हो, म काममा निस्कन्छु नियमित, चाहे पेसिन्जर पाइयोस् या कुनै खाली ठाउँमा ट्याक्सी रोकेर कुरिरहनु परोस् तर ट्याक्सी खाली बस्दैन । मानिसहरू यस्तो महँगीमा पनि ट्याक्सी चढिरहेकै छन् । लुटपाट पनि छ, अपहरण पनि छ, हत्या पनि छ, बेपत्ता पारिँदै पनि छ, कब्जा पनि गरिँदै छ, बम पड्काइँदै पनि छ, बलात्कार हिंसा पनि छ । कहिले म सोच्छु बैङ्क लुट्नमा वा अपहरणमा मेरो ट्याक्सीको प्रयोग नभइजाओस् । रोमान्चित पनि हुन्छु, यदि त्यस्तो भयो भने…? यति चेपुवामा पनि तर पेसिन्जर चलिरहेकै छन् । एयरपोर्ट, पशुपति, ठमेल, बगलामुखी, दक्षिणकाली, डान्स बार, वेश्यालय…।

र, म दुई चार राम्रा र महँगा ठेगानहरू पनि जान्दछु, जहाँ एड्सको खतरा छैन, पुलिस छापाको भय छैन, इज्जत जाला भन्ने डर छैन । त्यता गएर पैसा पानीभै”m बगाउने सेठ वा अफिसरहरूलाई पनि अनुहारले चिनेको छु । तिनमा नेता पनि छन् । नेता भएन यस्तो मामिलामा भने बिना नूनको खल्लो तरकारी लाग्न सक्छ । इत्यादि…लिस्ट लामै छ । भनिदिए फरक नपर्ला, म एक नेताको यस्ती एउटी रखौटीलाई चिन्दछु जसले धन्दा अपर क्लासको शैलीमा चलाइराखेकी छ । तास, केटी, दारु, मासु, कोठा र केटो पनि । के चाहियो तपाईंलाई, यु नेम इट् एन्ड…। अगाडि के भन्छन् त्यो मैले बिर्सें यति बेला । म खासमा उच्चस्तरको पढेलेखेको त होइन, सुनेर नै फलाक्ने बानी पर्‍यो । हो, त्यहीँ लगेर भर्ना गरिदिएको छु गरिमालाई । कमिसन त छँदै छ, स्थायी स्रोतको रूपमा तर गरिमा कृतज्ञ छे, गर्नै नहुने काम के छ अब यस समाजमा ? सबैसबै पापको कमाइको सुन्दर मखुन्डो लगाएर त कथित प्रतिष्ठित र गण्यमान्य भएर सोसाइटीमा, प्रशासनमा, पोलिटिक्समा बसेका छन् ।

फेरि यो लेखक भन्ने जीव छ, जो गनगन गर्छ, मातेपछि अङ्ग्रेजी पड्काउन थाल्छ, सही वा गलत त्यो जानिफकारले छुट्याउने कुरो हो भन्छु म त तर हामीबीच यही छ बढी पढेलेखेको ।

म खुदै पनि ट्याक्सी चालक हुँ तर म यसलाई अन्य पेसाभन्दा उत्तम मान्दिनँ । यसका पनि अनेक जटिलता छन्, खतरा छन् र बेठेगानका रिस्कहरू छन् । त्यै त्यो लेखकले एक दिन त्यसरी भन्यो, ‘म आत्महत्या गर्नेछु कुनै दिन ।’’ गोपालले तस्बिर खल्तीमा घुसारिसकेको छ । यो एउटा औसत भट्टी हो । अलिअलि लाग्न सुरु पनि भएको थियो । एउटा सिसी हामीले सकिसकेका थियौँ रमको । दारु पिउन अभ्यस्त भएकाले हामीलाई खासै गाँज्न सकेको थिएन । अर्को सिसी मगाइसकेका थियौँ । आज म दारुको खर्च बेहोर्न सहर्ष तयार थिएँ, किनभने एउटा मोटो मुर्गा फसाएको थिएँ, मिटर घुमाएर ।

हामी बसेको टेबिल वरिपरिकाहरू एकअर्काप्रति निकै सहानुभूतिशील भएर आपसका कुरा सुनिरहन्छन् । अगाडि गिलासमा वास छ कसैको, कसैको सस्तो पक्कीको क्वार्टरको सिसी, जसले आज अफिसमा मोटो मुर्गा फसायो उसको अगाडि बियर वा अलि महँगो…। मान्छे रक्सीले मातेपछि अलि बढी संवेदनशील पनि हुन्छ, यद्यपि यहाँभित्रका सबै रुटिनअनुसार एक गिलाँस वा बढी लगाएर कोठातिर र्फकनेहरू छन् । कोठामा पुगेपछि रङ्गीन वा ब्ल्याक एन्ड हृवाइट टिभीमा समाचार हेरेर, देश, भ्रष्टाचार र संविधान बनाउन नसक्ने नेताहरू र नडकारी भत्ता पचाउने सभासद्हरूलाई गाली गरेर अथवा स्वास्नीसित भात गिलो/सार्‍हो भयो वा तरकारी अलिनो/चर्को भयो भनेर गलफत्ती गर्दै अथवा छोराछोरीको होमवर्कको बारेमा जानकारी लिएर वा निदाइसकेका छन् भने मुसारेर अथवा आदिआदि गरेर अर्को बिहान उठ्न गहिरो निद्रा सुत्नेहरू हुन् ।

‘सर, त्यो छोड्नुस् । मर्नेहरू भनेर आत्महत्या गर्दैनन् । अर्को राउन्डपछि हामी जाने । के मगाउ”m ?’ मलाई अलि उदेक पनि लागिरहेछ, यो सङ्क्रमणकालमा मानिसहरू आत्महत्या गरिरहेका छैनन् । यस्तोमा पनि बाँचिरहेछन् जिन्दगीलाई बन्धक राखेर । लेखकलाई आइडिया आउँछ । इन्नोभेटिभ हुन्छन् यी ।

लेखक लागेको बेलामा उठेर त्यो छेउको टेबिलमा गएर बतौरिन पनि सक्थ्यो । अहिले लिमिटमा छ र उसको दिमाग बत्तिएको थिएन । प्रायः ऊ खल्तीबाट झिकेर कविता पनि सुनाउँथ्यो । मेचबाट उठेर । पूरै कवि सम्मेलनमा सुनाउन लागेभै”m । त्यस्तो बेलामा मान्छेहरू खासखुस गरेर भन्थे, ‘जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि, साला कविहरू यहाँ पनि आइपुगे । के काम यिनको यहाँ, यो भट्टीमा । कविता बुझिस् तैँले ? रक्सी नै खल्लो भैगो । हिँड् जाउ”m अर्कैतिर’ तर कोही उठेर ताली बजाउँदै ‘वाह क्या कविता छ, कविजी अहिलेको समयको घाँटी समातेको छ है, वन्स मोर वन्स मोर Û’ पनि भन्थे तर त्यस्ता कमै हुन्थे । तैपनि शुष्क कविताको प्रभावले ग्राहकहरूको सङ्ख्या कम हुने भयले भट्टी मालिक हडबडिँदै आउँथ्यो र ‘कविजी कविजी, नेक्स्ट टाइम, यहाँ अहिले होइन,’ भन्थ्यो र हामीलाई हेरेर सुस्त स्वरमा पड्कन्थ्यो, ‘यार रमेश, तैँले हदै गरिस् गोपाल तिमी पनि त यार…’

गोपाल अलि खामोस छ, ऊ भाङ, धतुरो, गाँजा, चरेस र हेरोइन सब सेवन गर्छ, तर सतर्क भएर । जहाँ असफलता हुन्छ त्यसलाई जिन्दगीले टोलरेट गरोस् भनेर लागू पदार्थतिर लाग्छ ।

भट्टी मालिकलाई म चिन्दथेँ । उसको रेस्टुराँमा म ग्राहक लिएर आउँथे, मधेसतिरका, जसलाई खानुअघि एक पेग अनिवार्य चाहिन्थ्यो, सुटुक्क । ट्याक्सी मैले ग्यारेजमा राखिसकेको हुन्थेँ । पहाडबाट झरेको भए पनि जन्मेहुर्केकोले मधेस मेरो मूल घर हो र त्यहाँका साथी मसित भेट्न आउँथे वा चिठी पठाएर कसैकसैलाई पशुपति र अस्पतालमा पुर्‍याइदिन भन्थे । जे होस् । अहिले त मैले ट्याक्सी ग्यारेजमा बुझाइसकेको छु, नाइट सिˆटको लागि । दिउँसो के थाहा, कसले पोलिदिने हो । दिनका दिन गाडी पोलिएकै छन्, आगजनी भइरहेकै छ, गोली चलेकै छ । यस्तो लाग्छ यो चाँडै सिद्धिनेतिर गइरहेछ । सबैसबै देशसहित । एउटा रिक्तता मभित्र कहिलेकहिले आश्चर्यजनक खल्लो स्वादसहित सशक्त भएर आउँछ । यस बेला यो लेखक आत्महत्या गर्न मन लाग्यो भनिरहेछ । सायद यसलाई वर्तमानको इतिहासले लघारिरहेछ ।

यहाँबाट निस्केपछि पैदलै कोठामा र्फकनु छ । ट्याक्सीको दैनिक ज्याला यतिउति र ट्याक्सी मालिक जालिम छ भनेर यहाँ म राजनीति गर्न लागेको छुइनँ । शोषण त छँदै छ नि । राष्ट्रिय स्तरमै । रातिराति ट्याक्सी कता हो कता लगेर भाडा पनि नतिर्ने, त्यसमाथि दुई चार लात बात ख्वाएर भएको कमाइ लुटेर छोडेको अनुभव पनि छ । बस, एउटै कुरा यो थियो कि, यो लेखक भनाउँदो जीवप्रति म अलि आकषिर्त थिएँ । समलैङ्गकिताको आकर्षण होइन । कसोकसो । मित्रवत् ।

गोपालले थप मगाइएको दारु सबैको गिलासमा हालेको छ । अलिअलि पानी मिसाएका छौँ । पानी प्रदूषित भए पनि, मिनरल वाटर त यहाँ किन दिन्थ्यो, कीटाणु मरिहाल्ने हुन् । दारु पनि निरापद छैन । भोलि बिहान अन्धो भएर उठिने हो कि, एम्बुलेन्समा कुदाएर अस्पतालको बेडमा पछार्न लैजाने पो हुन् ? तैपनि विश्वास गरेर हामीले गिलास उचालेका छौँ । चियर्स गर्नु के छ र ? अघि नै भइसकेको छ । यो कुनै राजकीय भोज त थिएन, जनता र देशका मैत्री सम्बन्धको सुदृढताको लागि पटकैपिच्छे चियर्स गर्नु परोस् । यति हो, उपराष्ट्रपति झाले शपथ खानुहुन्छ कि ? उहाँको लागि चियर्स भन्न सकिन्छ । त्यो हामीले गरेनौँ । राजनीति…। अघिल्तिर ठूलो खसीको सेकुवा छ । कसो बˆलु ˆलु छैन, बर्ड ˆलु त पचाइसकियो । अब स्वाइन ˆलु भनिरहेछन् । यो मासुबाट हुँदैन । ठूलो खसी हो वा सानो त्यो अब प्रश्न गरिँदैन । मासु हो, भोलि कुनै अर्को जन्तुको पनि हुन सक्छ । मासुको तिर्सना जघन्य छ । तै, विश्वासका साथ दारु निलियो । केही कुरामा विश्वास गर्नैपर्‍यो ।

खल्तीभित्रको मोबाइलले धुन दिएको छ ।

‘हलो ? …हजुर, …यो राति, म्याम ?…ए त्यसो, हस् । ‘ मैले गोपालतिर हेरेको छु । उसले पनि मलाई हेरेको छ । ‘गरिमालाई बोलाएको छ । सिकिस्त भई रे तेरी बजै । अब के गर्ने ? ट्याक्सी ग्यारेजमा छ भने भाडा तिरेर ले तेरी दिदीलाई भन्छे सेठकी स्वास्नी । ओभरटाइम पनि दिउँला रे ‘ मैले स्वरमा विश्वास पैदा गराएँ, गोपालले शङ्का नगरोस् भनेर ।

सेठकी म्यामले भनेकी त के हुन्थी र, कुनै नेता हो कि अफिसर हो, कि तस्कर, धेरै टेन्सन भयो रे, अलि प|mेस माल चाहियो भनेर फोन आएको थियो । हामी सबै फटाफट खाइवरी उठ्यौँ । लेखक शङ्कास्पद रूपमा चुप थियो । लेखक भन्ने जाते शङ्काजीवी हो ।

गरिमा र म ट्याक्सीमा छौँ । नाइट सर्भिस कहिलेकाहीँ वर्षमा एक दुई चोटि पर्छ, जसलाई खुसीखुसी पूरा गर्नैपर्छ । गरिमा हँसिली पनि छे, अतिरिक्त आम्दानीको खुसीले । जिन्दगी साला सङ्क्रमणकालमा छ । राजनीति यसै भन्छ । संविधान लेखिएपछि यो टर्छ भन्छन् । खै संविधान कहिले पो लेखिने हो यो तालले । ट्याक्सीबाटै देखिन्छ, सहरको यो भागमा अकस्मात् ब्ल्याक आउट भइदिएको छ । झ्याप्पै बत्ती निभेको छ । हामी अँध्यारोमा अगाडि बढिरहेछौँ, मौन बसेर । ट्याक्सीका हेडलाइटले सडक र मोडहरू देखाइरहेछ, सधैँ हिँड्ने बाटो भए पनि, कुनै अज्ञात स्थलको जस्तो लाग्ने गरी, भयोत्पादक भएर ।

(श्रोत:- अन्तर्जाल अर्थात internet)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.