~दिलिप आचार्य~
त्यो गाँउमा बर्षौं देखि एकजना जमिनदारको राज चलेको थियो । थिचोमिचो को हद यत्ति सम्म थियो कि गाँउका हरेक चोक चोकमा जमिनदारका शालिक बनेका थिए र घर घरमा जमिनदारको तस्विर टाँगीएकै हुनु पथ्र्यो । गाँउमा जमिनदारको बोली नै कानून बराबर थियो र कसैले पनि त्यसको प्रतिकार गर्ने हिम्मत गर्दैनथे ।
विस्तारै गाँउमा स्वतन्त्र विचारको प्रवेश भयो र व्यक्ति पूजा को बिरोध र जनताको हकको लागी बिभिन्न गतिबिधिहरु शुरु हुन थाले ।
केहि शाहसी नेताको नेतृत्व, युवाहरुको जागरण र जनताको वितृष्णाको अगाडि जमिनदारको को केहि चलेन र अन्तमा उसले गाँउलेका घर खेत लगाएत सम्पूर्णा अधिकार फिर्ता गरे ।
स्वतन्त्रताको जोशमा गाँउलेले पुरानो जमिन्दारको तस्विर, शालीक लगाएत उसको नाम जोडिएको पाटी, पौवा र पाठशाला समेत ध्वस्त पारे ।
केहि समय भित्रै गाँउमा पुरानो जमिन्दारको नाम निशाना भेटन गार्हो पर्न थाल्यो ।
अझै केहि समय बित्दा त्यो गाँउमा अर्कै दृश्य देखिन थाल्यो । आफूलाई जमिन्दारको शोषण बाट मुक्त गर्ने नेताहरुको सम्मान गर्न भनेर गाँउलेहरुले धमाधम आफ्नो घर घरमा नयाँ नेताको तस्विर टाँगन थाले । चोक चोकमा फेरि नयाँ नेताका शालीक बन्न थाले र गाउँका बिभिन्न स्थानमा तिनका नामका स्मारक, पाटी पौवा निर्माण हुदैं थिए ।
बिस्तारै त्यो गाँउ यौटा पुरातनबादी संस्कारबाट मुक्त भई अर्को व्यक्तिबादि सस्कारमा जकडिन थाल्यो ।
(सभार :- Laghukatha )