कथा : देउकी

~राशि पाण्डे~Rashi Pande_1

हिँडाइको क्रममा जब तपाईंं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेकापाइतालाका डोबहरू पछ््याउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहङ्गम दृष्टिपात गर्नुहुन्छ ।

कहालीलागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला ? पाइलाका गोरेटाहरूमाउकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकालीमात्र छ, चढाइ मात्र छ । गन्तव्य कहाँ छ ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु ।हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ……..

जीवनको यति लामो गोरेटो पहिल्याउँदै, पछ््याउँदै, एकक्षण बिसाएर जब म आफ्नो चारैतिरदृष्टिपात गर्छु, आफ्नो जीवनको सिंहावलोकन गर्छु, एउटा विशाल क्यानभास फैलिदिन्छ मेरो चारैतिर । तीचित्रहरूलाई तपाईं देख्न सक्नुहुन्न, छुन सक्नुहुन्न, तर कताकता भित्र मनमस्तिष्कमा ती चित्रहरूसगबगाउँछन्, चलमलाउँछन् ।

क्यानभासमा एउटा विस्तृत पहाड, रूखजङ्गल, बस्तीहरू छन् ।

एउटा सम्म परेको डाँडामामन्दिर छ – भगवती मेलौली सैनीको ।

छेउमै झ्याम्म परेको सिलङ्गाको रूख अनि नजीकै ठुलो अग्लोसाङ्गलोको झुला ।

यत्रतत्र ससाना काठका किलाहरू गाडिएका छन्, जसमा विभिन्न किसिमका, विभिन्नआकृतिका घण्टहरू झुन्ड्याइएका छन्, नेजा१, पताकाहरू फरफराइरहेका ।

मन्दिरको सामुन्ने विशाल चउरछ, केही गाई, भैँैसी, बाख्राहरू चरिरहेका ।

चउरको छेउछाउमा ढुङ्गाको गारो र स्लेटले छाएका, कमेरोपोतेका घरहरू छन्; बस्ती छ, ढुङ्गा जत्तिकै बलियो शरीर र कमेरो जत्तिकै निर्मल मन भएकादेउकीहरूको– मेलौली ।

हो, तपाईंले पनि सुन्नु नै भएको होला ? तल्लो स्वराड, केशरपुर, मेलौली, देहीगाउँ, पेरिस ।जे भने पनि हुन्छ । जे नाम दिए पनि हुन्छ । वास्तविकतामा केही फरक आउन्न ।

बाल्यकालको सम्झनागर्छु । कत्ति रमाइलो थियो, त्यो उमेर, त्यो समय ? इजा२, बजै र म मात्र थियौँ । घरमा कोहीलोग्नेमानिस थिएनन् । बुवाको अनुहार सम्झन खोज्छु ।

अनेकौँ अनेकौँ अनुहारहरू आँखामा नाच्नलाग्दछन् ।

यिनमध्ये, कुनचाहिँ मेरा बुबा हुन् ? ठम््याउन सक्दिनँ । निक््र्योल गर्न सक्दिनँ ।

मेरा कुनै बुबा नै थिएनन्, कोही सिङ्गो बुबा नै थिएनन् । आफ्नै नाम दिने, माया दिने ।

यिनको बुबाको नाम केभनी एकपटक एउटा बाहिरिया मानिसले इजासँग सोधेथ्यो ।

एकछिन अकमक्किएर इजाले बताउनुभएथ्यो “संसार छन् ।”  हो, संसार छन् ।

यो सँसार छन् कुनै खास व्यक्तिको नाम होइन, जात होइन ।

कुनै खास व्यक्तिलाई यस नामले लक्षित गर्दैन ।

असङ्ख््य असङ्ख््य व्यक्तिहरू जो दुईचार रुपियाँकोलोभ देखाएर आफ्नो वासना तृप्त गर्न आउँछन्, ती सबैको सामूहिक नाम हो – ‘संसार छन्’ ।

एक्ली छोरी थिएँ । बजै, इजाको प्यार कसैलाई भाग लाग्दैनथ्यो ।

उनीहरूको माया, स्नेहपोख्ने भाँडो म मात्र थिएँ । बजै निक्कै राम्री हुनुहुन्थ्यो ।

गोरी, सुलुत्त परेको नाकमुख, हिस्सी परेकी । उहाँअरूजस्तै घाँघरो३ नलगाई साडी लगाउनुहुन्थ्यो ।

आफ्नो जवानीमा उहाँले दिल्ली, बम्बै घुमिसक्नुभएकोथियो, लाहुरेसँग ।

यसैले उहाँको बोली वचनमा मिठास थियो, व्यवहारमा शिष्टता ।

गाउँका इष्टमित्रहरूइज्जत गर्दथे, सल्लाह लिन्थे अनि बाहिरबाट आएका जिज्ञासुहरू देउकीहरूको चालचलन, रीतिस्थितिइतिहास, फाग र लोकगीतका लागि भेट गर्थे । म धेरैजसो उहाँसँगै हुन्थेँ । उहाँसँगै सुत्थेँ । इजाले त मलाईजन्म मात्र दिनुभएथ्यो, आमा त मेरो उहाँ नै हुनुहुन्थ्यो ।

रातभरि बजैको काखमा लुटपुटिएर, उहाँकोचाउरी परेको छालाका मुजाहरू खेलाउँदै म थुप्रै थुप्रै प्रश्नहरू गर्थेँ, बालसुलभ अनेकौँ जिज्ञासाहरू पोख्थेँ ।

उहाँ मलाई सहर, रेल, मोटरहरूको कथा सुनाउनुहुन्थ्यो अनि देउकीहरूको नारकीय जीवनको व्यथाबताउनुहुन्थ्यो । म राम्री त छँदै थिँए बजैको प्रभावले बाठी पनि हुँदै गएँ ।

दुई हजार चार सालमै यहाँ हाइस्कुल खुलिसकेको थियो ।

ठकुरीका छोराछोरी तथा अन्य केटाकेटीहरूसँगैमैले पनि काठको पाटीमा कमेराको मसीले क, ख लेख्न सुरु गरेँ । शिक्षा प्रारम्भ भयो । “देउकीको छोरीलेपढेर के काम ?

“देउकीकी छोरी देउकी नै बन्नुपर्छ ।” विरोधका गाइँगुइँहरू पनि सुनिए तर मेरी बजैका सामुकसैको सिप चलेन । मेरो स्कुल जान छुटेन ।

अहिले आफ्ना सँगीसाथीहरूलाई नियाल्छु, कति सुखी, कतिसन्तुष्ट देखिन्छन् ।

ईष्र्या जागेर आउँछ, उनीहरूको जीवन देखेर ।

कुनै किसिमको महच्वाकाङ्क्षा, कुनैकिसिमको अनुराग छैन ।

कन्था, खगालो लगाएर, रोटो र छाँछ४, आधा पेट खाएर पनि कति हँसिला, कतिखुसिला लाग्छन् ? के शिक्षा नै दुःखको मूल त होइन ? शिक्षाले चेतना जगाउँछ ।

स्थितिबोध गराउँछ,स्थितिबोध भएपछि मानिसहरू असन्तुष्ट हुन्छन्, यही असन्तुष्टि नै विषाद, चिन्ता तथा दुःखको जरो हो। सोच्छु, जुन दिन मैल ‘क’  लेख्न सिकेँ, त्यही दिन बीजारोपण भयो  दुःखको ।

म आमाको गर्भमा आउनुअघिबाटै समाजले मलाई देउकी बनाउने निर्णय गरिसकेथ्यो ।

देउकीकी छोरीदेउकी नै बन्नुपर्ने नियम चलिसकेथ्यो ।

दसबर्से उमेरको त्यो घटना आज पनि आँखासामु छर्लङ्ग भैप्रस्टिन्छ ।

जुन दिन म राँगा, बोकाहरूजस्तै भगवतीमा बलि चढाइएथेँ ।

कति राम्रो हुन्थ्यो होलापञ्चबलिसँगै मलाई पनि नरबलि चढाइदिएको भए ।

यसरी जीवनमा यातना, वेदना, सास्ती त सहनुपर्नेथिएन ? नवरात्रिको बेला चारैतिर दसैँको उमङ्ग, उत्साह छाएको थियो । भगवतीमा प्रायः सधैँ नै दस बिसराँगाहरू ल्याइन्थे, काटिन्थे ।

बलि चढाइन्थ्यो निरीह पशुहरूको, जसको रक्तले सिँचेर भगवतीलाई प्रसन्नपार्ने प्रयास गरिन्थ्यो ।

एक दिन, सायद अष्टमीको साँझ ठुलो जाँत५ लागेको थियो ।

सैकडौँ राँगा बोकाहरूबलिका लागि बाँधिएका थिए ।

हज्जारौँ मानिसहरूको कोलाहलमा दमौँ, झ्याली, नरसिङ्गाको तुमुलध्वनिले एउटा विभीषिका, एउटा भयावह वातावरण सिर्जिएको थियो देवीमन्दिरमा ।

बलिका लागिबाँधिएका पशुहरू संशयी, उत्तेजित भई यताउता हेरिरहेका थिए ।

मलाई पनि बिहानदेखि नै उपवासराखिएको थियो ।

नुहाई धुवाई नयाँ घाँघरो र चोली लगाएर, हामी सबै जाँत हेर्न गएका थियौँभगवतीमन्दिरमा । मानिसहरूको घुँइचो थियो ।

पण्डितहरूको मन्त्रपाठ, घिउ, तिल, जौको हवनले उठेकोधुवाँ, म निस्सासिएथेँ ।

त्यहाँका पुजारीले मलाई एक नयाँ फोलो६ दिँदै पानी ल्याउन अराएका थिए ।

देवन्वालो७बाट पानी ल्याई मन्दिरको परिक्रमा सकेर मलाई भगवतीको सामु बसालियो ।

मेरै छेउमा एकअधबैँसे साहूकारजस्तो मान्छे देवीको सामु पलेटी कसी हात अँजुली पारी बसेको थियो ।

अनि उसकोअँजुलीमा पानी, तिल, कुश, फूलपातीका साथै मेरो औँला पनि समाउन लगाएका थिए पुजारीले । विभिन्नमन्त्रहरू पाठ गर्दै,”ओम् नम् स्वाहा” को उच्चारण साथै उसले देवीमा सङ्कल्प दान गरेको थियो ।भगवतीको तेल र टिका मेरो माथमा लगाउँदै, पुजारीले भनेका थिए “आजदेखि तँ देउकी भइस्, अब देवीकैचाकरीमा रही तैँले जीवन बिताउनुपर्छ ।”

म विधिवत् देउकी भएको थिएँ ।

हामी झगडा गर्दा, रिस उठ्दा भन्ने गर्दथ्यौँ “तेरो मुण्डामै देउताको तेलपडो८।” आज त्यही गाली ममा चरितार्थ भएको थियो जसलाई दस वर्षीया बालिकाको क्रन्दनले, रुवाइलेकहाँ पखाल्न सक्दथ्यो र !  कहाँ बदल्न सक्दथ्यो र !

“कालोइ पारो कालोइ झुन्डो, काली गाईको दही छ,
जसोई लेख्यो भावनीले उसोइ, हुन्या रहिछ !”

पाँचसात दिनसम्म रुँदारुँदा मैले आफ्नो भाग्यलाई, आफ्नो नियतिलाई स्वीकारेको थिएँ । पछि थाहा पाएँ,त्यो साहूकारले देवीको भाकल पुरा गर्न इजालाई चार हजार दिएको रहेछ ।

म त पाल्तु पशुपक्षीहरूजस्तैबिक्री गरिएकी रहिछु ।

कस्तो हाम्रो जिन्दगी ? हामीहरूभन्दा त ती पशुहरू भाग्यमानी हुन्, जसलाई दुईचारचोटमै मोक्ष प्राप्ति हुन्छ । पीडाको अनुभूति एक क्षणका लागि मात्र हुन्छ अनि हुन्छ शान्ति, चिरनिन्द्रा ।

हामीहरूले त जिन्दगीभरि त्यति नै तड्पिरहनुपर्छ, बाँचुनजेल यातना सहिरहनुपर्छ, अचानामा तेर्सिएर …

केही मेरो जिद्दीले केही बजैको रहरले मेरो स्कुल जान छुटेन । स्कुल गई नै रहेँ । इजाले अझै जवान नै हुनुहुन्थ्यो । अझै पनि कोही न कोही मानिसहरू बास खोज्दै आउने गर्दथे ।

यसरी पाहुना आएको दिन हाम्रोघरमा चहपहल हुन्थ्यो । माडा९ पाक्दथ्यो, मासु पाक्दथ्यो । रक्सी ल्याइन्थ्यो । मलाई यी सब मनपर्दैनथ्यो ।

घृणा लाग्दथ्यो, तिनीहरूको बीभत्स अनुहार देखेर, तिनीहरूको कुत्सित व्यवहार देखेर मरिसाउँथे, बाझ््दथेँ ।

तर युगौँदेखि चलिआएको चलन, हाम्रो पेसा, हाम्रो धर्म, नगरी हुन्छ र ? के खाने,कसरी खर्च चलाउने ? मेरो मुखमा बुजो लाग्दथ्यो ।

मलाई सम्झना छ, जबजब म कुनै कामले इजाकोकोठामा पस्दथेंँ, त्यसबखत अनि दस, बिसको कमाइ थापेर बजैलाई दिँदा मैले इजाको आँखामा कुनैखुसी, कुनै उत्साह पाउन्नथेँ ।

हृदयभरि ग्लानि, विवशताको आँसु दबाएर बाहिर मेनका, उर्वशीको पाठगर्नुपर्दथ्यो, इजाले ।

म कक्षा आठमा पुगिसकेकी थिएँ । घरधन्दा सगाउँदै, स्कुलको पाठ पनि चली नै रहको थियो ।

यौवनले चियाउन लागिसकेको थियो ममा । कामपिपासुहरूको अाँखाले मलाई बिझाउन थालिसकेका थिए ।मौका पाए उनीहरू स्पर्शसुख बटुल्न खोज्दथे ।

मानिसहरू विभिन्न निहुँ गरी गरी पिठ्यँु सुमसुम्याउथे,गाला मुसार्दथे ।

तिनीहरूको पितृतुल्य व्यवहारमा पनि प्रेम, स्नेह होइन, कामका किराहरू, घृणितवासनाका अभिव्यक्तिहरू सगबगाइरहेका हुन्थे । म बुझ्ने भइसकेकी थिएँ ।

तिनीहरूको बाहिरी आवरणच्यातेर, भित्री तहसम्म चियाउन सक्ने भइसकेकी थिएँ ।

मलाई यी सबैदेखि वितृष्णा उठ्थ्यो, घृणा हुन्थ्यो।

मेरो कक्षामा म एक्ली मात्र केटी भएकीले नजानिँदो त्रासले घेरिरहेको हुन्थ्यो मलाई ।

जब एक पटकएउटा केटाले मसँग जिस्कन चाह्यो, हातपात गर्न खोज्यो, अनि मलाई स्कुलदेखि नै मन म¥यो – मैलेस्कुल जानै बन्द गरेँ ।

बजै ज्यादै  बुढी भइसक्नुभएको थियो, घरधन्दाको काम इजाले मात्र समाल्न गारोपरिरहेको थियो । मैले स्कुल छाडेकामा कसैलाई गुनासो भएन ।

स्याल पनि घोर्ले हुन्छ बैँसमा । म कोरली पोथीझैैँ राम्री हँुदै गएँ । भालेहरू पछ्याइरहन्थे मलाई,सिनोको वरिपरि गिद्ध झुम्मिएझंै ।

यी मानवगिद्धहरू जिउँदो मासु गिजोल्न रुँगिबसेका हुन्थे दाउ पर्खिएर।

राजा गिद्ध थियो, पद्म बिष्ट देवीमन्दिरको पुजारीको छोरो ।

पढ्थ्यो स्कुलमा, खप्पिस थियो गीत हाल्न,मसँग निहुँ पारीपारी बोल्न खोज्दथ्यो । जिस्कन खोज्दथ्यो । हरघडी मलाई पछ््याइरहेको हुन्थ्यो ।

सुनगाडाको माथिल्लो गहुँबारीमा घाँस काट्न लाग्दा उसले गीत हालेको थियोे एक पटक –
“”हातलकी घाँस काट्नेई गउँ क्याकि भाँच्ची हई,
त्यो तेरो भरियो जोवन कईकीलाई साँच्ची हई !”

म रिसले डोको त्यहीँ बारीमै फ्याँकेर आएकी थिएँ । त्यपछि धेरै दिनसम्म उसको सामु पर्दैपरिनँ ।

भैँसीचराउन आयारको सैना, भट्टे खोला, बिप्पे ओडार, तातापानी अनि घरको सेरोफेरो, पानी लिन, पातालकोन्वालो, ड््याडीका न्वालो, सबै ठाउँ सबै बेला पद्मको गीतले मलाई पछ््याइरहन्थ्यो, मेरो परिक्रमागरिरहन्थ्यो, मलाई केन्द्रबिन्दु बनाएर । मलाई फकाउन ऊ गाउँथ्यो –
“ हिमान चुली पइरो पड्यो, हिम चुली रडेन
गल्ती भया माफ गरिनु रिसानु पडैन !”

पैसा भएका कामपिपासुहरू इजासँग मेरो मोलभाउ गर्दथे ।

कोपिला फक्रनुअघि नै उनीहरू पुष्पपत्रहरू,अमृत रसहरू पान गर्न खोज्दथे ।

यी सब कुराले मेरो मनमा एउटा छटपटी, एउटा उथलपुथलमच्चिइरहन्थ्यो भित्र, छातीभित्र, आत्मामा, कता कता, सम्पूर्ण शरीरभरि ।

स्कुल छुटेकामा पनि मलाईठुलो पिर थियो, लाग्दथ्यो पढाइ छोडेर मैले झन् ठुलो भुल गरेँ ।

मेरो दिनचर्यामा बारी खन्नु, घाँस काट्नु,भैँसी हेर्नु, घरधन्दा गर्नु नै रह््यो, तर पढ्ने चाहना छुटेन ।

एउटा सानो कागतको टुक्रा फेला पार्दा पनिआद्योपान्त पढ्ने बानीले मेरो बुद्धि झन् झन् तिखारिँदै थियो, विचारमा परिपक्वता आइरहेको थियो ।

मसधँै सधैँ सुत्नुअघि डायरी लेख्ने गर्दथेँ, जसले मेरो लेखाइ पनि राम्रो हुँदै गएको थियो ।

पद्म मलाई प्रेमको संसारमा डुलाउँदै भन्दथ्यो– “हिँड, भागौं, यो संसारदेखि टाढा, जहाँ तिमी र हामीबाहेक अरू कोही हुने छैन, एउटा बेग्लै संसार हुनेछ, एउटा सुन्दर संसार, जहाँ यहाँको जस्तो लुछाचुँडी,अत्याचार, बलात्कार हुने छैन  हुने छ केवल प्रेम, प्रेम दुई आत्माको मिलन मात्र ।”

बिस्तारै बिस्तारै उसप्रति मेरो आकर्षण बढिरहेको थियो ।

जहिले पनि उसको बोलीले, उसको गीत,उसको अनुहार मेरो आँखामा नाँचिरहन्थ्यो । मलाई लाग्थ्यो, म उसको प्रेमको ज्वालामा पिल्सिरहेकी छु ।

कति मुर्ख म ? एउटी देउकी भएर कत्रो सपना हेर्न लागेकी ?  कत्रो महच्वाकाङ्क्षा सजाएकी ? मन्दिरकीदासी, देवीको सेवामा अर्पित, समर्पित ।

विलासी लोग्नेमानिसहरूको खेलौना, हाड र मासुको जीवित कठपुतली ।

मैले प्रेम गर्नु हुन्छ र ? मैले बिहा गर्नु हुन्छ र ? के देउकीको पनि आत्मा हुन्छ ? देउकीलेपनि एउटी नारी भएर आफ्नो चोखो माया दिन सक्छे ? एउटाकी मात्र भएर रहन सक्छे ? हजारौँ, हजारौँप्रश्नहरू तेर्सिन्थे मेरा सामु, मेरो अघिल्तिर, जसले मलाई बेचैन पार्दथ्यो । मलाई तातो बालुवाको भुमरीमाफ्याल्दथ्यो ।

म धेरै उग्र हुँदै गइरहेकी  थिएँ  । म झन्झन् झगडालु र झर्कौली भैरहेकी थिएँ  ।

मेरा यिनैव्यवहारले इजाले मलाई पाहुनासँग सुत्न कर लगाउन सक्नुभएको थिएन, हिम्मत गर्न सक्नुभएको थिएन। केटाकेटी नै छ भनी मनलाई थामथुम पारिरहनुभएको थियो ।

जेसुकै भए तापनि एक न एक दिन मैलेआफ्नो नियति, आफ्नो धर्म स्वीकार्नु पर्नेछ ।

म सोकेसमा सजाइएकी विलासिताकी वस्तु, मैले एक दिनबेचिनैपर्छ, दसैँकोे लागि पालिएको खसी मैले एक दिन काटिनैपर्छ ।

अनि यसै मानसिकतामा मैलेनिर्णय लिएँ, कुनै अपरिचित, घिनलाग्दो, दुर्गन्धित श्वासको रापमा झोसिनुअघि नै समर्पण गरिदिऊँ,आफूलाई आफ्नो हृदयसम्राट सामु ।

सुम्पिदिऊँ आफूलाई आफ्नो प्रियतमको बाहुलीमा । गोराको रमाइलोपर्वमा म द्यौडा हाल्दथेँ–
“बर पत्यामा घर लायो धौला पाँथरको !
केइ इज्जत रन्या हो कि देउकी पाँतरको ?”

पद्म उत्तर फिराउँथ्यो । हाम्रा उत्तरप्रतिउत्तरहरू सैकडौँ गलाले दोह¥याइरहेका हुन्थे, एकअर्काको हातमाहात राख्दै, गीतको बोलमा खुट्टाको ताल दिँदै हामी रात रातभर खेल लगाई बस्दथ्यौँ ।

जीवनका सुखदुःख,अत्याचार, कुरीतिहरूलाई गीतको रूपमा व्यक्त गर्दै हामी आफ्नो मनको बह पोख्ने गर्दथ्यौँ । हाम्रो खेलत्यो क्षेत्रमा सबैभन्दा राम्रो हुने गर्दथ्यो ।

हामी देहीमाडौँको जाँत जान्थ्यौँ, त्रिपुरासुन्दरीको जाँत जान्थ्यौँ,प्यानी, महारुद्र, शिवनाथ, सिद्धनाथ कुनै यस्तो ठाउँ रहेन, जहाँ हामी नपुगेका हौँ, हाम्रो गीत नगुञ्जिएकोहोस् ।

ऊ जाँतमा मेरो लागि चोली किनिदिन्थ्यो । मथुरावालाको मिठाई किनिदिन्थ्यो । नरिवल गोलाकिनिदिन्थ्यो । हाम्रो प्रेम हुर्कंदै गयो, झाँगिंदै गयो ।

हामी घिउ बेच्न जाने निहँुले झुलाघाट जान्थ्यौँ,पिथौरागढ जान्थ्यौँ ।

रनवन, गाउँसहर हाम्रो प्रेमको सुवासले मगमगाउन लाग्यो । हामी एकअर्कामाविलीन भयौँ ।

हुने खानेका छोराले देउकी राख्नु कुनै अनौठो कुरा थिएन, हाम्रो समाजमा तर म पद्मकी मात्रएकलौटी भएकीले डाहा गर्नेहरू थुप्रै निस्किए ।

रिस गरून्, डाहा गरून् मलाई के वास्ता ? पद्म मात्र नरिसाएपुग्दथ्यो मलाई ।

अनि मेरो सपनाको महल भत्काउँदै पद्मको बिहा भयो । सानो भूकम्प गयो मेरो हृदयमा । मैले यस्तैहुन्छ भनी स्विीकारिसकेकी थिएँ ।

देउकीको पनि बिहा हुन सक्छ र ?  मलाई खास डिगाउन सकेन योघटनाले ।

स्वास्नी ल्याएर पनि मप्रतिको आसक्ति, मप्रतिको चाहना उसमा कम भएन ।

झन्झन् म भनेपछिहुरुक्क हुन थाल्यो । हाम्रै घरमा ऊ धेरैजसो समय बिताउन लाग्यो ।

मलाई कहिलेकाहीँ लाग्दथ्यो, मकसैको भाग खोसिरहेकी छु, कसैको अधिकारको अपहरण गरिरहेकी छु ।

मलाई आफूप्रति, आफ्नो पेसाप्रतिग्लानि हुन्थ्यो । म उसदेखि टाढाटाढा हुने प्रयास गर्दथेँ ।

मेरो यस्तो उपेक्षाले गर्दा ऊ झन्झन् मलाईफकाउने, रिझाउने गर्दथ्यो ।

ऊ मलाई नयाँनयाँ कपडा दिएर, नयाँ नयाँ गहनाहरू बनाइदिएर भुलाउनेप्रयास गर्दथ्यो ।

इजालाई यी सबै कुरा थाहा भए पनि केही बोल्नुहुन्नथ्यो । बरु उहाँ मलाई प्रोत्साहितगर्नुहुन्थ्यो । उसबाट प्राप्त भएका चिज खुसी खुसी राख्नुहुन्थ्यो ।

मलाई लाग्थ्यो पद्म ममाभन्दा बेसी खर्चइजाको लागि गर्ने गर्छ, उहाँको मुखमा बुजो लगाउन ।

जब पद्मले एक दिन तिन तोलाको नयाँ सुनको गलबन्दी दिँदै, हिँड न दिल्ली भागौँ भनेको थियो । मैलेमानिनँ, मलाई लाग्यो ऊ स्वास्नीको गहना चोरेर मलाई खुसी तुल्याउन खोज्दछ ।

एउटी मजस्तै नारीकोअवहेलना, अत्याचार । मलाई अपराधभावले पिरोल्थ्यो, पश्चाताप हुन्थ्यो ।
जेसुकै होस्, पद्मको सान्निध्यले मलाई पचासवटाको लुछाइबाट जोगाएको थियो । म आफूलाईभाग्यशाली ठान्दथेँ ।

मेरो सिनो लुछ्न नपाएका स्यालहरू मुर्मुरिएर बसेका थिए, मसँग डाहा गर्नेहरूस्यालको हुइयाँमा हुइयाँ मिलाउन तम्तयार भइरहन्थे ।

कात्तिक पुर्णे देवीको जाँत नजिक नजिक आइरहेथ्यो ।

प्रत्येक वर्षझैँ मेलाका लागि भारत पसेकालाहुरेहरू, कमाइ गर्न गएका देउकीहरू घर फर्किरहेका थिए । चारैतिर उल्लास छाएको थियो । पूजाकोसमय, मन्दिरको कामले म पनि व्यस्त रहन्थेँ ।

बिहानदेखि नै नुहाई धुवाई, मन्दिर लिप्नु, पानी ल्याउनु,फूलपातीको व्यवस्था गर्नु मेरै जिम्माको काम थियो । पूजाको एक दिन अगाडिदेखि नै चारैतिरकामानिसहरू ओइरिन लागेका थिए ।

ध्वजा, नेजा, पताकाहरूको फरफरमा दमौ, नगाडा, नरसिङ्गाको तालमाभगवतीको जयघोषले वरपरका डाँडाहरू नै गुञ्जायमान भएका थिए ।

मानिसहरूको भिडले चउरमातिलसम्म राख्ने ठाउँ थिएन, लाग्थ्यो चउरभरि एउटा विशाल गलैँचा ओछ््याइएको छ, जसमा विभिन्नपरिधानका असङ्ख्य नरनारीहरूको चित्रण गरिएको छ ।

एउटा उल्लास, एउटा हर्षोन्माद छाएको थियोमानिसहरूमा ।

जाँतको बेला जिम्वाल परिवारले मात्र मन्दिरको चउरको घोडा चढ्न पाउने पुरानो परम्पराथियो । ठकुरीहरू जाँतमा घोडा चढी कुदाउने गर्दथे ।

अन्य जातिका मानिसहरूले घोडा चउरको तलै राखीनाङ्गा खुट्टाले मैदानमा आउनु पर्दथ्यो । ठकुरीहरूलाई “जदौ” भनी ढोग दिनु पर्दथ्यो ।

यो चलनलाईबुढाहरूले धानी आए तापनि नयाँ पुस्ताले स्वीकार गर्न गारो मानिरहेको थियो ।

यसै सिलसिलामा रक्सीलेटिल्ल परी लाहुरे रामसिंह नायकले घोडा कुदाएको थियो । चउरभरि, मन्दिरको प्राङ्गणमा ……..

“परापूर्वकालदेखि चलिआएको रीति तोड्ने ?  देउका भएर घोडा चढ्ने जाँतमा ? मान्यजनको अवज्ञा गर्ने? बढेको,  चढेको ?  पल्टनको लाहुरे भएँ भन्दैमा त्यत्रो सान देखाउँछ ? यस्तालाई सजाय नदिई कहाँ हुन्छ र ? ठालू जिम्वाल परिवारहरू यो घटनाले क्षुब्ध भएका थिए ।

सोझा सिधा जनताहरू भगवतीले केहीअनिष्ट गर्दछिन् भनी आशङ्कित भएका थिए ।

एउटा आगाको फिलुङ्गो सल्केको थियो । तनावकोवातावरण सिर्जिएको थियो ।

यसमा केही घिउ थपियो सुनगाडाबाट देवीको चोलो निस्कने दिन ।

परम्परादेखि नै चोलोलाई अघिबाट नायकहरूले र पछाडिबाट भाटहरूले काँध दिई देवीको मन्दिरमा लग्नेगरिन्थ्यो ।

त्यस दिन पनि चकडोल१०मा पूजाको सरसामानहरूका साथै देवीको सुनको आसन, मुकुट, सुनजनै, चाँदीको अम्खोरा, छड, खुकुरी, खुँडा इत्यादि राखिए । धामीमा देवी सवार भइन् । धामी काँम्न थाल्यो।

काँम्दै चकडोलमा उभियो । दुवै थरीले काँध दिई चकडोल उचाले ।

धामीको नजर जहाँ जहाँ पर्छ त्यसठाउँको भलो हुन्छ भन्ने धारणा र परम्परा अनुसार भाटहरूले चकडोललाई आफ्नो गाउँ देखिने चालतिरपु¥याउन पछाडिबाट धकेल्न लागे ।

नायकहरूचाहिँ चकडोललाई आफ्नै गाउँबिचबाट लैजाने जुक्ति गर्नलागे । यो चलिआएको परम्परा थियो । धक्कामुक्का, तानातान चल्न लाग्यो । चकडोलका घण्टहरूलेभयानक आवाज निकाल्न लागे ।

जोसिएका कण्ठस्वरहरूबाट निस्किएको जयनादले वातावरण नै थर्किनलाग्यो ।

चकडोल हुत्तिएर कहिले अगाडि कहिले पछाडि हुन लाग्यो ।

यसै धक्कमधक्कामा चकडोलहुत्तियो, सामानहरू हुर्रिए । धामी उछिट्टिएर एउटाको बुइ चढ्न पुग्यो ।

देवीका गहनागुरिया, सुन चाँदीकासामानहरू, भेटीका रुपियाँ पैसा सबै यताउता भए ।

केही सामानहरू फेला परे, केही लुकाइए, केही हराए ।अनिष्टमा अनिष्ट थपियो ।

यी सबै घटनाहरूले गाउँमा उद्विग्नता छाएको थियो । आरोपप्रत्यारोप चलिरहेथ्यो । आगाको फिलुङ्गोशान्त हुन पाएको थिएन । स्वार्थी तच्वहरू पङ्खा हम्किरहेका थिए ।

अनि फेरि एउटा बतास चल्यो‘प्यानीको जाँतमा पुजारीको छोराले जुवामा दस हजार हा¥यो, कहाँबाट त्यतिका पैसा ल्यायो उसले ?झुलाघाटमा आठ तोला सुन बेचेको’ हल्ला पनि चल्यो । देउकी र पद्मे मिलेर देवीको भण्डार रित्याइरहेकाछन् । सार्वजनिक सम्पत्ति हिनामिना गरिरहेका छन् ।

डढेलो सल्क्यो, आगाका मुस्ला लप्लपाउन लागे ।उजुरी प¥यो । थाना, अदालत, पञ्चायत, पुलिस, मुद्दा । मन्दिरको सम्पत्ति मासेको आरोपमा हामी चलानभयौँ । दुस्मनहरूले ताली बजाउने मौका पाए । कर्मचारीहरूले पैसा सोहोर्ने बहाना पाए ।

पुस्तौंदेखिबेथितिसँग राखिएको मन्दिरको सम्पत्ति, हामीहरू फस्यौँ, फसाइयौँ ।

“पुजारीका छोराले तलाई कति सुनचाँदी राख्न दिएको छ ? कहाँ– कहाँ राखेकी छेस् ? कस कसलाईदिएकी छेस् ?” हजार मुख, हजार प्रश्न ।

सबैको एउटै चाहना  धन, काँचो मासु । जहाँ जाऊँ उही अनुहार ।उही आँखा । यो लुछाचुँडीमा केही बचेन । गरगहना, धनसम्पत्ति ।

आश्चर्य लाग्छ यो ज्यान मात्र रह्योकसरी ?  बाँच्यो कसरी ?  हुरुक्क भई किन निस्कन सकेन ?

जब देउताको सम्पत्ति मासेको आरोपमा पद्मे जेल प¥यो, मेरो रहे, बचेको एउटा सहारा पनि टुट्यो । मत जिउँदो सिनो भएँ । मासु लुछ्ने काग, गिद्धहरूलाई हात हल्लाएर धपाउने ताकत पनि शेष बचेन ममा ।लुछ्नु लुछे, नोच्नु नोचे ।

मेरो क्रन्दन, मेरो हारगुहार सुन्ने कसले ? पानीमा बसेर कसले गोहीसँग दुस्मनीगर्न सक्छ ?  शुभेच्छुहरू पनि मूक थिए । म त न्वालो थिएँ मैलौलीको ? जसलाई पानीको तृष्णा जाग्यो,आयो पानी पियो गयो ।

अनेकौँ अनेकौँ लोटाहरू, गाग्रीहरू, बाल्टिनहरू चोबलिए । कतिको याद गरूँ ?

कतिको सम्झना गरूँ ? कालीको बगरमा भएका ढुङ्गाहरूभन्दा बढी यो छातीमा घाउहरू लागेका छन् ।कसलाई देखाऊँ ? कोसँग पोखूँ ?

एक पटक एक ‘भद्र’  व्यक्ति रक्सीले मत्त भई मध्यरातमा ढोकामा लात हान्न आइपुग्यो । नाइँ भनूँ? सुतेको बहाना गरूँ ? भोलि झन् ठुलो आपत् आउन सक्छ, भोलि झन् बढी यस्ता भद्रहरूको थिचाइमापिसिनु पर्छ । लाचार मैले स्वागत गरेँ बगरको ढुङ्गाझैँ लम्पसार परेर ।

तपाईंं त्यो ढुङ्गामा बस्नुहोस्,सुत्नुहोस्, थुक्नुहोस् चाहे पूजा नै गर्नुहोस् ।

ढुङ्गाले केही प्रतिकार गर्छ र ? म पनि ढुङ्गा थिएँ, तर ममाचेतना शेष थियो । स्वाभिमान शेष थियो ।

उसले गिजोल्नु गिजोल्यो, लुछ्नु लुछ्यो, रातभरि ।

जब ऊसबैतिरबाट तृप्त भयो, जाने बेला आफ्नो खल्तीमा हात हाल्दै मेरो रातभरिको मोल ति¥यो, मेरो शरीरकोमोल, मेरो आत्माको मोल दियो, उसले एउटा चुरोट, मात्र एक खिल्ली चुरोट ।

म चुरोट पिउन्नथेँ ।धूमपानको लत थिएन । तापनि खुसी खुसी स्वीकारेँ, सँगीको रूपमा, साथीको रूपमा । एउटा चुरोट र मेरोजीवनमा कत्तिको समानता ? कत्तिको साम्य थियो ? शनैः शनैः जल्दै जानु ; अरूलाई तृप्ति दिँदै आफ्नोमृत्यु निम्त्याउँदै जानु ? आह, चुरोट ? मेरो जीवन एउटा चुरोटभन्दा बढी थिएन ? मेरो मोल एउटाचुरोटभन्दा ज्यादा थिएन ? मेरो जीवन– एउटा चुरोट थियो  ठुटिँदै गएको । मेरो जीवन – एउटा ढुङ्गा थियो,बगरमा मिल्किएको ।

बाहिरबाट पनि थुप्रै मानिसहरू आउने गर्दथ,े खास गरेर कर्मचारीहरू ।

कोही निरीक्षण गर्न, कोहीतालिमका लागि उम्मेदवार छनौंट गर्न, कोही ऋण लगानी गर्न, कोही ऋण असुली गर्न । कत्तिकत्तिनिहँु हुन्थ्यो सम्भाव्यता अध्ययन, तथ्याङ्क सङ्कलन ।

सबैको चाहना हुन्थ्यो सकेसम्म थोरै पैसाखर्चेर, पाएसम्मको मोजमस्ती ।

तिनीहरूलाई के फिक्री ? के सुर्ता ? उनीहरूको अङ्कशायिनी बनेर, हाँसीहाँसी सुतेकी नारीको छातीमा कति लाभाहरू उम्लिएरहेका छन् ? उनीहरूलाई माडा र लौन बनाएर खुवाउनेदेउकीहरू के खाएर जीवन निर्वाह गरिरहेका छन् ? हाम्रो इतिहास खोतलिन्थ्यो, हाम्रो कथा, व्यथा,समस्याहरूको, निवेदन प्रतिवेदन तयार पारिन्थ्यो । कानुन बनाइन्थ्यो ‘देउकी चढाउनु हुन्न, देउकीको बिहागराइ दिनुपर्छ ।

यो कोढ हो समाजको ।” दिनभरि आदर्शको कुरा छाँटेर राति ब्वाँसो भएर घुम्दथे यिनीहरू ।

यी पाल्तु कुकुरजस्ता देखिने ब्वाँसाहरूलाई कसरी चिन्ने ? कसरी पहिचान्ने ?
…. यो वैतरणीमा साथदिने, सहारादिने पद्म पनि झ्यालखानामै म

¥यो भत्रे खबर पाएपछि त आशाको एउटात्यान्द्रो पनि बाँकी रहेको छैन ।

साँच्ची, जीवनको गोरेटो ज्यादै विकट र दुरूह हुनेरहेछ ।

यति छोटो समयमाधेरै अनकन्टार बाटाहरू हिँडिएछ ।

धेरै धेरै हन्डर, ठक्करहरूले यो छाती छिया छिया, विदीर्ण भइसकेको छ ।

बाँकी बाटो छिचोल्ने सामर्थ अब रहेन यो ज्यानमा ।

यत्रा व्याघात, विपत्ति र जीवनको विप्रलब्धले अब तयो कायाक्लेशबाट उनमुक्ति चाहिरहेछ, नाटकको पटाक्षेप चाहिरहेछ, आज यो देह ।

समाजका विकार,विकृति र फोहरहरू बोकेर अब यो नदी ज्यादै मैलो र घिनलाग्दो भइसकेको छ । एउटा निर्मल, स्वच्छन्दनदी, गन्दा नाली भएको छ ।

असङ्ख्य असङ्ख्य विनाशक जीवाणु र विषाणुद्वारा क्षत विक्षत पारिएको छ।

एउटै चाहना रहेको छ अब यो यात्रालाई एउटा बिसौनी, एउटा विश्रान्तिको …..
….तर होइन, हत्केलाका सबै औँलाहरू कहाँ बराबर हुँदा रहेछन् र ? सबै एकै कहाँ हुन्छन् ? समाजमा कोहीइमानदार, आदर्श तथा हितैषी पनि हुँदा रहेछन् ।

सबै लोग्नेमानिसलाई एकै जस्तो ठान्ने बानी परिसकेकीमैले एउटा दाजु जस्तै माया गर्ने कर्मचारी पनि पाएँ । जसको सही मार्गदर्शन र सिफारिसले मैले तालिममाभाग लिने मौका पाएँ ।

पहिलो पटक आफ्नो देशको केही भाग घुम्ने मौका पाइयो, महेन्द्रनगर, धनगढी,नेपालगन्ज, तानसेन, पाल्पा । आँखाका पर्दाहरू खुले । नर्मल तालिमको दस महिना कसरी बित्यो, त्योथाहै पाइएन ।

“देउकीले मन्दिर छाडेर जानुहुन्न, अर्को पेसामा लाग्नुहुन्न, देवी रिसाउँछिन्, कुभलो गर्छिन”भन्ने अन्धविश्वासलाई तोडेर म आज एक तालिमप्राप्त शिक्षिका भएर फर्केकी छु ।

आज नयाँ जोस, नयाँउमङ्गले म आफ्नो नयाँ जीवन थालनी गर्न व्यस्त छु । मेरो पेटमा गर्भ पनि छ । म भगवान्सँग प्रार्थनागर्छु, छोरी नै जन्मोस् । त्यो बिनाबाउकी छोरी भए तापनि मजस्ती देउकी हुने छैन ।

मैलेजस्तो अत्याचार,लुछाचुँडी भोग्नुपर्ने छैन, मैले जस्तो विवशतामा पिसिनु पर्ने छैन । उसमा नयाँ साहस, नयाँ विश्वास हुनेछअनि त्यसलाई सहारा दिने हजारौं नयाँ हातहरू हुनेछन् ।

(“देउकी” गरिमा, वर्ष  ४, अङ्क  ६, पूर्णाङ्क ४२, जेठ २०४३ र पुनः प्रकाशितः गरिमा, कथा विशेषाङ्क वर्ष१८, अङ्क ५, पूर्णाङ्क २०९, वैशाख २०५७)

शब्दार्थः
१. झन्डा, २.आमा, ३.घुँडाभन्दा तल झारेर लगाइने फरिया, ४.मोही, ५. जात्रा, ६.गाग्रो, ७.कुँवा, ८. तँलाइँभगवानको श्राप लागोस् । ९.रोटी जस्तो पीठो र घिउबाट बनाइएको विशेष परिकार, १०.रथ÷देउताको आसन।

(श्रोत : Rashi )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.