कथा : ट्युमेनको किनारमा

~मणि लोहनी~Mani Lohani

‘ऊ त्यही हो उत्तरकोरिया । जहाँ हाम्रा मित्रहरू पक्राउ परेका थिए ।’ चीन र उत्तरकोरियाको सीमामा रहेको ट्युमेन नदीको बीचमा पुगेपछि लाराले भनिन् । लारा अमेरिकी नागरिक हुन् । लामो समयदेखि उनी एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थामा कार्यरत छिन् । अहिले उनको क्षेत्र यही हो । चीन र उत्तरकोरियाको सिमाना ।

मानवअधिकार हनन सम्बन्धी रिपोटिङका सिलसिलामा रहेका दुई अमेरिकी पत्रकार लउरा लिङ र युना लिलाई उत्तरकोरियाको सुरक्षाकर्मीहरूले यही ट्युमेन नदीको किनारमा पक्राउ गरेका थिए । अहिले उत्तरकोरियामा बन्दी जीव्ान बिताइरहेका लिङ र लिले आफूहरूले चिनियाँ भूभागबाट नै दृश्य खिचेको बताए पनि त्यसको कुनै सुनुवाई भएन । बरु उल्टो पोङयाङ अदालतले उनीहरूलाई दोषी ठहर गर्दै १२ वर्ष श्रम शिविरमा पठाउने फैसला सुनायो । यी दुवै अमेरिकी पत्रकारले गैरकानुनीरूपमा उत्तरकोरिया प्रवेश गरी अस्वीकार्य काम गरेको पोङयाङ अदालतको फैसलामा उल्लेख थियो ।

यो घट्नाले विश्व्ाभरिका पत्रकारहरूमाझ सनसनी नै फैलियो । प्रेस स्वतन्त्रता र निर्वाध समाचार सङ्कलन गर्न पाउने विश्वव्यापी मान्यतामाथि यो दुःखद आक्रमण थियो । ती दुवै पत्रकार लिङ र लि मानव तस्करहरूले उत्तरकोरियाली महिलामाथि गर्ने दुव्यवहारका बारेमा अनुसन्धान गर्दै थिए ।
पोङयाङ अदालतको फैसलाको तीन महिनापछि अमेरिकी एक संस्थाले दक्षिण एसियाका पत्रकारहरूको टोलीलाई ट्युमेन नदी किनारमा पुर्याायो । पाकिस्तान, श्रीलङ्का, भारत र नेपालका पत्रकारहरू सम्मिलित त्यो टोलीमा म पनि थिएँ । र मेरो साथमा थियो, क्यामरामेन अशोक सिलवाल ।

गाढा हरियो, आकर्षक र चीसो देखिने पहाडी खोँचमा अवस्थित ट्युमेन नदीले दुई देश चीन र उत्तरकोरियालाई छुट्याएको थियो तर यहाँको भौगोलिक बनावटले सीमासुरक्षा फितलो लाग्थ्यो ।
उत्तरकोरिया छिर्न हामीलाई अनुमति थिएन । पुलको पल्लो छेउमा पुगेर पाकिस्तानको जीओ टिभीकी उज्मा र मैले फोटो खिच्यौँ । उत्तरकोरियाको पिच छोएको आभाषले हामी तर्सियौँ । यतिखेर लिङ र लि श्रम शिविरमा के गर्दै होलान् ? हामी दौडेर ट्युमेनको वल्लो किनार आइपुग्यौँ । यो कथा लेखिरहँदा अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनको प्रयासमा ती दुई अमेरिकी पत्रकार छुटे ।

‘यही नदी किनारले लोभ्यायो हामीलाई ।’ जिङ लि सुनले भनिन्, ‘उत्तरकोरियाको यो कुनामा हामीसँग दुःख र अभाव मात्रै छ । चीन हाम्रो लागि स्वप्नदेश हो । त्यहाँ काम र दाम दुवै छ । त्यही भएर उमेरले तन्नेरी नेटो नकाट्दै हामी ट्युमेन तर्न हतारिन्छौँ ।’
‘हाम्रो लोभ र हतारले हामीलाई यही ट्युमेनको किनारमा डुबाई दियो ।’ जिङ लगभग रोइसकेकी थिइन्, ‘अब हामीसँग हाम्रो जीवन रहेन ।’ लाराले हामीसँग परिचय गराएकी यी महिलालाई लाराकै संस्थाले उद्धार गरेको रहेछ ।

पहिले त मैले जिङका कुरामाथि विश्वास गरिहालिन् । काठमाडौँका विभिन्न अधिकारवादी संस्थाहरूले महिला र बालबालिकालाई घोकाइघोकाइ रुन र बोल्न सिकाए जस्तो त यो होइन, भन्ने पनि लाग्यो तर जब जिङको आँखामा सत्यताको चीसो स्केच देखेँ तब मलाई विश्वास भयो । पीडालाई जति नै लुकाउन खोजे पनि साना दुई आँखाका किनारमा पीडाहरू प्रष्टिहाल्दा रहेछन् । भएको पीडालाई आँखामा लुकाउनु र नभएको पीडालाई आँखामा देखाउनु कहाँ सकिन्छ र ?

उमेरले ३० ननाघेकी यी महिला सन् २००२ मा उत्तरकोरियाबाट गैरकानुनीरूपमा चीन पसेकी रहिछिन् । उनीजस्ता थुप्रै उत्तरकोरियाली महिला सन् १९९० को दशकदेखि नै त्यसरी चीन पस्दै आएको उनले बताइन् । खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुको अभावमा उनीहरू उत्तरकोरिया छोड्न बाध्य भइरहेका रहेछन् ।

‘ट्युमेन नदी तरेपछि हामी चीनको एक घरमा आइपुग्यौँ ।’ जिङले उत्तरकोरिया छोड्दाको क्षण सम्भिmन्, ‘त्यो परिवारले हामीलाई स्वागत गर्योय । उनीहरूको कुराले मैले काम पाउँछु भनेर खुसी पनि लागेको थियो ।’

तर काम मिलाई दिनुभन्दा त्यो चिनियाँ परिवारले जिङलाई मानव तस्करको जिम्मा लगाई दियो । तस्करले एक चिनियाँ किसानसँग मोटो रकम लिएर जिङलाई बेचिदियो । जिङले आˆनो इच्छाविपरीत त्यो किसानसँग बिहे गर्नुपर्योो ।

‘मेरो चिनियाँ श्रीमान् मभन्दा १५ वर्ष जेठो थियो र उसको एउटा खुट्टा चल्दैन थियो । त्यसबेलादेखि नै म उसको दासी भएकी हुँ । उसले भनेको मानेन भने मलाई कुट्थ्यो ।’ गुलाफकै पत्रजस्ता पातला जिङका ओठ थरर्र कापेँ ।

घरेलु हिंसा र गरिबीका कारण भाग्ने दसौँ हजार उत्तरकोरियाली महिलाको कथा पनि जिङको जस्तै रहेको लाराले बताइन् । उनले बताएअनुसार महिलाहरू आफैँ चीनसम्म पुग्दा रहेछन् र अपहरणमा पर्दा रहेछन् । चिनियाँ व्यापारीहरू पनि उत्तरकोरियामै गएर त्यहाँका व्यापारीको सहयोगमा केटीहरू फसाउँदा रहेछन् । ‘हामीसँग तपाइँको छोरीका लागि सीमापारिको गाउँमा निक्कै राम्रो काम छ । उनले तलब पाउँछिन् र तपाइँलाई पैसा पठाउन सक्नेछिन्’ भन्दै झुक्याउँदा रहेछन् ।

महिला बेचबिखनले आक्रान्त मुलुकको म सामान्य पत्रकार । विकसित र शक्तिसम्पन्न भनिएका देशका महिलाहरूका पीडाले स्तब्ध हुन्छु ।

महिला हुनु नै के दोष हो ? विश्व्ाभरिका महिलाका समस्यामा किन यति धेरै समानता ? महिला भनेको के पीडाका पुञ्ज हुन् ? हे दैव, महिलामाथि यति धेरै अन्याय किन ? नेपाल, भारत, पाकिस्तान या ट्युमेनको किनार सबै स्थानका महिलाका पीडा किन उस्तै र एउटै ?

आधुनिक युगको यो दासप्रथाबाट विक्षिप्त महिलाहरूलाई सहयोग गर्दै चीन र उत्तरकोरियाको सिमानामा चार वर्ष बिताइसकेकी लाराले भनिन्, ‘व्यापारीले पसलमा सामान सजाएझैँ हुन्छ । महिलाहरूलाई लहरै राखिन्छ । उमेरअनुसार मिलाइन्छ । मेकअप र राम्रा लुगामा सजाएपछि मान्छेहरूले मोलतोल गर्न थाल्छन् । सबैभन्दा बढी मोल जसले दियो उसैले रोजेको महिला पाउँछ । ती महिलालाई पहिले तस्करले बलात्कार गर्छन् । त्यसपछि बाँचुन्जेल किन्ने मान्छेको यौनदासी बन्नुपर्छ ।’

‘उत्तरकोरिया नर्फकने ?’ म जिङलाई सोध्छु ।

‘ट्युमेन पार गर्न निक्कै दुःख गरियो र यहाँसम्म आइयो । यहाँ पनि दुःख मात्र पाइयो । फेरि दुख्ख नै लिएर किन

फर्किनु ? अब यतै मर्ने’ उनले आँसु पुछिन् । आफैँसँग आˆनै भाषामा बोलिन् -सुस्तरी, ‘साल्याजुनुङ्गो आन्न साल्याजुनुङ्गो मुग्रेस्सोनिकान् ।’

‘के भनेको यो ?’ मैले लारालाई सोधेँ ।

‘यो जिङको थेगोजस्तै नै हो । आˆनो जीवनका बारेमा बोल्नुपर्योफ कि उनी सधैँ यसै भन्छिन् । उनको यो कोरियन लबजको अर्थ हुन्छ- हामी बाँचेको नबाँचेको केही थाहा छैन ।’

कस्तो दार्शनिक शैलीको जवाफ । सायद पीडाले मानिसलाई दर्शनको नजिक पुर्याहउँछ । मलाई यो वाक्य पहिले कतै सुने जस्तो लाग्छ । सम्भिmने कोसिस गर्छु । कोरियाली लवजमा नै मैले यो वाक्य यसैगरि कतै सुनेको छु । एक कोरियाली किशोरीबाट ।

‘जिङ, तिमी नेपाल आएकी छौ ?’

‘के तिमी नेपाली हौ ?’ उनले मलाई सोधिन् । जिङको यो लवजमा म उनलाई ठम्याउँछु, ‘हो, म नेपाली हुँ । राप्तीको किनार र उडेका चराहरू याद छ, तिमीलाई ? त्यही चराहरू देखेर एक शीतल साँझ तिमीले वाङलाई सम्झेकी थियौ ।’ म रोमाञ्चित हुन्छु, जिङसँगको भेटले । यो कस्तो संयोग ।

‘तिम्रो वाङ, कम्पनीमा तिमीलाई काम खोजिदिने वाङ । तिम्रो धनी हुने सपना । मलाई सब याद छ, जिङ ।’

जिङ थरर्र काप्छिन् ।

‘तिमी त्यो मसँग नाच्ने झ्याप्पुले केटा हौ ?’ उनी डर र खुसीले एकसाथ चिच्याउँछिन् ।

आजभन्दा सात वर्ष अगाडिको समय हुनुपर्छ त्यो । राप्तीको किनारमा एक साँझ हामी सँगै नाचेका थियौँ । त्यतिखेर उनले भर्खरै विद्यालयको पढाइसकेकी थिइन् र स्कुलको छनोटमा परेर नेपाल घुम्न आएकी ।
सौराहामा बेच्न राखेको नेपालको नक्शा भएको टिसर्ट उनले खुब मन पराएकी थिइन् । मैले किनेर लैजाउ न त भन्दा उनले निरीह स्वरमा भनेकी थिइन्, ‘मसँग पैसा छैन ।’

‘किन ?’ मैले सोधेथेँ ।

‘म चीनको सीमा नजिकैको एक कोरियाली गरीब किसानकी छोरी हुँ । मसँग पैसा छैन । पढाइ राम्रो थियो र यहाँसम्म घुम्न आउन पाएँ ।’

अघिल्लो रात हाम्रो राम्रो परिचय र दोस्ती भइसकेको थियो । हामी सँगै नाचेका पनि थियौँ तर हिजोको रोमान्टिक स्वरूप आज उनीमा थिएन । उनी अलि भावुक र थकित देखिन्थिन् । एक किसिमको अप्ठेरोपन थियो उनको बोलीमा ।

‘बाँच्ने क्रममा गरिबीसँग हामीले ट्युमेनको किनारमा मृत्यु साँटिरहेका छौँ ।’ उनी आफैँसँग बोलेकी थिइन्, ‘साल्याजुनुङ्गोयो आन्न साल्याजुनुङ्गोयो मुग्रेस्सोनिकान् ।’ मैले त्यति नै खेर त्यसको अर्थ सोधेको थिएँ । कोरियन त्यो बोलीको नेपाली अनुवाद यस्तो हुँदो रहेछ- हामी बाँचेको नबाँचेको केही थाहा छैन ।
‘तर अब केही महिनामै म धनी हुन्छु ।’ उनी केही उज्याली भएकी थिइन्, ‘म छिट्टै वाङ लिसँग बिहे गर्दैछु र जोनचुङमा सर्दैछु । त्यहाँ उसले आˆनै काम भएको कारखानामा मेरो लागि काम खोजिदिइसकेको छ ।’

त्यसपछि मैले उनले मन पराएको टिर्सट तीनवटा किनिदिएको थिएँ । एउटा उनको लागि, अर्को वाङको लागि र अर्को एउटा सानो टिर्सट भविष्यमा उनीहरूबाट जन्मने बच्चाका लागि । मेरो दुवै हात उनले ‘खाम्सामिदा’ भनेकी थिइन् । खाम्सामिदा भनेको धन्यवाद रहेछ । कोरियनहरूले आˆनो पि्रय मानिसलाई धन्यवाद भन्नुपर्योो भने दुवै हात समातेर खाम्सामिदा भन्ने गर्दारहेछन् ।

‘तिमीसँग यसरी यहाँ भेट हुन्छ मैले सोचेकी थिइन ।’ जिङ रुन थालिन्, ‘तिमीले किनिदिएको तीनवटै टिसर्ट त्यत्तिकै छ । अहिलेसम्म कसैले लगाएको छैन ।’
‘वाङसँग तिम्रो बिहे भएन ?’

जिङ निकैबेर रोइरहिन् । जब रुन छाडिन् । तब उनले धेरै कुरा बताइन् । मानिसका जीवनमा दुःखहरू एकसाथ आउँदा रहेछन् ।

जोनचुङमा सन् २००१ को अन्तिमतिर आएको भीषण पहिरोमा वाङले काम गर्ने गरेको कम्प्ानीलगायत सयौँ घर पुरिएछ र त्यही पहिरोले बगाएछ जिङको प्रेमी वाङ लीलाई…..जिङको सपना र रहरहरूलाई ।
पहिरोले बगेको सपनाको पीडादायी सम्झना लिएर उनी सन् २००२ मा चीन छिरेकी रहिछिन् – काम र माम खोज्दै ।

निकै पछि उनी केही शान्त र स्वाभाविक देखिइन् । बेलुका ट्युमेनको किनारमा बसेर हामीले सँगै कफी पियौँ । उनी मेरो नजिकै आइन्, ‘तिम्रो त्यो झ्याप्पुले कपाल खोई त, मणि ?’
‘उमेरको पहिरोले बगायो नि, जिङ ।’ ट्युमेन नदीमाथि उडेका चराहरू हेर्दै मैले भनेँ ।
बल्ल हाँसिन् उनी- फिस्स ।

तर उनको अनुहारमा त्यो हाँसो धेरैबेर रहेन ।

(श्रोत :- मधुपर्क बैशाख, २०६७)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.