क्यान्टोनमेन्ट नम्बर ३७३०

~डा. ऋषिराज बराल~

हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो यसयलआर र माथिदेखि तलसम्म सुमसुम्यायो । उसका आँखा कतै केन्दि्रत भए । कतै हराएजस्तो, कतै टोलाएजस्तो देखियो ऊ । सायद ऊ केही सोच्न थाल्यो । हातमा पर्नेबित्तिकै ऊ त्यसलाई सुमसुम्याउँछ, मायाँ गर्छ । छातीमा टासौँटासौँ जस्तो लाग्छ, अँगालो हालिरहौँ जस्तो लाग्छ । कक गर्छ-हावामा त्यसै निसाना लगाउँछ-कहिले रूखतिर तेस्र्याउँदै र कहिले परको डाँडोतिर तेस्र्याउँदै । यस्तो बेला भित्रभित्रै उकुसमुकुस भएको तातो हावा एकै सासमा बाहिर निस्किने गर्छ ।

आज फेरि हतियार सफा गर्ने दिन हो । यसका लागि पनि समय र दिन तोकिएको छ । एउटा रूटिनमा छ जीवन । यस क्यानटोनमेन्टमा बसेको पनि दुई वर्ष हुन लागेछ । यो यसयलआरबाट गोली नछुटेको पनि दुई वर्ष भएछ । गोली लोड गरेर एकपल्ट पड्काउन पाए हुन्थ्यो-परको त्यो रूखलाई निसाना बनाएर । यस्तै लाग्छ उसलाई । खिया लाग्यो कि, चिन्ता लाग्छ उसलाई ।

क्यान्टोनमेन्ट ।

लाग्छ, यो क्यान्टोनमेन्ट होइन कैदखाना हो, झ्यालखाना हो । केही पनि त सुविधा छैन । यही घेरा, यही कम्पाउन्ड, काँढेतार भित्रको जीवन । यता घुम्यो उता घुम्यो फेरि त्यही पानी चुहुने छाप्रो । मालचरीको बथानझैँ कहिले पूर्व, कहिले पश्चिम कति स्वतन्त्र र कति फुक्का थियो त्यो जीवन । “आमा, हामी दुश्मनको क्याम्प कब्जा गर्न जाँदैछौँ, लौ रातो टीका लगाइदिनोस् ।” आहा, ती दिनहरू सम्भिmँदासम्भिmँदै मन केके हुन्छ । कहिलेकाहीँ काम विशेषले बाहिर निस्किए पनि बेलुका फेरि आउनुपर्ने त्यहीँ हुन्छ । बाहिर निस्किएको निस्किएै गरौँजस्तो लाग्छ उसलाई तर फेरि तान्छ त्यही प्यारो यसयलआरले । कसरी छोड्न सक्छ ऊ यसलाई । राइफल भन्छ ऊ यसलाई, यही नाम प्यारो लाग्छ, भन्न पनि सजिलो-राइफल । किन छाडेर जाने ? किन भाग्ने ऊ ? हतियारबिना एकछिन पनि कस्तोकस्तो लाग्ने मान्छ हो ऊ । यहीँ क्यान्टोनमेन्टमा त हतियारबिना असुरक्षित असुरक्षित लाग्छ उसलाई । अहँ भाग्ने त कुरै छैन । के भन्लान् घर-परिवार, गाउँले र कामरेडले । ऊ त युद्ध जितेर आएको सिपाही हो । दुश्मनलाई हायलकायल पारेर, प्रत्याक्रमणको चरण पूरा गरेर आएको जनमुक्ति सेना हो, जनगणतन्त्र-जिन्दावाद । फलानो डिभिजन र कम्पनी नम्बर यतिको कमान्डर भाग्यो…. । यस्तो भनाइ ऊसित जोडियोस्, उसलाई मन पर्दैन । भगुवा, अँह यस्तो हुनै सक्तैन । विद्रोह, यो शब्द उसलाई असाध्यै मनपर्छ-विद्रोह गर्नु ठीक हो । कायरहरू अनि पलायनवादीहरू मात्र भाग्छन् । एक्लै मुन्टो हल्लाउँछ ऊ अस्वीकृतिमा ।

“के सोच्तै हुनुहुन्छ हौ कमरेड”-सपना कमरेडको स्वर परैबाट चिन्दछ ऊ ।

“युद्ध, क्यान्टोनमेन्ट र लोकतन्त्र सोचेको ।”

स्वरमा केही आक्रोश र पीडाजस्तो पनि छ ।

“अब त केही टुङ्गो लाग्छ होला होइन ?” “तर हामी हतियार बुझाउँदैनौँ । जनताका दुश्मनहरू हतियार बुझाउने र नष्ट गर्ने कुरा गर्दैछन्, मान्य छैन हामीलाई यो ।” साँच्चिकै आवेगमा थियो ऊ ।

फेरि एक हातमा रेडियो घन्काउँदै र अर्को हातमा यसयलआर समाउँदै कमरेड विक्रम आइपुग्यो ।

एउटै कम्पनिका हुन् यिनीहरू ।

“हाम्रो पछिल्लो मूल मोर्चा सिराहा हो नि ,हैन त कमरेड ?” भुइँमा बस्तै सोध्यो उसले ।

“हो सिराहा हो ।”सासको गति रोकेजस्तो गरी उसले जवाफ दियो र एकोहोरिएर यसयलआरमा आँखा केन्दि्रत गर्यो ।

कति साहसका साथ लडेका थिए उनीहरू त्यो मोर्चामा ।

छेउमै पड्किएका गोली र बारूदका बीच क्रलिङ् गर्दै कसरी अघि बढेका थिए उनीहरू ।

हरायो फेरि सन्तोष कमरेड, नं ३७३० कमरेड । उसैले त कमान्डिङ गरेको थियो पूर्वतिरको आर्कको । लामो इतिहसा छ उसित । करिबकरिब सबै मोर्चाको अनुभव छ उसित । स्क्वायर्डमा पसेको हो ऊ । तेह्रथुम, चैनपुर, भिमान, रूम्जाटार र भोजपुर, यस्ता थुप्र्रै मोर्चाहरूको अनुभव छ उसित । ठूलो किताबका पन्नाहरूझैँ सरसरती एकएक गरेर उभिन्छन् ती दिनहरू । ती मोर्चाहरूमा साथीहरू ढले, थुप्रै होनहार साथीहरू ढले । उनीहरू एकैचोटि पसेका थिए महासमरमा । चैनपुर र रूम्जाटार जित्ताजित्तै हारेको मोर्चा थियो । सम्झदा पनि मन कस्तोकस्तो हुन्छ ।

छुटे, धेरै साथीहरू छुटे ।

कति निर्मम हुन्छ युद्ध । पानीपानी भनेर छटपटिँदै गरेको साथीलाई पानी त के छुन पनि नपाई अघि बढ्नुपर्ने स्थिति, कति नमीठो हुन्छ ।

इलाम एम्बुसमा दुईवटा गाडी उडाएको त्यो घटना संझिँदा पनि मन रोमाञ्चित हुन्छ ।

लाहान मोर्चा उसको सबैभन्दा रोचक मोर्चा थियो र सबैभन्दा साहसिलो मोर्चा मलङ्वा मोर्चा थियो । कसरी झारेका थिए उनीहरूले दुश्मनको हेलिकप्टर ।

“दुश्मनको हेलिकप्टर नजिक आउँदैछ, फायर फायर”-उत्साह र आवेग दुवै थियो । साँच्चै हो मोर्चाको बेला सबै कुरा बिर्सिंदो रहेेछ, मात्र आँखामा दुश्मन आउँदोरहेछ । यस्तो लाग्छ ऊ अहिले त्यही मोर्चामा छ र उसका आँखा, हात र मुटु त्यहीँ छन् ।

फेरि तातो हावा छातीबाट निस्कियो ।

उसका हातखुट्टा र अनुहारको चाल र ताल नियालिरहेको विक्रम कमरेडले हाँस्तै सोध्यो-”क्या हो कमरेड ?”

गीतमा मस्त भएर यसयलआर सफा गर्दै गरेकी सपना कमरेडले एकपल्ट पुलुक्क हेरी र गीतमैँ व्यस्त भई-नरुनोस् आमा लडाइँको मैदान…।

कमरेड सन्तोषको ध्यान पनि गीततिर मोडियो ।

हो त पछिलोपल्ट घर जाँदा आमाले सोधेको पहिलो प्रश्न एकदमै थाहा छ उसलाई, “हाम्रा कामरेडहरू कोही मन्त्री भएका छन्, कोही सांसद भएका छन्, सबै खुला छन्, तिमीहरू चाहिँ कति दिन त्यसरी बस्छौ ?”

कति गाह्रो प्रश्न, पीडादायी पनि । कति गाह्रो परेको थियो उत्तर दिन । सानोसानो भाषण नै गर्नु परेको थियो आमालाई बुझाउन । ऊ पनि त त्यही कुरा छातीमा राखेर बसेको छ- कहिलेसम्म बन्दीझैँ क्यान्टोनमेन्टमा बसिरहने ? आहा, खुला जीवनको अर्थ नै अर्कै छ ।

आमाले बुझी बुझिनन्, सायद बुझिनन् त्यो भाषणजस्तो भनाइ । अनुहारको भावले त्यसै भन्थ्यो । साना बहिनी र भाइले भन्दै थिए- “ए अब त हामी जान दिदैनौँ, आमा रातीराती रोइरहनुहुन्छ ।”

भावुक बनेको थियो ऊ त्यतिबेर ।

“अब सबै कुरा मिलिसक्यो, छिटै घर आउँछु ।”

अमिलो मन लिएर घरबाट हिँडेको थियो ऊ । बाबु छैनन्, एक्ली आमा ।

साँच्चै हो, गम्भीर बन्दै गएको थियो ऊ । अरूलाई सम्झाउन त सजिलो छ, तर आफैँलाई सम्झाउन गाह्रो परेको छ उसलाई । पटक्कै मन छैन, त्यहाँ बस्न । मन रमाउँदैन त्यहाँ । पानी पनि राम्रोसित खान पाइँदैन । स्वास्थ पनि कमजोर भएको छ । पढ्ने-लेख्ने वातावरण छैन । घर जाने ? समायोजन हुने ? हातहतियार सबै बुझाउने ? के सकियो युद्ध, लक्ष्य प्राप्ति भयो ? केका लागि बगेको थियो रगत ? केका लागि भएको थियो त्यत्रो शहादत ? जितेको युद्धको हारेको परिणाम दिएर के घर जाने, के समायोजन हुने- प्रश्नहरू छरपस्ट छन् । घुम्न थाल्छ विगत र वर्तमान । छाती पोल्न थाल्छ । साँच्चै हो, भित्र पनि चैन छैन, बाहिर पनि चैन छैन ।

थरीथरीका कुराहरू सुनिन्छन् । कुनैकुनै कुराले त मनै कस्तोकस्तो हुन्छ । जब हतियारको कुरा आउँछ, छातीको गति बढ्न थाल्छ । अझ हतियार बुझाउने कुराले त केके हुन्छहुन्छ छाती । सबै कुरा गुमाएजस्तो लाग्छ । हिजो बेलुकाको छलफलमा यस्तै कुरा उठेको थियो । स्तब्ध भएका थिए सबै । ज्वालामुखीभित्रको मौनता झन् डरलाग्दो हुँदोरहेछ । सबैको अनुहार भिन्नै भएको थियो । सकियो युद्ध ? आयो जनगणतन्त्र ? कसलाई बुझाउने हतियार ? सबैको अनुहारले यसै भनिरहेझैँ लाग्थ्यो । आगोको भुङ्ग्रोको सामु सबै उभिएका छन् जस्तो बोध भएको थियो ।

त्यही कुरा मनमा खेलाउँदाखेलाउँदै उसको मुखबाट निस्कियो- “अहँ, यत्तिकैमा बुझाइँदैन ।” उसको आवाज सुनेर बीचैमा बोली सपना कमरेड- “के भन्नुभएको कमरेड ?” पहिले त ऊ झस्कियो तर तुरुन्तै उत्तर दियो- “कति दिन बस्ने कैदीझैँ भएर ? अब विद्रोह गर्ने भनेको ।” केही बुझेजस्तो र केही नबुझेजस्तो अनुहार पारेर हेरी सपना कमरेडले । लगातार स्टि्रगर दबाएर यसयलआर घुमायो चारैतिर- ट्याक-ट्याक-ट्याक । मानौँ ऊ दुश्मनलाई गोली हानिरहेको छ ।

“खेर जाने भयो बगाएको रगत” एक्लै फतफतायो ।

हत्तपत्त आवेगमा आउने मान्छे होइन ऊ तर आज केही फरक देखिएको छ । के भएको हो यसलाई ? साथीहरू उसलाई हेर्नथाले ।

घाम निकै माथि आइसकेका थिए ।

अब फेरि हतियार थन्क्याउने बेला भयो । यसै गरी निकाल्यो र तलदेखि माथिसम्म टुलुटुलु हेर्यो, सुमसुम्यायो र थन्क्यायो । गन्ति नै छैन कतिवटा मोर्चा लड्योलड्यो यसले । यसलाई हातमा लिँदा मात्र पनि कति फुर्ति आउँछ उसमा । आत्मबल बढेर आउँछ । यो नहुँदा केके हराएजस्तो, केके नभएजस्तो रित्तो अनुभव हुन्छ उसलाई । सुरुमा थन्क्याएको कति दिनसम्म त निन्द्रा पनि लागेन उसलाई ।

साँच्चै हो, त्यो रात रातभरिजसो रोयो ऊ । छट्पटी मात्रै भयो । सिङ्गै लडाइँ हारेस्तो भयो । कतिपल्ट मनमा आएको पनि हो- भागौँ योसित । उसलाई थाहा छ, हतियारबाट हतियार आउँछ । गोली, खोइ गोली ? छैन गोली उसित । गोलीबिनाको राइफल झन् खतरनाक हुन्छ । हुन्न यसो गर्नु झन् हुन्न । फेरि छापामार लडाइँ ? मनमा सबै कुरा आउँछन् । कहिले मुक्त हुने यो कैदखानाबाट ? चिन्ता त छ तर यसरी भाग्दैन ऊ । ऊ त बहादुर सिपाही हो ।

(श्रोत:-  मधुपर्क २०६५ चैत)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.