कथा : आनी

~राशि पाण्डे~Rashi Pande_1

– ताशी देलेह१ ?
–  खे राङ कुसुडेपो यिन पे२, खोलापारिबाट ठुलो आवाजमा मानिसहरू कराइरहेका थिए ।
– ल्या यिन ३ !” खोलावारिबाट रुन्चे जवाफ आइरहेको थियो ।
“खेला छेपा–गी४, ल्होछारको बेला तातोपानीमा लाग्ने परम्परागत जात्रामा विशेषरूपमा आनी, भिक्षु भिक्षुणीहरूका आफन्तजनहरू एकआपसमा भेटघाट गर्दछन् । छगामको रिम्पुछे गुम्बामा थुप्रै तिब्बती मूलका केटीहरू पनि आनी भएर बसेका छन् । नेपाली आनीहरूका आफन्तजनहरू चाहेको बेला गुम्बामा आएर भेट गर्न पाउँछन्, तर तिब्बती मूलका आनीहरूका परिवारजनहरूले यसै जात्रालाई पर्खनुपर्दछ ।

तातोपानीको मितेरी पुलभन्दा केही पर एउटा ढिस्कोमा सबै आनीहरू जम्मा भएका थिए । उता तिब्बततिरको सम्म फाँट र बीचमा सीमास्तम्भको रूपमा बगेको भोटेकोसी ! खोलावारि आनीहरू, पारि उनीहरूका नातेदार । यताका मानिसहरू उता जान नपाइने, उताका मानिसहरू यता आउन नपाइने । देखादेख हुन्छ, कुराकानी हुन्छ, सौगातहरू पनि फालाफाल गरिन्छन्, तर मानिसहरूले एकअर्कालाई छुन सक्दैनन्, अँगालो मार्न सक्दैनन् । केवल एकअर्काको मुखामुख गरी बसेका मानिसहरूको भिड । खोलाको आवाज, मानिसहरूको कोलाहल, रुवाबासी र रमितेहरू । खोला तरेर एकअर्कालाई सीमापारि जाने अनुमति छैन ।

मानिसका आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेका थिए । आँखाबाट झरेको आँसु भुइँमा खसेर कालान्तरमा खोलामा मिसिने छ – भोटेकोसीमा । नेपाल र तिब्बत, सिमानाको साँधको रूपमा भोटेकोसी निश्चलरूपमा बगिरहेको छ । यो भोटेकोसी, तिब्वतमा उद्गम भएर नेपालका हिमाल, पहाड छिचोल्दै सप्तकोसीमा विलय हुन्छ, अनि गङ्गामा मिसिएर समुद्रमा समाहित हुन्छ ! पानी र प्रकृतिलाई कुनै छेकवार छैन । प्रकृतिमा चराचुरुङ्गीहरू निर्विध्न यताउता गरिरहेका छन्, तर मानिसहरू आफैले बनाएका नियम, कानुन र साँधभित्र बस्न बाध्य पारिएका छन् ।

बडो हृदयविदारक दृश्य थियो । वारिका आफन्तजन वारिबाटै र पारिका पारिबाटै एक अर्कालाई देखेर ठुल्ठुलो स्वरमा रुँदै, चिच्याईचिच्याई सन्चो बिसन्चो सोधिरहेका थिए । उताबाट पकाएर ल्याएका खानेकुराहरू फेन्दु, साम्पा५, सुकुटी, रोटी आदि पोको पारेर वारि फ्यालिन्थे । यताबाट पनि सौगातहरूका पोका उता फ्यालिन्थे । कतिपटक त्यो पोको खोलामा खसेर बग्ने गर्दथ्यो ।
यी सबै दृश्य देखेर प्राचिन आश्चर्यमा परेको थियो । अनौंठो मानेर हेरिरहेको थियो । उसले सोच्यो मानिसलाई यो सांसारिक माया, मोहबाट त्राण पाउन धेरै गारो हुने रहेछ ।

प्राचिनसँगको चिनचान धेरै लामो भएको थिएन । ऊ करिब दुई हप्ताअघि यस विहारमा आएको थियो । पाल्मू प्राचिनसँगको पहिलो भेट सम्झन थालिन, “बौद्धधर्मबारे, आनीहरू सम्बन्धी जानकारी लिन एक विशेष व्यक्ति आएका छन्, उनले चाहेको जानकारी दिनू” म्हेमे६ले पाल्मूलाई आदेश दिएका थिए ।

आनीहरूमा सबैभन्दा बढी पढेलेखेकी, राम्रो नेपाली र अङ्ग्रेजी बोल्न सक्ने भएकीले बाहिरबाट आउने पाहुनाहरूलाई गुम्बाबारे जानकारी दिन म्हेमेले विशेषतः पाल्मूलाई नै अराउने गर्दथे । उनलाई विहारको प्रधान अङ्गारिका८ बनाइएको थियो । उनी ध्याङ९मा पूजा गर्दै थिइन् ।

बैठक कोठामा प्रतिक्षारत गोरो वर्ण, सेतो सर्टपेन्ट लगाएको, छोटो केस, घाम छल्ने क्याप भिरेको एक आकर्षक युवकलाई देखेर उनी मन्त्रमुग्ध भएकी थिइन् । साक्षात् युवराज शाक्यमुनि सिद्धार्थ उनको अगाडि प्रकट भए जस्तो । उनी आम्रपाली भएकी थिइन् एकक्षणका लागि त्यस युवकको व्यक्तित्व देखेर ।

त्यस युवकको नाम रहेछ प्राचिन । कस्तो मिठो नाम ? साधारण परिचय आदानप्रदान भएपछि उनीहरू गुम्बाको अवलोकन गर्न निस्किएका थिए । सबैभन्दा पहिले पाल्मूले प्राचिनलाई गुम्बाको मुख्यभाग “छ्योकाङ१०” लगेकी थिइन्, जहाँ बुद्धको पद्मासनमा बसेको ठुलो मूर्ति राखिएको थियो । “तीङ११” मा लहरै राखिएका झलमल्ल बलेका घिउका बत्तीहरू अनि “पोके१२”मा बलिरहेको धूपको सुमधुर बास्नाले भित्रको वातावरण अत्यन्तै आध्यात्मिक, अलौकिक तथा शान्त थियो । अनि छेउमै केही लामाहरू “ठीई१३” मुद्रामा बसेर “छ्योईहरू१४” पढिरहेका थिए । पाल्मूले बुद्धसँग लहरै राखिएका अवलोकेश्वर, पद्मसम्भव, महागुरु आदि भगवान्हरूबारे छोटो व्याख्या गरेकी थिइन् ।

प्राचिन विस्मित भएर उनको कुरा र वरपरका दृश्यहरू हेरेर छेउमै रहेको एक सानो सुनौलो आकर्षक बुद्धमूर्तितिर देखाउँदै जिज्ञासा प्रकट गरेको थियो । उसको आशय बुझेर पाल्मूले उत्तर दिएकी थिइन् “म्हेमको बडागुरु, लामा रिम्पुच्छेले तिब्बतबाट आउँदा सँगै लिएर आउनु भएको । सुनको हो, धेरै पुरानो, अमूल्य ।”

प्राचिनले सबै लामाहरूलाई नमस्कार गरेर दानपत्रमा केही रुपैँया खसाल्दा पाल्मू त्यस अधिकृतको आचरणबाट अझ प्रभावित भएकी थिइन् । अनि प्राचिनलाई उनीहरूले ठीई, पाठशाला, पुस्तकालय, भोजनालय र अन्तमा उनीहरू बस्ने गृह घुमाएकी थिइन् । त्यसपछि प्राचिनलाई मुख्य उपासिकाले रिम्पुच्छेको दर्शनका लागि लिएर गएकी थिइन् । शान्त, अर्धमुदित नयन भएका भव्य व्यक्तित्वका धनी रिम्पुच्छेको दर्शन गरी फर्कंदा साँझ पर्न लागि सकेको थियो अर्काे दिन आउने र आनीबारे थप जानकारी लिने भनी प्राचिन फर्केको थियो त्यस दिन ।

पाल्मूले पछि थाहा पाइन् ती युवक त यस क्षेत्रमा वनसम्बन्धी आयोजनाको एक उच्च अधिकृत पो रहेछन् । बौद्ध संस्कृति सम्बन्धी केही जिज्ञासा भएर सौखको रूपमा आनीहरूबारे अनुसन्धान गर्ने, शोधपत्र लेख्ने उद्देश्यले आनीहरूसँग भेटघाट गर्न, साक्षात्कार गर्न यता आएका ।

गुम्बाका कर्मचारीहरू स्थानीय वनबाट दाउरा, काठ आदि काटेर ल्याउने गर्दथे र यससम्बन्धमा स्थानीय व्यक्तिहरूले वन मासियो भनी जिल्ला वन कार्यालयमा सिकायत गरेको समाचार पनि ध्याङमा फैलिएको थियो । त्यस अधिकृतलाई गुम्बासम्बन्धी राम्रो प्रभाव परोस् भन्ने चाहना रिम्पुच्छेको पनि थियो ।

साँझको पूजापाठ सकेर जब पाल्मू खाना खाएर शय््यामा पल्टिन् । निद्रा पटक्कै परेन, मन, मस्तिष्कमा घर, परिवार र बाल्यकालको सम्झना छाइरह्यो । मनलाई बरालिन नदिन उनी “साङ्ग१५” पाठमा ध्यान केन्द्रित गर्ने कोसिस गरिन तर चलचित्रझैँ विगतका घटनाक्रम आँखाका नानीमा नाच्न रहे– उनीहरूको ठुलो परिवार थियो, घरमा आमाबुवा, दाजुभाउजू, दिदीबहिनी, भाइ सबै थिए । तिब्बतको राम्रो व्यापार थियो । घरमा सम्पन्नता थियो । घरमा पाल्मू माहिली छोरी थिइन् । उनीपछि एक बहिनी र तिन भाइहरू । घरको काम प्रायः सबै उनकै जिम्मा थियो । घरमा हजुरआमा पनि हुनुहुन्थ्यो । दिनभरि बौद्ध धर्मको षड्क्षर “ओम् मणिपद्मे हुँ” को पाठ र हातमा चाँदीको “माने” घुमाइरहनु हुन्थ्यो । हरबखत “थाङ्गा१६” जपिरहनु हुन्थ्यो । उहाँ चित्र कोर्नु हुन्थ्यो, “थाङ्का” तथा मण्डला पनि बनाउनु हुन्थ्यो । उहाँले बनाएका थाङ्काहरू उच्चस्तरका मानिन्थे, महँगा दाममा बिक्री हुने गर्दथे । हजुरआमा भन्ने गर्नु हुन्थ्यो “हेर भुमू१७, ओम् मणिपद्मे हुँ मन्त्रको जाप गर्नाले धेरै लाभ हुन्छ, दुःखकष्ट हटेर जान्छ, परिवारमा, यस देशमा, यो संसारमा सुख शान्ति स्थापना हुन्छ ।” एक पटक हजुरआमाले बाहिरबाट आएको शिक्षकलाई मन्त्रको अर्थ बताउँदै भन्नु भएथ्यो – “ओम्– मोह, म– रिस”, णि– लोभ, पद्– राग, र ,“म –डाह अनि, हुँ– अभिमान” त्यसैले जहिले पनि “ओम् मणिपद्मे हुँ” को पाठ गर्नुपर्दछ । यो मन्त्र “ॐ नमः शिवाय ” जस्तै हो । उहाँले धेरै नपढे पनि नेपाल, भारतका विभिन्न सहरहरू, बौद्धतीर्थहरूको भ्रमण गर्नुभएको थियो । अनि केही महिनाका लागि मामासँगै अमेरिका पनि बस्नु भएको थियो । उहाँ राम्रो नेपाली बोल्ने र आगन्तुकहरूको राम्रो स्वागत सत्कार गर्ने भएकाले प्रायः घरमा पाहुना, इष्टमित्र तथा कर्मचारीहरू आइरहन्थे । हजुरआमा “छिब्बर१८” लगाउनु हुन्थेन । तर एकाबिहानै उठेर “साङ्ग ”गर्नु हुन्थ्यो । “तीङ” मा पानी राखेर भगवान्लाई चढाउनु हुन्थ्यो र “पोकेमा” मा धूप बाल्ने गर्नुहुन्थ्यो । उहाँ पाल्मूलाई सम्झाउनु हुन्थ्यो “प्रत्येक मानिसले बिहानबेलुका बुद्धवचन स्मरण गर्नुपर्दछ ।”

पाल्मू नजिककैको स्कुलमा कक्षा दसमा पढ्थिन् । कक्षामा सधँै प्रथम नै हुन्थिन् । उनलाई सानैदेखि धार्मिक ग्रन्थ पढ्न, गुम्बा जान, भिक्षु भिक्षुणीहरूको सङ्गत गर्न निकै मन पर्दथ्यो । अरू साथीहरू खेल्न, घुम्न र रमाइलो गर्नमा मस्त हुन्थे, तर उनीचाहिँ मौका मिल्नासाथ गाईबस्तु हेर्ने, फूलका बिरुवाहरू रोप्ने गर्दथिन् । आमा सानैमा स्वर्गे भइसकेकीले उनको लालनपालन विमात्रीले गरेकी थिइन् ।

पाल्मूलाई गौतम बुद्धका चार आर्यसत्यहरू र अष्टाङ्गिक मार्ग सानो उमेरदेखि नै कण्ठस्थ थिए– “सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि ।” यी सिद्धार्थका जीवनदर्शनसँग परिचित भएपछि, जीवन जिउनुको अर्थका सम्बन्धमा फेरि नयाँ तरिकाले बुझ्न मन लागेको थियो उनलाई । धेरै पढ्ने, देश विदेश घुम्ने, गरिब, असहायको सेवा गर्ने उनको जीवनको लक्ष्य थियो । पाल्मू सम्झिन थालिन् । भर्खरै सत्र वर्षको उमेरमा जब उनको बाबु र दाजुले बिहा गर्ने कुरा चलाएका थिए, उनले खुबै विरोध गरेकी थिइन् ।

पाल्मूलाई घरमा सबैभन्दा बढी माया आफ्नो भाइको लाग्दथ्यो । भाइ शनिबार जन्मिएकोले उसको बोलाउने नाउँ पेम्बा राखिएको थियो, तर पाल्मू माया गरेर उसलाई राहुल भन्थिन् । उनले सानैमा एउटा आख्यान पढेकी थिइन, चन्द्रग्रहणका बेला राहुले चन्द्रमालाई ग्रस्त गरेझैँ सिद्धार्थ पनि आफ्नो छोरालाई बुद्धत्वप्राप्तिको बाधक र मायाको पासोको रूपमा ठान्दथे र छोराको नाम “राहुल” राखेका थिए रे । अनि यो भाइ राहुलले पनि उनको आनी बन्ने इच्छालाई रोकिरहेको थियो ।

पाल्मू परिवारजनका साथ अक्सर बिदाका बेला कपन जाने गर्थिन्, बौद्ध, स्वयम्भू अन्य बौद्ध तीर्थहरू जाने गर्थिन् । अनि पुरानापुराना अशोककालीन मूर्तिहरू, भिक्षु भिक्षुणी औ देशी विदेशी पर्यटकहरूलाई नियालेर हेर्थिन् । स्वयम्भूबाट काठमाडौँ सहरतिर हेर्दा यो उपत्यका एउटा ठुलो फूलबारी जस्तो लाग्दथ्यो, प्रकृति र मानव निर्मित बगैँचा ।

पाल्मू जीवन, जन्म र मृत्यु, यो ब्रह्माण्डको उत्पत्ति, यसको अन्त, जीवनको उद्देश्य आदिबारे घोरिइरहन्थिन्, विचारमग्न भइरहन्थिन् । यसै क्रममा एक दिन जब उनको कान्छो भाइ पेम्बाको गाडी दुर्घटनामा परी मृत्यु भयो, उनी विक्षिप्त जस्ती भएकी थिइन, दिनरात टोलाइरहन लागिन् । लाग्थ्यो भगवान्ले नै उनलाई राहुलबाट मुक्ति दिलाउन भाइ पेम्बाको मृत्यु गराएको हो ।

तातोपानीको पाल्देन फुचोलिङ् गुम्बामा बगामका सिङ्डा रिम्पुछेद्वारा प्रायः प्रत्येक वर्ष “छे वाङ्” आयोजना हुन्थ्यो । पाल्मूको परिवारले पनि तातोपानीमा नुहाउने, अनि पूजामा गई “ओङ१९” लिने योजना बनाएका थिए । उनी स्कुल सकेर रिजल्ट पर्खिएर बसेकी थिइन्, उनी पनि त्यस यात्रामा सामेल भइन् । काठमाडौँ, भक्तपुर, काभ्रे, दोलालघाट हुँदै उनीहरू तातोपानी आइपुगेका थिए । मूलबाट निस्केको बाफ उठ्दै गरेको गन्धकको मिठो बास्ना भएको तातो पानीमा बालक, वृद्ध, पुरुष, महिला स्वदेशी, विदेशी कुनै उत्सव मनाएझैँ नुहाइरहेका थिए ।

तात्तातो पानीमा नुहाएर उनीहरूको पनि तनमन सबै चङ्गा, प्रफुल्ल भएको थियो । बाटामा विभिन्न प्रकारका चिनियाँ सामानहरू बिक्री गर्ने, ओसारपसार गर्नेहरूको लाम थियो । व्यापारीहरू उनीहरूलाई ग्राहकको रूपमा आकर्षित गर्न चाहान्थे । तर उनी त सडक वारिपारि तानिएको तोरण, पताकाहरू, धूपबत्तीको बास्ना र कपाल काटेका, गेरु पहिरनका गोरा, सुकिला माने घुमाइरहने, बुद्धमाला जपिरहने भिक्षु, भिक्षुणीहरूको ताँती तथा जनसाधारणको ओइरो हेरेर रमाइरहेकी थिइन् । उनलाई यस गुम्बा र यहाँको वातावरणले सम्मोहित बनाएको थियो । यतै बस्न मन लागेको थियो । उनीहरूले लामाको दर्शन गरेका थिए । अग्लो आसनमा गेरुवस्त्र लगाएका सुनौलो खादाले ढाकिएका रिम्पुछेलाई देख्दा उनलाई साक्षात् भगवान्को दर्शन पाएजस्तो लागेको थियो । चरण स्पर्शका लागि केही नुहेको बेला जब रिम्पुछेले आशीर्वाद दिँदै शिरमा स्पर्श गरेका थिए उनको शरीरमा एक प्रकारको विद्युत्प्रवाह भएको थियो । तत्क्षण नै उनलाई लाग्यो उनी यस संसारमा बौद्ध भिक्षुणी बन्नका लागि नै जन्मिएकी हुन् । यो सांसारिक मायामोह भन्दा पर उनी यस संसारलाई मुक्ति दिन जन्मिएकी हुन् ।

ओङ लिएपछि सँगै आएका साथीहरू भैरवकुण्डसम्म पुगेर आउने कार्यक्रम पनि बनाएका थिए । उनीहरूले पनि कुण्डमा स्नान गर्ने, छगाम अवस्थित बौद्ध विहार घुम्ने पनि विचार गरे । तातोपानीबाट डाकलाङ, यार्मासिङ, दुगुनागढी, बगाम अनि छगाम करिब चार घण्टाको उकालोपछि उनीहरू विहार पुगेका थिए ।

अग्ला अग्ला पहाडहरूबिच सानो उपत्यका । पातलो तामाङ बस्ती । छगामको नवनिर्मित गुम्बामा पुगेर आफ्नो चारैतिरको परिवेश नियाल्दा पाल्मूलाई स्वर्गमा आए जस्तो लागेको थियो । उनले चारैतिर हेर्दै सोचेकी थिइन् यत्रो संसारमा, यत्रो ब्रह्माण्डमा यो जीवन एउटा अणुजस्तै निस्तत्व छ, निस्सार छ । मानिस प्रकृतिको अगाडि एउटा कण बराबर पनि छैन, निस्सहाय छ ।

छगाम आएपछि पाल्मूलाई फर्केर फेरि घर जाने, काठमाडौँ जाने इच्छा नै जागेन । आनी बन्ने, धर्मग्रन्थहरू पढ्ने र यो जीवन भगवान्को शरणमा, बुद्धको शरणमा बिताउने भित्री इच्छा जागेर आयो । उनले सम्झिन्– राजा शुद्धोधनले युवा सिद्धार्थलाई सांसारिक मायाजाल र जन्म–मृत्युको चिन्तनबाट जोगाउन आफ्नो दरबारको चारैतिर एक योजनसम्म कुनै पनि वृद्ध, रोगी, मृत्य व्यक्तिको लास दरबारका छेउ ल्याउनै न पाउने व्यवस्था मिलाएका थिए, तापनि सिद्धार्थलाई वैराग्यबाट विमुख गराउन सकेका थिएनन् । दरबारका चारैतिर सुन्दरीहरूको भिड लगाएका थिए, तरपनि उनले सिद्धार्थलाई “प्रब्रज्या२०” लिनबाट रोक्न सकेका थिएनन् । मेरो पनि आनी बन्ने आकाङ्क्षालाई कसैले रोक्न सक्दैन । म आजीवन अविवाहित बस्छु । म भिक्षुणी बन्छु । बुबाआमाले निक्कै कर गरे, तर पाल्मूलाई फकाउन सकेनन्, फर्काउन सकेनन् ।

एकाबिहानै उठ्नु, नित्यक्रिया सकेर “तीङ” मा शुद्ध जल राखेर भगवान्लाई चढाउनु, अनि पोकेमा धूप बालेर साङ्ग, बुद्धवचन स्मरण गर्दै भगवान्को आरती गर्ने, पस्तु२१को मन्त्र पढने, ठेंगा “ओम आहुम् बज्र हँु” को मन्त्र जप्ने पाल्मूको दैनिकी थियो । धर्ममा लीन हुनेहरू, बुद्धको शरणमा जानेहरूको एक ठुलो जमात थियो त्यहाँ । नेपाल, भारत, तिब्बतका विभिन्न ठाउँबाट आएका युवा, वयस्क अनि वृद्ध अनुयायीहरूको । भिक्षु, भिक्षुणीहरूले आआफ्नो बासका लागि ससाना छाप्रा बनाएका थिए । आआफ्नै घरबाट खाने सामल ल्याउँथे, काठ, दाउरा लिन नजिकेको वन जान्थे अनि दिनभरि बुद्ध वचनको पाठ तथा बौद्धधर्मको अध्ययन गर्दथे । यस अनकन्टार ठाउँमा प्रकृतिको काखमा जीवन र मृत्युको रहस्य खोजिरहेका, शान्ति र निर्वाण खोजिरहेका । जीवन भोटेकोसीको सङ्लो पानीझैँ स्वच्छ, निर्मल र स्निग्ध थियो । कलकल बगिरहेको, अनन्त सागरमा समाहित हुन् ।

पाल्मू फुर्सदको बेला नजिकको बस्तीमा डुल्दथिन् । हिउँद लागेपछि चौँरीगोठ भैरवकुण्ड वरपरबाट तलतल बस्तीमा झर्दथे । मौकापारेर उनी नजिकैको गोठमा पुग्दथिन् । प्लास्टिकको सानो छाप्रोभित्र कोही आइमाई वा बालक मात्र हुन्थे दिउँसो । माउचौँरी पर जङ्गलमा चर्न गएको बेला काला सेता भ्m्यापुल्ले चौँरीका बाछाबाछीहरूसँग खेल्न उनलाई निकै रमाइलो लाग्दथ्यो । जब बाछाबाछीहरू यताउता, उनको जिउभरि थुन खोज्न थुतुनाले छाम्थे र नभेट्टाए पछि रिसाएर टाउकाले हान्दथे, त्यो क्षण उनलाई अत्यन्तै रमाइलो लाग्दथ्यो । असीम आनन्ददायक लाग्दथ्यो । केटाकेटीहरू पाल्मूलाई छुर्पी दिन्थे, चौँरीको बाक्लो दुध पिउन दिन्थे, थपीथपी नुनचिया खुवाउँथे । घिउ र नुन राखेको मनतातो चिया जतिपिए पनि धीत नमर्ने । उनी केटाकेहीहरूलाई बिस्कुट दिन्थिन्, चकलेट दिन्थिन् अनि पढनुपर्छ, स्कुल जानुपर्छ भन्ने सल्लाह दिन्थिन् । जिन्दगी भैरवकुण्ड जस्तै शान्त र सौम्य थियो ।

“मलाई यो बुद्धधर्मका साङ्गहरूबारे बताउनुहोस् । तपाईँहरूका दैनिकी, जीवनका लक्ष्यहरूबारे बताउनुहोस् । म एक कथा लेख्न चाहान्छु, पटकथा लेख्न चाहान्छु, तपाईँ आनीहरूबारे म फिल्म बनाउन चाहान्छु” प्राचिन भन्ने गर्दथ्यो ।

पाल्मू उसलाई बौद्धधर्मको व्याख्या गर्दै बुद्ध वचनबारे बताउने गर्दथिन् । अनि बुद्धका त्रिशरणका नियमहरूबारे जानकारी गराउँदै भन्थिन् “बुद्धम् शरणम् गच्छामि”, “धम्मम् शरणम् गच्छामि”,“सङघम् शरणम् गच्छामि२२! उनी भन्दथिन् “मानिसले पाप गर्नु हुन्न, कुनै अपराध गर्नु हुन्न । बुद्ध भन्नु हुन्छ– खमा पत्थना, ओकास द्वारतयेन कत्तं सब्ब अपराध खमथ मे भन्ते२३! ”

पाल्मू प्राचिनलाई “पञ्चशील”का नियमहरू पालना गर्नुपर्छ भन्ने शिक्षा दिन्थिन् अनि प्राचिनको जिज्ञाशाहरूको व्याख्या गर्दथिन् । “पाणतिपाता वेरमणी सिक्खापद समादियामी, अदिन्नादाना वेरमणी सिक्खापद समादियामी, कामेसुमिच्छाचारा वेरमणी सिक्खापद समादियामी, मुसावादा वेरमणी सिक्खापद समादियामी, र सुरामेरयमज्जपमादट्ठाना वेरमणी सिक्खापद समादियामी२४, यी पाँच शिक्षाको पालना मानिसले गर्नुपर्दछ ।”

पाल्मू प्रवचन दिँदा प्राचीन सकेसम्म पद्मासनको मुद्रामा बस्ने कोसिस गर्दथ्यो । ऊ असजिलो तरिकाले पलेँटी आसनमा बसेको देखेर उनी मनमनै हाँस्थिन् । प्राचिनको बौद्धधर्मप्रतिको जिज्ञासा, बुद्धप्रतिको आसक्ति र लामाहरूको जीवन दर्शनबाट परेको प्रभावले ऊ पनि भिक्षु बन्छ भन्ने विश्वास पाल्मूलाई परेको थियो ।

प्राचिनसँगको हेमचेमले पाल्मूका साथीहरू डोल्मा, फुरल्म्बू, नीमा जिस्काउँथे “अब घरजम गर, विवाह गर” उनीहरूको इसारा प्राचिनतिर हुन्थ्यो । पाल्मू प्राचिनलाई एउटा बौद्धजिज्ञासु, एक अन्वेषीको रूपमा मात्र हेर्दथिन्, उनलाई यो सांसारिक मायामोहको बन्धनमा बाँधिनु थिएन ।
पाल्मू दिउँसो आफ्नो निवासमा आराम गरिरहेको समय निमाले कोठामा आएर भनिन् “तिमीलाई खोज्दै काठमाडौँबाट एक महिला आउनु भएको छ ।”

‘भित्रै बोलाउ न” पाल्मूको आदेशमा ती महिला भित्र पसिन् । आगन्तुक महिलाले एकाएक रिसाए भन्न थालिन् “तिमी नै पाल्मू हौ ? कस्ती भिक्षुणी हौ तिमी ? मेरो लाग्नेलाई फकाउन लागेकी ? मबाट खोस्न लागेकी ? आनी भएर यस्तो अधर्म गर्ने ? म तिमीलाई सचेत गराउन आएकी, म प्राचिनको विवाहिता हुँ ……” यसपछि उनले अरू के के भनिन् पाल्मूले सुन्न सकिनन्, बुझ्न सकिनन्, उनलाई भाउन्न भएर आयो, यो ब्रह्माण्ड नै रिँगाए जस्तो लाग्यो, उनी शून्य शून्य भइन् …..। उनलाई यो संसारदेखि नै विरक्त लागेर आयोः

अत्तत हवे जितंसेय््यो–या चापं इतरा पजा ।
अत्तदन्तस्स पोसस्स–निच्चं सञ्जतचारितो ।।
नेव देव न गन्धब्बो –न मारो सह ब्रह्मुना ।
जितं अपजितं कविरा– एवरूपस्स जन्तुनी २५।। (धम्मपद)

अनि, पाल्मू लामो अवधिको गुप्त ध्यानका लागि गुफा पसिन् । कठोर तपस्यापछि उनको मन केही शान्त भयो । हलौँ भयो । उनी निर्मल मन लिएर आफ्नो गुरु भेटन मुख्य गुम्बामा पुगिन् । रिम्पुचे लामा कुनै नयाँ भिक्षुलाई दिक्षा दिइरहनु भएथ्यो । उनलाई देखेर गुरुले भत्रुभयो– “पाल्मू, आऊ हेर हाम्रो नयाँ शिष्यसँग परिचय गर ।” गेरुवा वस्त्र लगाएको, केश मुण्डन गरेको प्राचिन उनलाई साष्टाङ्ग प्रणाम गरिरहेको थियो ।

शब्दार्थः
१. के छ ?,
२. कस्तो छ तिमीलाई सन्चै? ,
३. सञ्चै,
४. श्रम शिविर,
५.माघ शुल्क प्रतिपदा,
६. तिब्बती खानाको परिकार,
७.गुरु,
८.अङ्गारिका— प्रधान सेविका,
९.पूजा गर्ने ठाउँ,
१०. प्रधान बौद्ध देउताहरू भएको ठाउँ,
११.ससानो काँसको कचौरा,
१२.धूपदानी÷दियो
१३.आसन,
१४.बौद्धग्रन्थ,
१५.पाठ,
१६.बुद्धचित्त माला,
१७.छोरी,
१८.भिक्षुणीले लगाउने लुगा,
१९. आशीर्वाद,
२०.सन्यास,
२१.बौद्घ ग्रन्थ,
२२.धर्मको शरणमा जाऔं, सङ्घको शरणमा जाऔं,
२३.मैले शरीर, वचन र चित्तका यी तिनद्वारबाट कुनै अपराध गरेको रहेछु भनें तिनलाई क्षमा गर प्रभु,
२४. प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, झुठो नबोल्ने, नशालु पदार्थ सेवन नगर्ने,
२५.अर्कालाई जित्नुभन्दा आफूलाई जित्नु बेस, किनभने आत्मदमन गरी सदा संयमी हुने व्यक्तिलाई देव, गन्धर्व तथा ब्रह्माले पनि जित्न सक्तैनन् ।)

(स्रोत : :- Rashi )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.