~इन्दिरा शाह~
भेस्डिङ मेसिन -पैसा खसालेर बटन दबाउने मेसिन) बाट दुईवटा चिसो कोकको बोतल झिक्यो र एउटा मतिर बढायो । अर्को बिर्को खोलेर एक घुटको पियो । जुन महिनाको प्रचण्ड गर्मी थियो । खेतमा कुनै बाली लगाइएको थिएन, सायद लगाउने तयारीमा जुटेका थिए किसानहरू । किनकि छाता ओढेर अथवा ठूलो आकार भएको हृयाट लगाएर खेतमा केही काम गर्दै थिए ।
सहरबाट तीन-चार किलोमिटर टाढा एउटा कम्पनी थियो । त्यहाँ काम गर्ने मान्छे खोजेको छ भन्ने थाहा पाएपछि बिक्कीले आफ्नो साथीसँग त्यहाँ गएर बुझ्ने काम अह्राएको थियो । उसको साथी उसकै कम्पनीमा राति काम गर्दथ्यो र दिउँसो सुत्ने गर्दथ्यो । बिहानको दस-एघार बजेतिर उसले साइकल लिएर आयो र त्यहाँ जानलाई सोध्यो । दिउँसोको गर्मी साइकल यात्रा मेरो त होस उड्लाजस्तै भयो । तर बाध्यता थियो । कामको जरुरत, अपरिचित ठाउँ, उसको समय । चुपचाप आफ्नो साइकल डोर्याथएर उसको पछि लाग्नुको अर्को विकल्प थिएन ।
त्यो गुन्याकेनको कुनै एक ठाउँ थियो । सहरबाट नजिकै तर पैदल यात्रा गर्न मुस्किल हुने । जापानमा बाहिर देशबाट आउनेहरू धेरैजसो साइकल चढ्ने गर्छन् । सजिलोको लागि । हुनत गाडी किनेर चढनेहरू पनि प्रशस्तै छन्, गाडी धेरै सस्तोमा नै पाइहाल्छ । त्यहीँ नै उत्पादन गर्ने हुनाले होला धेरै महँगो पनि नपर्ने । तर ठाउँको अभावका कारण पार्किङको समस्या पर्दछ । त्यसैले नजिकै सामान्य किनमेलमा कति जापानिज पनि साइकल नै प्रयोग गर्दछन् । तर विदेशी अलि बढी नै गर्छन् ।
सहरका पेटी साइकलयात्री र पैदलयात्रीका लागि मात्र हुन्छन् । चिल्ला सडक र चिल्ला पेटीहरू, सुविधाका लागि ठाउँ ठाउँमा राखिएका सिंग्नल र जेब्राक्रसिङहरू, सबै प्रान्त र सबै ठाउँ उत्तिकै विकसित र उत्तिकै सुविधा सम्पन्न अर्थात् सुरक्षित सडक, सु्रक्षित पेटी अनि सुरक्षित यात्रा ।
अपार्टबाट निस्केर नजिकैको रेल्वे स्टेसनलाई पार गर्दै हामी अगाडि बढ्यौँ । ठूलो सडक सानो गल्ली अनि खुला फाँट र रहरलाग्ने गरी बनाइएका खेतका गरा, सायद धान रोप्ने तयारी हुँदैछ । खेतको बीचबाट गएको सडक पनि उत्तिकै चिल्लो र सफा छ । मनभरि आफ्नो देशको सडक र खेतबारीलाई सम्भिmँदै उसलाई पछ्याउँदै छु । खेतको फाँट विस्तारै पार हुने क्रममा छ । गर्मी सहिनसक्नु छ । ठूलो फाँटलाई पार गरेपछि सानो ढिस्कोजस्तो पहाड देखा पर्योह । हामी पुग्ने ठाउँ त्यहीँ हो उसले रोकिएर देखायो ।
सडक सम्मबाट अलिअलि उकालो हुन थाल्यो । बाटाका छेउछाउमा चार पाँचवटा घर पनि भेटिए । जङ्गल पनि रहेछ । घुमाउरो बाटो उकालो सकिएपछि डाँडामा केही रुखको बीचमा सानो घर छ, त्यो अफिस वा सम्पर्क कार्यालय रहेछ । धेरै मान्छे थिए । विदेशी, स्वदेशी सबै आउँदै र जाँदै थिए । हामी पनि अरुहरू जस्तै पछि लागेर भर्यामङ उक्लियौँ । एक तला माथि सम्पर्क अफिस । टेबुलको उतापट्ट िदुईजना बसेर केही लेख्दै अनि सबैको परिचयपत्र वा प्रमाणपत्रहरू हेर्दै थिए । आफ्नो परिचयपत्र दिइसकेपछि केके सोध्ने रहेछन् अनि कम्पनीको ड्रेस दिएपछि काम पक्का । मैले बोल्नै परेन सबै उसले बोल्यो । उनीहरूले बोलेको मैले बुझिन पनि । कुरा सकिएपछि एकजना ड्रेस खोज्न गयो, एकछिन पछि उसले आएर केके भन्यो त्यो पनि मैले बुझिन किनकि उनीहरू छिटोछिटो बोलिरहेका थिए । मसँग जाने मान्छेले चाहिँ अब हामी जाउँ, भोलि तिमी आफँै आएर डे्रस लिएर जाउ भनेपछि बल्ल थाहा पाएँ काम पाउने भएछ । उसले भनेछ तिम्रो साइजको डे्रस सकिएको छ भोलिमात्र आइपुग्छ । त्यसैले भोलि आएर ड्रेस लिएर जाउ र पर्सिदेखि मात्र काममा आउ ।
उसले शिर निहुरायो र आरिगात्तो गोजाइमास-धन्यवाद) भन्यो । मैले पनि उसकै अनुकरण गरेँ । हँसिलो अनुहार लाएर ऊ तल ओर्लियो । गोजीबाट सनग्लास झिक्यो लगायो र साइकल चढ्यो । म पनि उसको पछि लागेँ ।
फर्किने क्रममा उसले कोक किन्यो र चिसो कोक खाँदै साइकल चलायो । उसले सोध्यो- तिमी किन यहाँ आएको ? मैले भने पैसा कमाउन । किन तिम्रो देशमा काम छैन ? छ तर पैसा छैन । खान लाउन पुग्दैन ? तलब मात्रले पुग्दैन सरकारी नोकरीमा । प्राइभेटमा अलि बढी छ । तर मलाई यता आउन मन लागेर आएको । मैले सोधे- तिमी चाहिँ किन आएको ? उसले भन्यो मेरो पनि त्यस्तै समस्या हो । तर अलि फरक कारण पनि छ । उसले बोलेको बुझ्न मलाई गाह्रो पर्छ, तैपनि ध्यान दिएर सुन्छु टुटे फुटेको अङ्ग्रेजी र त्यस्तै छ जापनिज पनि । यतिसम्म त बु्झ्छु तर कतिपटक ऊ आफ्नै भाषा स्पेनिस बोल्छ जुन म एक छेउसम्म पनि बुझ्दिन तर पनि बुझेझैँ गर्छु किनकि उसको निरन्तरतामा बाधा दिन चाहन्न ।
उसले आफ्नो नाम हावियर बतायो । सबैले उसलाई हावी भन्छन् । तिमी पनि मलाई हावी भन्न सक्छौँ । मलाई पनि यहीँ छोटो नाम नै मनपर्छ । हावीको पुख्र्यौली घर पेरुको राजधानी लिभामा हो । अहिले उनीहरूले अर्को ठाउँमा पनि घर किनेका छन् । घरमा आमा, बुबा दुईजना भाइ, श्रीमती र दुईजना छोरी पनि छन् ।
उसले गोजीबाट पर्स निकाल्यो र साना छोरीहरूका फोटो देखायो । फोटोमा एकपटक चुम्यो र गोजीमा राख्यो । सायद उसका आँखा रसाए उसले कुरा अन्तै मोड्यो ।
तिमीहरूको देश त शान्त छ है ? मैले नेपालको बारेमा सुनेको छु । हाम्रोजस्तै गरिब भए पनि तिमीहरूको देशमा शान्ति छ जसले गर्दा सबजना आनन्दले परिवारका साथमा बस्न पाउँछन् । हामीजस्तो भाग्नु पर्दैन, पलायन हुनु पर्दैन, परिवारबाट टाढा बस्नु पर्दैन ।
मैले कुरो नबुझेको थाहापाएर उसले प्रस्ट्याउँदै भन्यो तिमीलाई साइनिङ पाथ थाहा छ ? मलाई थाहा छ, किन ? मैले सोधेँ । साइनिङ पाथका गुरिल्लाहरूले कति उपद्र मच्चाइरहेका छन् । त्यसबारे पनि पक्कै थाहा होला । कस्तो उपद्र ? त्यो त तिमी हामीजस्तै श्रमजीवीहरूको हकहितमा काम गर्ने सिद्धान्त भएको होइन र ? मैले त यस्तै सुनेको हो ।
अघिको उसको शान्त अनुहार विस्तारै रातो हुँदै गयो । ऊ आफ्नो भाषामा केके फतफताउन थाल्यो, मैले बुझ्दिन त्यो कुरा उसलाई पनि थाहा छ तर मैले चुपचाप सुनिरहेँ किनकि जसरी भए पनि मनभित्र बिझेको कुरा बाहिर ल्यायोभने मन हलुका हुन्छ, त्यसैले उसको मनको व्यथा पोखोस् भन्ने चाहन्थे, मैले नबुझेर के भयो र बुझे पनि गर्न नै के सकिन्छ र ? कतिपय आफ्नै कुरा बुझेर पनि केही गर्न सकिएको छैन । त्यसमा पनि उसलाई त मैले चिनेको पनि भर्खर मात्र, न त फेरि मेरो कुनै काम नै पर्छ उसँग । उसलाई भने मेरो मौनता उसको मन शान्तपार्ने माध्यम बन्यो । म यही सोच्दै चुपचाप सुन्दै थिएँ ।
एक छिन चुप लागेपछि बाँकी रहेको कोक पिउँदै मलाई बुझाउने प्रयत्नमा उही टुटेफुटेको अङ्ग्रेजी र उस्तै जापानिजमा बुझाउन थाल्यो ।
उसको भाइलाई साइनिङ पाथका गुरिल्लाले अपहरण गरी लगेछन् र उसलाई पनि खोज्दै गरेको बेला भागेर जापान पसेका रहेछन् । ऊ भागेर यता पसेपछि उसका बाबु र श्रीमतीलाई यातना दिइएछ, पैसाको पनि डिमान्ड गरेछन् । हुनेखाने परिवार भएकाले उनीहरूले भनेजति पैसा दिएपछि अहिले चुपचाप छन् । ऊ यता आएको पनि दुई वर्ष बितिसकेछ । परिवारलाई भेट्ने इच्छा असाध्यै लागेको छ । आमाको धेरै याद आउछ किनकि उहाँ बिरामी हुनुहुन्छ ।
घाम पनि अघिकोभन्दा अलि नरम भएको छ । हल्का हावा चलेकाले पनि हो कि अलिअलि सजिलो महसुस भएको छ । खेतको फाँट अघिभन्दा बढी पार गरिसकेपछि सानो खोल्सोजस्तो छ जहाँ अलि अलि पानी बगिरहेको छ सायद कुलो हो कि । त्यसकै लागि निर्माण भएको सानो पुल छ र हामी त्यसकै छेउको पेटीमा बसेर कुरा गर्दैछौँ । त्यही खोल्सोमा उम्रेको एउटा सानो केको हो बोट छ कलिलो । त्यसकै छहारी पेटीमा परेको छ । हावाले हल्लाउँदा त्यो छहारी पनि यताउता सरिरहन्छ ।
उसको कुराले मेरो मन मर्माहत भएको छ । उभित्रको पीडा अब मभित्र पनि बिझ्न थालेको छ । आखिर जो जता बसे पनि मानवीय संवेदनाहरू उस्तै हुन्छन् क्यारे ।
म पनि यस्ता धेरै घटनाको साक्षी भएको छु । मनभित्र दुख्न थालेको छ । मलाई बोल्न मन छैन । कुरा गर्ने वा सुन्ने इच्छा पनि छैन । केही सोध्ने उत्सुकता पनि अब छैन ।
उसले आफ्नो सनग्लास झिकेर कमिजको फेरले एकपटक पुछ्यो र टाउकोमा राख्यो । प्रसङ्ग मोडियोस् भन्ने मेरो चाहनाले कुरा घुमाएँ । कस्तो गर्मी छ हगि ? उसले थप्यो तिमीलाई थाहा छैन यहाँ गर्मीमा असाध्य गर्मी र जाडोमा असाध्य जाडो हुन्छ । तिमी नयाँ छौ त्यसैले यहाँको हावापानी र मान्छेका व्यवहार थाहा छैन । बिस्तारै बुझ्दै जाने छौँ । मलाई त यो ठाउँ पटक्कै मनपर्दैन म आफ्नै ठाउँमा -देश) फर्किन चाहन्छु । जतिसक्दो छिटो फर्किने छु । तर मलाई यो पनि थाहा छ कि म फर्केर गएपछि उनीहरूले छोड्ने छैनन्, पक्कै मलाई मार्नेछन् । कुरा फेरि घुम्दै उतै पुगेको छ । हावीयर बोल्दै गयो – तर म डराउँदिन किन डराउने ? देश मेरो पनि हो । म त्यहाँको नागरिक हो । उनीहरूकै जत्तिको अधिकार मेरो पनि छ । देशको माया मलाई पनि छ । त्यसो भए तिमी पहिले किन भागेको त ? अब भने मलाई पनि सोध्न मन लाग्यो । मान्छेलाई मारिहाल्न त निकै ठूलो अपराध गर्नुपर्छ, तिमीले त्यस्तो के गरेका थियौँ र यसरी खेदो खनेका छन् त ? उसको जवाफ- खासै ठूलो कुरा होइन, तिमीलाई थाहा छैन जब देशमा अशान्ति र काटमार हुन थाल्छ । सोझा र निर्दोषहरू नै बढी हुन्छन् ज्यान गुमाउनेमा । बदमास र बाठाहरू त जोगिन सफल हुन्छन् । अशान्ति र युद्धहरू तिमीहरूले देखेको भोगेको भए पो थाहा पाउँथ्यो । आफ्नै अगाडि कति आफन्तहरूको ज्यान गएको छ त्यो त हामीलाई लिभाबासीलाई मात्र थाहा छ । सुरुमा उनीहरूले गुरिल्ला आर्मीमा जान सबै युवालाई आहृवान गरे । जान नमान्नेलाई जबरजस्ती पनि उठाए । नभेटाएकालाई धम्की दिइ नै रहेका छन् । मुख्य कारण यही नै हो । अब तिमी नै भन मेरो पनि इच्छाको कुरा हुँदैन र ? त्यो त हो मेरो सरल उत्तर । तिमीहरूको देशमा त शान्ति छ नि हैन ? उसको प्रश्न व्यङ्ग गरेझैँ लाग्यो । प्रतिउत्तरमा टाउको हल्लाएँ, मुखले कतै सत्य बोलिएला भनेर मुख बन्द नै गरिरहेँ ।
मलाई उसको कुरा सुन्दा दिक्क लागिसक्यो । जति कुरा मोडे पनि घुमिफिरी उतै पुर्याेउँछ । अब त आँटै गरेर सोधेँ- बेलुका काममा जानु पर्छ होला । तिमी कतिखेर गएर सुत्छौ त ? अब अलिकति हँसिलो अनुहार लगायो, बोतलमा बाँकी रहेको र विस्तारै तातिन थालेको कोक पियो र भन्यो- आज अर्कै साथीलाई सट्टामा जानु भनेको छु । भोलि मेरो छुट्टी हो आजको सट्टा भोलि काममा जान्छु । किनकि मलाई थाहा थियो यो ठाउँ टाढा छ, त्यहाँसम्म पुगेर फर्केर सुत्न ढिला हुन्छ । त्यही भएर पहिले नै कुरा मिलाएर आएको छु । अब गएर टी.भी. हेरेर बस्छु र बेलुका मात्रै सुत्छु । मलाई पनि अब आनन्द भयो । उसँग समयको अभाव छ भन्ने थाहा थियो, त्यै माथि पनि कुरोको लर्को एक पछि अर्को तानेर हैरान ।
तिम्रो अपार्टमा कति जना बस्छौँ ? उत्तरमा उसले भन्यो ।
हामी दुईजना छौँ र कम्पनीको अपार्ट हो । आफ्नै देशको हो वा अन्य देशको साथी हो ? कम्पनीले अपार्ट दिएको ठाउँमा कहिलेकाहीँ अरु देशकासँग पनि मिलेर बस्नुपर्ने हुन्छ ।
हैन ऊ ब्राजिल को हो । एउटै अपार्ट भए पनि हाम्रो भेट कहिलेकाहीँ छुट्टीको दिनमा मात्र हुन्छ । किनकि ऊ दिउँसो काम गर्दा मेरो राति हुन्छ र उसको राति हुँदा मेरो दिउँसो हुन्छ । यसरी आलोपालो हुन्छ । हामीसँगै जोडिएको अर्कोमा चाहिँ जापानिजहरू बस्छन् । त्यसको उता भने पेरुकै चारजना केटी बस्छन् । केटीहरू खाना मीठो पकाउँछन् । छुट्टीको दिन हामी पनि त्यहीँ गएर खान्छौँ । घरमै खाएजस्तो लाग्छ । नत्र सधैँ बेन्तो -जापानिज खाना कम्पनीले दिने गर्छ) खाँदा दिक्क लाग्छ । खाना त आफ्नै देशको मीठो हुन्छ । तर तिमी नेपाली पनि मीठो खान्छौँ । मसलाहरू भएको स्वादिलो खाना । मलाई मनपर्छ तिमीहरूको खाना ।
कहिले र कहाँ खायौ नेपाली खाना ?
विक्कीले पकाएर खुवाएको थियो एकपटक ।अब फेरि पनि आउ है नेपाली खाना पकाएर खुवाउँछु । उसले दङ्ग पर्दै भन्यो- अवश्य आउछु । तर एक दिन मात्र छुट्टी हुन्छ । मारियासँग घुम्न गएन भने रिसाउँछे ।
को मारिया ? तिम्रो साथी हो ।
साथी मात्र होइन उ त मेरो गर्लप|mेन्ड हो । उनीहरूकै मा त हामी छुट्टीमा मीठो खाना खान्छौँ ।
मारिया राम्री छन् ?
सबै भन्छन् त्यति राम्री छैन, ऊभन्दा अरु केटीहरू धेरै राम्री छन् । तर मलाई त ऊ एकदम राम्री लाग्छ । उसको मन राम्रो छ, त्यही भएर मलाई पनि राम्री लाग्छ ।
तिमीले उसको मन कसरी देख्यौँ त ?
उसको व्यवहारले, उसको बानीले, अनि उसले पनि त मलाई माया गर्छे । मन राम्रो भएर नै त गर्छे । तर अलि बढी खर्चालु छ, सपिङ धेरै गर्नुपर्छ । पैसा धेरै चाहिन्छ । म तिमीलाई भेटाउँछु नि है ?
मलाई असाध्यै खुसी लाग्ने छ मारियालाई भेटेर । तिमीहरू दुवैजना हामीकहाँ खाना खानेगरी आउ है । ऊ अति खुशी भयो र मेरो प्रस्तावलाई सहर्ष स्वीकार गर्योव ।
ऊ मारियासँग विहे गरेर अगाडिको जिन्दगी सुखले बाँच्न चाहन्थ्यो । घरको श्रीमतीलाई के गर्छौ नि ? के श्रीमतीलाई माया गर्दैनौँ ? मेरो प्रश्नको उसँग तयारी जवाफ थियो माया गर्छु तर उसँग बस्न सक्दिन । उसलाई पुग्ने सम्पत्ति छ छोरीहरू छन्, परिवार छ । तर अहिले यहाँ म एक्लो छु परिवार छैन, कोही आफन्त छैन, यस्तो बेला मारियाले माया गरेकी छ, मेरो एक्लोपन बाँडेकी छ, उसकै सहारामा मैले सुन्दर भविष्य देखेको छु, म उसँग खुसी हुन्छु भन्ने मलाई लाग्छ । यो तिमीहरूको आफ्नो समस्या हो जेसुकै गर, मनमा यस्तो विचार आए पनि मुखले बोलिन ।
अब भने हामी दुवैजनाको कोकको बोतल रित्तो भइसकेको थियो । अब जानुपर्छ मैले भनेँ । उसले सहमति जनायो । रित्तो बोतल फ्याँक्ने ठाउँ नभेटेपछि साइकलको क्यारिएर बक्समा राख्यौँ । बाटोका ठाउँ-ठाउँमा राखिएका प्लास्टिकको फोहोर हाल्ने, कागजहरूमात्र हाल्ने र पोलिथिनहरू हाल्ने गरी छुट्याइएका फोहोर फ्याँक्ने ठाउँमा मात्र फ्याँक्नुपर्छ नत्र जरिवाना हुन्छ । हामी जति बानी बिग्रेका भए पनि सामाजिक अनुसासनका नियमहरू कडा भएमा बानी सुधार्न बाध्य हुनुपर्ने रहेछ भन्ने लाग्यो ।
हामी बिस्तारै बाटो लाग्यौँ । खासै कुरा भएन । म एक्लै आफ्नो अपार्टसम्म पुग्न नसक्ने भएकोले उसले त्यहाँसम्म पुर्या्उन जानुपर्ने थियो । बाटोभरि हावीका कुरा सम्झी रहेँ र पछिपछि हिँडिरहेँ ।
अपार्टछेउमा पुगेपछि तिम्रो ठाउँ आइपुग्यो तिमी जाउ म घर जान्छु भनेर बिदा माग्यो । कोठामा गएर कफी खान आग्रह गरेंँ र आफ्नो कोठामा गएर सुत्ने विचारमा थियो । मैले पनि कर गरिँन र धन्यवाद दिएर बिदा भएँ ।
कोठामा पुगेर पनि धेरैबेरसम्म हावीयर मेरो मनमा हावी भइरहृयो । उसका शब्द कानमा गुञ्जिरहे । उसको आक्रोस, घर छोड्नुको कारण, आमा, श्रीमती छोरीहरू मारिया, उसको सहर कस्तो होला ? उसको विचार, आशङ्का भविष्यको, अनि नेपालीहरू भाग्यमानी, सुन्दरशान्त देशका बासिन्दा आदि आदि …. ।
बाहिर असाध्यै गर्मी छ । तर घरभित्र एअरकन्डिसन जोडिएको हुनाले भित्र बस्दा गर्मीको पत्तै हुँदैन । चिया पिउँदै टी.भी. हेरेर बाँकी समय बिताएँ ।
बेलुका घरबाट फोन आयो लमहीको ब्यारेकमा आक्रमण भएछ केही सैनिकहरू विद्रोहीको कब्जामा छन् । केही भाग्न सफल । दुवैतिर केही घाइते । हातहतियार लुटियो व्यारेकको । तर आसपासका गाउँले सबै सुरक्षित छन् । त्यहाँ भएका हाम्रा आफन्तहरू सुरक्षित छन् । चिन्तालिनु पर्दैन । यहाँ भएका अहिलेसम्म ठीक छौँ । अहो हावीयरले तारिफ गरेको शान्त देशबाट आएको पीडादायी खबर । दिनभरि हावीयरले प्रसंसा गरेको शान्तिको कल्पना गरेँ । त्यस्तै भए कति रमाइलो हुँदो हो जीवन ।
त्यसपछि हावीयरसँग मेरो फेरि भेट भएन । ऊ मारियालाई लिएर खाना खान पनि आएन । त्यसको केही महिनापछि कामको सिलसिलामा म अर्कै सहर गएँ । त्यसैले पनि भेट भएन होला ।
कतिपय उतार-चढावका साथ समय चिप्लिरहृयो पत्तै भएन । एकदिन विक्कीले फोनमा हावीयरको मृत्युको खबर सुनायो । यी दुईजना एकदम मिल्ने साथी थिए । यस्तो खबरले विक्की पनि अत्यन्त दुखी थियो ।
हावीयर निकै पहिले पेरु फर्केको रहेछ । अन्त्यमा उसको भविष्यप्रतिको पूर्वानुमान या आशङ्का सत्य भएरै छोड्यो । अनि मारिया ? मारियाले पनि उसलाई धोखा दिई । उसँग भएको पैसा सबै सिध्याइदिई र अर्कै केटालाई मन पराउन थालेपछि यिनीहरूको सम्बन्ध खराब भएछ । पैसा पनि जम्मा गर्न सकेन । मारियाले गरेको विश्वासघातले ऊ साह्रै दुखी भएर खाली हात घर फक्र्यो । र केही समय पछि नै उसको हत्या भयो ।
खबर दुःखदायी थियो तर सत्य थियो । देशलाई माया गर्ने एउटा देशभक्त देशमा त फक्र्यो तर उसलाई बाँच्ने अधिकारबाट वञ्चित गराइयो । उसको त्यो अनुहार र सहयोगी विचार मलाई अझै याद छ । यति असल मान्छेको पनि यस्तो दुर्गति, पीडा र अन्त्यमा बिनाकारण मृत्यु्, हत्या । विचरा ऊ कति इमान्दार थियो मारियाप्रति पनि । तर गर्न पनि के सकिँदो रहेछ र श्रद्धाञ्जलि दिनुबाहेक । मनैदेखि भन्न मन लाग्यो- अलबिदा हावी ।
(श्रोत:- मधुपर्क बैशाख, २०६७)