कथा : अफिसर छोरी

~कृष्ण राजभण्डारी ~

पहिले पहिले सरिताको सबैले प्रशंसा गर्ने गर्थे । टोलछिमेकमा शिष्ट मिजासिली शीलस्वभाव स्पष्ट वक्ता र मेहनती युवतीको उदाहरण दिनु पर्दा सबैले उनै सरिताको नाम लिने गर्थे । उनको पढाइ पनि असाध्यै राम्रो थियो । उनको मेहनत र लगनशीलता देखेर बुबाआमा र दाजुले पढाइमा निरन्तरता दिन सहयोग गरे । सरिताले अहिले व्यवस्थापन विषयमा माष्टर डिग्री पास गरिसकेकी छिन् । सरकारी अफिसमा स्थायी अधिकृत भइसकेकी छिन् । भन्ने हो भने पढाइको अन्तिम किनारा पार गरिसकेकी छन् र पढाइ पछिको लक्ष्य समेत पुरा भइसकेको छ । यतिखेर उनको झनै प्रशंसा गर्नुपर्ने हो । तर सबैले उनको कुरा काट्ने गर्छन् ।

सरिता राम्रो खानदानकी युवती थिइन् । मुलको पानी र कुलको छोरी भन्छन् । त्यसमाथि पढेलेखेकी । बढ्दो जवानी र उमेरमा साह्रै राम्री पनि थिइन् । यो देखेर नाता कुटुम्वहरूले १७-१८ वर्षको उमेरदेखिनै विवाहको लागि माग्न आएका थिए । तर पढाइप्रतिको मेहनत र लगनशीलता देखेर उनको आमा र बुबाले विवाहको कुरै पर्न दिदैनथे । परिवारको एक्लो छोरी नपुग्दो के छ र पढाइ राम्रो छ मेहनती पनि छिन् । अहिले नै विवाह गर्ने विचार छैन । उनको इच्छा अनुसार पढाएर मात्र विवाह गर्ने विचार छ । सरिताको बुबाले छोरी माग्न आउने क्रटुम्वहरूलाई यसरी नै जवाफ दिने गर्थे । सरिता आफैलाई पनि छिट्टै विवाह गर्ने रहर थिएन । कम्तिमा विएसम्म पढेपछि मात्र विवाह गर्ने उनको इच्छा थियो।

कुनै काम गर्न भाग्यले पनि साथ दिनु पर्छ भने झै सरितालाई पनि त्यस्तै भयो । उनले एसएलसी।दिएकै वर्ष देखि उनी पढेको स्कूलमा १०:२ को पढाई शुरु हुन थाल्यो । अर्को वर्ष व्याचलरको पनि पढाई शुरु भयो । घरैमा वसेर उनले व्याचलरसम्म पढ्न पाइन्। राम्रो अङ्क ल्याएर व्याचलर उतिर्ण गरेकीले उनलाई नियमित एमकम पढ्ने विचार आयो । उनको बुबाले त अव विवाह गराउने सोचेका थिए । तर उनको पढ्ने इच्छा पुरा नभएकोले कर गर्न सकेनन् । उनको इच्छा अनुसार एमकम पढ्न शहर पठायो ।

पढाइको स्तर उनको उमेरमा आएको परिपक्वता आदिले अव त सरिताले पढाइको साथ साथै काम प्रति पनि सोच्न थालेकी थिइन् । हुन पनि पढे पछि जागिरै खानु पर्छ भन्ने सोचाइबाट फरक नरहनु कुनै नौलो कुरा होइन । उनले पढाइको साथसाथै लोक सेवाको परीक्षाको लागि समेत तयारी गरेकी थिइन् ।

एमकमको अन्तिम परीक्षा भइसक्यो । तैपनि लोक सेवामा विज्ञापन खुलेको होइन । एमकमको पढाइलाई कटाएर गरेको तयारी खेर जाने हो कि भन्ने कुरामा चिन्ता मानेकी थिइन् । परीक्षा पछिका बाँकी दिनहरूमा उनले विभिन्न भाषा शिक्षण र कम्प्यूटर सिकिन् । गर्दा भन्दा झण्डै वर्ष दिनै वित्यो तैपनि लोकसेवाको विज्ञापन खुलेन । उनी दिक्क मान्न थालिन । हुन पनि त्यत्रो मेशनतले पढियो जागरिकै लागि छुट्टै तयारी समेत गरियो तर परीक्षा दिन नपाइदाको पिडा असह्य हुनु स्वभाविक हो । उनले घर नजिकको आफूले पढेकै १०ं२ कलेजमा स्वयम् सेवकको रुपमा पढाउन थालिन् । दिउसो पढाउन गरिनु पर्ने तयारीले उनको अध्ययनलाई थप टेवा पुगेको थियो । पढाउन थालेको झण्डै वर्षदिन पछि मात्र लोक सेवाले अधिकृतको विज्ञापन गर्यो । परीक्षा पनि छिट्टै भएन । सरिताले लेाक सेवाको परीक्षा पास गरिन् । अधिकृत पदको नियुक्ति दिना साथ दिलाइने पूर्वसेवा तालीम पश्चात सरिता पहाडी जिल्लाको महिला अधिकृत भएर गइन् । त्यहा उनी कार्यालय प्रमुख बनिन् ।

गएको केही दिनमै जिल्ला कर्मचारी मिलन केन्द्रले उनको स्वागत कार्यक्रम गर्यो । परिचयको क्रममा उनलाई सुश्री शब्दले पुकारिंदा अविवाहित रहेको कुरा सबैले थाहा पाए । यो जिल्लाको पानी नै कडा छ यँहा कोही पनि धेरै समय अविवाहित बस्न सक्दैन । सिडियो सा’बले व्यङ्गात्मक हाँसो गर्नु भयो । जिल्लाको कर्मचारीको पीरमर्का बुभुने हजुर नै हो क्यारे सहयोग गर्नु पर्यो नि एलडियो सावले कुरा थप्नुभयो । सरिता केही वोलिनन् हासिन् मात्र । नेपालमा अझै पनि अधिकृत स्तरका महिला कर्मचारीहरू औलामा गन्न सकिने संख्यामा मात्र छन् । महिला अधिकृतहरूले केही राम्रो काम गर्ना साथ बृति विकासकेा राम्रो अवसर पाइने अवस्था छ । उनको सफलताका बाटाहरू खुल्दै गयो । उनको सफलता देखेर घर परिवार र चिनजानका इष्ट मित्रहरू सबै खुसी हुन्थे ।

सरिताको पढाइ र त्यसपछिको इच्छा भनेको जागिर थियो त्यो दुवै पुरा भयो । अव उनको लागि गरिनु पर्ने एउटै काम भनौ वा इच्छा वुकि छ त्यो हो विवाह । अव त सरितामा पनि विवाह गर्ने इच्छा पलाएको छ । उनको आफ्नो उमेर पनि ३० नाघि सक्यो ।

महिलाहरूले विवाह गर्दा आफ्नो हुनेवाला श्रीमान् वा केटा हर कुरामा आफू भन्दा उच्च स्तरको होस भन्ने चाहन्छन् । शैक्षिक योग्यता पदीय मर्यादा उमेर शरीरिक वनौट र आर्थिक हैसियत जस्ता कुराहरू श्रीमतीकॊ भन्दा श्रीमान्को उच्च हुनुपर्छ । सरिताले पनि यस्तै सोचाइ राखिन् । हुनु पनि एमकमपास गरिसकेकी अधिकृत स्तरको जागिरमा लागेकि सरिताले आफू भन्दा जानाजानी तल्लो स्तरका केटासँग कसरी विवाहको लागि कुरा चलाउनु । आफ्नो पदिय मर्यादाको ख्याल राख्नै पर्ने हुन्छ । कतै औपचारिक कार्यक्रममा श्रीमान् भनेर परिचय गराइने व्यक्ति आफू सुहाउदो हुनै पर्छ भन्नेमा सरिता थिइन् ।

हुन त जागिरमा लागे पछि पनि विवाहको लागि धेरै जनासँग कुरा चलेको थियो । तर उनले चाहेको र मनले खाएको जस्तो केटा कोही पाइएको थिएन । एसएलसी पास गरेपछि शहर पढ्न आएकी भए धेरै केटा साथीहरूसँग चिनजान हुन्थ्यो । ती मध्ये केाही न कोही त भने जस्तो भेटिन्थ्यो होला नि । उनी घरैमा वसेर व्याचलर सम्म पढेकीमा मनमनै पश्चाताप मान्थिन् ।

सरिता एक दिन कार्यालयबाट फर्कदै थिइन् । बाटोमा उनले आफ्नो स्कूल पढ्दाको साथी सुजितासँग भेट हुन्छ । धेरैदिन पछि साथीहरू वीच भएको भेट दुवैले निकै रमाइलो महसुश गर्छिन् । आपसमा घर-घरायसीका कुराहरू हुन्छन् । कुराको प्रसंगमा सुजिताको एसएलसी पास हुना साथ विवाह भएको अहिले उनको २ वटा छोराहरू हुर्किसकेका कुरा वताउछिन्् । श्रीमान आफ्नो काममा जानु हुन्छ र उनी गृहिणीको रुपमा घरकै काममा व्यस्त हुन्छिन् । उनको परिवारमा एक किसिमको हुसो र खुसी नै देखिन्छ ।

पारिवारिक दृष्टिकोणबाट हेर्ने हो भने सुजिताको भन्दा सरिताको हैसियत निकै राम्रो मानिन्छ । तैपनि सरिताको अनुहारमा खुसी र हुसो देखिदैन । उनी सधै चिन्तित् मुद्रामा देखिन्छिन् । जवानीको रातो रङ्ग उडेर फुस्रो देखिन थालिसक्यो । अनुहारमा चमक देखिदैन । अनुहारका गाला चाउरी परेजस्तो देखिन्छ । कहिले काही ऐनामा आफ्नो अनुहार हेरेर झनै खिन्न हुन्छिन् । मेकअपले मात्र कतिदिन धान्ने । सौन्दर्य प्राकृतिक हुनुपर्छ । उनी भित्र भित्रै चिन्तित् हुन्छिन् । तर के गर्नु विवाहको कुरा लिएर सरितालाई माग्न नआएको पनि होइन जोडी मिल्ने कोही हुदैन ।

एक जना त्यसै जिल्लामा सहायक सिडिओ भइ काम गरि सेकेका अधिकृतको जेठी श्रीमती पाठेघरको क्यान्सरले वितेकी थिइन् । जेठीबाट जन्मिएको एक छोरा तिनको हेरचाहको लागि पनि उनी दोश्रो विवाह गर्न चाहन्थे । सरिताको उनै अधिकृतसँग कुरा चलाइयो तर यो उनको रोजाई भित्र पर्न सकेन ।

सम्पर्कमा रहेका एक जना प्रहरी निरीक्षक पनि विवाहको लागि योग्य उम्मेदवार थिए । उनी जागिरको सिलसिलामा जिल्लामा सरुवा जानु पर्ने बच्चाको पढाइले गर्दा श्रीमतीलाई साथमा लिएर हिड्न अनुकुल नमिलेकोले घरमै छाडेका थिए । उता श्रीमतीले विभिन्न वहानामा आफ्ना श्रीमान्लाई वोलाइ रहन्थिन् । उनको माग अनुसार समय दिन नसकेको विषयमा भएको झगडाको कारण सम्वन्ध विच्छेद गरी एक्लै वसेका थिए । उनी पनि आफ्ना साना छोरी हेर्नकै निमित्त दोश्रो विवाह गर्न चाहन्थे । उनको वारेमा पनि सरितालाई सोधियो सरिताले इच्छा देखाइनन् ।

छिमेकी जिल्लाको जिविसमा कार्यरत योजना अधिकृत करीव ४० वर्ष जतिका हेर्दैमा दुव्लो पातलो मरन्च्यासे देखिन्थ्यो । उनी प्रेममा धोका खाएर विवाह नगरी वसेका आइन्दा कहिल्यै विवाह नगर्ने पक्षमा थिए । उनीसँग पनि टुङ्गो लागेन कुरा चलाउनु मात्र भयो ।

केही समय पछि त्यसै जिल्लामा एक जना नया इन्जिनियर आए । उनी अविवाहित थिए । मिल्दो जोडी पाएमा विवाह गर्ने मनस्थितिमा थिए उनी। उनले सरितासंगको भेटमा दिदी भनी सम्वोधन गरेकाले कुरा चलाउने आटै आएन । उनी उमेरमा कान्छो र हेर्दैमा भाइ जस्तो देखिन्थ्यो ।

कोही उमेरमा कान्छो कोही पहिलो श्रीमतीले छाडेर एक्लै वसेका कोही जेठी श्रीमती मरेकी । के के हो के के अमिल्दा कुराहरू मात्र आइपर्छ । कहिले कुही त लाग्दथ्यो विवाह गरी घरजम गर्नु सरिताको भाग्यमा लेखिएकै छैन उनलाई विवाह शव्द सुन्न पनि दिक्क लाग्न थालि सक्यो । उमेरमा घर गृहस्थी नभए पढाइ र पदको के अर्थ पहिले उनको पढाई र जागिर प्राथिमिकताको विषय थियो अहिले उनलाई यही जागिर देखि घृणा र घाडो लाग्न थालेको महसुश हुन्थ्यो । असम्वन्धित व्यक्तिसँग विवाहको कुरा गर्नु पनि कसरी कहिले काही त उनी मनमनै मुर्छित् हुन्थिन् ।

बल्ल बल्ल एकजना जात मिल्दो अधिकृतसँग सरिताको कुरा चलाइएको थियो । उसले राखेको क्राइटेरिया भित्र सरिता परिनन् । श्रीमान्लाई दिनु पर्ने सहयोग मायाममता र स्नेह अधिकृत श्रीमतीबाट पाउन सकिदैन । उसको भनाइ थियो । दुवैजनाले समान सुख सयल र मर्यादा खोजिन्छ व्यक्तित्वको संघर्ष हुन्छ त्यतिखेर कसले कसलाई मान्ने छिट्टै पारिवारिक मनमुटाव आउन सक्छ भन्दै त्यो अधिकृत पन्छियो ।

अव त सरिताले आफ्नो पिडा र असन्तुष्टि मिल्ने केटा साथीहरूलाई पनि भन्ने गर्थिन् र अव्यक्त सहयोगको आशा राख्थिन् ।

सरितालाई मिल्दो केटा को पाइएला साथीहरू वीच कुरा हुन्छ । उनको शैक्षिक योग्यता पदीय हैसियत र उमेर सरिताको भन्दा माथिकै हुनुपर्छ । के यो सम्भव छ यो उमेरसम्म अवस्य पनि केटाहरू विवाह नगरी कोही वस्दैनन् । सरितालाई मिल्ने केटा पाइन गारो छ यार । कि त सम्वन्ध विच्छेद भएका पहिलो श्रीमती मरेकाहरू र प्रेममा धोका खाइ वसेकाहरू मात्र पाइन सक्छ । सरिताले यस्ता केटासँग विवाह गर्लान त धनमा गरीब भए केही छैन । अफिसर हो मौका मिले कमाइहाल्छिन् । तर अरु विषयमा कसरी सम्झौता गर्नु साथीहरू वीच पनि यस्तै कुरा हुन्छ । यस बारेमा सरितालाई सोध्ने आँट पनि उनीहरूलाई हुदैन ।

उता सरिताले अझै विवाहको पहल नगरेकीले उनको बुबा र आमा चिन्तित् छन् । आमा वावु भएर छोरीको विवाह गराउन नसकिएकोमा उनीहरू हीनतावोध मानिरहेका थिए । अफिसर भैसकेकी छोरीलाई जोडी मिल्ने केटा खोज्ने जानकारी उनीमा थिएन । छोरी आफैले आफूलाई मन पर्ने केटा खोजोस भन्ने चाहन्थे । विचराहरू छोरीलाई मुख फोडेर भनिहाल्न पनि आँट गर्दैनन् ।

टोल छिमेकका धेरैजसो उनको विवाह नभएकोमा उनीप्रति सहानुभूति राख्छन् । सरिताले अझै विवाह गरेकी छैनन्् हगि? अव त पढेलेखेकी महिलाहरू विवाह नगरी वस्ने फेसन वनेको छ कसै-कसैले यसरी व्यङ्गात्मक रुपमा सरिताको कुरा काट्ने पनि गर्थे । आफ्ना नजिककाहरूले भने विवाह गर्न सल्लाह र सुझाव दिने गर्थे । उनीहरू सबैलाई चित्त बुभुदो जवाफ दिने अवस्था सरितामा हुदैन ।

एक दिन अफिस जादै गर्दा बाटो छेउको पसलमा फूलै फूल मात्र पनि होइन रहेछ जीवनु भन्ने वोलको गीत वजिरहेको थियो । यो गीत नसकिएसम्म छेवैमा उभिएर सुनिरहिन् । त्यसै समयमा एक नव विवाहित जोडी उनको नजिकबाट जान्छन् । सरिता तिनीहरू टाढा पुग्दासम्म हेरिरन्छे र त्यो नवदुलहीसँग आफूलाई तुलना गर्छिन् र मनमनै सोच्छिन् तिनीभन्दा म केमा कम छु र?

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.