कुनै सम्प्रदाय विशेषमा श्राप दिनुपरे भन्छन् रे “लौ, तैँले घर बनाउनुपरोस् ।” घर बनाउनेले भोग्नुपर्ने पीडाको सहज अभिव्यक्ति हुँदो हो त्यो । मैले पनि घर बनाएँ यसपालि र भोगेँ ती सबै पीडाहरू जो मेरोजस्तो हैसियत राख्नेका लागि शाश्वत थिए । घर बनाउने हैसियत मेरो थियो कि थिएन, त्यसमा बहस जरुरी भएन किनकि मेरो घर बनिसक्यो ।
घर बनाउने भगीरथ प्रयत्नमा जम्मा भएका थरीथरीका व्यक्ति-व्यक्तित्वहरूसँगको भलाकुसारी र उहाँहरूको राय-सुझाव, सरसल्लाह र प्रशस्त नकारात्मक अभिव्यक्तिहरू छन् मसँग । तिनले कहीँ कतै मलाई प्रेरणा नै दिइरहेका छन् ।
घरलाई बस्न सक्ने तुल्याएर साइत गरेको दोस्रो दिन एक जना आफन्त आएर भन्नुभयो “ल, ठीकै छ । तर कोठाचाहिँ साना भए । अनि यो बरन्डा । बेकारमा ठाउँ खेर फाल्नु भएछ । यसलाई पनि कोठामै गाभेको भए कति राम्रो हुन्थ्यो । बरन्डा त कुकुर सुत्ने ठाउँ त हो नि । कुकुरलाई यत्रो ठाउँ ?”
म झसङ्ग भएँ । उत्तर के दिने ? केही सोच्न सकिनँ । मैले त बरन्डा मेरै लागि बनाएको थिएँ । कुकुरका लागि त बनाएको थिइनँ । कुकुर देखुञ्जेल त म धपाउँला तर मैले नदेखी आएर सुत्छ भने मैले त्यसमा के गर्न सक्छु र ।
अचानक केही विचार आयो । हेरेँ त्यहीँ बरन्डालाई । कुकुर सुत्ने बरन्डा । भित्रबाट खाट ल्याएँ, दरी ओछ्याएँ र पल्टिएँ । आहा मेरो घरको मेरो बरन्डा र म….. ।
बरन्डाको प्रयोग नितान्त वैयक्तिक हुँदोरहेछ, मलाई केही आभास हुँदैछ । मलाई ती कुरा सुनाउने सज्जनलाई बरन्डा ठाउँ, समय र पैसाको बर्बादी हुन सक्ला तर मेरालागि मेरो बरन्डाले धेरै अर्थ राख्छ ।
त्यही बरन्डामा बसेर वैशाखे गर्मीमा बिहानै कफीको सुर्को तान्दै काठमाडौँ पोस्टका पन्नाहरू पल्टाएर मेरो दिनचर्या सुरु हुन्छ । त्यहीँबाट छिमेकीहरू टाइगर अङ्कल र नारायणजीलाई अभिवादन गर्छु र पूर्वैयाले यही बरन्डामा मलाई शीतलता दिन्छ ।
म घरमा सर्नुभन्दा अघि बसेको रमा बहिनीको घरको छत यही बरन्डाबाट देखिन्छ । उहाँ त्यहाँबाट केही भन्नुहुन्छ र म जवाफ र्फकाउँछु । गोविन्दभाइको डेढबर्से छोराले मैले यसै बरन्डाबाट ‘ए…..भाइ…….!’ भनेर बोलाउँदा खित्का छाडेको सबैलाई मन पर्छ ।
यही बरन्डामा बसेर म सम्झिरहेको छु, घर बनाउनका लागि गरेका प्रारम्भिक दौडधुपहरू । कतै सुनेको थिएँ भुवनेश्वर गएर आएपछि घर नहुनेको पनि घर बन्छ
रे ! विश्वासको एउटा त्यान्द्रो समातेर घर बन्ने आसमा भुवनेश्वरबाट किनिल्याएको सादा कागजमा चार जना परिवार- सदस्य मिलेर महिनौँ लगाएर बनाएका घरका प्रारम्भिक नक्साहरू । रुपियाँ-पैसाको मेलोमेसो र कामको निरन्तरताको चासो ।
उत्तरपट्ट िलिम्बूदाइको सुँगुरको खोरमा त्यसको घुँकघुँकसँगै मेरा मनमा पनि कहीँ कतै दिक्दारीहरू हल्लिन्छन् र तिनकै दुर्गन्धले मेरा नाकका पोरा पनि थुनिन्छन् । चारो खाने ठाउँमा बिस्ट्यायो भनेर ती निर्दोष जोडी सुँगुरलाई लिम्बूदाइ भाटा बर्साउँछन् । हामी सपरिवार तिनको ती सुँगुरहरूमाथि गरिएको दुव्र्यवहार या अनुशासनको कारबाहीका मूकदर्शक छौँ । यो बरन्डा साक्षी छ । हेर्नोस्, नकुट्नुस तिनलाई । तिनले खाने ठाउँमा फोहोर गर्नुहुँदैन भन्ने जानेको भए तिनीहरू सुँगुर नै हुने थिएनन् । मान्छे भइहाल्थे नि । भनी अनेकन् पटक लिम्बूदाइलाई भन्न चाहेको पनि हुँ तर मुख फोरिएन । ती लिम्बूदाइलाई झोक मात्र चल्छ । प्रायः चौबीसै घण्टा आफ्नो नियन्त्रणमा नरहने तिनलाई पशु सद्भावको कागजी कुराले कतै समाउन सक्तैन भन्ने मेरो अड्कल छ । फेरि केही भनियो भने त्यही भाटो आफ्नै टाउकामा आइलाग्यो भने ! मेरो मनले फेरि गम्छ किन लिम्बूदाइ मात्र यहाँ यस्ता मान्छे कति छन् कति, टाउको दुखेको दवाइ नाइटामा लगाउने ।
यो त्यही बरन्डा हो जहाँबाट छिमेकी कविताकी छोरी फुच्ची रञ्जनाले अङ्ग्रेजी पढेको सुन्छु । उनकी देउरानी तुलसाले आफ्नो छोरो राजले अटेरी गर्दा वात्सल्यले भरिएको सजाय दिएको, तिनका फूलबारीमा फूल फुलेको र तिनकै तुलसीको मोठमा दियो बलेको, कविता र तुलसाका आँखाहरूमा रहेको प्रतीक्षा देख्छु । रञ्जना र राजले भोलिपर्सि परदेशबाट आउने बुबाहरूबाट थाप्ने कोसेलीको कल्पना पनि मलाई यही बरन्डामा मात्रै आउँछ ।
घर बनाउने प्रारम्भिक दौडधूपका कुराहरू, रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी, भरोट, काँटी, तार, रुपियाँ-पैसाको मेलोमेसो आदि-इत्यादिका हरेक झमेलाहरूका हरहिसाबको साक्षी छ यो बरन्डा । सिमेन्ट र रड राख्ने ठाउँको अभाव र दक्षिणका छिमेकीलाई गरिएको अनुरोध सम्झँदा म अझै विचलित हुन्छु । मेरी पत्नी र मैले उनीहरूको खाली गोठमा ती सामान राख्न कमसेकम दर्जनपल्ट अनुरोध गर्यौँ तर उहाँहरूले घर बनाइहाल्ने बहानाले दिनुभएन । पहिले पनि तीन छिमेकीहरूले त्यो ठाउँ प्रयोग गरेको हुनाले मैले पाउँदिन भन्ने कतै लागेन । मेरो बरन्डामा बसेर दक्षिण र्फकंदा पहिलो दृष्टि त्यही गोठ पर्छ, जुन अहिलेसम्म जस्ताको तस्तै छ । त्यसमा पलाएका ढुँडी र काइमा म उहाँहरूकै चित्र देख्छु र मेरो मन प्रत्येक पल्ट अमिलिन्छ । त्यस अर्थमा यो मेरो सच्चा साथी भएको छ ।
म यहीँ बसेर मेरो घरलाई आफ्नो जसरी बनाउने मिस्त्री र मजदुरहरूलाई मनमनै अभिवादन गर्छु । तिनीहरू दिनका दिन अरूका सपनाको महल उभ्याउन पसिना चुहाउँछन् । आफ्ना सिर्जनात्मक हातहरूले चोटा कोठालाई जीवन्तता दिन्छन्, र महिनौँ दिनपछिको श्रमपछाडि घर जिम्मा लगाएर आफ्नै फुसका झुपडीहरूमा रात गुजार्छन् । सायद आफूले दिनका दिन मेहनत गरेर बनाएको महल ती सपनामा देख्ता हुन् । तिनले मेरा घरका चोटाकोठा सिँगारिरहँदा, आफू त्यहाँ भएको, आफूले कोठाहरूको उपभोग गरेको र आफ्नो जीवन नै त्यहीँ बित्ने कल्पना गर्दा हुन् र नै यी चोटाकोठा यति सुन्दर भएका छन् । जिन्दगी गुजार्ने नियमितताका लागि अर्काको महल बनाएको बनायै गर्ने यी महान् शिल्पीहरूभन्दा ठूला कलाकार को हुन सक्लान् र ? तिनले यस बरन्डामा ढल्किएर शीतल ताप्दै चाँदनी हेर्ने कल्पना पनि त गरेका होलान् ।
हो, यही बरन्डामा ढल्किएर म पूणिर्माको चन्द्रमामा मेरो सुन्दर नेपालको मानचित्र खोजी हिँड्छु । त्यहीँ कहिले मेरो देश भेटिन्छ, कहिले मेरा देवकोटा भेटिन्छन् । पशुपतिनाथको गजुरले मलाई त्यहीँबाट आशीर्वाद दिन्छ । उहीले विद्यार्थी छँदा दार्जीलिङमा कोठाको झ्यालमा बसेर चन्द्रमा नियाल्दा गान्धीले खबरदार गरिरहन्थे । अहिले मेरो बरन्डाबाट बी.पी. र मदन भण्डारीको आँसुले भरिएका अनुहार मात्र देखिन्छन् । तारा र बादलहरूको लुकामारीमा कतै बिजुली चम्केझैँ बिस्फोट हुन्छ, कतै रोदन र चित्कारका छहराहरू देखिन्छन् त कतै मान्छेका शवहरूका थुप्रामा बनेका भव्य महल देखिन्छन् ।
हो, यही बरन्डामा बसेर कल्पना गर्छु, ती महिला र पुरुषहरूलाई दिने ओठे जवाफहरू जुन मैले त्यसबेला दिन सकेको थिइनँ । ‘सटर खोइ त ? घर त बिगि्रगएछ नि ।’ ‘प्यासेज नराखेको, अब यो, यो,…कोठा कसरी भाडा लगाउने ?’ ‘यत्रो कोठालाई भान्सा बनाएर बिगारेको ? छतमा सानो बनाउँदा भइहाल्थ्यो नि ।’ आदि आदि । यी सबै कुराका जवाफहरू मलाई त्यही बरन्डाले दिएको छ ।
मेरो त जीवन हो बरन्डा । यही बरन्डामा बसेर मैले श्रमिक पर्शुराम उर्फ सप्तरीयाको कथा लेख्नु छ, लमतन्न सुतेर उन्मुक्तताको सास फेर्नु छ, आँखाहरू तल र माथि पार्दै आकाशमाथि उडिरहेका सपनाहरू पक्रिनु छ । मेरो घर ताकेर आउने हरेक पाहुनाहरूलाई देवतालाई झैँ स्वागत गर्नुछ ।
मेरो बरन्डा मेरो विगत, आगत र भविष्यको दर्पण हो, मेरा परिवारसँग र बुढेसकालमा जीवनसाथीसँग जिउने थलो । म यही बरन्डामा बस्न चाहन्छु, यहीँ आराम गर्न चाहन्छु । म र मेरो बरन्डा नै ठीक, तपाईं……… ।
-इटहरी
(श्रोत:- मधुपर्क २०६६ माघ)