~हेमनाथ घिमिरे ~
प्राचीन युगको कथाका बादशाह निरङ्कुश तथा मूर्ख थिए । भारदारहरु उनको निरङ्कुशताबाट आजित भई उनको मूर्खताको फाइदा उठाई उनको बेईज्जत गर्न विद्वानले मात्र देख्ने अत्याधुनिक पोशाक लगाइदिने नाममा बादशाहलाई नाङ्गै शहर घुमाए । सजायँको भय तथा मूर्ख भइने डरले कुनै पनि नागरिकले सत्य बोल्ने हिम्मत गर्न सकेनन्, केवल बादशाहको अत्याधुनिक पोशाकको तारिफ गरे । तर एउटा अबोध बालकले बादशाह नाङ्गै भएको कटु यथार्थ छर्लङ्ग पारिदियो ।
यी त भए प्राचीन युगका निरङ्कुश तथा मूर्ख बादशाह । तर यो अत्याधुनिक युगका बादशाह भने न मूर्ख छन् न त बाहिर आफू निरङ्कुश भएको छनक नै दिन्छन् । बरु अरुलाई मूर्ख बनाउन उनी निकै सिपालु छन् । बादशाह आफूलाई निकै उदार देखाउँछन् र आफ्ना मन्त्रीहरुको चयन गर्ने अधिकार जनतालाई नै दिएका छन् । तर जनताबाट चुनिएका मन्त्रीहरुभने आफूलाई अर्कै ग्रहका प्राणीझैं सोच्छन् र जनतालाई बिर्सिएर बढीभन्दा बढी सहुलियत प्राप्त गर्न तथा बादशाहको साखिल्ले बन्नको लागि उनकै अन्धभक्त भएर उनको चाकडीमै मात्र लाग्छन् । उनीहरुको लागि जनता भनेको वनको कुनै जन्तु हो जस्तो लाग्छ ।
बादशाह आफ्नो चलाखीले यी मन्त्री भनाउँदाहरुलाई कठपूतली बनाउन पाउँदा धन्य सम्झन्छन्् र विभिन्न जुक्ति लगाएर तिनीहरुलाई मूर्ख बनाईरहन्छन् । यस्तै जुक्ति सोच्ने क्रममा यी मन्त्रीहरुको बौद्धिक धरातल तथा नियत जनतासामु छर्लङ्ग पार्नको लागि बादशाहलाई एउटा नयाँ जुक्ति सुझ्छ । बादशाहले मन्त्रीहरुलाई पालैपालो बोलाएर आफ्नो आधुनिक दराजभित्र रहेको विद्वान बाहेक अरुले नदेख्ने अत्याधुनिक पोशाकको दर्शन गराउँछन् । सबै मन्त्रीहरु आफूलाई विद्वान देखाउन भएभरको बुद्धि लगाएर पोशाकको तारिफ गर्छन् । बादशाहले यदि यो पोशाक लगाएर शहर परिक्रमा गरेमा विशेष उपहार दिने प्रलोभन पनि देखाउँछन् । उपहार पनि पाईने र बादशाहको नजीक पनि हुन पाईने मौका गुमाउन मन्त्रीहरु चाहँदैनन् र बादशाहको शर्त मान्न तुरुन्त राजी हुन्छन् । बादशाहको चलाखीले गर्दा हरेक मन्त्रीलाई यो शौभाग्य प्राप्त गर्ने नीज मात्रै हो भन्ने भ्रम परेको हुन्छ ।
योजना अनुसार हरेक मन्त्रीलाई छुट्टा छुट्टै समयमा बोलाएर प्रत्येकलाई भिन्दा भिन्दै कोठामा लगी उक्त अत्याधुनिक पोशाक पहिर्याईन्छ, मन्त्रीहरु आफूलाई भाग्यमानी सम्झन्छन् । हरेकलाई पोशाक लगाएर तयार पारेपछि सबैलाई एकै समयमा शहरको मुख्यद्वारमा पुर्याईन्छ । आफ्ना अन्य सहकर्मीलाई पनि देखेपछि मन्त्रीहरु हतोत्साहित हुन्छन् । तर तुरुन्त समालिएर मुक्त कण्ठले एक अर्काको पोशाकको प्रशंसा गरी आफूलाई बढी विद्वान सावित गर्न पछि पर्दैनन् । आफूलाई मात्र सो पोशाक दिईएको भनेर भ्रममा पारेकोमा खिन्न हुनुभन्दा पनि आफूले मात्र नभई अरुले पनि उपहार पाउने भए भनेर भित्र भित्रै धेरै चित्त दुखाउँछन् ।
उता शहरमा बादशाहले झ्याली पिटाइसकेका हुन्छन् – मन्त्रीहरु आज अत्याधुनिक पोशाकमा शहर घुम्न आउनेछन्, आफ्ना गुनासाहरु सुनाउने मौका नगुमाउनु । मन्त्री बनेपछि आफूलाई अर्कै ग्रहका प्राणी सोच्नेहरु एकमुष्ट शहरको भ्रमणमा आउने र आफ्नो गुनासो पनि सुन्ने भएपछि यो अद्वितीय मौका उम्कन नदिई सबै जनता शहरको मुख्यमार्गको दायाँ बायाँ जम्मा भईसकेका हुन्छन् ।
मन्त्री भनाउँदाहरु बडो फुर्तीसाथ शहरको मुख्यमार्गमा एकमुष्ट प्रस्तुत हुन्छन् । प्रतीक्षारत जन समुदायमा एक्कासी कोलाहल मच्चीन्छ – “हे भगवान , हरे शिव ! यस्तो के देख्नु पर्यो, मन्त्रीहरु बौलाए, छिः छिः ।” यस्तै यस्तै शब्दहरु गुन्जिरहन्छन् । जनताहरु अचम्भित र आक्रोशित हुन्छन् । मन्त्रीका आफ्ना नजीकका भनाउँदाहरु गएर मन्त्रीहरुलाई यथार्थ बताउँछन् र छिट्टै फर्केर आफ्नो लुगा लगाएर आउन अनुरोध गर्छन् । तर मन्त्रीहरु भने ठाँटले आफूले लगाएको अत्याधुनिक पोशाक विद्वानले मात्र देख्ने बताई उल्टै ती आफ्ना भनाउँदाहरुलाई मूर्ख बनाई हाँसोमा उडाउँछन् । नाङ्गा मन्त्रीहरुको हुल देखेर जनतामा हाहाकार मच्चिन्छ, उनीहरु आँखा छोपेर आ–आफ्नो घरतिर लाग्छन् । तर मन्त्रीहरु भने जनतालाई नै मूर्ख बनाउँदै एकदम फूर्तीका साथ शहर परिक्रमा गरिरहन्छन् ।