यौन कथा : म हराएको समयकथा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन गर्न गईरहेकी छु ।

काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम काठमाडौंको सडकमा गाडी जाम हुनु सामान्यजस्तै भइसकेको छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधँवैशे महिला, एक जना ड्राइभर, म र चारजना वयस्क केटाहरू छौ – झण्डै बाइस वर्षदेखि पच्चीस वर्षसम्मका ठिटाहरू । गाडी निकै लामो समय सम्म जाममा पर्छ । म उनीहरूको वार्तालाप सुन्न बाध्य हुन्छु । एउटा केटो जो धेरै बालिरहेको छ, ऊ पातलो जीउ भएको गोरो चिटिक्क अनुहार परेको छ । ऊ झट्ट हेर्दा मङ्गोलियन जस्तो लाग्दछ । अर्को पातलो अलिक अग्लो कालोकालो केटो झट्ट हेर्दा उस्तैजस्तो लाग्दछ । त्यस्तै अरु दुई जो सुनिमात्र रहन्छन् केही बोल्दैनन् ती पनि त्यस्तै कुनै जातको जस्तो लाग्दछ । म आफ्नो सिटमा बसेर मन नलागी मन नलागी पनि त्यो धेरै बोल्ने केटोको कुरो सुन्न बाध्य हुन्छु ।

ऊ भन्छ – ‘यार˜…˜ , त्यो सहायक मन्त्री छ नि के के हो याँ..˜ त्यो त क्रिमिनल मान्छे हो नि ।’

दोस्रो चाहिँ भन्छ – ‘हो यस्तै क्रिमिनल त मन्त्री हुन पुग्छन् ।’

उनीहरू यस्तै राजनीति गफ गर्छन् । अनि एकछिन पछि नगरकोट जाने कुरा गर्छन् ।

उही पहिलो केटो बोल्छ- ‘याँ.˜..˜. नगरकोट जाने हो याँ..˜ केटी लिएर जाने भा पो यार -‘

दोस्रो बोल्छ- ‘ मलाइ भन न म मिलाई हाल्छु नि ।’

पहिलो बोल्छ – ‘छोड यार. याँ…˜ अस्तिको कुरा सुन न क्या त्यो अनलाइन कि छे नि याँ..˜ त्यो केटीलाई गुहेश्वरीमा बोलाएको याँ ..˜ आइ क्या ।’

अरू ध्यानमग्न भएर उसका कुरा सुनिरहन्छन् । म आफ्नो अनलाइनको घटना सम्झन पुग्छ । अहिले समय नै फेसबुक र ब्लगको छ । फेसबुकमा साथीहरूसँग एउटा घर परिवारको जस्तो गफ गर्न सकिन्छ र विश्वास पनि । फेसबुकमा नयाँनयाँ घटनाहरू थाहा पाइराखिन्छ । आफू पनि दिनको दुइघण्टा फेसबुकमा हराउने गर्दछु । फेसबुकको च्याटमा मान्छे चिनेने हुनाले च्याट गर्दा पनि विश्वास हुन्छ । अनलाइनमा नचिनेका धेरैले च्याटका लागि निम्तो गर्छन त्यसैले म अनलाइन च्याटमा बस्न त्यति रुचाउदिनँ र जहिले पनि इन्डिभिजिएवल अर्थात अदृश्यमा बसेर काम गर्छुँ । तर एकदिन के भएर हो क भिजिएवलमा अर्थात दृश्यमा रहेछु । कसैले च्याटको लागि आमन्त्रण गर्‍यो । मैले एसेप्ट गरिदिएँ । एक दुइ चोटिको गफमा नै उसले ‘आइ लभ यु’ भनेर प्रस्ताव राख्यो । म छक्क परेँ । मैले उसलाई सोधे ‘मलाई चिन्नु हुन्छ म को हो -‘ यसले भन्यो ‘अहँ ‘ ‘त्यसो हो भने यो आइ लव यु शब्दलाई किन यति सस्तो बनाउनु हुन्छ ।’

उसले अन्तिममा ‘सरी’ भन्यो । मलाई लाग्यो यो केटो पनि उही मलाई ‘आइ लभ यु भन्ने केटोको डयाङ्गको रहेछ । ऊ आफ्नो कुरा बोल्दा नक्कली लवजले छोपुलाझै गरी बोल्दै थियो –
‘यार ˜..˜ मेरो त हेर याँ..˜ के भाको याँ..˜ केटीहरू त् याँ..˜ भुतुक्कै हुन्छ । त्यस अनलाइनकीलाई याँ˜ गुहेश्वरी बोलाएको याँ..˜.. ऊ आइ अनि क्या घर जान्छु भन्दै थिई ……….याँ ..˜ मैले काँ..˜ ….घर जाने भनेर बोलाएको हु र ………याँ..˜ ……..गेष्ट हाउस जाने नि याँ..˜ उसलाई लिएर म गेस्टहाउस गएँ । क्याबोर याँ..˜ त्यहाँ त उसको गाउँको मान्छे रहेछ । याँ..˜ …….. उसलाई पैसा दिएर पन्छाए याँ ..˜ अनि क्या मज्जा यार ।’

उसले यसरी बोल्न सुरु गर्दा नै मैले मेरो नाक, कान र मुख छोपिसकेकी थिए । किनभने मलाई यस्तो कुरा सुन्नु नपरोस् जस्तो लाग्छ । त्यो बोल्न केटो कुनै लाज, धीन, शरम नमानी आफ्नो व्यक्तिगत अश्लीलता ओकलिरहेको थियो । यो केटो कस्तो परिवारमा हुर्केको होला किनभने व्यक्ति चरित्र आचरणमा उसको जन्मेको हुर्केको परिवेशले पुरै असर पारेको हुन्छ भन्ने मैले सोचेँ । चरित्रहीन केटाहरू यौन र वासनालाई कसरी महत्त्व दिँदै सोझासाझा केटीहरूलाई प्रेमको जालमा फसाएर यौनसुख भोगेर छोडछन् भन्ने कुरा मलाई थाहा थियो । तर यसरी सार्वजनिक स्थलमा आमासरहको महिला दिदीबहिनीको अगाडि यस्तो घृणितकार्यको बारे ब्याख्या गर्दा केही शरम लाज त मान्नु पर्ने हो नि मैले त्यो केटो अनुहार पुलुक्क हेरेँ । अहँ उसको अनुहारमा लाजडरको कुनै लक्षण थिएन । ऊ लज्जास्पद वाक्यलाई केही ढाकछोप गर्ने पाराले भन्दै थियो ।
त्यसपछि मलाई हेर्न पनि लाज लाग्यो । अहिले मैले मुख सबै छोपे । उनीहरूको कार्यको विरोध जनाउन पनि मैले यसो गरेकी थिए । गाडी अझ जाममा थियो ।

‘यार ˜.. छ चोटी याँ..˜ क्या मज्जा या..˜ च्वाक । ‘

त्यसपछिको वाक्यहरू मैले सुन्न सकिनँ । उसका अभिव्यक्तिलाइ पचाउन उसका साथीहरूलाई पनि शायद मुश्किल परिरहेको थियो । किनभने उनीहरूले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

मलाई टेम्पोबाट ओर्लू-ओर्लू लाग्यो । तर ओर्लने अनुकुलता थिएन । बाटो पुरै जाममा थियो । एक मनले लाग्यो त्यो केटोलाई भनू – ‘भाइ हेर्नोस्, तपाईको अगाडि आमा दिदी बहिनीहरू छन् यस्तो ठाउँमा यस्तो असभ्य कुरा नगर्नुहोस् । तपाईमा अलिकति सरम लाज छैन । तपाईँका आमा, दिदीबहिनीहरू छैनन् ।’ तर मेरो वाक्य घाँटीको कण्ठमा नै अङकिएर रह्यो । यस्ता सोमतहीन अव्यवहारिक केटोहरूलाई यसो भन्दा आफै माथि जाइलाग्ने हो कि । कुनै ठोस् नियमकानून नभएको देशमा जिल्लाको सुरक्षाको लागि खटिएको सिडियो त कुटिन पर्छ भने हामी सामान्य नागरिकको के मूल्य होस् र । फेरि उनीहरू ठूलाठूला क्रिमिनल मन्त्रीहरूको बारेमा कुरो गरिरहेका थिए ।

हे भगवान यो देशको हालत के हुने हो – भोलि यो समाजको हविगत के होला नि – म पशुहरूको पति पशुपतिको शरणमा परेँ किनभने नेपालमा मानिसहरू भन्दा पशुहरू नै सभ्य छन् जस्तो लाग्न थाल्यो मलाई ।’
म त्यो अनलाइनकी केटीको बारेमा सोच्न थालेँ कस्ती केटी हो कस्तो घर खानदानकी होली केटोले बोलाउन बित्तिकै जाने । हुन त अहिले धेरै जसो युवाहरू विदेशिएका हुनाले धेरै केटीहरू विवाह नगरी बस्न बाध्य छन् । अलिक राम्रा र पढे, लेखेका केटाहरू देखेपछि केटीहरू मरिहत्ते हाल्ने गरेको कुरा मैले सुन्दै आएकी छु । पाश्चात्य खुला योन सँस्कारले प्रवेश पाइसकेको हाम्रो समाजमा यसरी धेरै केटीहरू खराब केटाहरूको माया जालमा फसेर आफ्नो अस्तित्व लुटाउन बाध्य छन् । हुन त खराब केटीहरूले पनि केटाहरूलाई फसाउँदैनन् भन्न खोजिएको होइन् तर यो स्वतन्त्रताको सदुपयोग जति केटाहरूले लिन्छन् केटीहरूले त्यसको कम उपभोग गरेका हुनसक्छन् । म सोच्छु पूर्वीय संस्कारले पनि केटीहरू पराश्रति, बन्धित बनाएको छ । पाश्चात्य समाजको जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरुलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर नारीहरू जसरी पनि ठगिएका छन् । यो मेरो मान्यता हो ।

त्यो केटो बोलुञ्जेल मलाई त्यो ठाउँबाट बिलाइजाऊ, हराइजाउ- जस्तो लाग्यो । तर त्यो सम्भव थिएन । एक छिन पछि उनीहरू शहिदगेटमा झरेँ मैले राहतको सास फेरेँ ।

दिनभर किनमेल गरुञ्जेल त्यो केटाले बोलेका बेसोमति कुराहरू मस्तिष्कमा घुमिरह्यो । जति बिर्सू भन्छु बिर्सन सकिन् । त्यसपछि काम सकेर म घर फर्के ।

घरको नित्यकाम सकेर म सदाझैँ कम्प्यूटरमा बसेँ । कम्प्यूटरमा छोरीले आफ्नो मेल साइन आउट गरेकी रहिनछ । खोल्न बित्तिकै उसको मेल देखियो । उसको इनबक्समा दुइवटा मेल आएका रहेछ । त्यो के रहेछ हेर्नुपर्‍यो भनेर हेरेँ । पहिलोमा हेरेँ -अङग्रेजीको रोमनमा मुश्किलले बुभ्न सकिने गरी लेखिएको थियो ।
‘ मैया …..याँ….क्या त्यो दिन त गेष्टहाउस गएको दिन क्या विक भए नि । दिनभर घरमा रेष्ट गरेर सुते । अनि तिम्रो के खबर छ । या फेरि भेट्ने होइन-‘

यो मेल पढेर म छाँगोबाट खसेजस्तै भएँ । तर पनि मेल अस्पस्ट भएको के हो–के हो बुझिन् । त्यसपछि अर्को मेल खोलेँ । अर्को मेलमा फाइल अटेच गरिएको रहेछ । त्यो फाइल खोलेँ । त्यो फाइल फोटोको रहेछ खुल्न निकै समय लाग्यो । जब त्यो फाइल पुरै खुल्यो तब मलाई म मुनिको जमिन भासिएझैँ लाग्यो । त्यहाँ उही केटोको फोटो र छोरीको फोटो थिए । फोटो उत्तेजक अवस्थामा खिचिएको थियो । तीनवटा फोटो सबै पालैपालो हेरेँ । मलाई रिगँटा लाग्दै गयो । मैले दुइदिन अगाडि छोरीले साथीको घरमा पूजा छ म उही बस्न जान्छु भनेको कुरा सम्झेँ ।

मेरो अगाडिको सबै दृश्य घुम्न थाल्यो । थामि नसक्नुको पीडाको भारी पलङ्गमा बिसाउन सिरक उचाले । सिरक पटक्कै उचाल्न सकिनँ । मेरो शरीर मलाई आफैलाई फूलको थुगाँजस्तो लाग्यो । यो के भयो म छक्क परेँ । आफूले आफैलाई हेर्न ऐना अगाडि गएँ । तर अचम्म, अहँ ऐनामा मेरो प्रतिबिम्ब पटक्कै देखिएन यो के भएको म छक्क परेँ । म चिच्याएँ । म चिच्याएको कसैले सुनेनन् । ऐनामा मैले राखेको टिका र पोते देखेँ । मलाई लाग्यो यो ठाउँमा हराइसकेको रहेछु । यहाँ त मेरो आकृति मात्र नाँचिरहेको रहेछ ।

मलाई अरू सबैभन्दा धेरै माया मेरो टीका र पोतेको लाग्यो । ऐनामा म हराएको समय नाचिरहेको थियो चलचित्र बनेर

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.