कथा : मृत्यु अनुभव

~दिपक घिमिरे~

म मरेको पनि वर्ष दिन पुग्न थालेछ ।

सोच्छु, समय बित्न कति नै लाग्दोरहेछ र ? हुन त म मरेकोलाई समय चाँडै बितेजस्तो लागेको हुन पनि सक्छ । बाँचेकाहरुलाई यही समय कटाउन कति गाह्रो भएको होला ।

ओहो ! ट्राफिक प्रहरीले मेरै फोटोलाई ठूलो बनाएर चोक–चोकमा राखेको रहेछ । बोर्डमा आफैलाई देखेर दङ्ग भएँ पहिलोपटक । धत्तेरी ! कति नराम्रोसँग मरिएछ ।

आजभोलिका तन्नेरीहरु मेरो फोटो देखेर तर्सिन्छन् होला कि नाई ?

०००

तपाईंलाई थाहा छ पाठक महोदय ? म कसरी मरेको थिएँ, आउनुस् सुनाउँछु मेरो मृत्यु कहानी ।

०००

क्षतविक्षत भएको मेरो शरिरलाई बचाउन सकिने आशा सकिएपछि डाक्टरले पीडा सहन सकोस् भनेर मेरो पाखुरामा पाँच एमएलको पेन किलर सिरिञ्जबाट रगतमा मिसाइदिए । पाखुराको नसालाई कपासमा स्प्रीट राखेर सफा गरि सिरिञ्जको टुप्पो घुसाएको हेर्न नसकी छेउमै बसेको मेरो छोराले आँखा चिम्लियो । बूढीले अर्कोतिर मुन्टो बटारी । तर मलाई यतिबेला न त पीडा भएको छ न त बाँच्ने आशामा खुसी नै ।

म सबै सोच्न सक्दथें । भन्नुको मतलब अर्ध अचेत थिएन । तर पनि हलचल गर्न र बोल्न सक्दैनथें । मात्र हेरिरहेको थिएँ । कल्पना गरिरहेको थिएँ । आँखा खुला थिए । त्यसैले त मर्ने बेलामा पनि म मेरो परिवारलाई हेरी–हेरी मर्न पाउने भाग्यमानी हुन सफल भएको थिएँ । एक घण्टाअघि अस्पतालमा ल्याइएको मलाई बचाउने सकिन्छ भनेर डाक्टरले बालाई आशा जगाइदिएका थिए । तर पनि बाआमाको मन कहाँ मान्छ र आफू मरेर भए पनि बचाउने आशामा दौडिदै हुनुहुन्छ मेरा बुबा ।

०००

साथीभाइसँग बिदा भएर बजारबाट गाउँमा हिडेको म घर नपुग्दै बीच बाटोमै यो हालतमा पुगें । होसमा आउनुभन्दा अगाडिको पीडा म सम्झिन पनि सक्दिनँ म । तर अहिले मलाई पीडा भएको छैन । शारिरीक पीडालाई डाक्टरको पेन किलरले भगाइदिएको छ । अनि मानसिक पीडालाई सँगै खेलिरहेको छोराले भुलाइदिएको छ । तर पनि लामो समयसम्म छोराको बाउ बन्न नपाउनेको पीडा र छोराको प्रगतिमा मेरा खुसीको अनुभूति अनि जवानीमै बूढीलाई बिधवा बनाउनुको पापको महसुस गरिरहेको छु यतिबेला । मलाई थाहा छ, म अब बाँच्दिनँ भन्ने । र अबको केहीबेरमै मर्छु भन्ने पनि डाक्टरहरुले निश्चित गरिसकेका छन् । तर पनि बाले मलाई बचाउने कोशिस गरिहनुभएको छ । सायद मैले छोरालाई गर्ने मायाभन्दा पनि धेरै माया मलाई मेरा बाले गर्नुहुन्छ होला । त्यसैले त म छोरालाई छाडेर जान तयार छु तर बाले मलाई जान दिनुभएकै छैन । मलाई आफूसँगै राख्न हरप्रयास गरिरहनुभएको छ ।

म देख्छु । रगतको पोका हातमा लिएर बा दौडिदै कोठाभित्र छिर्नुभयो । यता डाक्टरले आशा मारिसकेको कारण सुनाउँदै चासो देखाएन । तर पनि बाले कोशिस गरिरहनुभयो । म मेरा बाको छटपटाहट र डाक्टरको चर्तिकला हेर्न मात्र सक्थें, बोल्न सक्दैनथें ।

मनमनै बालाई सम्झाएँ, ‘किन दुःख गरेको बा ? अब मेरो मिति आइपुग्यो ।’ बाले पनि रसाएका रसिला आँखाले नै उत्तर दिनुभयो सायद । ‘छोरा मभन्दा अघि मलाई छोडेर नजाऊ । तिमी गएको म हेर्न र सहन सक्दिनँ ।’

शरिरको रगत सबै बगेर गएको हुनाले बचाउन नसकिने डाक्टरहरुले बताएका थिए । बा भने रगत दिएर बाँच्छ कि भनेर झिनो आशामा हौसिदै बाले रगत किनेर ल्याउनुभएको थियो । डाक्टरहरु भने मलाई बचाउन नसक्नेमा विश्वस्त छन् । टाउकोबाहेक शरिरको कुनै भाग छैन बाँकी छैन, जुन सिङ्गो होस् । सब टुक्रा–टुक्रा भएको छ । टाउकोमा भने सानो घाउ पनि छैन । जसले गर्दा म पनि बाँच्दासम्म मेरो परिवारलाई हेर्दैछु । सुन्दैछु अनि पुराना कुराहरु कल्पिदैछु । टाउको पूरै छोपिने हेलमेट लगाएकै हुनाले टाउको बच्यो । नत्र भने म मरेको मलाई नै थाहा हुँदैन थियो होला । कमसेकम ज्यूँदो छँदै मृत्युलाई नजिकबाट देखिरहेको छु ।

०००

म अलि जिद्धी स्वभावको छु रे । मेरो गलत कुराहरु पनि अरुले नकाटी समर्थन गरुन् भन्ने आशा राख्दछु । तर पनि म साथीभाइलाई अनि इष्टमित्रहरुको माझ भने मिजासिलो नै छु रे । साथीभाइहरुको टिप्पणी मेरो लागि यस्तो थियो । ‘बाइक बिस्तारै चलाउनू है’ सबैले यस्तै भन्दथे । घरबाट निस्कदा बाआमाले, कोठाबाट निस्कदा श्रीमतीले अनि साथीभाइहरु माझबाट छुट्टिदा साथीहरुले । तर अहँ मैले कसैले भनेको टेरिनँ । हावाको गतिमा बाइक चलाउनु, अरुलाई देखाएर अनियन्त्रित बाइक पनि नियन्त्रणमा लिएझैं गरी वाहावाही कमाउनु ! मेरो शोख पनि कस्तो कस्तो !

अब यस्तो शोख भएसी अरुले बाइक स्लो चलाउन, बिस्तारै हाँक भन्दैमा मैले मान्नेवाला थिएन । कारण उही त हो, जिद्धी स्वभाव । अहिले धुमिल–धुमिल सम्झना छ अझैं । खाजा खाएर साथीहरुसँग छुट्टिदा पनि मलाई सबैले सम्झाउँदै थिए, ‘बाटो अप्ठ्यारो छ दिपक अलि बिस्तारै जानू । मुसुक्क हाँसेर सहमति जनाएको म अलि अगाडि नपुग्दै आफ्नो जिद्धी स्वभाव देखाइछाडें । र, त त्यसैको प्रतिफल अहिले अस्पतालको बेडमा भोगिरहेछु ।

अस्पतालको बेड नम्बर १५ । छेउको सानो स्टूलमा मेरी जीवनसंगिनी बसिरहेकी छिन् । घरि आँसु पुछ्दै त घरि मेरो निधार छाम्दैछिन् उनी । बा उता डाक्टरसँग कानेखुसी गर्दै हुनुहुन्छ । मेरो सिरानमा एक दर्जन एक्सरे रिपोर्टका कागज थुपारिएको छ । मलाई भेट्न आएका आफन्त अनि साथीभाइहरु एक÷एक गर्दै आउँछन्, मलाई बोलाउने प्रयास गर्छन्, निरास भएर फर्किन्छन् । कोही रुँदै जान्छन् त कोही रिसाउँदै ।

बूढीको काखमा बसेको छोरा हातमा भर्खर काटेको स्याउको टुक्रा पकडेर यताउता पल्याकपुलुक हेरिरहेछ । घरि मलाई हेर्छ, घरि आमालाई । कतिबेला उठेर अस्पतालको इमर्जेन्सी वार्ड वरपर दौडिन्छ । र, हाँस्दै आमाको काखमा हाम फाल्न आइपुग्छ । उसलाई के थाहा ? बाबा अब कहिल्यै नफर्किने गरि जाँदैछ भनेर । म घरी–घरी बूढीलाई हेर्छु, बूढी मलाई हेर्छे । रुँदा–रुँदा थाकेका आँखाले मलाई धेरै बेर हेर्न सक्दैनन् । र छोरालाई खोज्न थाल्छन् उसका आँखाहरु ।

भित्ताको माथि झुण्डिएको सानो टीभीमा पुग्छ मेरो आँखा । ओहो ! समाचार त आफ्नै पो आइरहेको रहेछ– भर्खरै प्राप्त समाचारअनुसार दाङबाट काठमाण्डौंमा लागि छुटेको रात्री बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक दिपक घिमिरे गम्भीर घाइते भएका छन् । ठक्कर दिने बसका चालक प्रहरी नियन्त्रणमा ।

समाचारमा मेरो नाम सुन्नेबित्तिकै बूढीले हत्तपत्त टीभीतिर आँखा डुलाई । अरुको खबर सुनेर मुटु कमाउने म आफ्नै खबर आफै हेर्दैछु अस्पतालकै बेडमा । धन्न ! घटनास्थलमै मृत्यु भन्ने खबर बनेनछु ।

अहो ! समाचारको दृश्य बिस्तारै धुमिल पो हुन थाल्यो । आवाज पनि सुनिन छोड्यो । भर्खरसम्म आमाको काखमा खेलिरहेको छोरालाई पनि चिन्न छाडें । अघिसम्म स्पष्ट देख्ने मेरा आँखाहरुले अहिले धुमिल धुमिल मात्रै देख्न थाले । भूकम्प नै आएजस्तो अनुभूति हुँदैछ यतिखेर । पूरै अस्पताल नै हल्लिएको जस्तो ।

डाक्टरले वायाँ पाखुराको नसाबाट ग्लुकोज दिन थाले । दायाँ पाखुरा त पूरै क्षतिग्रस्त थियो । अघिसम्म दायाँ पाखुराबाट तप्प–तप्प चुहिरहेको रगत पनि बन्द भइसकेको छ । लौ ! वायाँ पाखुराबाट दिइरहेको ग्लुकोज पनि जान छोड्यो । श्वासप्रश्वास पनि बन्द होला जस्तो भयो । म छटपटाउन थालें । शरिरको कुनै अंग हल्लाउन सक्दैनथे तर टाउको बेस्सरी हल्लाए । बा दौडिदै डाक्टरलाई लिएर आउनुभो । बूढी आत्तिदै टाउको समाउन थाली । छोराले स्याउको टुक्रा भुइँमै फालेर रुन थाल्यो । त्यसपछि म चुपचाप भएँ । सास रुक्यो । आँखा बन्द भए । टाउको हल्लिन छोड्यो । शरीर बिस्तारै चीसो भयो । अनि म मरें ।

०००

त्यसपछि…

मेरा बा, बूढी र सानो छोरा छेऊमा हिक्का छोडेर रुन थाले । आफन्तहरु आँसु पुछ्दै मेरा बा, बूढी र छोरालाई समातिरहेछन् । डाक्टरले भने सेतो तन्नाले मेरो क्षतविक्षत शरिर छोपिदिए ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.