कथा : निर्लज्ज युद्द

~डा मधु माधुर्य~

“अँ, २ घण्टापछि मलाई फोन गर्नुस्।”

यो थियो राती ३ बजेतिर आएको फोन उचालेर ” हेलो, नमस्कार, को बोल्नु भएको? ” बोल्दाको पूरा जवाफ ।

अति नै चिसो, अभिवादनबिहीन त्यो जवाफ घनघोर घृणाको मृत र रुखो अभिब्यक्ति थिया । मानवीय मूल्य, मान्यता र नैतिक आचारको पूर्ण बिघटन टड्कारो रुपमा प्रकट हुन्थ्यो त्यस्मा । त्यसपछि जति नै ओल्टे कोल्टे फेरे पनि निदाउन सक्दैन वीर बहादुर र मध्यरातपछि अरु २ घण्टा जाग्राम बस्छ ऊ ।

-” हलो, नमस्कार, म वीर बहादुर बोलेको हजुर..। “

” पहिला घडी हेर्नुस् ,कति बजे फोन गर्दै हुनुहुन्छ। “

-” नेपालमा भए यतिखेर भाले बासी सक्थ्यो हजुर । हजुरले मलाई ३ बजे फोन गर्नुहुंंदा २ घण्टा पछि फोन गर्नु भन्नुभएकोले नै फोन गर्देछ “। कुनै ननीको घटना घट्यो कि भन्ने त्रासले म बेचैन थिएँ। फोन गरिन भने पछि ” किन फोन नगरेको? भन्नुहोला भन्ने डरले फोन गर्दैछु…। “

२ घण्टा अघि नाइट क्लबमा आराम गर्दे थिएँ, कस्लाई फोन गरे. गरिंन यादै भएन । अर्को कुरो तपाईं त म भन्दा धेरै पढे गुनेको मान्छे, भाले बासे पनि नबासे पनि यसरी रातारात फोन गर्नु उचित हुंदैन भन्ने मामुली कुरो सोच्न सक्नु पथ्र्यो। फेरि मेरो समस्याले तपाईंलाई किन बेचैनी? सबैलाई पेलेकै छु सबैजना खुशी नै छन्, त्यस्मा पनि हातहतियार सहितका अँगरक्षकहरुसंगै बमले नपड्किने गाडीमा हिंडेपछि के को त्रास? के को सन्त्रास्? अब आइन्दा….

वीर बहादुरले केही बोल्नु अगावै उतापटिबाट बोल्नेले रिसिभर राखिदियो।

***

गर्भवति आईमाईको जस्तै भीमकाय भूंडी, सुन्निएर फुट्नै लागेका जस्ता गाला, होचेमिनका जस्ता चुस्स परेका दाह्रिले सानै कदका भएपनि अजीबको ब्यक्तित्व दर्शाउंथ्यो। सानै उमेरदेखि खोपी, तास र जुवा अनि धूम्रपानमा निर्लिप्त नर बहादुरलाई जतिसुकै सिस्नुपानी लगाई पीटपाट गरे पनि तह लगाउन सकेका थिएनन् उस्का बाबुआमाले। एस.एल.सी. मा २ पल्ट गुल्टे पछि खान्दान परिवारको सानै चोक्टो भएपनि नाक उडेको थियो। खपि नसक्नुका अवस्थाहरुमा बाजे बज्यैले समेत उस्लाई कुलंंगार भनेर हपार्न थालेका थिए। तेश्रो पटक बल्लतल्ल एस.एल.सी. पास गरेपछि भने त्यो परिवारको भुईंमा खूटटै थिएन । अब नर बहादुरको दादागिरीले झन उग्र रुप लिएको थियो। नेपालमा जे जति गरेपनि परिवारको सपना साकार नहुने निक्र्यौल निस्केपछि नरबहादुरलाई बिदेश पठाएर मान्छे बनाउने निर्णय भयो।

त्रिभुवन विमान स्थलबाट उडेको हवाईजहाजको पांग्रा जव विदेशी भूमिको धावन मार्गमा गुड्न थाल्यो, नर बहादुर किंकर्तव्यबिमूढ भयो। उस्को एक मनले “अब दिन खुले, विदेश भनेको विदेश नै हो, सबै कुरो हुन्छ, सुख पाईन्छ, मोजमस्ति हुन्छ। ” त अर्को मनले ” तास, जूवा, कौडा हान्ने खिलबहादुर र दिलबहादुरजस्ता दिलदार साथीहरु फेला परेनन् भने के गरि दिन काट्ने होला? ” भन्ने गथ्र्योे। एयरपोर्टबाट बाहिर ननिस्केसम्म उ निक्कै खिन्न देखिन्थ्यो।

चटक्क परेका फूलबुट्टे सडकहरु, गगनचुम्बी घरहरु, रंगीचंगी पार्कहरुले उसैलाई स्वागत गरेको भान हुन थाल्यो। कपाल खौरेका, तर रामतिलक र गेरुवस्त्र नलगाएका, नाक कान देखि नाईटो सम्मै मून्द्री लगाएका युवा-युवतीहरु देख्दा ” ए, उस्तै उस्तै पो रहेछ … जहाँ गएपनि। ” भनेर बेला बेलामा रमाउँथे र आफन्त र घर छाड्नु पर्दाको नियाश्रो अनुभूति लुकाउँथे। एक हिसाबले उ ढुक्कै थियो, अब उस्लाई कसैले पनि यो ठाउँमा “कुलँगार” भनेर धज्जी उडाउन सक्ने छैन भनेर ।

विदेशी भाषा सिक्ने सामान्य क्रममा ठट्टा गर्दागर्दै तयारी भाषाको समाप्ति भएछ । एउटै उडानमा आएका वीरबहादुरको सहायताले गर्दा तयारी वर्ष जस्तै पहिलो वर्षको पनि “खड्गो” कट्यो। तर साम दामको खोलो बगाउँदा पनि केही शीप नचलेर दोश्रो वर्ष पार गर्न नसकेपछि एउटै हविगतले गुज्रनु परेका र मन मिलेका साथीहरुसँग ” इन्स्टीच्युटबाट निकाला हुनुपर्दाको कालो अनुहार देखाउनु भन्दा पश्चिमी देशहरुमै बरालीनु जाती ” भनेर बेलायततिर लागे।

दुखम् सुखम् दुई-चार पैसा आर्जन गरेर पाश्चात्य जीवनको नकारात्मक पक्षलाई आफ्नो जीवन शैली बनाउन पुगेका ती तिनैजना त्यहाँ ६ महिनापनि टिक्न नसकेपछि “पढन भनेर नेपाल छाड्यौं, जसरी भएपनि प्रमाण पत्र त हात पार्नै पर्छ… ” भनेर पहिलाकै ठाउँमा फर्केर पढाईमा पुन: भर्ना भए । तर जत्तिसुकै जमर्को गर्दा पनि पढाईमा “माखो नमर्ने” देखेपछि बरु विदेशीहरुको ब्यापारी फर्महरुमा लाग्ने निर्णय गरे। पछि “सबैले व्यापार गरेकै छन्, हामी मात्र के कम?” भनेर वियरको नशामा ढुन्मुनिंदै एकदिन “ब्यापार योजना”को तर्जुमा भयो। नभन्दै महिनावारी ब्याज टन्नै पाउने विश्वासमा परेकाहरुले “उनीहरुलाई यस्तो दु:खद घडीमा समेत सहयोग नगरे गोर्खाली दाजुभाई भएको के मतलब भो त” भनेर धेरैले भएभरका थैली बुझाए । ब्यापार शुरु हुन नपाउँदै तीनजना मद्य एकजना गायब भए । क्यासिनोमा समेत फेला नपरेपछि “हरायो” भन्ने गाईंगुईं चल्यो। कतै अत्तोपत्तो नलागे पनि भनिन्छ उ ज्युँदै छ। पढाई सकेका “लगानीकर्ताहरु” ब्याज त के सावाँसमेत उठाउन नसकेर कागती निचोरिएको मन बोकेर सँधैंको लागि स्वदेश लागे। तर नरबहादुरको दोश्रो साथी छाती खोलेर ब्यापारमा लागे। तर ब्याज र साँवा माग्नेहरुलाई “पैसो ले को के प्रमाण छ? प्रमाण भए मुद्दा दे…नत्र सबैलाई गोद्छु” भनेर खुल्लम खुल्ला झपार्थे भने आफूभन्दा बलियासँग चाहिं “सबैको पैसा उसैले लिएर बेपत्ता भा छ, हेर्नुस् न, त्यो बजियाले हाम्रो समेत सोहोरेर बेपत्ता भयो, सबैजना मिलेर उस्लाई समाउनु पर्छ… यस्को लागि सबै मिलेर मान्छे खटाउनको लागि अलिअलि खर्च पनि गर्नुपर्छ..। ” भनेर हात थाप्थे। दर्शकहरुले यो नाटकीय दृश्य धेरै समयसम्म हेर्ने सौभाग्य पाएनन् । आखिर स्थानिय गिरोहहरुसंगको हिसाबकिताब नमिल्दा एक मात्र पुत्र जन्माएका उन्का मातापीताहरु पुत्रबिहिन हुनु पर्यो।

अब बाँकि रहे नरबहादुर । चारैतिरबाट नरबहादुरको कीटको तालुमा लटरम्म आलु फल्न थाले। कहिले क्यासिनो, कहिले आराम केन्द्र, विलास केन्द्र र स्थानीय बासीहरुका ठूल्ठूला पार्टीहरुमा सँधैं ब्यस्त हुन्थे उनी। एक सेकेण्ड पनि फुर्सद भएको देख्न पाईंदैनथ्यो। उस्लाई भेट्न नसकेर तथाकथित गन्यमान्य ब्यक्तिहरु पनि लखतरान पर्थे। उन्कै एकजना मन मिल्ने मान्छेले एकदिन उन्लाई बिच बाटोमा रोकेर अति नै भेटने जिज्ञासा देखाएर सोधे – “अब कहाँ हाम्रो भेट हुन सक्छ? “

– “ट्वाइलेटमा । किनभने त्यहाँबाट निस्कने बित्तिकै कतै न कतै लागिहाल्छु र फुर्सदै हुँदैन।..”

अपूरो महावाणी पूरा हुन नपाउँदै नर बहादुरलाई लिएर उस्को गाडी तिब्र गतिमा गंतव्य स्थानतिर हान्नियो। उन्का कुनै जमानाका घनिष्ट साथी त्यो शीष्ट जवाफ पाएर झण्डै लडेनन्।

ज्युने क्रममा उन्ले केमात्र गरेनन्? तर भाग्यवश नरबहादुर आज अति नै राम्रा र विशिष्ट ब्यक्ति मानिन्छन् समाजमा । उन्लाई ” हाम्रा मान्छे ” भनेर घेर्नेहरुको संख्या हिजोआज बढदो छ। एउटै मात्र दु :को कुरो, उ पौराणीक युगमा जन्मन सकेन । निकै नै ढिला गरे पुथ्वीमा झर्न, नत्र त राम कृष्ण ब्रम्हा विष्णु हनुमानको सट्टा उन्कै नाम चल्ने थियो होला । उन्को लगनशीलतामा स्वदेशमा पनि दुई चार वटा पाटी पौवा र पाठ्यशालाहरु बने, उन्का फर्माइशमा दुई चारवटा पुस्तकहरु निस्के। उन्ले बोल्दा पनि सबैले स्वरमा स्वर मिलाएर “हो, हो…” भन्छन् ।पत्रपत्रिकामा पनि जताततै उस्कै अन्तर्वार्ता पढन पाइन्छन् । उनी यो शताब्दिका युग पुरुष बन्न पुगे। शायदै त्यस्तो ठाउँ फेला पर्ला, जहाँ उस्को पहुँच छैन। यस्तो लाग्छ, मानौं उस्को अनुपस्थितिमा शायदै यो बस्तीले श्वास फेर्ला…..।अब कस्को तागत उन्लाई कुलंगार भन्ने?

यो समाजको लागि बरु कुलंगार त त्यही अभागी स्वाभिमानी वीरबहादुर पो हो। ६ बर्षको पढाईको अन्तरालमा बाजे, बजै, बाउ, आमाले समेत सँधैंको लागि छाडेर परमधाम गए। छोरोको न्वारान नसक्दै पढाईको लागि विदेशीनु पर्यो, खप्परमा अटे नअटेका सुन्दर सुन्दर सपना बुनेर। उस्लाई आज नाम्चे बजारले कुरेर बसेको छ। “बुवा कहिले आउनुहुन्छ?” भनेर आमालाई हरेक दिन वाक्क दिक्क बनाईरहन्छ उस्को सानो छोराले। त्यही चुनुमुने छोरो र सोझि स्वास्नीलाई खुशी पार्ने तयारीमा दुई चार पैसा जोरजाम गरेर बिदेशमै बस्नुपर्दा तुरुन्तै स्वदेशमा फर्कन सकिरहेको छैन उ। बाध्यताले अर्काको रुखो ब्यवहार सहेर बस्नु परेपनि उस्को भित्रि मन हिंउभन्दा स्वच्छ, लाली गुराँस र सयपत्री भन्दा कोमल र सुन्दर छ। आफूभित्रको त्यो कोमल गुराँसलाई बर्बर खूट्टाहरु उचालेर कुल्चिमिल्ची गर्नेहरुको बिरुद्द उ निर्भीक बनेर हमेशा युद्द बोलिरहन्छ, प्रतिरोध दर्शाईरहन्छ। ज्युंदा नरबहादुरको मृत सालीकमा दुई थुंगा फूल चढाएर “राम्रा”मा गनिने उन्को मन पनि छैन। यही अनिच्छाले जन्माउन पुग्यो, आगा र पानीका कथाहरु, विरोधाभासका ज्वालामुखीहरु र निर्लज्ज युद्दका कुरुक्षेत्रहरु।

ऊ शीर ठाडो पारेर बोल्छ – ” ..चाहे सानो होस्, चाहे ठूलो होस् ,न्यायको लागि लडिने युद्दहरुमा सँधैं विजय प्राप्त गर्न सकिन्छ, तर हार्नै परेछ भनेपनि बेइज्जत हुँदैन…। “

आफ्नै दर्शनको घुँयत्रो छातीमा बज्रन पुग्दा उनी आर्थिक रुपमा पंगु बन्नु पर्यो। उन्का परिवार र आफन्तहरु भोका छन् आज। समाज एकातिर छ, वीरबहादुर एक्लै अर्कैतिर छ। डाक्टरी पढेका वीरबहादुर आफै पागल त भएनन् ?अर्काको मात्रै उपचार गर्नेले आफूभित्रको गडवडीको पहिचान गर्न सकेन? के त्यो वाहय ब्यक्तित्वमा भासिएका झुत्रे, लुम्रे समाजबाट विस्थापित भएर स्वदेश फिर्दैमा नाम्चे बजार खुशी हुन्छ त अब? थुप्रै थुप्रै प्रश्नहरु छन् मेरा ती डाक्टर शेर्पाप्रति। अनुत्तरित प्रश्नहरुको सागरमा म विस्तार विस्तार हराउँदै गैरहेको छु, किनाराका छालसरी। उनी भने अझै सम्झौताविहीन “निर्लज्ज युद्द ” लड्नमा ब्यस्त छन् ।शायद उनैलाई सम्झेर हेमिंगवे पनि विक्षिप्त बनेर बरबराउँछन् – ” …मान्छेलाई ध्वस्त पार्न सकिन्छ, तर उस्को मन जित्न सकिंदैन….। “

***

हो, आज निश्चय नै ठूलो ऐतिहासिक दिन | ऊ चढेको विमानले स्वदेशमा उत्रन अझै केही क्षण पर्खेर बसेको छ । बिहानको लालीमासंगै हिमाल मुसुक्क मुस्काईरहेको छ आज, शीतका थोपाहरु बोकेर, हरिया घाँसहरु उस्का मार्गमा जम्मा भएका छन् । डाँफे मुनालको फर्याक फुरुकले शोभा बढाईरहेको छ। सयपत्रि र गुराँस ढकमक्क फुलेका छन् ।स्वच्छ आकाश, यो सुमधुर परिवेश, गोठालोका एकलब्य बाँसुरी घन्किरहेको छ…., नाम्चे बजारको बुद्दको आगमनको दिन | पदचापहरु सुनेर एक हातमा फूलका माला, अर्को हातमा नानी च्यापेकि सुन्तली मैयाँ प्रेम विहवल भएर छोरोलाई शिशुभाषामा परिचय दिंदैछे पतिको…… ” उ ! देख्यौ च्यांगवा, तिम्रो ।।।।।।।।।.११ “

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *