निबन्ध : खाउँला पिउँला !

~जगदीश शम्शेर राणा~

‘दशैँ आयो, खाउँला पिउँला !’ यही उमङ्ग लिन्छन् आम नेपालीले आइपुग्दा हाम्रो राष्ट्रिय चाड । ‘भवानीको भयो पूजा, भयो आनन्द वर्षा !’ यो त थरीथरीका, ठाउँठाउँका पूजाआजामा कमी गर्ने÷नगर्नेहरूको भावना हो ।

खाने के त ? भन्दा नेपालीले ‘मिठाई’, ‘केक’, ‘सेवियाँ’, ‘कडाप्रसाद’ भन्दैनन् । ‘मासु’ नै भन्छन् । राँगा, बोका, हाँस, कुखुराको बलि चढायो अनि आफूहरूले खायो । यही हो मुख्य ‘खाउँला’ भनेको । नेपालमा ‘क्लास’ भनाउँदाको गिन्ती मात्र छ, ‘मास’ (आम जनता) भनिनेले सर्वत्र ढाकेको छ । दशैँमा बलि दिएर मासु खाने पर्वै चलेको छ ।

‘हाऽऽऽऽ… ! जसले रच्यो भन्छौं तिनैको बलि दिएर भगवान—भगवती खुसी हुन्छन् भन्नु कस्तो मूर्ख कुरा ! यो एक्काइसौं शताब्दीमा त बलि प्रथा नै रोकिनुपर्छ । यस्तो असभ्य रुढी !’ भन्नेहरू पनि छन् । भुक्ने, फुक्ने र टिइँटिइँ गर्ने अनि फेसबुकमा टङ्कन गर्ने जमानामा कसले, कसको मुख छेक्नु ? घर जन्तु संरक्षणका नयाँ एनजिओहरू र प्रचारवादी हिरोको सङ्ख्या पनि बढिसके । ‘हो क्यारे, यो बलि खराब, निर्दयी, हिंसावादी र असभ्य चलन हो क्यारे !’ यसमा प्रश्न गर्न मन लाग्छ, उत्तर आफू आफैं खोजुन् ।

१) बलिको विपक्षमा लेख्ने÷कराउनेले पूजाआजा र चाडपर्वमा हुने बलिको विरोध दर्साएर हिरो बन्नु अगाडि दिनदिनै धेरै ठाउँका बधशालाहरूमा हुने काटमारको विरोध गरेर सफल भएपछि मात्र यी आस्था, व्यवस्था, सुविधा र आक्कलझ्ुक्कललाई पनि हटाउन खोज्नु उचित प्राथमिकता होइन र ?

२) बलि दिँदा पशुको घाँटी कसरी रेट्छन् भन्नेलाई थाहा छ ? उल्टो झुन्ड्याएर, तालुमा सुइरो घोपेर रगत निखारेको सुँगुरको ढाडको बेकन राम्रो हुन्छ भन्ने सुँगुरको मासु ‘क्योर’ गर्ने विशेषज्ञको धारणा ?

३) वर्षमा एकदुई पटक या महिनामा एकाध फरक अर्पणको रूपमा देवदेवीलाई चढाएर, त्यसैलाई प्रसादको रूपमा खानु क्रूर र असभ्य प्रथा अनि दिनदिनै बधशाला या मासु पसलबाट ल्याउँदै परिकार बनाएर कपाकप मासु खानु सभ्य र क्षम्य भन्ने परिभाषालाई पुर्पक्ष गर्न खोज्नु कि कुइरेको आँखाले मात्र हेर्नु ? भो, दशैं आयो, खाउँला पिउँला भनेर चाड मनाउने बेलामा यस्ता ‘झ्ूर’ कुरा के गर्नु ? रातो, राम्रो, रमाइलो चाडै मनाऔं ।

उहिलेका कुरा दशैँमा बलि दिने÷नदिने कुरा चन्द्रशमशेर महाराजको बेला पनि उठेको थियो । महाराजको परिवारभित्रै पनि यस्ता तर्क–वितर्क भएका थिए । अनि महाराजले भारतका केरला, बनारस, कान्यकुव्ज र अरू ठाउँबाट शास्त्र जान्ने पण्डितहरूलाई नेपाल बोलाए । नेपालका पनि नामी पण्डित, गुभाजु र तान्त्रिकहरूलाई डाके ।

ती धर्मगुरुहरूको बैठक पाँच दिन चल्यो, सिंहदरबारमा । महाराज, भाइभारदार र गुरु–पुरोहितहरूले पाँचै दिन बसेर शास्त्रार्थ सुने । पशुबलिको पक्ष र विपक्षमा पण्डितहरूको शास्त्रार्थ सकिएपछि महाराजले दुई दिनमा आफ्नो फैसला सुनाउने गरी सभा विसर्जन गरे । यसरी ठूलो बौद्धिक तनावमा दुई दिन बिताएपछि अर्को विद्वत् सभामा महाराज चन्द्रशमशेरको फैसला आयो, “हामीले विद्वान्हरूको कुरा सुन्यौं । शास्त्रको धेरै जानकारी भयो । हाम्रो शास्त्रमा पशुबलिको पक्ष र विपक्ष दुवैमा धेरै सिद्धान्तहरू रहेछन् । दुवै पक्षको बलियो आधार रहेछ । पशुबलि मान्नेहरूले आ–आफ्नै श्रद्धा र भक्तिअनुकूल गर्नु । पशुबलि नचाहनेहरूले अर्को उपायले पूजा गर्नु, कसैलाई रोकतोक छैन । मैले चाहिँ आफ्नो दशैँ घरमा आजदेखि पशुबलि नगर्ने निर्णय लिएँ ।”

सुनेको कुरा हो, बैठक सकिएर तल ओर्लिएपछि चन्द्रशमशेरका विद्वान् छोरा केशर शमशेरले भनेका थिए रे, “बुबाज्यूले दशैँ घरमा बलि नगर्ने निर्णय लिइबक्सेपछि उहाँलाई अवश्यै नराम्रो हुनेछ ।”

(स्रोत : हिमाल खबर १६ असोज १५ कात्तिक २०६८)

This entry was posted in निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *