कविता : मञ्जूर छ

~अनन्त निरौला~

दिनेले पूर्ण सम्भावना
नदिएको हैन जस्तो लाग्दैन मलाई
सम्भावना अटुट शान्तिको
म मा छैन भन्ने लाग्दैन मलाई
दिनेले कन्जुस्याईं गरेको
पटक्कै लागेको छैन मलाई
त्यसैले,
कुनै गुनासो छैन मेरो उ प्रति
कुनै बिरोध छैन मेरो उ प्रति
बस्
मेरो अब्यक्त सम्भावनाको गाँठो खोल्न
नियतिले बेला बेला रच्ने गरेको ब्युह
सारै कष्टकारी भैदिन्छ
हलचल ल्याईदिन्छ जीवनमा
मन छताछुल्ल पारिदिन्छ
मर्नु न बाँच्नुको दोसाँधमा
यस्ले ल्याएर उभ्याईदिन्छ
कैले केहि बेर
कैले केहि दिनका लागि ।

फेरि सोच्छु,
यै हलचलको प्रतिफल त हो
सगरमाथा पनि चुलिएको
अटलताको प्रतिक।
कहीं म भित्रको समुद्र मन्थन पनि
अटल शान्तिको सगरमाथा चुलिनु अघिको
प्रक्रिया त हैन?
हो भने,
मलाई चोट मन्जूर छ
हलचल मन्जूर छ
छताछुल्ल मन्जूर छ
मेरो जीवनको समुन्द्र मन्थन
मलाई सहर्ष मन्जूर छ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.