व्यङ्ग्य : थुइक्क तोरीलाहुरेहरू

~केशु बिरही~Keshu Birahi_new

हिजो जस्तो लाग्छ लप्टन बाजेले भनेका यी शब्दहरू । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सबैले उनलाई लप्टन बाजे नै भन्थे । लप्टनबाजे फरासिला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्मेदारी सम्हालेका बुढा गाउँघरमा पनि त्यही शासन चलाउन खोज्थे । बुढा खरा स्वभावका थिए । शारीरिक सुगठनमा पनि बुढा कम थिएनन । आना मानाको घिउ खाएका रे । गाँठे हुन पनि काठ जस्तै दह्रा थिए । बाह्रै घण्टा आफ्ना महातहत सैनिक जनावलाई कज्याएर राखे जस्तो उनी सबैलाई कज्याइरहन चाहन्थे । क्षणभर पनि कामगर्नेहरू उनको आँखाबाट टाढा हुनु हुँदैनथ्यो । अलिकति यताउता भए कि बुढा कड्की हाल्थे र भन्थे- ए तोरीलाहुरेहरू हो’ । काम गर्नु पर्दै न त्यसै खान पाइन्छ । त्यसै लाद्रो भरिन्छ । जङ्गिहाल्थे बुढा मान्छे । अरुलाई गाली गरे पनि बुढा केटाकेटी प्रति भने दयालु स्वभावकै थिए । कहिल कही बुढाले केटाकेटीलाई वोकेर हिड्थे र गालामा मोही पनि खान्थे । त्यसरी कहिलेकाहीं बोकिइनेमा म पनि पर्थें ।

बुढाले त्यसरी कड्किएर वोल्दा सबै कामदार मात्र नभएर हामी केटाकेटीहरू पनि डरले थुरुरु हुन्थ्यौ । झन ‘तोरीलाहुरे’ भनेर गाली गर्दा त सातो पुत्लो नै उठ्थ्यो । बुढाबाट छलिएर कामदारहरू डरसंगै डरभित्र गुटमुटिएर गलल्ल हास्थे । हामी पनि त्यसमा सहभागी हुन्थ्यौ । तर तुरुन्तै बुढाको आदेश सिरोपर गरिहाल्थे । मेरी वास्सैमा धुर्मुसेलो ‘हस’ भने झैँ गरेर । तर बुढाले पटक पटक भन्ने गरेको तोरीलाहुरे शब्दको अर्थ हामी मध्ये कसैलाई पनि थाहा थिएन । ती कामदारलाई भने थाहा थियो कि थिएन त्यो म भन्न सक्दिन । त्यसो त हामीले त्यसको अर्थ कहिल्यै खोज्ने प्रयास पनि गरेनौ । हुनत त्यस्ता शब्दको अर्थ खोज्न सक्ने उमेर नै कहाँ भएको थियो र हाम्रो तर अरु कुराको अनुमान नलगाए पनि “तेरीलाउरे” भनेर बुढाले पक्कै गाली गरेको होला भन्ने चाँही थाहा थियो हामीलाई पनि ।

आज लप्टन बुढा बितेको पनि लामो समय भैसकेको छ । झण्डै २५ वर्ष भैसके हुँदो हो । अहिले म आफै पनि लप्टनबाजे झैँ हजुरबा भैसको छु । बाउ हुँदै हजुरबा हुने अवस्थामा पुगिसकेको छु । अझ नातागोतालाई केलाएर हेर्ने हो भने हजुरबा मात्र नभएर जिवा पनि भैसकेको हुँला ।

आज म लप्टनबाजे अर्थात तिनै विध्याधर जैसीले गाली गर्दा प्रयोग गर्ने गरेको त्यो ‘तोरीलाहुरे’ शब्दलाई केलाउन थाल्छु । अर्थ खोज्न थाल्छु । ‘तोरी लाहुरे’को नेपाली शब्द कोषले के अर्थ लगाएको छ त्यो मेरो खोजिको विषय रहेको छैन । र म खोज्न चाहदिन पनि । आज म नेपाली शब्दकोषको अर्थ नभएर यसको व्यबहारिक अर्थ खोजिरहेको छु । सामान्थ अर्थ मात्र नभएर त्यसको लाक्षणिक अर्थ खोजिरहेको छु । तोरीलाहुरे भन्नाले [१] आफ्नो जिम्वेवारी नवुझ्ने [२] वेफाँटमा अरुको लहै लहैमालागेर जताततै वराल्लिएर हिड्ने [३] कामको महत्व नवुझ्ने [४] अर्थात आफ्नो जिम्वेवारी वोध नभएको आदि आदि अर्थ लगाउछु ।

आफूले लगाएका यिनै अर्थलाई म अहिले मिसाएर हेर्ने गर्छु । कहिले छर छिमेकमा त कहिले आफ्नै परिवारमा । कहिले गाउँमा त कहिले जिल्ला वरपर सम्म । त्यस्ता थुप्रै तोरीलाहुरेहरू फेला पर्छन । वेफाँकमा आमाको होटेलमा खाएर बाउको लजमा सुत्न पल्किएकाहरू । वेतुकका गफ छाँटेर गरिखानेलाई पनि भट्काउने कायर तथा हुतियाराहरू । देशमा वसेर विदेशको प्रसंशामा रमउनेहरू अदि आदि । त्यस्ता थुप्रै तोरीलाहुरेहरू मैले देखेको छु । भेटेको पनि छु । तीनै तोरीलाहुरेहरू मेरो आँखामा एक पछि अर्को गर्दै आउन थाल्छन ।

म त्यस्ता तोरी लाहुरेहरूको बहुमत पाउछु । ती तोरीलाहुरेहरू गाउँ जिल्ला हुँदै केन्द्र अर्थात राजधानीमै छिरेको पाउछु । शिँहदरावारमा छिरेर आफूलाई शिँह झैँ ठान्न तोरीलाहुरेहरू पनि छन । आफू पुरुस भएर पनि महिलाले मात्र पाउने सुत्केरी भत्ता पचाउने तोरी लाहुरे पनि प्रसस्तै छन । देशै वेचेर भए पनि आफ्नो घ्याम्पो भर्ने तोरीलाहुरे पनि कम छैनन । जनताबाटै तिरस्कृत भएर जनमतका खोक्रा नारा जप्ने तोरीलाहुरे पनि भेटिन्छन ।

म आँगनको पिँडीमा वसेर ती तोरीलाहुरेहरूको लिष्ट बनाउन थाल्छु । ती तोरीलाहुरेका लिष्टमा एउटा तोरीलाहुरे आउछ । ऊ शिँहदरवार आफ्नै पेवा ठान्छ । आफ्नै बाउको अंश झैँ लाग्छ उसलाई । नलागोस पनि कसरी त्यहाँ छिर्न उस्लाई कम्ती गाह्रो परेको हैन । धेरै प्रयास पछि मात्र ऊ सफल भएको हो । पटक पटक छिर्ने प्रयास गर्दा पनि सधैं असफल मात्रै हुँदै आएको थियो । ठूलै चिठ्ठा परेर मात्र ऊ त्यहाँ पस्न सकेको थियो । वल्ल भागले पाएको । अव भोलि फेरि पाइने हो कि होइन पिर उतिकै छ । त्यसैले त्यो तोरीलाहुरे त्यहाबाट हट्नै चाहदैन । अनेक प्रपाछ रच्छ । हुनत त्यहा आलिशन सुखसुविधाको धङ्धङीले उस्लाई छोड्नै मन नलागेको होला । तयसैले ऊ सदा त्यही अडिने रहर पाल्छ । तर अरुलाई देखाउनैलाई भए पनि भन्छ – म कहाँ वाधक छु र पहिला तपाईहरू सुद्ध छवि भएको मान्छे त खोज्नुहोस । सबै संग कुरा मिलाएर त आउनु होस । मेरो पनि यहाँ रहिरहने कहाँ रहर हो र म वाध्य भएर मात्र यहाँ अडिरहेको हुँ । म तुरुन्तै छाडि हाल्छु नि ।

अर्को तोरी लाहुरेको याद आउछ । ऊ प्रजातन्त्रको हिमायती ढान्छ आफूलाई । युवा पुस्ताको प्रतिनिधि भएको दावा गर्न छाड्दैन उमेरले पिण्डखाने वेला भैसकेको भए पनि । सधैँ सहकार्य एकताको नारा जप्छ तर व्यवहारमा भने त्यस्तो छनक नै देखिदैन । अहिले भने पहिलो गाँसमै ढुङ्गा परे पछि उसलाई मर्नु न वाच्नु भएको छ । डाडु मै पानी तताएर मर्नु जस्तो । तर मर्न पनि सक्दैन ।

अर्को तोरीलाहुरे मेरो लिष्टमा पर्न जान्छ । उस्ले कहिल्यै पनि यो प्रजातान्त्रिक अभ्यासलाई विस्वास गरेन र गर्न चाहदैन पनि । परम्परागत संसदीय अभ्यासलाई ऊ भाष ठान्छ । यसलाई ऊ माहाभाष हो भन्छ । म यो भाषमा फस्दिन भन्छ तर ऊ नजानिदो पाराले त्यही भाषमा डुविरहेको छ । ऊ यो संसदीय अभ्यास तथा अरु सहयात्रीलाई लोप्पा खुबाउने दाउमा छ । ऊ हुँकार छाड्दैन । आन्दोलनको आँधिवेहरी ल्याइदिन्छु भन्न कहिल्यै छाड्दैन ।
अर्को तोरीलाहुरेहरूको चरित्र भने विछिट्ट खालको छ । देशलाई नै कहिलेकही विदेश बनाई दिन्छु भन्छ । आफ्नो भाषा संस्कृतिको वकालत नगरेर अर्कै देशको भाषालाई राष्ट्रिय भाषा बनाउनु पर्छ भन्छ । मेरो प्रस्ताव मान्ने भए मान नत्र खैरात छैन भन्छ ।

अर्को तोरीलाहुरेको त के कुरा गर्नु । मरिसकेको वुढो रुख फेरि हरियो बनाऊ भन्छ । त्यस्तो मरेको रुखलाई पुनः वचाउने काम पनि त्यति सजिलो छ र ऊ धमीलो पानीमा गतिलैसित माछा मार्ने र त्यही मरिसकेको रुखलाई जवजस्ती व्युँताउने दाउमा छ ।

यस्ता सयौ तोरीलाहुरेहरू मेरो लिष्टमा पर्न जान्छन । ती तोरीलाहुरेहरू कामकुरा एकातिर कुम्लो वोकी ठिमी तिर भने झैँ आफूले पाएको मुख्य जिम्वेवारीलाई छाडेर । वेतुकका गफ छाँट्दै हिड्दै गरेको देख्छु । ती सबैको चर्चा गर्न सक्दिन र त्यसो गर्न उपयुक्त ठान्दिन पनि । त्यस्तै म अहिले असमाजसमा छु । यति धेरै तोरीलाहुरेहरू छन । ती तोरीलाहुरेहरू मध्ये पहिलो तोरीलाहुरे कसलाई बनाउने भनेर म चिन्ति भएको छु । ती तोरीलाउरेको व्यवहार देखेर उही विद्ध्याधर जैसीबाजेले झैँ भन्न मनलागिरहेको छ ……’थुइक्क धेरै तोरीलाहुरेहरू हो’ ।

॥ इति ॥

(स्रोत : Prahlad.wordpress.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.