खण्ड काव्य : सौदामिनी

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

मेरी सौमी चंचल थिई, सुन्दर थिई, अबोध थिई तर सौदामिनी जस्तै क्षणमै गई ।

सौदामिनी

                                                                        रामप्रसाद दाहाल

bookcover_Saudamani_Ram Dahal_Khandakavya

आकाशको छाती चिरेर झर्ने
सौदामिनीको चमकै ठूलो छ
स्वर्गिय शौन्दर्य सबै समेटी
बाटो ऊ झर्ने त हिलो गिलो छ।

झलक्क देखें एक दिन मैले
सौदामिनीको झरिलो छटामा
कहीँ पनि देख्न नपाइएको
दैविय शौन्दर्य छिँडी कुनामा

सौदामिनी त्यो सखी भेट्न आई
आकाश देखि तल धर्ती सम्म
छुटयाउनै पो अब पर्छ गार्‍हो
कुन चाहिं सौदामिनी हो, अचम्म !

आकाशकी त्यो सौदामिनीले
धर्तीकी सौदामिनीलाई छुन्छे
चमक, दमक, रुप र चञ्चलेपन
आफू मिटाइ उसलाई दिन्छे।

“आयौ कहाँ बाट तिमी यहाँ किन
छोडेर बाटो यस ठाउँ रल्लिन?
के लाज लाग्दैन ठूलो बडो भै
सुटुक्क अर्को घर भित्र च्याउन?”

चम्केर बम्की, हप्की र दप्की
उसले सके सम्म डरै देखाई
परन्तु त्यो सावकको फुटानी
के गर्न सक्थ्यो म अटेरीलाई?

ऊ झन अटेरी छिडीका बलैले
सम्भाव्य बाटा सब थुन्न थाली
अटेरी मेरा पाइलाहरूमा
वाचाल जालो ऊ त बुन्न थाली।

“मलाई टेर्दैनौ तिमी अटेरी
आमाको गाली खाने भयौ नि
कि भेटछौ बाबा सँगको पिटाइ
मैले भन्याछु रुने भयौ नि।
अस्ति नै यस्तै भुन्टे अटेरी
हेपी मलाई कल गर्न लाग्यो
पायो कि झापट बाको डरैले
आमा पछाडि ऊ लुक्न भाग्यो।

बाको त झापट सार्‍है ठूलो छ
गालाभरिमा अटाउदैन
एक पल्ट भेटे पछि थाहा होला
बा हेर्ने आँटै पनि आउदैन।

छन् बाबा ठूला आकाश छुने
द्यौता सँगै कुस्ती परे नि जित्छन्
दुई काँध राखी भुन्टे मलाई
आमा अगाडि ऊ कुद्न सक्छन्।

ठूलै रहेछौ तिमी पनि त
बा जत्तिको त कहाँ बाट हुन्थ्यौ
कुस्ती परे नि बाले नै जित्थे
बाले पछार्दा तिमी पक्कै रुन्थ्यौ।”

“बा तिम्रो खै त?” – यो प्रश्न सुन्दा
अचम्म मान्दै अनुहार हेरी
म मुर्ख, अज्ञानी, अजानलाई
गम्भीर भै ज्ञान सुनाइ फेरि।
“कस्ता नजान्ने मान्छेहरू छन
खै, स्वाँग पार्छन कि बुझ पचाई
के गर्न बस्छ घर छोरो मान्छे
हामी के खान्छौं नगरे कमाइ?

बा कस्तो भन्ने चिनेकै छैनौ
एक टनको ठेला बा एक्लै ठेल्छन
कमाइ ल्याए त पुग्थ्यो रे खान
तर, गर्नु पो के?, बा खोप्पी खेल्छन।

कमाइ गर्छन माया नि गर्छन
परे सबैका सेवामा जुट्छन्
बिर्सन्छु उनका गतिला ती बानी
मातेर आइ जब आमा कुटछन।”

“आमा पनि काम कहीं क्यै गर्छिन्”
कुरो चलेकोमा कुृरो उठाएँ
वाचाल भन्नै थी तयार जस्तै
फटाफटी फेरि जवाफ पाएँ।

“पुगेन नि त बाको कमाइले
भुन्टे विरामी बा खोप्पी खेल्ने
बा जाँड घिच्छन आँखा नहेरी
आमाले मात्रै के चाल थेग्ने?

थाकेर पस्छिन् घर भित्र आमा
साहुले ज्याला अति थोरै दिन्छ
आफूले रक्सी घिच्नै नभेटे
त्यै पैसा बाले खोसेर लिन्छ।

आमा चुलो छेउ बसेर रुन्छिन्
हामी डरैले कुनामा पस्छौं
खुवाउछिन् राति उठाई आमा
आमा नसक्दा निख्लाम सुत्छौं।

छ्या ! सुद्धि कस्तो ! के काम आयौ?
भने त हुन्थ्यो नि म हेरिदिन्थें
आमा नहुदा घरै म थाम्छु
गर्जो त तिम्रो पनि टारिदिन्थें।”

“बालाई तिम्रो भेट्नु थियो नै
क्यै काम मेरो गर्ने थिए कि?
भेटिनँ भोलि तिर आउँला नि
आउने लेठो दोहोरियो नि।

तर मान्नु के दुख म आउनुमा
मन्दीर जानु दुख भक्तिमा के?
देवी जहाँ रुप र वाणी, श्रीकी
त्यो ठाउँ पुग्न किन दुख मान्थें?”

भनाइ मेरो उसले बुझन
स्वभावले जिल्ल परेर हेरी
खुम्च्याइ आँखा र भनी – “नबुझ्ने
लाटो कुरा गर्छ बुझू कसो’री?”

ढोका थुनी त्यो छिंडीका बलैले
भयो अध्यारो अनि चाल पाएँ
दियो बले झैं कहीं छाती भित्र
शौन्दर्य सम्झी घर फर्की आएँ।

कमल हिलोमा बिच गोलमा हिरा
सुनाखरी फुल्छ कुहेको काठमा
ढुँडी किरो त्यो सिपी दिन्छ मोती
कुमुदिनी फूल्छे अँधेरी रातमा

न घाम छायाँ, न त ओत पानी
न धर्ती आकाश इन्द्रेनी फूल्छ
कालो, अँध्यारो जल मेघ च्याती
सौदामिनी रुप धपक्क बल्छ।

अनन्त फोहोर कुरुपता जहाँ
वरिपरि नित्य छ वास पासमा
प्रकाश छिर्दैन कसै कतै पनि
जहाँ दिउसै बदलिन्छ रातमा।

गुहेकिरो झैं सब बस्दछन जहाँ
असह्य दुर्गन्ध जहाँ जहींतहीं
अनन्त आकाश डुलेर हिडने
सौदामिनी त्यो कसरी झरी त्यहीं?

न काल बेला, न स्थितिको शुद्धता
न पात्रको रुप, न श्रेष्ठता कहीं
चाहिन्छ भन्ने निति भेटिदैन
भेटिन्छ सौन्दर्यशुधा जहींतहीं।

हुन मेनका उर्वशी रुप सुन्दरी
चञ्चल र निर्मल गिरिकी सरिता
या कोइलीका स्वर माधुरी हुन्
सब एक ठाउँ सौदामिनीका।

त्यो रुप हेरी अन्धो हुनुमा
बोली सुनी त्यो बहिरो हुनुमा
उसलाई माया गरी मार्न सक्ने
केही दुख हुन्न आगो छुनुमा।

कुनै ठूलो मण्डप एक रूखको
अघि बनायो रहमा कसैले
र किम्वदन्ती र कथा पुराणमा
नामी भयो त्यो रह काष्ठमण्डप।

श्रीमञ्जुश्रीले जनजीव थाल्न
चोभार काटी रह त्यो सुकाए
अर्को कथामा इतिहास भन्छ रे
उपत्यका नेमुनिले फुटाए।

कतै कविले अघि जो बखाने
उपत्यका स्वर्ग समान ठाने
तपस्वीले पुण्यभूमि जनाए
यसै धरामा तप गर्न आए।

छोइदिदैमा जल यी नदीको
माटो छुदैमा यी पवित्र भूको
मिल्ला परमधाम भनेर ठान्थे
समीर सम्मन् पनि शुद्ध मान्थे।

बाली र नाली, वन, केलीवाग
बाटा र घाटा, घर पानीघाट
सबै मिलेको सहरी बनोट
मानौं थियो रे सम इन्द्रप्रस्थ।

जहाँ छहारी हुनुथ्यो त्यही थियो
जहाँ उज्यालो हुनुथ्यो त्यहीं थियो.
जहाँ जहाँ जे हुनुथ्यो त्यहीं थियो
बनोट बान्की सब ठाउँमा थियो।

डाँडा र पाखा हरिया मुनाले
चिस्यान खोल्सी जल छल्कनाले
बाला सुनौला रहका गरामा
परिश्रमीका पसिना छुनाले।

देखेर हुन्थे सब देव मोहित
नाचेर झर्थे परी मुग्ध, लोभित
तारा पनि फूल बनेर आउथे
लज्जावती झैं वन बाट च्याउथे।

फूको रुआ झैं कही हुस्सु चल्थ्यो
स्फटिक जस्तो कहीं शित झर्थ्यो
कही बिहानी पखको तुसारो
टल्काउथ्यो धर्ती बनेर पारो।

अहा ! धरामा यति विघ्न मोती
मिल्ला कहाँ पो यति दिव्य ज्योति
परन्तु यो वर्णन भूतको हो
‘थियो’ भनेकै भरमा भनियो।

हाम्रो थियोमा यदि हाँसिने ्भए
सुँघेर मात्रै यदि बाँचिने भए
मानिस सबै शीप, कमाइ छोडी
हाँसेर बस्थ्यो ऊ ननासिने भए।

“यस्तै तिमी छौ नि बा हुन्नन् जैले
तैले तिमी झुल्कन आइपुग्छौ
बुझ्ने थियौ नत्र कुरा सबै नै
ग्वाँजे कि ग्वांग्रो पक्कै तिमी छौ।

बस्दैन दिउसो घर छोरो मान्छे
भन्ने तिमीले बुझसक्नु पर्ने
आमा पनि त कमाइ गर्छिन्
उनले. त झन् यो घर धान्नु पर्ने।

आएछौ भै गो बस भित्र आज
भुन्टे सुतेको छ नबिर्सी देउ
बिम्झ्यो भने उठछ र रुन थाल्छ
सानो बनेर बस एक छेउ।

बालाई तिम्रो कुरा भनेथें
‘को? किन? कस्तो ?’ भनेर भन्थे।
‘छैनन् रे फुर्सद हुन्नन् रे खाली
महिना भरि नै भने झैं गर्थे।

आमाले भन्थीन् – ‘पैसा बढी पो
दिन्थ्यो कि तिमीले भेटे नि हुन्थ्यो’
अघोरी रे नि बाको स्वभावै
अरूको अर्ति केलाई सुन्थ्यो?

बोल्दैनौ नि त लाटो भयौ कि?”
गाडेर आँखा अनुहार हेरी
म बो्ल्नु भन्दा पहिले उही नै
आफ्ना कुरा पस्कन थाली फेरि।

“हिजो त बाले कुटे मलाई
आमा पनि बेस्करी नै रिसाइन्
‘पिएर झोलेनी तँ छोरी कुट्ने’
भनेर बाको घाँटी समाइन्।

बाबा पनि रन्थनिइ कराए
‘यो मेरी हैन को बोकी ल्याइस्?’
आमा भनीन् – ‘हैन त छोरी तेरी
दश वर्ष सम्म के हेरी आइस्?’

लौ छामी हेर दुख्दै यहाँ छ
निलै हिजो बोक्सी चुसे बसेथ्यो
होला अझै केही त सुन्न्एिकै
असाध्य पोल्ने गरि नै दुखेथ्यो।”

“माया त बाको पनि लाग्छ होला?”
मैले अलि उत्सुकता बढाएँ
चञ्चल र निश्छल नभपुत्रीबाट
जस्ती छ ऊ सोही जवाफ पाएँ।

“लाग्दैन माया त कुटेको बेला
के गर्नु माया ती जँड्याहा पुङको?
बाबा त हो नि अरू सद्धे बेला
हाम्ले नहेरे अरू को छ उनको?

बाबाको माया पनि हामीमा छ
रिस मात्रै उनको अलि ननिको
आमाको जत्ति के हुनसक्थ्यो
उनको त ठूलो हेरी अरूको।”

फेरि मसिनो साउती स्वरैले
कानैमा मेरो ऊ भन्न थाली
“साँच्ची, कसैलाई पनि नभन्नु
गुप्ती कुरा यो तिमीलाई खालि।

आमा, ठूल्यामाका कुरा सुनेथें
होइन रे छोरी म हाम्रा बाकी
थिएँ रे पेटैमा बिहे म गर्दा
आमाले बेलै नपुगेर पाकी।

आमाले भन्थीन् – ‘लाग्दो हो शंका
भै गो, दिदी, त्यो सब बिर्सिदेऊ
यस्तो कुरा विन्ति कतै नगर्नु
आफ्ना, पराया न कसैको छेउ।
उसको चिनो यो म बचाइ राख्छु
छातीमा राखी, मुटुमा सजाई
मरेर जादा उपहार दिन्छु
पर्खेर बस्ने ऊ अभागीलाई।’

आमाले होला किन त्यो भनेकी?
कसले कुरेको छ कहाँ कसो’री?
किन केही दिन्छीन् कसलाई आमा?
आफ्ना पराया हुन्छन् को फेरि?

अप्ठ्यारो बोली मान्छे ठूलाका
बोल्नै नजानेर हुने त्यो हो कि?
कि बुझ्छ अर्कोले भनि भनेको
बोली पो हाम्ले नबुझेको हो कि?

मान्छे ठूलो छौ तिमी बुझ्नु पर्ने
ग्वाँजे तिमी छौ तर के बुझौला
बा जस्तो बाठो हुनु पर्छ बुझ्न
ज्ञानी भए पो तिमीले बुझौला।”

ऊ शव्दमा प्राण थपेर बोल्थी
झन्कार झन्झन् सुमधुर चल्थ्यो
गुँजेर वाकसंगीत शारदाको
सम्मोहनी झैं मन लठ्ठ पार्थ्यो।

भन्थी ऊ जो जे कहीं भित्र देखि
मनै सबै खोली सुनाइदिन्थी
असत्य, दुर्भाव हुदैनथ्यो कतै
सदाशयी, स्नेही स्वभाव लिन्थी।

“यस्तै म छु नि कहीं सुद्धी छैन
आफ्नै कुरा मात्र भनिरहन्छु
तिम्रो पनि काम भएर आयौ
मैले त ‘लौ खा’ सब बिर्सिइछु।
सक्ने भए मै पनि जाइदिन्थें
कस्तो छ? के काम? ठूलो पो हो कि
बाले नमान्लान् र ‘परेन जानु’
भनेर आमा पनि रोक्दछिन् कि?

भोलि पनि आउन बाका डरले
कोही पनि भित्रिन चाहदैन
एक्लै म हुन्छु घर भित्र खालि
बाहिर जानै पनि पाउदिनँ।

गए पनि मानिस क्वार्र हेर्छन्
‘को? कसकी छोरी?’ भनि सोध्न थाल्छन्
भन्छन् अनि बा ‘यसलाई चाँडै
कतै नखेदे घर घेर्न थाल्छन्’।

धने बुढो अस्ति यहाँ पसेथ्यो
‘दिन्छन् हजारौं भनि जोड गर्थ्यो
कसले? कहाँ? के? तर त्यो बुझनँ
आमा र बाको झगडा परेथ्यो।

छातीमा टाँसिन् मारी अँगालो
‘अभागिनी तँ’ भनि आँशु झारिन्
आमाको बुझ्नै छ स्वभाव गार्‍हो
गल्ती गरें के? किन आश मारिन्।

बुझन उसले, किन?, बुझ्न सकने
सामर्थ्य उसकोे त छदै थिएन
हजारको केही थियो रहस्य
त्यो तथ्य लुक्ने त कुरै भएन।

जो कामको निम्ति म भेटन आएँ
त्यो कामको अर्थ कुनै रहेन
केही, कतै, काहीं नहोस् अनर्थ
नभेटी बाबु उसको भएन।

सदैव झैं रात थकाइ मारी
विहानीको घाम झुलुक्क हेर्छ
आकाशले लिन्छ गुलाव लाली
माटो पनि र195ि139न रूप फेर्छ।

बिउझन्छ मानिस बिउँते सरि भै
आशा निराशा सब साथ बोकी
तर्सन्छ सम्झेर अतित आफ्नो
भविष्य छोटो अति सु73म देखी।

दुई रूप नारी पत्नी र आमा
ढोकामा बस्थी नानी कुरेर
बाबु र छोराले चुसिसकेकी
जवानीमै बुढी सरि भएर।

मानिस लोग्ने घर भित्र खोक्दै
पित्तादि फाल्ने बल जोड गर्थे
घरमा फिँजाइ सुर्तीको धुआँ
ती मर्दको शेखी प्रयोग गर्थे।

छन् भुँडी पित्ले नानीहरूका
छन हात, गोडा, जिउ सुकेका
नसा हरिया सब ठाउँमा छन्
शरिर ढाक्ने गरी जेलिएका।

ठाडो पखाला र जुका र चुर्ना
विहान फाल्ने गरी नानी साना
दायाँ र वायाँ लहरै बसेका
खडा सिपाही झैं मिलाइ बाना।

सलामीको निम्ति विशिष्ट व्यक्ति
सगर्व सर्के झैं म हिड्न थालें
नानीहरू प्यात्त निकाली जिब्रो
स्वभाविकै स्वागत गर्न थाले।

चासो कुनै छैन भनी ठूलाले
कर्केर आँखा ती घुमाइ हेर्थे
अभेक ठाउँ र अकाल बेला
मलाई देखी सब छक्क पर्थे।

जसै म गन्तव्य पुगी हपारें
थकित नारी स्वर चिर्बिरायो
‘गएर को बाहिर हेरिहेर् त’
र सामु सौदामिनी रूप आयो।

“ऊ क्या नि मैले त थिएँ भनेकै
पक्कै तिमी आउदछौ भनेर
आमा र बाले भर नै गरेनन्
साँचो कुरा बोल्दिनँ झैं गरेर।”

“भेटूँ म बालाई तिम्रो भनेर
विहानी आ’को, बा तिम्रो खै त?”
“ल्याउछु बोलाइ बालाई छिट्टै
एकै छिन् मात्रै यहाँ पर्ख है त”।
‘को? किन? केलाई?’ पछि कसैको
पैताला भारी सर्केर आयो
मानिस टर्रो ठर्रो स्वभावको
आएर सामु आँखा गडायो।

“खोजेको कसलाई के काम निम्ति?
भनिसकेकै छु अगाडि मैले
कतै कसै सक्दिनँ जानलाई
जतिसुकै दाम दिए नि अहिले।

साहुको मेलो छ उता निकै नै
ज्याला पुरै खाइसकें अघि नै
बोल्यो कि पोल्यो छ जमान मेरो
सक्दिनँ फेर्न अब त्यो जमानै।”

“त्यसो भए गर्दिनँ जोड केही
अरू कसै बाट चलाउला नै
त्यति ठूलो काम पनि त हैन
या दाइलाई पछि लाउँला नै।

दुखै म देख्छु घरमा तपाईको
टुम्टुम् सधैंको त छदैछ होला
आम्दानी केही अरू थप्नलाई
उपाय सोच्दा ननिको नहोला।”

“गरीबका यी बल पाखुरी हुन्
थप्ने अरू के छ र साथमा पो?”
“नानी यिनी छन् कहीं कोही ठाउँ
साथी कसैको कि दिइदिने हो।

राम्रो कुनै ठाउँ म खोजिदिन्छु
तपाईलाई पनि केही दिन्छन्
भलो त उनको पनि होइहाल्छ
दुई चार अक्षर यिनी आफू चिन्छिन्।

पैसा पनि केही जमाइदिन्छिन्
तपाईलाई हलुकै हुनेछ
लेखेपढेकी धनवान छोरी
भविष्यलाई सजिलै हुनेछ।

‘के स्वार्थ तेरो?’ भनि सोध्नुहोला
तपाईकी नानी प्रतिको स्नेह
दूई चार चोटी आउदा र जादा
बढेर आयो यो माया मोह।

मान्छेको मान्छे सँगको यो नाता
जति बढायो उति बाँधिने हो
आयो गयो लाग्दछ माया मोह
गएन आएन त को हो? को हो?”

” कुरा त हैनन् ननिका तपाईका
छोरीको जातै तर दिन गार्‍हो
फेरि म एक्लैले भनेर हुन्न
आमा मनाउन त झन छ सार्‍हो।

विचार हामी सबले गरौ्रला
थलो ठेगाना दिइ जानुहोला
मिले म आफै पछि आउनेछु
व्यर्थै त्यसै कष्ट नगर्नु होला।”

वचन लगाए पनि सौमी निम्ति
थिएँ म तैयार ती सुन्नलाई
प्रलोभनाको अझ जाल फेकें
अभाव भोग्ने धनहिनलाई।

“मिल्ने त मन हो मन त्यो मिलेमा
गर्जो र खाँचो पनि टर्न सक्छ
मानिस र ठाउँ पनि आफू हेर्नु
पैसा त के हो? अझ बढन सक्छ।”

“मैले बुझेकोछु कुरा सबैका
चाहन्छ को के यति बुझ्न सक्छु
जानु भए हुन्छ खुरुक्क आफू
मेलो छ धेरै र उता म लाग्छु।

कोही कसैको हितभागी हुन्छ
बिना कुनै स्वार्थ र अर्थ बोकी
सागर पनि ठाउँ कतै दिदैन
खोलो गएमा कहीं पानी रोकी।

मानिस हौं हामी तपाई ता, के?
हाम्रो त जीवन भरि स्वार्थ हुन्छ
मिल्यो भने स्वार्थ र अर्थ हाम्रो
त्यो चाहना पूर्ण अवश्य हुन्छ।

यो मालको मोल गरिदिनु भो
यो मोलको सोच छदै थिएन
बजारमा छु कति मोल लिन्छु
भन्ने किटानी कहिल्यै भएन।

जानोस तपाई पछि भेट होला
विचारी हेर्दा हित त्यो मिलेमा
अर्को र आफ्नो सबको छ मोल
छौ बेचिएका यी यसै थलोमा।”

सोझो र बाङ्गो उसका कुरा सुनी
म आफू हारी अझ रन्थनाएँ
आफू चुकेकोछु कहीं भनेर
मन भारी पारी घर फर्की आएँ।

“बजार ठूलो छ यहाँ खुलेको
र मालको मोल बढिरहेछ
भनेर बा छन किन मख्ख होला
कहाँ छ त्यो हाट? र माल के छ?

धने बुढो अस्ति यहाँ पसेथ्यो
‘छ हात्ती नाघ्यो’ भनी बाबु हाँस्थे।
‘हर्के पनि आफू उभो चढेर
धने सँगै जुध्छ’ भनेर भन्थे।

‘नौ पुग्न दे, भाउ अनि गरौंला
विचार आफ्नो छ हतार के छ?
मोती छ आफ्नो जब मुठ्ठी भित्र
जुहा।रका पारखी के कमी छ।।

डरलाग्दो नौलो किन बोली बाको?
बुझ्दिनँ मैले किन छेउ, भेउ?
क्यै अर्थ होला नि कुनै अवश्यै
बुझ्छौ तिमी ता, ल बुझाइदेउ।

धने र हर्के सँग केही भन्दा
बा चुप्प हुन्छन म पुगेर सुन्दा
बिम्झै म छु , छैन भनेर जाँच्छन्
कुरा यी आमा सँग गर्नु पर्दा।

किन हुन्छु एक्ली? किन लाग्छ शुन्ये?
आमा पनि छन् किन फेरिएकी?
किन कोही छैन सधैंको जस्तो?
अभाग्यले पो हुँ कि घेरिएकी?”

मध्यान्हमा झल्मल निस्किए झैं
सौदामिनीको चमकै भएन
विस्मित चेहरा अन्योल आँखा
सधैंको चाञ्चल्य छदै थिएन।

आमा छुटी जंगलमा परेको
पाठो दुधे झैं ऊ निरिह लाग्थी
आशाको त्यान्द्रो म कतै हुँ ठानी
त्यो त्राशदि बाट ऊ मुक्ति माग्थी।
देखे बुझेका उसका कुरामा
मानेर मेेरो मनले नभन्न
देखेर उसको अनुहार खल्लो
सकिनँ कस्तै म निठुरी बन्न।

“ठूलो बजारी परिवार हो यो
हर्के, धने हुन बिचका दलाल
छेकी, फकाई र कतै डराई
सौदा ती गर्छन् अनमोल माल।

बिकाउ त्यो माल तिमी हौ, सौमी !
नापिने, जोखिने तिमी सधैं झैं
साक्षी छ तिम्रो इतिहास पहिले
र बेचिइथ्यौ यसरी सधैं नै।

इच्छा अनिच्छा कहीं छैन तिम्रो
तिमी अभागी, तिमी भाग्यवानी
को किन्छ? त्यसको भरमा तिमी छौ
विधि पनि मोल हो तिम्रो लागि।

यो रूप ल्यायौ उपमा बिनाको
दुर्भाग्य पो झन यसले बढायो
झन रूपको मण्डी बजार भित्र
बढाबढी भाउ चढाइ ल्यायो।

के बुझ्दछयौ तिमी सानी नानी?
के गर्न सक्थ्यौ र ठूलै भए पनि?
बचाउनै म गरुँला प्रयत्न
कति पो होला र बलै ममा पनि?

मैले भनें के? उसले बुझी के?
अमावशी भै ऊ त चुप्प लागी
विदै नदिएर, विदा नमागी
हेर्दै नहेरी ऊ त भित्र भागी।

भो रात कालो र अतिव निलो
आकाश ढाक्यो घनघोर मेघ
विध्वंशिनी भै प्रकृति उठेर
तोडी सबैका नियमित वेग।

हुरी चल्यो स्थिर सबै बढार्‍यो
भेटयो जहाँ जे सब सम्म पार्‍यो
‘त्राही’ भनी मानिस काप्न थाले
सुनामी झैं छाल उडेर आयो।

पानी, हुरी, मेघ, चटयाङ साथै
लिएर आए पहिरो र बाढी
त्यो रातको रूप र बेग हेर्दा
लाग्थ्यो कहीं केही रहन्न बाँकी।

मानौं कि आयो प्रलयै भनेर
आस्था र निष्ठा सबले पुकारे
देउतै नमाने पनि क्वै कसैले
सहायता खोजी कहीं गुहारे।

को मर्छ आजै अनि के छ भोलि
ठेगाना केही र कहीं थिएन
मारे पनि आश सबै परन्तु
सखाप यो धर्ती भने भएन।

धरा जसै शान्त भइन् विहानी
चरा उठी राग प्रभाती गाए
बिर्से सबै त्राश अघि बितेको
मानिस निर्धक्क सँगै निदाए।

न शोक सुर्ता, न त भोक भारी
न मृत्युको त्राश सबै लतारी
क्षणमै बितेका घटना भुलेर
निदाउने, धन्य ! मनुष्य प्राणी।

सुनेर ठूलो स्वर बिम्झदा म
कोठा भरि घामप्रकाश पाएँ
लाली उषाको कही क्यै थिएन
निकै बितेको दिन चाल पाएँ।

बिना कुनै जोडी बिना जहान
म बाघ जस्तो एक्लो अघोरी
जहाँ मिल्यो जे खुशीले म खाने
भोलिको निम्ति कहीं क्यै नछोडी।

थिएन कोही जसरी जगाउने
त्यस्तै मलाई न थियो सुताउने
म पाउथें आफू खुशी निदाउन
केही काम पर्दा पस्थ्यो उठाउने।

“कहाँ छ साहु?” भनी कोही करायो
कतै सुनेको स्वर भित्र आयो
शंका कुशंका मनमा उठाई
अनेक चासो मन भित्र ल्यायो।

खोलेर ढोका जब निस्किएँ म
आँगन भरि हुल थिए छिमेकी
सौमीको बाबु बसी हुल माझ
बम्किरहेथ्यो घरि छाती ठोकी।

देखी मलाई ऊ अगाडि आयो
दुई हात मेरा व्यर्थै समायो
“खै, छोरी मेरी? ऊ कहाँ पुर्‍यायौ?”
सोध्नु न बुझ्नु त्यहीं वात लायो।

“भलादमी हौला भनि ठान्दथें म
चाला त तिम्र्रो ननिको रहेछ
गरिबको यो घर भाँडि हिडदै
सर्वश्व गर्ने व्यहोरा रहेछ।

छोरी मेरी सानी छली फकाई
आशा र लोभानी दिई हजारौं
के आँटले आज लिएर आयौ?
दिन्छौ सजिलै कि जगत गुहारौं?

कुरा सुनी छक्क परें त्यसै म
के बाट भो भुल भएन ज्ञान
हुने जति नम्र भई बुझाएँ
उसको निराशा, भ्रम शान्त पार्न।

“छोरी तपाईकी यहाँ त छैन
शायद कतै अन्त गई ऊ होली
के काम आउथी पराइकोमा?
के काम राख्थे म पराया चेली?

हाम्रो चिनाजानी ठूलो थिएन
आफन्त ठान्ने त कुरै भएन
थिएन थाहा घर ठाउँ मेरो
यहाँ ऊ पुग्ने सुरतै रहेन।

कहिले हिडी ऊ? कुन ठाउँ बाट?
जान्छु कहाँ भन्थी? र साथ कस्को?
सधैर्य भइ शान्त वयान गर्नोस्
जो जे भएको छ सबै कुराको।

सुनी कुरा सत्य सबै म बाट
थकित भै हारी त्यसै सेलायो
थचक्क भैंमा बसी खुइय गर्दै
कुरा भएको त्यहीं नै सुनायो।

“सँगै सुत्यौं राति हिजो जहानै
बिम्झेर हेर्दा ऊ त्यहाँ थिइन
छिमेकमा खोजी गर्‍यौं अँध्यारै
कुन छिन् हिडी भेउ कतै दिइन।

आमा त भन्छे – ‘ऊ निकै अघि नै
त्यसै त्यसै फुङ्ग उडिरहन्थी
तपाईको घर छ कहाँ? भनेर
खोजीनिति खुब गरेकी हुन्थी’।

हामीले सोच्यौ कि तपाईकोमा
आई अरू ठाउँ कतै थिएन
जाने चिनेको र ऊ जान सक्ने
विश्वासिलो मानिस कोही छैन।”

लिई बाबुलाई घरमा म आएँ
आमा थिई निर्जीव, भावहिन
ठूलै थियो घाउ कतै ऊ भित्र
आँखामा पीडा आँशु विहिन।

“टाडा कतै जाने कुरा सुनेर
ऊ ओइलाई अनि जिल्लिइथी
त्यो खोरकी पंखी चरी घुमे झैं
यहीं घरैमा ऊ घुमिरहन्थी।

उदाश थी ऊ कति साँझ देखि
हिजो त सार्‍है नै निचोरिइथी
‘त्यो साहु मेरो किन बा भएन?’
रुदै मलाई ऊ समाई सोध्थी।

भन्थी – ‘म जन्मे पछि दुख धेरै
घरमा पर्‍यो कि म अभागिनी भै
के फिर्न सक्छ घर सुख फेरि
छोडी म बस्नाले कही कतै गै।

हर्के, धने या अरू कोही भन्दा
निको मलाई किन साहु लाग्छ?
कोप्चो, अध्यारो छ कुना कतै कि
म लुक्छु भन्दा कहीं साहु राख्छ?

म छोरीको मोल लिई बसेकी
अभागिनी के भनि भन्न सक्थें
र पापको बोझ मनि लुकेकी
पवित्र ती वाक्य कता म बुझ्थें।

विन्ती मलाई तिमी क्यै नसोध
संसार रित्तो मरुभूमि जस्तो
आँशु पनि छैन म भित्र चोखो
किनेछु मैले अति पाप सस्तो।

पाए त उसले जसकी थिई ऊ
सन्तोष हुन्थ्यो कि मरे पछि त
जीवन भरि बल्नु त लेखियो नै
ठाउँ कहाँ पाउँ मरे पछि म।

नहेर उसलाई कतै नखोज
धर्तीमा देवी त सधैं हुदिन
स्वर्गिय नासो ऊ उतै गई हो
मानिस सम्झी अब ऊ रुदिन।

आमा चरी पानी, हुरी खपेर
थापी असिना बरु छाती माथि
वच्चा त छोप्छे तर निर्दयी म
ढुंगाकी आमा दिलहिन पापी।

धत् धत् तिमी यो घर बाट जाउ
कोही पनि फर्की यहाँ नआउ
रित्तो छ मन्दीर सदैव निम्ति
देवी पूजाको फूल क्यै नल्याउ।

सुम्पन्थें यो प्राण मिले झझल्को
फिर्ने भए लाख जुनी म दिन्थें
पखालिने पाप भए यो मेरो
त्यति जुनी नै म बसेर रुन्थें।

आमा भएर म भएँ कलङ्क
म त आफूलाई आफै गनाएँ
दुर्गन्ध बोकी कति बाँचुला म
दुर्गन्ध जो जीवनमा कमाएँ।”

उसलाई सोध्ने त कुरै भएन
यसै पनि ऊ सहजै थिइन
भेटिन्न त्यो छोरी भनेर बाबु
फुर्सद लिई खोज्न कतै गएन।

“देख्यौ कसैले कि?” – म सोधी हिडथें
हिडेकी नानी बिच हुरी रातमा
भन्थे सबै – “मुर्ख भयौ कसो’री
छोडेर नानी प्रलयको साथमा?”

चौकीमा सोधें – “कहीं भेट्नु भो कि?”
पुर्पक्ष गर्दं कति दिन बिताए
बाटोमा सोधेृं वटुवा मिलेर
‘बौलाहा हो यो’ भनी दोष लाए।

उसलाई खोजी के पाउथे म?
थियो न नाता, नजिकै थिएनौं
आमा र बाबु जसलाई बिर्से
दुई हामी मात्रै किन छुट्टिएनौं?

थकित भइ पागल झैं घुमेर
गएर पल्टें नदीघाट पाटी
जोगी बसेकाले धुनी जगाई
सोघे दया दुष्टि दिई म माथि।

“बच्चा ! कुनै दुख ठूलो परे झैं
थकित निश्तेज तिमी भएछौ
बाटो भुल्यौ कि रसस्वादनमा?
कसलाई हेछौं? कुन चिज खोज्छौ?”

जे खोजी हिडथे उनी बाट मैले
त्यो भेट्न सक्ने त कुरै थिएन
परन्तु सोधे पछि शुद्ध मनले
नबोली केही त हुदै भएन।

“बाबा ! बसी जङ्ल, घाट माझ
देवी कतै देख्नु भयो कि कहिले?
कि आश आशैमा बितिरहेछ
बेकार झैं जीवन सम्म अहिले?”

भनाइ मेरो सुनी आँशु झारी
सहश्र धारा गरी जोगी रोयो
आश्चर्य भै हेरी बसें उसैमा
बुझें कही भित्र मुहान छोयो।

“प्रंाणीको चोला, छोटो छ आयु
चोला कति पर्छ गुजार्नु पहिले
देवादि दर्शन् सजिलो हुदैन
तिनलाई भेटछन् केवल कसैले।

म जोगी भै वर्ष एघार देखि
पचास नाघें दशकै पहिले
झल्को कतै पाइनँ देवी देव
मारे थिएँ दर्शन आश मैले।
महिना अगाडि दुई चार यस्तै
म ध्यानमा मग्न थिएँ बसेर
प्रचण्ड आँधी हुरी बेग आयो
दशै दिशा ढाकी दशा बनेर।

काम्थे बुटा, झार र रूख पात
सिठ्ठी फुके झैं गरी वायु चल्थ्यो
कतै फुटी अम्बर झर्छ कि झैं
थर्काउदै मेघ धरा दगुर्थ्यो।

घोप्टयाउथ्यो पानी वरुण आफैं
लेदो र माटो जल बोकी बग्थ्यो
दायाँ र वायाँ नदीका किनारा
त्यो भेल पानीले सबै पुरेथ्यो।

ज्योति कहीं भित्र झलक्क आयो
आँखा खुले छोडी समाधी चट्ट
चम्क्यो बिजुली नदी तिर बिच
देखें भवानी नविना स्वरूप।

उमेर होला कम वार्‍ह भन्दा
मुहार श्री चन्दं र सूर्य जस्तो
कपालको रङ् थियो सुनौला
दीप्ति र आभा नव सूर्य जस्तो।

भवानी माता भनी हामफाली
म दौडिएँ दर्शन देवी गर्न
आँधी, अँध्यारो, हुरीले मिलेर
छेके अगाडि म सकिनँ बढन।

टाडै बगरमा परी लम्पसार
दुई हात जोडें सम्झी मुहार
बसिरहें दृष्टि उतै दिएर
आशा लिई दर्शनको हजार।

झलिक्क चम्क्यो बिजुली निमेष
थिइन् भवानी बिच पानी माथि
आशिष दिइन् खालि उठाइ हात
चमक सँगै अल्पिगइन् ती राति।

यही फरक जोग र भोगमा छ
पाउछ जोगी कहीं देवी देव
भोगी सधैं अल्मलिएर बस्छ
भन्दै ऊ माया, ममता र शोक।

आउ तिमी साथ समाधी लाउ
म जोगको मार्ग सिकाइ दिन्छु
दर्शन कुनै दिन त अवश्य होला
त्यो मार्ग छोटो म बनाइ दिन्छु।”

जुन रूपको दर्शन एक निम्ति
जोगी बस्यो एक जुनी समाधी
ती देवीलाई कसरी म पाउँ्क
फाल्दै नफाली परमायु आधी?

पाएँ जति जो त्यति नै बढी भो
पाउन फेरि जुनी कुर्नु पर्छ
भौतारिदै पर्दछ हिडनु प्िहले
संसार सागर पनि तर्नु पर्छ।

जो ज्ञान पाएँ धुनी सामु मैले
भन्दा कुनै जोग कमी भएन
पाएँ जो दिक्षा गुरु जोगी बाट
जोगी गुरु धन्य न भै भएन।

“बाबा ! पुग्यो मार्ग छ जोग गार्‍हो
भोगी छु यसमा म कसै रमिन्न
जो ज्ञान भो दान म धन्य ठान्छु
बाटो त्यो भन्दा परको म लिन्न।”

हिडथे म खोज्दै जगतै अनेक
कुना र काप्चा र परिपरिमा
सिङ्ो र सग्लो कही पाइएन
सौदामिनी रूप धरा भरिमा।

नानीमा भेट्छु हिसी मुस्कुराइ
रङ केशको छर्छ विहानी आई
आँखाको नानी मधु कोइलीमा
मुहार ठान्छु म गुलावलाई।

सुतेकी नानी सँग छन् परेली
बोली छ उसको जलमा तरङ्
चाञ्चल्य उसको मृग साविकामा
आभा छ सूर्योदय अङ् अङ्।

अनेक वस्तु र अनेक जीव
सबै सबैमा ऊ छ बाँडिएकी
फर्केली फेरि कुन रूपमा ऊ
आइ कुनै देव समेटला कि।

अनेक मेरा प्रिय मित्र होलान्
प्रिय वस्तु होलान् मेरा अनेक
परन्तु प्यारो सब वस्तु भन्दा
सौदामिनी दिव्य अतिव रूप।

कोही कसैले उसलाई देखे
भेटे कसैले या कहीं धरामा
भनिदिनु पर्खी बसिरहेछु
म त्यही ठाउँ र त्यसै कुनामा।

समाप्त

बिराटनगर
२०५०। ४। ३०

(स्रोत : Ram Prasad Dahal’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in खण्ड-काव्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.