कविता सङ्ग्रह : यात्राको एउटा दृश्य

~मातृका पोखरेल~

मातृका पोखरेल

विवेक सिर्जनशील प्रकाशन प्रा.लि.

कृति ः यात्राको एउटा दृश्य
विधा ः कवितासङ्ग्रह
लेखक ः मातृका पोखरेल
प्रकाशक ः विवेक सिर्जनाशील प्रकाशन प्रा.लि.
अनामनगर, काठमाडौँ, फोन ४७७१७०४
प्रकाशित प्रति एघार सय
प्रकाशन ः पुस, २०६०
आवरण ः के.के. कर्माचार्य

कम्प्युटर ः प्रारम्भ कम्प्युटर सेवा
डिल्लिबजार, काठमाडौँ, फोन ४४२१६५७
मुद्रण ः कान्तिपुर अफसेट प्रिर्न्र्टस अनामनगर, काठमाडौँ ।
साधारण मूल्य रु. ः ३०/-
संस्थागत मूल्य रु.ः १५०/-

यात्रा, आस्था र केही आभारहरू
मैले एउटा यात्रा रोजेको छु । आफैले रोजेको यात्रामा विस्तारो हिँड्ने यात्री भए पनि त्यो यात्राप्रति म कहिलेकाहीँ गौरवले अगाध प्रफुल्लित र रोमाञ्चित हुन्छु । यी कविताभित्रका धेरै गल्छेँडाहरूमा मैले त्यही यात्राको गीत गाएको छु ।
आफन्तका मनहरू विखण्डित छन् । सबैले आस्था भत्किएको कुरा गरिरहेका छन् । निश्चय नै डेढ दशकभित्रको कालखण्डमा धेरै आस्था पुरुषहरूले आफैले बनाएको उचाइलाई आफैले होच्याए । हिजैदेखि देख्न थालेका उज्याला सपनाहरू झन टाढाटाढा भइरहेका छन् । यी केही यथार्थहरू हुन् र अलि बढी हल्लाहरू पनि हुन् । तर यी कारणहरूले मैले मेरो आस्था भत्काउनुपर्ने कुनै कारण देखिन, मात्र ठेस ठानेको छु । ठाउँ ठाउँमा यी पीडाहरू अभिव्यक्त भए पनि यसले नकारात्मक शिक्षा नदेओस् भन्ने कुराप्रति सचेत हुनु आफ्नो कर्तव्य ठानेको छु । यही बीचमा छातीभित्र आस्थाका नयाँ पर्वतहरू पनि रोपिएका छन्, यसभित्र कतैकतै प्रशंसाहरू पनि गाएको छु ।
कथित कलाका नाममा कविताहरूलाई अस्वाभाविक रङ्ग दलेर अमुर्त र रहस्यमय बनाउन त्यति उचित लागेन ।
म यहाँ धेरै कुराहरू बोल्न चाहन्न । कविताहरूले नै धेरै कुरा बोलिदिए हुन्थ्यो भन्ने इच्छा पाल्नु अर्घेलाई हुनेछैन जस्तो लाग्छ ।
कविताहरू पढेर मन्तव्य लेखिदिने अग्रज साहित्यकारहरू यज्ञनिधि दाहाल र डा. ताराकान्त पाण्डेयज्यूप्रति कृतज्ञतापूर्वक आभार व्यक्त गर्दछु । साहित्यसिर्जनामा लागिरहन निरन्तर प्रेरणा दिने मेरी जीवनसंगिनी अन्जुलाई नसम्झनु साँच्चै अन्याय हुनेछ । प्रकाशनको महत्वपूर्ण जिम्मा उठाइदिने विवेक सिर्जनशील प्रकाशन, यो कार्यमा विविध सहयोग पुर्याइदिनु हुने मित्रहरू भगवति प्रर्साई, पुण्य घिमिरे, सुरेन्द्र चालिसे र सिर्जनाका लागि समय जुटाइदिने बहिनी विमला लाई पनि मैले भुल्नु हुँदैन ।

मातृका पोखरेल

कविताक्रम
१. फरक आँखाका यात्रीहरू
२. दुश्मनहरू सुरक्षित रहेको बेला
३. अँध्यारोका विरूद्धमा
४. यसपटक दशैंमा
५. उसले पनि हाम्रै जस्तो कुरा गर्छ
६. दुख्ने मनहरूसँग
७. म तिम्रा कविताको विरूद्धमा लेख्छु
८. सर्प पूजा
९. अब आफ्नै बाटो रोज्नुपर्छ
१०. जलजला
११. प्रिय मान्छेका गीतहरू
१२. नागरिक
१३. भविष्यका लागि
१४. कलिला जूनहरूको श्रद्धान्जलीमा
१५. उज्यालो हुनुअघि
१६. स्वयम्भूका आँखासँग
१७. बाटाहरू – १
१८. बाटाहरू – २
१९. बाटाहरू – ३
२०. यात्राको एउटा दृश्य
२१. एउटा पुजारीको आत्मव्यथा
२२. सपना

फरक आँखाका यात्रीहरू

उनीहरूले मर्स्याङ्दीको छाल हेरे
वरिपरिको हरियाली हेरे
आपसमा सल्लाह गरे
यिनै चिजको कविता कोरौं
तर मैले भनें,
मर्स्याङ्दीको छालमा
शोभाकान्तको रगत भेटें
वरिपरिको हरियालीमा
आस्थाको बगैंचा भेटें ।

उनीहरूले मर्स्याङ्दीको छातीमा उभिएको
पहराको कुरा गरे
मैले त्यो पहरामा
शोभाकान्तको विश्वास खोजें
उनीहरूले मर्स्याङ्दीको प्रवाहमा दौडेको
निर्मल पानीको कुरा गरे
मैले त्यो पानीमा
शोभाकान्तको निर्मल मन खोजें
हामी फरक आँखाका यात्रीहरू
मर्स्याङ्दीको किनारतिर
उनीहरू त्यस्तै त्यस्तै कुरा देख्छन्
म बेग्लै बेग्ले कुराहरू भेट्छु
उनीहरू पहेंला आँखाले हेरिरहेछन्
म नीला आँखाले देखिरहेछु
हामी मर्स्याङ्दी किनारका यात्रीहरू ।

उनीहरूले मर्स्याङ्दीको भित्ताबाट
ठोकिँदै तल झरेका
सेता झर्नाका कुराहरू गरे
मैले त्यो झर्नामा
शोभाकान्तका ढुकढुकीहरू भेटें
उनीहरूले हरिया खेतहरूको कुरा गरे
मैले खेतका आलीतिर
शोभाकान्तका पाइतालाका डोबहरू खोजें
र प्रत्येक झुप्राहरूमा खोजें
उसको दुब्लो शरीरको अस्तित्व ।
साथीहरू । अन्यथा नठान्दा हुन्छ
म यो मौसममा/यो ठाउँमा
हरियालीका कविता लेख्न सक्दिनँ
सेता झर्नाका कविता लेख्न सक्दिनँ
हामी मर्स्याङ्दी किनारका यात्रीहरू
हामी फरक आँखाका यात्रीहरू ।

विद्युत्तरङ्ग, वर्ष ५, अंक ५, २०५८ भदौ

दुश्मनहरू सुरक्षित रहेको बेला

मलाई थाहा छ–
तिमी जुलुससँग डराउँछौ
नारा र हडतालसँग पनि डराउँछौ
अचेलभरि माओवादीहरूसँग झन् धेरै डराउँछौ
तर जब प्रवीण गुरूङको हत्यारा
तिमी राम्रोसँग चिन्छौ
र डराइ–डराइकन
गोप्य र तथ्य सूचना दिन्छौ
अनि यो देशको सरकार
सूचना दिने मान्छे सोध्छ
र तिमीलाई खोज्छ
जब तिमी हत्यारा चिनेबापत
अपराधी ठहरिन्छौ
भन माइला । नढाँटी भन
त्यतिबेला तिमीलाई
माओवादी र सरकारमध्ये
माओवादीनै आफ्नो जस्तो लाग्छ ?

एउटै घरबाट उही समस्यामा
भाइ साइँलो माओवादी भएर जंगल पस्छ
तिमी मकै र सातु बोकेर शहर पस्छौ
र खान्छौ पुलिसको जागिर
तिमी साहिंलालाई गोली ताक्छौ
साइँलो तिमीलाई निशाना दाग्छ ।
अचेलभरी रोल्पा र रूकुमतिर
तिमीहरू जस्तैलाई पठाइन्छ
माइला । नढाँटी भनेको
तिमी आफ्नै भाइहरूलाई हानिरहेका छौ
तिमी आफ्नै आफ्नैलाई मारिरहेछौ ।

तिम्रा दुवै आमाका
शोक मनाउने आँखाहरू
मैले उस्तै रंगका देखें
तिमीहरूको सम्झनामा
आँशुका ढिक्काहरू
चाउरी परेका गालाका
उस्तै गराहरू हुँदै खस्दा रहेछन्
तिम्रा घरका दलानहरू उस्तै रहेछन्
उस्तै चुहिने छानाहरू छन्
बाबुका गालाहरू
उस्तै ख्याउटे र चाउरी परेछन्
कहाँ पाउनु अट्टालीका माथि बसेर
तिमीहरूको मृत्युमा शोक मनाउन
तिमीहरूको मृत्युको खबर पुगेकै दिन
मकैको बीउसँगै बारीमा आँशु रोप्दा रहेछन्
खेतमा आँशुमै हिलो मुछ्दा रहेछन्
बहिनीहरूले उसैगरी
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलार्इ लुकाउनुपर्छ
साइँला । तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेछन्
साइँला । सुरक्षित बाँचिरहेछन् ।

सहयात्री, वर्ष २, अंक २, पूर्णाङ्क ३, २०५७ असोज

अँध्यारोका विरूद्धमा

अँध्यारोले मलाई लखेट्दै आयो
म भाग्दै गएँ/अझै दौडँदै गएँ
झनै ठूलो विश्वास बोकेर
ऊ मलार्इ झम्टँदै आयो
मेरो भोगाइकै समदूरीमा
बन्दुक, तरबार र बमगोला
सबै सबै चीज बोकेर
ऊ मलाई लखेट्दै आयो ।

जब म दौडँदै थिएँ अँध्यारोमा
नदेखेर गोरेटो
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालें
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तर्क्यो
मैले त्यही दिनदेखि थाहा पाएँ
अँध्यारो बत्तीहरूसँग डराउँदोरहेछ
ऊ उज्यालोसँग भाग्दोरहेछ ।

त्यसपछि म अँध्यारोसँग भाग्न छोडें
मैले वरिपरि बत्तीहरू खोजें
थुप्रै–थुप्रै प्रकारका बत्तीहरू
अँध्यारोका विरूद्धमा
जब म ठिङ्ग उभिएँ
उसले मलाई खेद्न सकेन
बत्ती बोकेर जब मैले
लखेटिएको स्वाभिमान खोज्न
एउटा सानो गोरेटो पहिल्याएँ
ऊ मसँग तर्कँदै गयो
यो खबर मैले सबैलाई सुनाएँ
हो । त्यही दिनदेखि
मेरा आफन्तहरूसँग साथ लागेर
बत्ती बोकेर त्यही गोरेटोबाट
म उज्यालोको खोजीमा हिंडें ।

अंशु, साहित्यिक त्रैमासिक, वर्ष १, अंक १, २०५७ असोज

यसपटक दशैंमा

यसपटक दशैंमा घर जाँदा
मैले ढाक्रेहरूको अनुहारमा देश देखें
उनीहरूको जीवनमै देश भेटें,
सत्य हो, नढाँटी भनेको
उनीहरूको सानो ढाकरमै देश देखें ।

बाटामा ढाक्रे दाइहरूले सोधे
भाइ, देश कस्तो छ ?
मैले उनीहरूकै ढाकरपछि झुण्डेको
केही पकाउँदा कमेरो माटोले टाल्नुपर्ने,
सिलिबरे भाँडो देखाउँदै भनें
दाइ, देश तपाइँकै भाँडोजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ, देश त टिठलाग्दो पो रहेछ ।

उनीहरूले ढिंडो ओडाल्दै गर्दा
मजुवा बिसौनीमा सोधे
भाइ, देशको रूप कस्तो छ ?
मैले टारी खेततिर देखाउँदै भनें
ऊ त्यही सिमाना सर्दै–सर्दै आएको,
पल्ला गाउँको जिम्मवालले मिचेको
सत्ते होला दाइ
देश तपाइँकै गैह्री खेतजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ, देश त दुःखलाग्दो पो रहेछ ।

साहुको घरनेर पुगेर
ढाक्रे दाइहरूले भारीलाई टेको दिँदै सोधे
भाइ, देशले पनि ऋण खान्छ ?
मैले व्यथा सुनाएँ
दाइ, देशले खाएको ऋणले
हाम्रो घर–दलान नै बन्दकी छ रे
हाम्रो घर–दलान मात्र होइन
तारेभिर पनि डुब्छ रे ।
ढाक्रे दाइहरू रिसले तातेर भने
भाइ, देश त पोल्दो पो रहेछ ।

मैले उनीहरूको अनुहारमा हेरें
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो
उनीहरूले मलाई हेरिरहेका थिए
म उनीहरूलाई हेरिरहेको थिएँ
यसपटक दशैंमा घर जाँदा ।

मूल्यबोध, वर्ष २, अंक १, २०६१ कार्त्तिक

उसले पनि हाम्रैजस्तो कुरा गर्छ

हिजो उसले बोकेको रातो किताबले
बस्तीहरू ब्यूँझिएर उठे,
उसले बोकेको रातो झण्डाले
बस्तीहरू जोशिएर उठे,
हो, हिजो उसको योजना
कति सुन्दर थियो
सुन्दर रक्तिमलाई छुन
जब उसले
बाटो तय गरेको नक्सा कोर्थ्यो
साँच्चै सुखद थियो भविष्य
उसको योजनाले
मानिसहरू अघि बढे
बस्तीले मोर्चा कस्यो
चुरे, महाभारत र सगरमाथाले झुकेर सलाम गरे ।

आज ऊ त्यस्तो छैन
फरक–फरक कुराहरू गर्छ
कसलाई के भन्दा हुन्छ
ऊ त्यस्तै–त्यस्तै कुराहरू गर्छ
कहिले मीठा कुराहरू गर्छ
कहिले नमीठा कुरा पनि गर्छ
बस्तीलाई आतंकित बनाउँदै
रातो किताब बोकेरै
कहिले कालो ओडारभित्र पस्छ
र त्यहाँ बुझिने–बुझिने कुरा गर्छ
कहिले मसँग आएर
नबुझिने–नबुझिने कुराहरू गर्छ ।
रातो किताब बोकेर कहिले ऊ
कालो ओडारको पक्षमा बोल्छ
कालो ओडारसँग कुरा नमिले
कहिले क्रान्तिका कुरा पनि गर्छ
कहिले विद्रोहकै भाषा बोल्छ
कहिले हाम्रैजस्तो कुरा गर्छ
कालो ओडारभित्र
लेन–देनमा तलमाथि परे
जंगल पस्ने कुरा गर्छ
कहिलेकाहीं बस्तीलार्इ
असल कुरा गरेको हो कि भन्ने
राम्रै खालको भ्रम पार्छ
जे–जति कुराहरू गर्छ
रातो किताब बोकेरै गर्छ
रातो झण्डा ओढेरै गर्छ ।

अचेल ऊ
रातो किताब बोकेरै
मान्छे किन्ने कुरा गर्छ
हाम्रो साझा सम्पत्ति
अर्कैलार्इ दिने कुरा गर्छ
अचेलभरि ऊ
बस्ती–बस्तीहरूमा
रातो किताबको पानाका प्रत्येक चेपभित्र
लालपूर्जा बोकेर हिँड्छ
रक्तिम क्षितिजलाई छुने
सुन्दर योजनाको नक्सा बेचेर
घरको तला थप्छ
रातो किताबमा कदापि त्यस्तो थिएन
साह्रै अन्यथा भयो
बस्ती भ्रमले सुस्ताएको छ
म क्रोधले थकित छु
म उसको भूमिकाले
नयाँ–नयाँ अनिष्टताहरू सोचिरहेछु
ऊ मेरो हिजोको सहयात्री
मेरो प्यारो मित्र
उसले रातो किताब बोकेकै भए पनि
रातो झण्डा ओढेकै भए पनि
ऊ फरक मान्छे हुँदै गयो
ऊ बेग्लै जातमा फेरिँदै गयो
अचेल मैले उसैका विरूद्धमा
नयाँ–नयाँ मान्छेहरूसँग
नयाँ मोर्चा कस्नुपर्ने भयो
नयाँ योजना कोर्नुपर्ने भयो ।

साहित्यसन्ध्या, वर्ष १, अंक ३, २०५७ माघ

दुख्ने मनहरूसँग

मन ठाउँ–ठाउँमा दुख्छ
घुम्ती–घुम्तीमा दुख्छ
कुनै चाडपर्वको बेला
गरिबको आँगनमा दुख्छ
कहिले अभावको अँगेनामा दुख्छ
बहिनीहरूको घाँघरमा पनि दुख्छ
भाइहरूको कमेजमा पनि दुख्छ
के गर्ने यो मन यस्तै छ
प्रत्येक पाइला–पाइलामा दुख्छ ।

कहिले जागिर खोजेर लखतरान भएको
भोलिको एउटा कर्णधारले
प्रत्येक छाकको गाँस काटेर किनेको
‘गोरखापत्र’ र ‘कान्तिपुर’का पानाको
‘आवश्यकता’का विज्ञापनहरू कटिङ गर्दै
सुरक्षित फायल गरेर
मलिन हाँसो हाँस्दा
सत्य होला, नढाँटी भनेको
यो मन त हुरूक्कै हुने गरी दुख्छ ।

दुख्ने कुराको वयान
वर्तमानमा जति गरे पनि हुन्छ
दुख्न त कति हो कति
धेरै–धेरै दुखेको बेलाको कुरा गरौं
त्यस्तै त्यस्तै एकदिन
आफ्नो छोरीको विवाह गर्न
आँखनमा बसेर दाइजोको हिसाब गर्दै
रून्चे अनुहार लगाउने
छोरीको बाबुको अनुहार देख्दा
यो मन दुख्नसम्म दुख्यो
निन्द्रै नलाग्ने गरी दुख्यो
यो मन साह्रै–साह्रै दुख्यो ।

यसै यसै गरी
परार साल मन
टनकपुर भएर दुख्यो
त्यो वर्ष मन कालीतिरै दुखिरह्यो
अर्को वर्ष मेचीमा दुख्यो
र मन हिल्याएको खेत
रोपाइँ नगरी फर्क्यो
र, त्यो दुखाइ नसुस्ताउँदै
अस्ति मन फेरि लक्ष्मणपुर बनेर दुख्यो ।

अचेलभरि मन,
अन्धकारबाट मुक्ति खोज्ने
खारातिरका कोपिलाहरूलार्इ
निस्तब्ध रातमा हत्या गरेर
सामूहिक चिहान बनाएको खबरले
हुरूक्कै हुने गरी दुख्छ
कहिले मन
देवी खड्काको बाबुसँगै दुख्छ
च्याङ्वा लामाको परिवार भएरै दुख्छ
शिव खड्काकी आमा बनेरै दुख्छ
कहिलेकाहीं यस्तो लाग्छ
नेपाल घाउ नै घाउको देश हो
म घाउ नै घाउ भएको देशको नागरिक हुँ ।

मलाई त दुख्यो दुख्यो
यी सबै सबै देखेर पनि
दुख्दै नदुख्ने मन देखेर
साँच्चै यो मन साह्रै साहै दुख्छ
अचेलभरि नदुख्ने मनहरूसँग
साइनो तोडौंतोडौं जस्तो लाग्छ
मेरो मन त साह्रै साह्रै दुख्छ
तिमीलाई मेरै जसरी दुख्छ कि दुख्दैन ?
दुख्छ भने आऊ
हामी एउटा राम्रो सल्लाह गरौं
एउटा राम्रो काम गरौं ।

झिसमिसे, वर्ष २३, पूर्णाङ्क ३६, वैशाख/जेठ/असार, २०५८

म तिम्रा कविताको विरूद्धमा लेख्छु

एक गाँस पाउने आशामा
एउटा निर्वस्त्र नाङ्गो मान्छेलाई
सभ्य मान्छे भन्दै तिमी जब कविता लेख्छौ
अलिकति दान पाउने लोभमा
जब तिमै पैसावालहरूको अर्चना गाउँछौ
मैले कविताको मूल्य राखन
तिम्रा कविताकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिम्रो नियतकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिमी पसिनाका थोपाहरूमा कुँदिएका कविता
जसरी मन पराउँदैनौ
म पनि सिंगमरमरको भर्र्याङ चढ्दै
कुनै सजाइएको बैठकमा
मेरा प्रिय पसिनाका थोपाहरू
कुल्चने योजनामा सरिक कविता
त्यसैगरी घृणा गर्छु
म तिम्रा कविताको मृत्यु घोषणा गर्छु
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

मैले पढिराखेको छु
पल्टु थारूले दिएको
गुन्द्री र मान्द्रो ओछ्याएर
जब तिम्रा रातहरू बित्थे
कति सुन्दर थिए कविता
मैते कामीले दिएको
भुटेको मकै खाएर
जब तिमी भोक मार्थ्यौ
त्यसपछि लेखेको कविता
नेपालको आफ्नै कविता हुन्थ्यो
तिमी नेपाल फेर्ने कविता लेख्थ्यौ
कति सुन्दर थियो कविता
हिजोआज तिमी त्यही कवि
पजेरो चढेर शहर घुम्छौ
जनताका झुप्रामा रमाउने तिमी
बैंककबाट सिंगमरमर झिकाउँछौ
र दरबार बनाउँछौ ।

अचेल जनता तिम्रा कविता बुझ्दैनन्
तिमी दरबारकै जस्तो कविता लेख्छौ
या जनताले नबुझ्ने कविता लेख्छौ
हरेक वस्तुका दुई कित्ताहरूझैं
अचेल तिमी एउटा कित्ताको पक्षमा लेख्छौ
म अर्कै कित्ताको पक्षमा बोल्छु
तिमी नौनीझैं नरम हातहरूको पक्षमा लेख्छौ
म ठेला उठेका हातहरूको पक्षमा बोल्छु
हामी फरक बाटोका यात्रीहरू
तिमी मेरो कविताका विरूद्धमा लेख्छौ
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

म यतिबेला
पल्टु थारूको छानो चुहिएको बेला
शासकहरू बस्तीभित्र पसेर
देवी खड्कालाई बलात्कार गरिरहेको बेला
दरबारको अट्टालिकामा घुम्ने
कुनै राजकुमारीका यौनका व्यथाहरू
म कसरी लेख्न सक्छु ?
म मैते कामीको अँगेना नबलेको बेला
आफन्तहरूको दलान उजाडिएको बेला
कसरी लेख्न सक्छु काजीसाहेबको खुशी
नेपालीहरूको आँगन टुक्रिएको बेला
मेची, महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा ?
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु
म तिम्रै कविताका विरूद्धमा लेख्छु ।

नव कविता, पूर्णाङ्क ५२, शारदीय अंक, २०५८

सर्प पूजा

उसले चेतनाका टाउकाहरूमा
संगीन तेर्स्याउँदै भन्यो
‘प्रजातन्त्र’ जिन्दावाद
बारूदको धुँवा छरेर
शान्तिक्षेत्रको प्रस्ताव राख्यो
र भन्यो
‘शान्ति’ जिन्दावाद
भोका पेट र नाङ्गा आङहरूलाई
गोमन सर्पले झैं डस्दै भन्यो
‘धैर्य’ जिन्दावाद
र आफू नाग भएको घोषणा गर्र्यो
सदियौंदेखि यी बस्तीहरूमा
आफ्नो पूजा गराइरह्यो
प्रजातन्त्र, शान्ति र धैर्यको नाममै
उसका आँखामा गडेकाहरूलाई
एकाएक गरेर डस्यो रगत रहुञ्जेल
रगत सकिएपछिका अस्थिपञ्जरहरू
केहीलाई सेतीका किनारतिर फाल्यो
या कतै भीमान जंगलतिर
या सुखानीतिर
र कैयौं नदेखेका ठाउँहरूमा
तर आफूलाई
नाग भनेर पूजा गराइरह्यो ।

परिवर्तनको गतिलाई लत्याउँदै
हामीले पनि पूजा गरिरह्यौं
यसपटक ऊ हुनसम्म नाङ्गो भयो
सबैले देख्ने गरी नाङ्गियो
र हतार–हतार
डरै डरमा
सदाझैं फेरी हामीलाई भ्रममा राख्ने
नागको आकृतिको उही टोपी भिर्यो
र झूठा हाँसो हाँस्यो
हामीतिर फर्केर
फेरि प्रजातन्त्रकै कुरा गर्यो
ऊ यतिबेला नाटकमा सामेल थियो
हामी सबैले ऊ सर्प भएको ठहर गर्यौं
र धेरैतिर खासखुस–खासखुस गर्यौं

तर यसपटक पनि
उही खतरा बाँकी नै रह्यो
लाचार हामी सुनिरह्यौं
कहिलेसम्म सुन्छौं ?
तर उही खतरा
अझसम्म सुनिरह्यौं ।

तेस्रो सहस्राब्दी मासिक, वर्ष १, अंक ३, २०५८ जेठ

अब आफ्नै बाटो रोज्नुपर्छ

उसलाई प्रत्येक रात सपनामा
विषालु सर्पले लखेट्छ
र विपनाहरूमा डस्छ
ऊ शहरमा बस्छे
र जंगलको अनुभूति गर्छे
आफन्तहरूको संवेदना छाम्छे
र ढुंगाको आकृति भेट्छे
ऊ हाम्रै शहरमा बस्छे
यतैकतै वरिपरि बस्छे ।

उसले आज बिहानै समाचार सुनी
जंगबहादुरहरू,
माथवर सिंहहरूको हत्यारा खोज्ने
आयोग बनाइरहेछन्
उसले एकाएक कान थुनी
र भनी
यस्ता अनिष्ट समाचारहरू
मैले जीवनमै भोगेकी छु
र बेसरोकारको भुजेलसँग
मुद्दा लडेकी छु
हामी पनि उसकै अतीतझैं
घरभित्र विशाल रेक्टरको
भुइँचालो पालेर
त्यही समाचार सुनिरह्यौं
ऊसँगै त्यही समाचार
हामी पनि सुनिरह्यौं ।

ऊसँगै हाम्रो पनि
एउटा अत्यासलाग्दो भविष्य
यही बस्तीमा लम्पसार सुतेको छ
त्यो त्यही भविष्य हो
अब उसको छोराले
आफ्नै बाबुको हत्याराको
जन्मदिनमा खुशियाली मनाउँछ
म यस घडीमा यही अनर्थ सोचिरहेछु
अब उसको छोराले
आफ्नै बाबुको हत्याराको
मृत्युमा शोक मनाउँछ
कपाल काट्छ
नून बार्छ
यो कुनै दन्तेकथा होइन
म वर्तमान बोलिरहेछु ।

जब हामी हिंड्ने गरेको सडक
पाइला–पाइलामा भासिन्छ
प्रत्येक दिनहरू हाम्रो विपनाको
गैह्रीखेतमा
बाढी बनेर पस्छन्
के बाँकी रह्यो अब
हारिरहेकी तिमी
हारीरहेका हामीहरू
जित्नेलाई पो हार्नको डर
हार्नेहरूले बारम्बार धावा बोले हुन्छ
हामीले पनि बोले हुन्छ
काँढा टेकेर बाँच्न सिकेका हामीहरू
झीरले जिब्रो छेडेर हाँस्न सिकेका
हामीहरू
अब अर्कै बाटो खोज्नुपर्छ
अब आफ्नै बाटो रोज्नुपर्छ ।

जलजला

विश्वास पहाडमा पनि फुल्दोरहेछ
आस्था शिखरमा पनि झुल्दोरहेछ
मानिसहरू तिमीसँग हातेमालो गरेर
मृत्युसँग सुन्दर खेल खेल्दा रहेछन्
जून र घामसँग खेलेझैं
बादल र कुहिरोसँग लुकेझैं
जलजला । तिमी त पहाड हौ
मेरो देशका हजारौं पहाडहरूमध्ये
साँच्चै फरक पहाड
मैले तिम्रा गीतहरू सुनेको छु
धेरै पटक आकाश खुलेको बेला
क्षितिजमा रक्तिम आभा पोखिएको बेला
कतै जलजला यस्तै होला भनेर
पश्चिमतिर फर्केर हेरेको छु

जलजला काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अँगालो हालेर
नाच्ने दिन अझै–अझै टाढा छ

यात्रामा भेटिएका
जूनकीरीसँग रमाएर बस्नु हुन्न
विषालु हातहरू वरिपरिबाट
तिमीलाई छाम्दैछन्
तिम्रो छातीभित्र जीवनको खानी छ
तिम्रो हृदयभित्र विश्वासको सगरमाथा छ
जलजला, मलाई अचेलहुँदो
तिम्रो शिखरको उचाइमा चढेर
एकपटक पूर्वतिर हेर्न मन लागेको छ
तिम्रो सुन्दर गीत रच्न मन लागेको छ
कटक्क मन काटिने गरी
तन्नेरीहरू सात समुद्रपारीबाट
बिकलाङ्ग शरीर लिएर फर्किरहेछन्
र हेरिरहेछन् तिम्रो उँचाइलाई
उनीहरूलाई यतै बाँच्न सिकाउनुपर्छ
गल्लावालको पछि
मैनबत्ती झैं पग्लिएर
भविष्यको मृगतृष्णामा
यौवनसँगै जीवनलाई जलाउँदै
पराया देशतिर जुलुसझैं ताँती लाग्दैछन् चेलीहरू
उनीहरूलाई यहीं बाँच्न सिकाउनुपर्छ
जलजला, तिम्रो शिखरलाई चुमेर
मलाई पनि अचेलभरि
राना कान्छाको अनुहार कोर्न मन लागेको छ
बिल्टु थारूको अनुहार फेर्न मन लागेको छ ।

जलजला, तिमी इतिहासलाई बदल्न खोज्ने पहाड
वर्तमानलाई धावा बोलिरहेछौ
मैले पनि बस्तीलाई यतिबेला खण्डहर देखेको छु
तिम्रा चम्किएका आँखाझैं
मैले पनि बस्तीमा आगो सल्केको देखेको छु
तिमी महाभारत हुँदै मेरो बस्तीतिर फैलनुपर्छ
चुरे हुँदै मेरो बस्तीतिर तन्कनुपर्छ
म पनि वर्तमानका विरूद्धमा सर्जमिन बकिरहेछु
म पनि यही खण्डहर बस्तीबाट
एउटा सपना साँचिरहेछु
म पनि यही जलेको बस्तीबाट
सुन्दर भविष्य खोजिरहेछु ।

• साहित्य सन्ध्या, वर्ष १, अंक १०, पूर्णाङ्क १०, २०५८ भाद्र

प्रिय मान्छेका गीतहरू

मैले धेरै गीतहरू सुनें
मान्छेहरूका गीत
त्यतिमात्र सुनिनँ,
मान्छेहरूले गाए
मान्छेले मान्छेलाई सिनो बनाएर
खानेहरूको गीत
मैले धेरै गीतहरू सुनें ।

सुनेका गीतहरूमा खोजें
मेरा प्रिय निष्ठाका गीतहरू
तर थोरै भेटें
मेरा प्रिय गीतहरू
अलिकति पानाहरूमा भेटें
प्रिय मान्छेका गीतहरू
धेरै धेरै सोचें
किन लेखिए ?
यति धेरै किताबहरूमा
मान्छे खाने मान्छेका गीतहरू
मलार्इ निष्ठाका गीत गाउन मन लाग्यो
र आक्रोशित भएर गाएँ
आस्थाका गीतहरू
मेरा प्रिय मान्छेका गीतहरू ।

जंगलका गीतहरू भन्दा पनि
किन लेखिए किताबहरूमा
त्यति नराम्रा मान्छेका गीतहरू
ती गीतहरूभन्दा
कति राम्रा छन् खेतबारीका गीतहरू
दानापानीका निम्ति
विवेक स्खलित गर्नेहरूका
टाँगिए तस्वीरहरू
भित्ताहरूमा
चोकहरूमा
म कसरी सहन्छु ?
र मैले गाएँ
असल मान्छेका गीतहरू
प्रिय मान्छेका गीतहरू ।

त्यति धेरै किताबहरूमा
यदि उसले
खराब मान्छेका गीत नगाएको भए
म यो गीत किन गाउँथें ?
तर शहरका चोकहरूमा
बैठकका भित्ताहरूमा
बस्तीका सिरानहरूमा
मान्छे खाने मान्छेका
गीतहरू लेखिए
तस्वीरहरू टाँगिए
अब मैले लेख्नैपर्छ
असल मान्छेका गीतहरू
मैले गाउनैपर्छ
प्रिय मान्छेका गीतहरू ।

• जनएकता साप्ताहिक २०५८ माघ २२ गते

नागरिक

ऊ हाम्रै शहरमा बस्छ
यतै वरिपरि बस्छ
तर देश जलाउँछ
र आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो ।

कौसिकी कविता पात्रो – २०५९

भविष्यका लागि

सदियौंदेखि अचानो बनेर
आफन्तहरू पीडा हाँसिरहेछन्,
पुस माघको ठिहीमा
चिसो हिउँले काटिएको मन
भविष्यको पर्खालमा टाँगेका छौ,
सिरक ओढेर छेपाराहरू
सपना बाँडिरहेछन्,
पहिले शान्तिको कुरा गर्छन्
र नभए क्रान्तिका कुरा गर्छन्,
अर्कोतिर आफ्नै आँखा अगाडि
गान्धीको लौरो टेकेर हिटलरहरू
गोप्य बैठक बसिरहेछन्,
हिजो गाउँमा मात्र गनाउने बारूद
शहरमै पस्न थालेको छ,
अब मानिस हराएको खबर आउनु
कुनै अनौठो घटना रहेन
मानिस मारिएको खबर आउनु
कुनै नौलो समाचार रहेन,
मीठो सपना बोकेका
त्रसित अनुहारहरूको
एउटा कोलोनीमा बसेको छु
कोठाभरि प्रश्नको अँध्यारोले छोप्छ
म बाँचेको वर्तमानमा
अँध्यारो छाम्न रात पर्खनै पर्दैन ।

नजिकै जंगलहरू छन्
वसन्तको सुरूआतमै
त्यहाँबाट लासहरूको गन्ध आउँछ,
जंगलबाट गोलीको आवाज आएपछि
हराएका आफन्तहरूको सम्झनामा शोक मनाउँछौं
हामी देखिरहेका छौं
आफन्तका अस्मिताहरू लुटिएका छन्,
चेतनाले हिल्याएको खेतमा
उज्यालो रोपिरहेका कलिला भाइहरू
सदाका लागि निमोठिएका छन्,
यो समयमा
म यस कोलोनीबाट
तिम्रा निम्ति
नारा बाहेक के लेख्न सक्छु ?
के सुनाउन सक्छु ?
सुन्दरताका नाममा
सत्ताको स्वार्थ रोप्ने कविताभित्र
मानिसलार्इ सडक बनाएर
निर्घात अरूले कुल्चँदा
अलिकति पनि दुख्दैन भने
म उसका आँखामा
नारा लेख्न मन पराउँछु ।

रेडियोले बोलेको कुरा
कटारी हुँदै सोलुसम्म
नून खेप्ने भरिया दाइ
फिस्स हाँसेर उडाउँछन्,
अब कसलाई थाहा छैन
अखबार पढ्नु र
एकनास बगरमा टोलाउनु
कुनै अन्तर छैन,
टेलिभिजनले नाटक देखाइरहेछ कि समाचार
बुझ्न समय लाग्दैन,
जंगलबाट बस्तीतिर छिरेका नारासँग
क्रमशः विश्वास टुट्दैछ,
तर पनि सपना कोर्न छाड्नुको कुनै अर्थ छैन,
आन्दोलनको डरले
शववाहनमा सुतेर
सिंहदरबारभित्र पस्ने शासकले
आफ्नो उज्वल भविष्यको पक्षमा
विज्ञापन गरिरहेको बेला,
हाम्रो प्रिय जंगलमा
विदेशी गिद्धहरू आयात गर्ने
प्रस्ताव गरिएको बेला,
हामी प्वाल परेको देशलाई
टाल्ने यो जना बनाइरहेछौं,
जहिलेसम्म रहन्छ रगत शरीरमा
हामी लडिरहन्छौं भविष्यका लागि
कोही जुलुस भएर लड्छौं
कोही नारासँगै लड्छौं
या कविता भएरै लड्छौं
मानौं हामी लड्नै जन्मिएका हौं
हामी भविष्यका लागि लड्छौं ।

नादविन्दु, वर्ष ५, पूर्णाङ्क ५, २०६० असोज

कलिला जूनहरूको श्रद्धाञ्जलीमा

फेरि फूलहरू रोप्नु थियो
भोलि चढाउने श्रद्धाञ्जलीका लागि ।

परार साल बगैंचालाई बढाएँ
र रोपेँ केही अजम्बरी फूलहरू
आमाले माग्नुभएको थियो
केही थुङ्गा फूलहरू मन्दिरमा चढाउन
छानेर राम्रा फूलहरू
असाध्ये दिन मन थियो
तर यसरी सोचेँ
उनीहरू ढल्नु
सगरमाथा ढल्नु हो
मेरो आस्था ढल्नु हो
त्यस वर्ष,
छातीभरि पालेका फूलहरू
कलिला जूनहरूको श्रद्धाञ्जलीमा चढाएँ ।

पोहोर साल
बगैंचालाई फराकिलो पारेँ
र धान रोप्ने खेतमा
राम्रा जातका फूलहरू रोपेँ
छोरीले मागेकी थिर्इ
केही थुङ्गा फक्रेका फूलहरू
चुल्ठोमा लाउन
मैले त्यस वर्ष पनि
एक थुङ्गा फक्रेको फूल
आफ्ना लागि राखिनँ,
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैंचा मरूभूमिझैं रित्तियो ।

यसपटक
उकै छिमल हुर्केका
सबै साथीहरू
उज्यालो खेप्नका लागि
लामो यात्रा रोजेछन्
म सोचिरहेको छु
उनीहरूको आस्था स्खलित हुनु
सभ्यता भत्कनु हो

अब कसरी पुग्छ ?
यति थोरै जग्गामा रोपेका फूलहरूले
कलिला जूनहरूका लागि
आगामी वर्षको श्रद्धाञ्जली चढाउन ?

फेरि फूलहरू रोप्नु थियो
भोली चढाउने श्रद्धाञ्जलीका लागि ।

समष्टि, वर्ष २३, अंक ६, २०६० जेठ―असार

उज्यालो हुनुअघि

राष्ट्रलाई बधस्थल बनाउने
सपथ खाएर
मान्छे जस्तै, मान्छेका सिकारीहरू
हिजैमात्र
शहरबाट गाउँतिर हिँडे
मानौं, गाऊँ उनीहरूको शत्रु हो
उज्यालो गाऊँ
उनीहरू देख्नै सक्दैनन्
आमा, हिजै मात्र
शहरबाट केही हुल मानिसहरू
गाउँ मार्न हिँडेका छन्
उज्यालो हुनुअघि
सधैं सधैं सबैतिर
ऋषिसर यस्तै हुन्छ भन्थे
आमा, कुखुराका भालेहरू पाल्नु
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।

गोमन सर्पजस्तै
विषालु मान्छेहरू
उज्यालो मार्न
शहरबाटै गाऊँ पसेका छन्
यसपटक शहरले
गाऊँकै मान्छे किनेर
गाऊँ मार्न पठायो
आमा, मैले इतिहासमा पढेको छु
उज्यालो हुनुभन्दा अघि
सबैतिर सधैं यस्तै हुन्छ
हाम्रा खोलाहरूमा पानी होइन
रगतहरू बग्छन्
फँडिर र ऐंसेलुका झुप्पाहरूमा
मासुका चोक्टाहरू झुण्डन्छन्
आमा, कुखुराका भालेहरू पाल्नु
उज्यालो हुनुअघि
सबैतिर सधैं–सधैं यस्तै हुन्छ ।

उनीहरू गाऊँमा आएपछि
बालुन खेल्नु अपराध हो
सँगीनी गाउनु अपराध हो
वल्लो डाँडा र पल्लो डाँडा
मन खोलेर दोहोरी गाउनु
साँच्चै साँच्चै अपराध हो
शहरमा बस्ने मान्छेका शिकारीहरूले
सत्ताको डबकामा ह्वीस्की ख्वाएर
यो वर्ष गाऊँकै मान्छेहरूलाई
गाऊँ मार्न पठाए
अब प्रतिकारमा गाऊँहरू उठिरहेछन्
युगौंदेखि सुतेका
मगर कान्छाहरू उठे
च्याङ्वा र दिलमायाहरू उठे
उज्यालोको पक्षमा
दृढताको सगरमाथा छातीमा पालेर
गाऊँलेहरूले सर्जिमिन बकिरहेछन्
आमा, उज्यालोलाई स्वागतको तयारीमा
अँध्यारै उठून् भाइहरू
नयाँ मान्छेलार्इ दिने सौगातका लागि
बगैंचामा फूल खोज्न
चाँडै उठून् बहिनीहरू
र उज्यालोको प्रतीक्षामा
गाऊन् सुन्दर गीतहरू
आमा, कुखुराका भालेहरू पाल्नु,
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।

बुधवार साप्ताहिक, वर्ष ८, अंक ३३, २०५९ भदौ

स्वयम्भूका आँखासँग

प्रिय कवि “इच्छुक”
इतिहास भएका ती दिनहरू
तिम्रो हत्याको केही महिनाअघि
हामी एकसाथ बसेर
तिम्रा एकजोडा भूमिगत हातहरूले
अनिँदा सपनाहरू कोरेको यो ठाउँ
स्वयम्भूको त्यही आँखामुनि
म यतिबेला
स्मृतिमा खोजिरहेछु ।

प्रिय कवि “इच्छुक”
जब तिम्रो हत्याको खबर
कुनै वेगवान हुण्डरीझैं
गाउँ र शहर पुग्यो
उज्यालो आकाश खोज्नेहरूका
एकसाथ परेला भिजे,
अभावले थाकेका गाऊँहरू
एकसाथ मसँगै रोए,
तिम्रो हत्याको खबरमा
अखबारहरू बिके,
तिमीले जसको भविष्य
कालीगण्डकीमा शालीग्राम खोजेझैं
मृत्युपर्यन्त खोजिरह्यौ,
हो, त्यसदिन
तिम्रै हत्याको खबरमा
गरिबी आँसुहरू एक गण्डकी बगे
साना नानीहरूले शोकगीतहरू गाए
प्रिय कवि “इच्छुक”
हो, यो सबै तिम्रो हत्याको खबरमा ।

मैले तिम्रो हत्यापछि
एकदिन स्वयम्भूका
धारिला आँखालाई सोधें
पुरानो झोला च्यापेर
दुब्लो शरीर बोक्दै एउटा घाम
हिजो अस्ति जस्तै,
यता घुम्छ कि घुम्दैन ?
मीठो भविष्य बोकेर एउटा जून
अचेल यता आउँछ कि आउँदैन ?
उसको हत्याका डोबहरू
तिमीले कतै देख्यौ कि देखेनौ ?
यो उचाइमा बसेर
मेरो प्रिय कविको लास
तिमीले कतै चिन्यौ कि चिनेनौ ?
भन स्वयम्भुका आँखाहरू ।
मेरो प्रिय कवि मारिँदाको साक्षी
पक्कै तिमी हुन सक्छौ
तिमीले उसलाई कतै देख्यौ कि देखेनौ ?

कलम, वर्ष १०, अंक १, पूर्णाङ्क ३२, २०५९ मंसिर―माघ

बाटाहरू – १

हामी अनिँदो बसेर रातभर
दिनको कुरा गर्थ्यौं
ऊ बन्द ढोकाभित्र बसेर दिनभर
रातको कुरा गर्थ्यो,
हामी भोलीका निम्ति
जूनको कुरा गर्थ्यौं,
ऊ कुनामा बसेर
अँध्यारोको गीत गाउँथ्यो,
उसले बिस्तारै–बिस्तारै
पसिनाको स्विमिङ् पुल
बनाउने कुरा सोच्यो,
अनाथ मानिसको रातो रगतलाई
होलीमा खेल्ने लोलाको
रातो पानीकै मूल्यमा हेर्र्यो
त्यही बिन्दुबाट कोरिए,
उसका र हाम्रा अलग–अलग नक्साहरू
जीवनका नयाँ बाटाहरू ।

हामीले दुखिया थारूको सपना कोर्र्यौं
र उसको भोको पेट अघाउने
योजना कोर्र्यौं
काजीबाको बिपना कोर्र्यौं
र उनको अजीर्ण पेटबाट
अलिकति घटायौं
र उतातिर जोड्यौं
ऊ हामीसँग झस्कियो,
सडकमा सपना हुर्काइरहेका
बच्चाहरूको भविष्य देखेर
चिन्ता लेख्यौं,
ऊ हामीसँग तर्सियो,
त्यही बिन्दुबाट कोरिन थाले
हाम्रा लागि नयाँ बाटाहरू
नयाँ योजनाहरू
हामीले उसका विरूद्धमा
यसरी कोर्र्यौं
हामीले किरिङमिरिङ
जीवनका नयाँ नक्साहरू
अलग–अलग बाटाहरू ।

कविता पूर्णाङ्क ७९, २०५९ पुष―चैत्र

बाटाहरू – २

पिचासहरू हेडलाइट बालेर
अगाडितिर बाटो देखाइरहेछन्
र आफ्नो बाटो छोडेर छेपाराहरू
सल्लाको मुढामा घाम ताप्दै
स्वीकृतिको टाउको हल्लाइरहेछन्
मलार्इ घिन लाग्छ उनीहरूको बाटो
त्यही बाटोको भ्रममा
हाम्रा सपनाहरू लुटिए
हामी लुटिएको सपनाको
मलामी हिँडिरहेछौं
मैले देखिरहेको छु–
हाम्रो अघिल्तिर
शिकार ढुक्दै गरेको कालो नाग
टाउको घुमाइरहेछ
र कुबाटोमा हिँड्नेहरूको सुरक्षार्थ
हिसाबकिताब मिलाइरहेछ,
कालो नागलाई थाहा छ,
बच्चालाई हालिदिएको टिफिन चोरेर खानेहरू
ठूलो बाटो हिँड्दैनन्
र सिंहासनमा बस्न आउनेहरू
यो बाटो हिँड्दैनन्
र जानेहरू पनि हत्याकाण्ड मच्चाएर
कुबाटोबाटै जान्छन्
महलको टुप्पाबाट गिद्धहरू
प्वाँखको दूरबीन लगाइरहेछन्
र हामी हिँडेको बाटोलाई हेर्दै
जोड–घटाउ मिलाइरहेछन्,
जब कुबाटोमा लेउ लाग्छ
उनीहरू एकसाथ हाम्रो बाटोमा झम्टन्छन्
र क्रुर युद्ध लड्छन्,
हामीले तयार हुनुपर्छ त्यो युद्धको लागि
हामीले जोगाउनुपर्छ
आफू हिँड्ने बाटोलाई
हाम्रो प्रिय बाटोलाई ।

बाटाहरू – ३

सेता लुगा लगाएर स्यालहरू
पशुपालन गर्ने योजनाको
प्रस्ताव पेश गरिरहेछन्
रूखको कापमा बसेर उल्लुहरू
पान चपाउँदै,
देश बनाउने सपना बाँडिरहेका छन्
भीड ताली पिटिरहेको छ
त्यो क्रूर यथार्थलाई
म नेपथ्यबाट हेर्छु
र छाम्छु आफू वरिपरि
नजिकै केही हातपर
गोली लागेर ढलेको
वीर युवकको छातीमाथि टेकेर
उभिएको एउटा नायक
कन्चटमा बन्दुक ताकेर
भोलिको सत्ता मागिरहेछ
मूल बाटोको किनारमा छन्
मैले खोजेका सारथीहरू
म जोड–जोडले चिच्याउँछु
र निमन्त्रणा गर्छु
तर किन ?
किनारमा बसिरहेछन् उनीहरू
मैले खोजेका सारथीहरू
जो यो बाटो हिँड्न योग्य छन्
तर किनारमा उभिइरहेछन् ।

किनारमा उभिएर
उनीहरूले मेरा अगाडि एउटा बाटो देखाए
र भने–
यो बाटो कस्तो छ ?
उनीहरूले बाटोको प्रशंसा गरेनन्
चुनावी नेताहरूले जस्तो
विज्ञापनहीन एउटा सुन्दर बाटो
मेरो अघिल्तिर थियो
जसलाई म खोजिरहेको थिएँ वर्षौंदेखि
हामीले किनार सफा गर्यौं
त्यही बाटोमा हामीले
सृष्टिको नौलो कथा भन्यौं
विधवा आकाश ओढेर
कैयौं रात सुन्दर भविष्य रच्यौं
आस्थाका कुराहरू गर्यौं
अजम्बरी धातुले बनेको बाटो
मैले कल्पना गरेभन्दा बाहिर
मैले भेट्टाएँ एउटा सुन्दर बाटो
त्यही थियो मेरो प्रिय बाटो ।

अक्षलोक, पूर्णाङ्क २३, २०६० वैशाख

यात्राको एउटा दृश्य

हिजै मात्र
हामीलाई बाटो देखाएर
सिंहदरबार पसेपछि
एउटा यात्रामा थाकेर
भर्खरै मात्र उनीहरू
टुकुचाको पानी पिउँदै–पिउँदै
दरबारमार्गको बाटो
उत्तरतिर लागेपछि
उनीहरूकै कारणले
इतिहासमा फेरि एकपटक
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

बितेका केही वर्ष
गद्दारीको बाली
राम्रैसित फल्यो
बाली भित्र्याउनेहरू
दरबारतिर खेताला भित्र्याइरहेछन्
जनताको आँसुमा सर्वत घोल्दै
मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर
उनीहरू भोज लगाइरहेछन्
कमलपित्तको रोगीझैं पहेंलिएर
हिजोका मेरा सहयात्रीहरू
त्यही भोजमा सामेल हुँदै
मुर्दा हाँसो हाँसिरहेछन्
बितेको वर्ष,
गद्दारीको बाली राम्रैसित फल्यो
उनीहरूले भर्खरै मात्र
हाम्रो विवेकलाई धरौटी राखेर
कालो स्वार्थको भर्र्याङ् चढेपछि
हाम्रो विश्वासको छातीमा
तिखो छुरी रोपेपछि
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

मलाई अचेलभरी
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन
आफ्नो टाउको
पैसामा साट्न पसल थापिरहेका
हिजोका नातेदारहरू
भेटिन्छन् बाटामा
मर्न लागेकासँग
अलिकति बोल्न
अलिकति हाँस्न
कति गाह्रो छ,
मलाइ अचेलभरि
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन,
हाम्रो मीठो सपनालाई
बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरू
दरबारमार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

संस्कृति, अंक ५, २०६० असोज

एउटा पुजारीको आत्मव्यथा

म प्रत्येक बिहान
शहीदलाई पूजा गर्न शहीदगेट जान्छु
तर शहीदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
शहीदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म शहीदगेटको एउटा पीडित पुजारी ।

भविष्यका निम्ति मर्नेहरूको सम्मानमा
वनफूल बोकेर
सैलुङ लेकको नागी चढ्न तयार छु
तर घृणा लाग्ने इतिहासलाई
म मालाले सजाउन चाहन्नँ
अब शहीदको पूजा गर्न
शहीदगेट नआए पनि हुन्छ
अब हाम्रै गाउँका नागीहरूमा
शहीदगेट बनाए हुन्छ
फेरि मैले सपना देखिरहेको छु
शहीदहरूको टाउको माथि
फेरि कुनै रात
इदी अमिनहरू
सिंहासन बनाउने योजना कोरिरहेका छन्
म शहीदगेटको एउटा पीडित पुजारी ।

अझै घोडा चढेर
आक्रोशित मुद्रामा
शहिदगेटका सालिकहरूलाई
जंगबहादुरहरू
नेपथ्यबाट घुरिरहेछन्
प्रत्येक रात टुँडिखेलमा
मेरो आस्था कुल्चने योजनाको
बैठक चल्छ
बैठकको एउटा दृश्यमा
नरशमशेरले औंला ठड्याएको
मैले धेरैपटक देखेको छु
अब मैले बनाउनुपर्छ
हतियार बोकेर उभिएको
शहीदको नयाँ शालिक
र, राख्नुपर्छ
धरहराको उचाइमा
या आफ्नै गाउँका नागीहरूमा
म शहीदगेटको एउटा पीडित पुजारी ।

सपना

अपराधीहरू
जेलको पर्खाल बाहिर
बेरोकटोक घुमिरहेछन्
र शहरका चोकहरूमा
दुष्टकथा
हामीलाई स–गर्व सुनाइरहेछन्,
भ्रष्टाचारको आरोपमा
जागिर खुस्किएको भलाद्मी
गरिबी निवारणको कार्यक्रम
मेरै सामु फलाक्छ
धेरै समय भइसक्यो
म उनीहरू सँगसँगै छु ।

अन्धाहरू अघि लागेर
बाटो देखाउने दुःस्वप्न बाँडिरहेछन्,
ड्राइभरहरू,
गन्तव्यमा पुग्ने विश्वास नपालेरै
यात्रुहरू बोलाइरहेछन्
पहेंलो वस्त्रभित्र लुकाइएका छन्
स्वार्थका छुरीहरू
सगरमाथाको यात्रामा
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

आन्दोलनको नाममा
घाम तापेर समय काट्ने
क्रान्तिकारीहरू
पार्टी अफिसको छतमा बसेर
भोलिको भविष्य सुँघिरहेछन्,
मन्दिरको यात्रामा पाइतो सरेर
एक राते मेला धाइरहेछन्
आस्थाको झोला बोकेका केही पाखण्डीहरू
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

मसँग एउटा सपना छ–
यी सबैसँग बाटोमा
भोलिदेखि
सँगसँगै हिँड्न नपरे हुन्थ्यो

यी सबै सबैसँग
त्यही यात्रामा सँगै हिँड्ने
केही निर्दोष अनुहारहरू छन्
भोलिको यात्रामा
म जस्तै, उनीहरू पनि खोजिरहेछन्
झर्झराउँदा आँखा भएका मान्छेहरू
निर्दोष अनुहारको सम्झनामा
हो, म अचेल
धेरै धेरै रात रोएको छु
म उनीहरूसँग पनि सँगसँगै छु
अब मात्र एउटै सपना छ ।

Ο

(स्रोत : Writer’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता सङ्ग्रह and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.