कविता : हेल्लो सिलिकन !

~सुधीर छेत्री~

सिलिकनका टापहरूले थर्किएर
आप्रावासी औंलाहरू कॉंप्छन्
तिहारका बाबरी फूलमाझ।

गोजीमा सिलिकनका कानेखुशीहरू
दिनभरि दही-चिउरा खान्छन्
अनि कसारका डल्लाजस्ता बटनहरू
रातो-पहेंलो बनी
मलाई मित्रताको सिग्नल दिइरहन्छन्।
हेल्लो सिलिकन !

तिमीले सकी-नसकी बोकेको विद्युत- तरङ्गबाट
केही धागाहरू पठाइदिनू
पहाड चढ्दै गरेका डोका-नाम्लाहरू
बिस्तारै सिलिकनमा अनुदित हुँदैगरेका कथा
म त्यही धागोमा बॉंधेर पठाइदिउँला।

देउसी-भैलोका एमपीथ्रीहरू सुनेर
कहिले नअघाउने डॉंडा-भञ्ज्याङ
आजभोलि कुन माइक्रोचिप्समा मुख जोतिरहेछ।
टर्रो सिलिकनको सुपारी चुस्नथालेपछि
खस्रो भएको आस्वादनको जिब्रोले
संस्कारका स्वादिला जङ्गली अमलाहरू
खाएनन् खाएनन् !

हिजाज
सिलिकनले मासु खान्छ
चैते दशैं काटेर भोग लाउँछ।
सिलिकनका ह्याकुला भएका नानी जन्मिरहेछन्।
सिलिकनकै दूध
सिलिकनकै मातृत्व र
सिलिकनकै पाठेघर।
हेल्लो सिलिकन

(स्रोत : अन्तर्जाल )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.