~सुधीर छेत्री~
दन्दनी दावानलमा
जलिरहेछ माटो।
सॉंपले दंश बिछ्याएर नीलो हावामा
खैरे मरूभूमि अनुवाद गर्नचाहन्छ
अनि
बस्तीबाट निस्केका पराक्रमी रॉंकोहरू
उज्यालोको वान्ता गर्दै
धृतराष्ट्रलाई छायॉंको उपहार पस्किरहेछ।
समयको कीलामा
विद्रोहका गोरूहरू फन्फनी घुम्छन्
अनि दाइँबाट उछिट्टिएका
रोमान्टिक धानका खोस्टाहरू
कपोलकल्पित सपनाको ड्याङ्मा
चाकालचुकुल खेलिरहन्छन्।
भ्रान्तिका हुत्तीहारा खेतीवालाहरू
मृगतृष्णाका बिरूवा बोकेर
कलिला ढुङ्गामा
अहिल्यालाई ढकढकाइरहेछन्।
यो आन्दोलनको आगो भीषण छ,
यसले आगो चपाउँछ
अनि फुप्रो ओकल्छ।
डढ़ेर भष्म हुनेछन्
जुकाहरू र इन्द्रजाल बुन्ने वीषका थैलीहरू।
आफ्नै ध्वनिको बुमर्याङ् खा नसकेका
काफरे वा्लपेपरहरू
आफ्नो बनावटको तन्त्रमा
अभिनयको मन्त्र फुक्न जान्दछ।
सन्त्रासको डल्ला पटेका बनाएर
पड़्काउँदै
यो गाउँभरि तेरो शान्ति
चिथ्रा-चिथ्रा भएर फुट्यो,
अब यथास्थितिलाई संस्कारको देउता मानेर
त्यहीं धूप बालेर बस् मूर्ख।
(स्रोत : अन्तर्जाल )