~सुधीर छेत्री~
1.घामको रातो पखेटा
चुडिएर झर्नलाग्यो अब जटायुको झैं,
डोकोभरि हरियो जङ्गल अनि
खुट्टामा लाएको सरगमी पाउजु
पोखिएको रगतमा पोतिनलागे,
ठाउँ ठाउँ पोखरी जमेको छ
अवस्थितिको धमिलो पानी।
2.ध्वॉंसे सूर्यग्रहण जस्तो आगतलाई ठेलेर
अनि सुनझैं पहेंलै भएको
आस्थावान मिर्मिरे अनागतलाई पर्खेर बसेको
मेरो विमारी वर्तमान।
3.खूनका नदीहरू बगेर गएका
यो आँखाको निसीम कार्बन किनारहरूमा
सन्ध्याको मिठो रङ्ग चुँड़ेर
केशमा लाएकी एउटी विषकन्या
मेरो बिहानलाई
बेडटी लिएर आउँछे,
सोक्रेटसलाई विषको प्याला।
4.अन्धकारको अटाप्पे जङ्गलमा हिडिरहेको छ
विपन्नताको बस्ती बसाएर फर्किएको मेरोे सैनिक,
युद्ध सकेर भर्खरै बिसाएको मेरो आक्रान्त वायु
यो निशब्द क्षणको महाकाव्य लेख्न बसेको छ।
5.उसले लेख्छ
विद्रोह बोलेर थाकेको जिब्रो छ मसित
धुवॉं भरिएको आकाश पुछेर निथ्रुक्क भिजेको रुमाल छ मसित।
6.जम्मिँदै गइरहेको सङ्गमर्मरी आँशुको ढेकामा
बाङ्गो- तेर्सो अटाई- नअटाई बसेको देख्नसक्छौ तिमी
गिद्धहरू। गिद्धका नङ्ग्राहरू।
7.चराहरू जो पूजाअघि यहीं थिए,
ओझेल भइसके अब
साथै इन्द्रेनीको नृत्यमा कुदिहिँड्ने
चञ्चलताका भँगेराहरू पनि।
(स्रोत : अन्तर्जाल )