कविता : उ र प्रजातन्त्र

~सुधीर छेत्री~

सर्वविदितै छ,
जनगणनामा छोडिएको
उसको टाउको
बुनियादी खॉंचोको रासिनकार्डमा
सत्तालोलुपताको चेसगोटी भएको हो।

रोजगार-योजनाको पुरानो कार्बनपेपरमा
यथोचित चाप नभएर
तल्लो कागजमा उसको नाम
प्राथमिकताबाट मेटिएछ,
यद्यपि
भत्ताको बैशाखीमा अल्झेको
उसको ग्रामीण यौवनले
आयोगहरूको तिरतिरे धाराबाट
बीमाको रहल जेरेकिन भर्ने आश मारेको छैन।

प्रत्येक सेमिनारको टेबलमा
काजु-बदाम
उसलाई विस्मयाधिवोधक चिह्नझैं लाग्छ।

उसको गहुँगोरो अनुहार र हिमाली आँखा
देख्खी विच्छिन्नतावादी छ,
मागहरू अगणतान्त्रिक
आवाज पनि अशान्तिमय,
तर
सहीद भएर बाकसमा उसको राष्ट्रभक्ति
गाउँको बाटो ओह्रालो झर्दा
रक्ताम्मे भञ्ज्याङ् र चौतारीले
संविधानको छन्द रटिरहेको हुन्छ।

अखण्डताको आली-आलीमा
कॉंध पिल्साउँदै उचालिरहेकै हो
सुरक्षा-कवचका हलो-जुवा।

हरिया पातहरूका कार्यकालभरि
हॉंगाका नौकरशाहहरूले
सम्झौताका बुट्टेदार निबन्धहरू लेख्छन्।

प्राइमटाइमका पातहरू खसेपछि
उसको भुमरी निधारमा
फेरि मर्मस्पर्शी पोस्टर पढ्न थुप्रिन्छन्
उपनिवेशी दलालहरू।

(स्रोत : अन्तर्जाल )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.