~दीक्षा भट्ट~
अगाडि धर्म थियो
लाल्टिन बनी
बाटो देखाउने,
पछाडि उनी थिइन
मुर्छा परी
पाइला रोकाउने,
बीचमा म थिएँ
दोधारमा फसि
ठिङ्ग उभिने,
एक कदम अघि सारूँ
– वियोग
एक कदम पछि सारूँ
– विरोध
न वियोगको पीडा खेप्न
मुटु तयार थियो
न विरोधको छाप लगाउन
मस्तिक तयार थियो
त्यहीँ उभिरहेँ,
दिन ढल्यो
म ढलिनँ
रात पर्यो
म सरिनँ
क्रमशः राखेर
रात गयो चिहानमा
आफूभित्र
आफू निभे बिहानमा !
(स्रोत : शब्दसोपान डट कम)