~सन्ध्या आचार्य~
“असल र आशावादी मनोवृत्ति तयार गर्नका लागि यो उपयुक्त स्थान हुँदैहैन।”
भुइँतिर हेरेर माथिल्लो लहरको दुईवटा दाँतको चेपबाट अर्कै पाराले पिच्च पिच्च थुक्दै टोलाइरह्यो त्यो।
“जाने नै?” – सोध्छु म । वास्तवमा “न जा न प्लिज” भनेको हुँ।
“अग्रज सम्झिएर इज्जत गरेकोहर्के यो ताल छ साला।” -आवाज खस्रो लाग्यो । त्यो बोल्दैगयो “सुन सम्झियो नुन निस्कन्छ।”
म छक्क परिरहेँ । भन्न खोजेको के हो यसले?
“ए अँ, त्यो अस्ति भनेको एउटा कथाचाहिँ दिइराख् है यो महिनाभित्रै निकालिहाल्नु पर्छ पत्रिका । म सम्पादन गर्दैछु अहिले । राजु ‘कोमल’को पनि एउटा रचना हाल्नैपर्छ। मागेर लेर आइज भनेको खै त ल्याको?” -म सोध्छु ।
“मेरो तयार छ, भरै पठाउँछु । गँए म ।”- ल, हुन्छ केही भन्नै नपाउँदै त्यो हिँडिसकेथ्यो।
नभन्दै बेलुकी वाट्सएपमा कथा आयो । त्यही म अहिले पढ्दैछु ।
*
रातो युँ जहिल्यै टल्कन्छ उसको देब्रे हातको साँहिली औंलामा । प्रायः दाहिनेपट्टिको कान चिलाउँदासम्म देब्रे हात मास्तिरबाट ल्याएर साहिंली औंलाले नै कन्याउने गर्छ ऊ।
रातो युँ भएको ठूलो सुनको औंठी उसको पहिचान नै भएको छ। त्यो औँठी विकलाङ्ग’ उपन्यासको निम्ति पुरस्कृत भएको रकमले बनाएको धाक लाउँथ्यो।
कार्यक्रमहुँदी पनि तल्लो लस्करमा खदा-मालाबिना कहिल्यै बसेन ऊ। निम्तो दिन जाने सबैलाई पहिल्यै सोध्थ्यो – “प्रमुख अतिथिमा कि सभापति? कमसेकम समय निकालेर गएपछि नवोदित हस्ताक्षरहरूले केही सिकुन् मबाट पनि।” -थप्न कहिल्यै बिर्सिएन।
“अँ यसरी नै सिक्दै जानू।”– नयाँहरूलाई भन्थ्यो ऊ भने कसै कसैलाई – “धेरै सिक्नु छ तिमीहरूले पनि।”- भन्दै गरेको सुनिन्थ्यो।
प्रायः जसो – “टाइम छैन हातमा दुई-तीनवटा प्रोजेक्ट छ भनिरहेको सुनिन्थ्यो ।
“कसैले लेखोस त यसरी ।” -कसै कसैले भन्थे।
“आम्मामा एउटै किताब लेखेर ठहरै पारयो अन्त – टिप्पणी यस्तो पनि नआएको कहाँ हो त!
“क्या परिमार्जित शैली! वाह! फरकपन त यसलाई भनिन्छ। लेख्नेहरू पनि यसरी सर्काउँथे।
“तर घमण्ड भने कहाँबाट आउने आउने के! के सारो भयङ्कर है आम्बो ! – भनिरहेको पनि नसुनिने त कहाँ हो र !
“कतिबेला लेख्नुहुन्छ हो?” – म सोध्छु एकदिन ।
“ज्यादा काम, टाइम मिलाउनु मुस्किल पर्छ नि हौ, अहिले उपन्यासको तयारीमा छु।” – भनेका हुन् उनैले।
र म पर्खाइमा छु अहिले उनको अर्को उपन्यासको । साहित्य मनपर्ने तर लेख्न नजान्ने पाठक जो परें
*
हिँड्ने बेलामा आमाले पुकारेको घरबाट चिम्फिङ लिएर आउनु भनेकी थिइन् कस्तो बिर्सिएछु। धन्न धेरै टाढा नपुग्दै म सम्झिएर फर्किएको छु अहिले।
पुकारे मतलब पुकार । एक समयको मेरो साथी, उमेरले मभन्दा अलि दाजु । जो घोत्लिइरहन्छ, कमै बोल्छ र जहिल्यै लेखिरहन्छ तर के लेख्छ? कसैलाई थाहा छैन, पुकारले लेखेको न त कहिल्यै कतै छपिएकै छ न त कसैले कतै पढेकै छन्।
”गाँजाको मात यस्तै हुन्छ” – गाँउलेहरू भन्छन् । गाँजा खाएर लेखिएको रचना छाप्न लायक के हुन्थ्यो र छापियोस! एउटा माल अर्को मनलाई उत्तर जस्तैगरि भनेको थाह गर्दैछु म।
कहिलेकाहीं दिमागले प्रश्न गर्छ म सुन्दिनँ, मनले सुन्छ र उत्तर दिन्छ जो म महसुस गर्न सक्छु। हो, अहिले पनि त्यस्तै भएको छ मलाई यतिबेला।
“हिजाज ट्याब्लेट पो खान्छ अरे र त गन्हाउँदैन” – यस्तो पनि सुनियो गाउँमा।
“गाँजासम्म त पक्कै हो । बारीभरि पाइन्छ, ट्याब्लेट त..” -म पत्याउनै सक्दिनँ।
“त्यो मातेकै हुन्छ नानी, जहिले पनि झ्याप्पै त हुन्छ, फेरि के सारो एक्कोरो भाको खाएपछि। अन्त अचम्मैचैं एउटा पनि गन्हाउँदैन हौ।” -फुपू अर्थात पुकारकी आमा भन्दैछिन् ।
“काँबाट पाउँछ त यसले फुपू?” – फुपू र म एकछिन् सँगै बसेर छक्कै परेपछि म फर्किएको हुँ घर।
“ओइ ल्याइस चिम्फिङ?” –आमा अचार बनाउनलाई पर्खिरहेकी थिइन् र म रित्तै घर आएको थिएँ ।
पुकारेले के खान्छ हँ? गाँजा काट्दैन अचेल त्यो।
यदि गोटी नै खान्छ भने पनि कहाँबाट आउँछ त्यसकहाँ पैसा? अपाङ्ग भत्ता मैले भरिदिएको धेरै भएको पनि छैन, आमाले दिने कुरै आएन । कहाँबाट आउँछ त्योसम्म ट्याब्लेट? ल्याउने को होला?
उत्सुकताको बाँध भत्किएपछि म पुगेको हुँ त्यहाँ मतलब पुकारको कोठामा।
झुँइ झुँइ परेको, झ्याप छ पुकार आँखाको मुन्द्री बाटेर अझै पनि केही लेख्दैछ त्यो।
“ओइ के लेखेको?” – म सोध्छु ।
“छ्या उपन्यासौ” -त्यो भन्छ।
“लेखेर के गर्छस्?” – सोधिरहन्छु।
“साट्नु परेन? ”- मलाई सोधेजस्तै गर्छ त्यो।
“केसँग?” – छक्क परेको छु म अहिले।
“नभन्नू भनेको छ हौ छ्या !” – विस्मात मान्छ त्यो।
“हावाको कुरा नगर तौँ । तेरो उपन्याससँग पनि कसैले साट्छ गोट्टी ?”- भन्दिन्छु।
त्यो चिढिएको छ । भन्छ – “सोद्नु नि गोएर खुब।
“कसलाई सोध्नु?” – म सोध्छु।
“कोस्लाम् हैनौ।” – झर्किन्छ त्यो। मानौं त्यसको मनोस्थिती सन्तुलित छैन।
“तँले उपन्यास लेखेको छस् ओइ?”- आवाजमा सहानुभूति र माया दुवै आइसकेको छ यतिबेला मेरो।
“पत्याउँदैनस। हिहिहिहि !” – अप्ठ्यारो हाँस्छ पुकार अहिले।
“अब निकाल्नुपर्छ ल उपन्यास !” – म भन्छु।
“पैसा पाउँछ?” – सोध्छ त्यो।
“किन पाउँदैनौ अन्त !” – सुनेर त्यो जोसिएकोजस्तो अनुभव गर्छ ।
*
गोटी पुस्याउने निर्धारित समय थियो त्यो सायद। थाप्दैगर्दा त्यसले भन्यो- “उपन्यास म आँफै छापछु, पैसा पाउँछ हरे ।”
त्यसको ठिक एक दिनपछि पुकारको कोठामा आगो लाग्यो।
“बौलाहा आफ्नै कोठामा आगो लाउने ” -जम्मै जम्मै आक्रोशित थिए पुकारपति।
पुकार दाहिले खुट्टा खोल्टयाङ खोल्टयाङ पार्दै जलेको कागज बटुल्दै सुम्सुम्याउदै गरेको कमैले देखे, त्यस दिनदेखि त्यसले लेखेको पनि कहिल्यै देखिएन । गुम्लुङ कालो ब्ल्याङ्केटले मुख छोपेर सुतिरहयो त्यो ननिदाइकनै ।
आगो लागेकै दिनदेखी गोटी आएन, आउँदै आएन त्यसकहाँ।
पुकारले पर्खिरह्यो, पर्खिरह्यो ब्ल्याङ्केटभित्रै।
*
म अहिले राजु कोमल ‘कहाँ छु, सम्पादकले आर्टिकल माग्नु भनेकोले।
झोक्राएर बसेका तिनले भने। – “अब नयाँहरूलाई मौका दिनू भाइ। म अबेरसम्म बसेर लेख्नै सक्दिनँ अचेल। स्पन्डिलाइटिस भन्दैछ डाक्टरले”
*
“ओइ अमिर! राजु दालाई बोलाइदे न एकपल्ट।” -त्यसले कुन्नि कस्तो एकप्रकारले भन्यो धेरै दिनपछि।
त्यसमा मात, धडधडी केही थिएन आज।
सद्दे थियो। यसलाई लेख्ने शौख थियो र लेख्ने मान्छे खोज्दैछ।
मनमनै सम्झिएर – “आफै जा न एकछिन !” -भन्दिन्छु म।
“काँ सक्छु र मो ?” -देब्रे पाँसुलाबाट तपतप हुँदै गरेको पीप देखायो त्यसले यतिबेला, त्यसको घाउ पूरै पाकिसकेको थियो।
जाती भइसकेको घाउ कसरी बल्झियो? म सम्झन्छु।
“दबै ल्याइदिउँ ओइ ?” -म भन्छु ।
“गोट्टी ल्याइदे न बरु।” -थाम्नै सकेन त्यसले आफैलाई सायद।
“किन खान्छस हौ?” – सोधी नसक्दै ग्वाम्मै अँगालेर धुरुधुरू रोयो त्यो र भन्यो – “यै खुट्टाले मलाई यस्तो बनायो ।”
पापाले मातेर झटारो हानेको घाउ बढेर बोन टिबी भएको त्यसले भन्दैगर्दा मलाई कतै पढेको उपन्यासको डायलगजस्तै लागिरहेथ्यो।
“एकपल्ट बोलाइदे न ल ।” -रूँदै गर्दा नै फेरि भन्यो।
“बिमारी छ र पनि भन्दिन्छु ।”- भनिराखेर म राजु दादाकहाँ भएर घर आइपुगेको छु अहिले।
*
बोलाइएको मान्छे रित्तो हात आएको र जहिल्यै रित्तै आउने कुरा त्यसले राम्ररी बुझेछ सायद ।
भोलिपल्टतिर – “भेद खोल्छु, भेद खोल्छु भन्दै पुकारले घर थर्कायो ।” -फुपू अर्थात पुकारकी आमा भन्दै थिइन्
“खै केको भेद खोल्छु भनेको भनेको साला बहुलाले !”
त्यसको लगत्तै अर्को दिन पुकारको आत्महत्याको हल्लाले गाउँ रिमोल्यो, म नगइकन कहाँ सक्थें र!
“हामी मात्रै भए त याद पनि नहुने नि नानी! धन्न राजु नानी आएर पस्नुभयो र पो थाहा पायौँ त।”
“बौलाहा छ थाहा थियो तर यसरी पोइजन नै खाला भनेर त नसोचेको।” -भुइँमा पल्टिएको बोतलको बिर्को हेर्दै फुपु टोलाइरहिन्।
दिन बित्यो, हप्ता बित्यो, पुकारे पनि बित्यो समयसँगै। सबैले बिर्सिए त्यसलाई।
पुकारे जहिल्यै लेखिरन्थ्यो । के लेख्थ्यो ? थाहा छैन तर त्यो आफैमा एउटा कथा थियो यति भन्न सकिन्छ।
“राजु दा” हिजाज कुनै साहित्यक कार्यक्रमहुँदो जाँदैनन् । “यस्तो लेख्नु, उस्तो लेख्नु ।” कहिल्यै कसैलाई सिकाउँदैनन्।
“डाक्टरले नलेख्नू भनेका छन् निहुरेर ।” -स्पष्टिकरण मात्र हुन्छ यति तिनको।
*
“यो यु त राजु नानीको जस्तै छ त अमिर नानी !”
-फुपुले पुकार सुले कोठा बढ़ार्दै गर्दा पोइजनको खाली
बोतल छेउमा भेटेको देखाइन् आज ।
म भुइँमा लडिरहेको रातो युँ हेरिरहन्छु।
ठिक यतिबेला उता कतै राजु दा उर्फ राजु ‘कोमल’ युँ बिनाको औँठी लाएर बसिरहेका थिए ।
- खर्साङ, दार्जीलिङ
(स्रोत : शब्दसोपान डट कम)