~सुधीर छेत्री~
1.लिप्स्टिकका एफ्रोदिते सुगन्धहरू
मांसल शब्दहरू खोजेर
अभिव्यक्त हुनलाई
उन्मादका चिल्ला तिघ्रा बजाएर
सिग्मण्ड फ्रायडका गाउँ खोज्दैछन्।
छातीबाट उम्केर
सहरका आँखामा चुप्लुङ्ग डुब्नपुग्छन्
पुष्ट डल्फिनहरू।
2.मेरो सङ्गीतको सुफी श्वास
मुरलीका प्वालहरूबाट निस्केर
ध्वनि-प्रदुषणका बादलमा
बाल्न गएको छ
ससाना सूर्यका बल्बहरू।
3.कालो सुट लाउने एकहुल भलाद्मीहरू
चर्चा गरिरहेछन्
के सम्बन्ध छ,
काइँली औँलामा लाएको सुनको औँठी
र
अमार्त्त्य सेनको अर्थशास्त्रमाझ।
4.हेर्दा-हेर्दै कमिलाको एकहुलले
असहाय गनेउलाको अपहरण गरेर लगे।
यो ताजा काण्डको सीधाप्रसारण देख्ने
एकमात्र म,
ज्ञात भयो
अपहरण हुनबाट यसपल्ट बॉंचेको रहेछु।
5.शनिवारको दिन
व्यापारका विशेषज्ञहरूले
सुनको भाउमा गुन्द्रुक बेचलाई
बजारको कमुलो अङ्ग चिमोटेर
आर्त्तनादको दोकान थापेको छ।
6.उपभोक्ताका अक्षौहिनी सेना
हातमा धिब्रीहरू बोकेर
विक्रेताको मनमा उज्यालो छर्न हिडेहोलान्
त्यसै र
डम्बरचौकहरू खोकिरहेछन्
बल्झेको हुकिङ्कफ
छातीमा बम झैं पड्काउँदै।
तर कविहरू
सब्जीवाल्नी बड़ीको काखमा
क्रय-विक्रयको रातो खाता देखेर
सूर्योदय र सूर्यास्तका सम्झना गरिरहेछन्।
7.शब्दहरू
हौसलाको बॉंदरे टोपी लाएर
सङ्घर्षको जाडोमा
ठिही-युद्ध लडी नै रहेका छन्,
सहरभित्र के को हल्ला।
2012-08-31
(स्रोत : Dalsingtara)