कविता : शक्तिप्रदर्शन

~सुधीर छेत्री~

लेम्पपोस्टको नाकभरि मुस्लो धुँवा फ्यॉंक्दै,
तीतेपातीको शरीरमा
चोटको ट्याट्टु नै ट्याट्टु खोपेर,
नयॉं लुगामा उभेकी दुबोलाई
मिचेर , थिचेर
शक्तिप्रदर्शनको आत्मपरकता बोकी
घरमुनिबाट जॉंदैछन्
झण्डाहरू।
हातमा भिटामिन बोकेर उभेकी रायोसाग, पधिना।
तारमा रेलझैं कुद्ने लोथर्के।
कवच लगाएर उभिएका क्याक्टसहरू।
हातमा कोल्टे तराजु लिएकी प्रकृति।
सबै छुपुक्क। सबै अवाक् एकक्षण।
कोठाभित्र,
घरि बुशका सैनिकहरू
घरप्-घरप् फ्लेगमार्च गर्छन्,
घरि नन्दीग्राम डॉंको छोडेर रून्छ,
अर्द्धनग्न आदिवासी-स्त्री कहालिँदै आउँछे।
किताबभरि भयको सस्यूरले
केवल रगतपच्छे शब्दहरू मात्र कोट्याइबस्छ।
सारङ्गी रेटिरहेका अम्लिसोका पातहरूलाई उपहास गर्दै
रूख-टमाटरको कुण्डल लाएको
अमिलो झ्याङ्लाई झापड हानिराखेर
एउटा जुलूसमा
घरमुनि
बज्दैछ सोडापानीको फिँजजस्तो
मुर्दावाद र मागहरू।
कोठाभित्र,
घरि लौराहरू बजारिन्छन् भित्ताको ह्याकुलामाथि,
भालाहरू खोपिन्छन् कालिन र दराजको मुटुमै,
टियरग्यासले बल्बहरूका आँखा पोल्छ।
सडक जल्छ कोठा उज्यालो पारेर
कॉंचो रगतको गन्ध ठस्स नाकमा पस्छ।
चियाबारीले लमतन्न परेर
बुढ़ो करङमा
लुतो कनाइबसेको छ।
कुलैनबारीमाझ
पहेँला राता बनमाराका फूलहरू,
फटेङ्ग्रा, कालिज, गौंथली अनि धोबिनी चरी आदि
मेरो प्रतीकात्मक कविताप्रति
असमर्थनमा टाउको हल्लाएर
मेरो पलायनको पोल खोलिरहेछ।

2012-08-31

(स्रोत : Dalsingtara)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.