हास्य एकाङ्की : परोपकार

~प्रभात थापा~

(पात्रः चाउरे (हास्य कलाकारको भूमिकामा), धनवीरे (चाउरेको बाउ), मास्टर बा, बलवीरे, गम्भीरे। दृश्य- मास्टर बा’को घर। सामग्री- काँटी फुस्किएर हल्लने टेबल, एक पट्टीको आर्म भाँच्चिएको कुर्सी, बेञ्च, कुचो, भित्तामा एउटा अल्फाबेट क्यालेण्डर, फाटी सकेको पुरानो वर्णमाला किताब र भाँच्चिएको ठुटे पेन्सिल, पुरानो चश्मा, पेट्रोलम्याक्स)

चाउरे र धनवीरेको प्रवेश-

धनवीरे – (एकपल्ट जोरले खोकेपछि) नमस्कार है मास्टर बा। घरमै हुनुहुन्छ कि….?

मास्टर बा -(चश्मा उठाएर राम्रोसित ठम्याउँदै) नमस्कार, ए धनवीरे दाई होइन? कति कामले पाल्नु भा’होला? (चौकीतिर देखाउँदै) बस्नोस् ।

धनवीरे- (दुई हात जोडदै) मास्टर बा। यो चाउरेलाई यसो दुई चार अक्षर चिनाउन सके, म बुढोलाई मर्ने बेलामा घिट्घिटो नलागोस् भनेर नी। (चाउरेतिर फर्केर) एइ चाउरे! मास्टर बा’लाई गोडामा ढोग् ।

चाउरे ( मास्टर बा’को खुट्टा ढोग्दै) उफ्! खुट्टा गन्हायो।

मास्टर बा- (अप्ठ्यारो मान्दै) ल ल भाग्यमानी भएस्।

धनवीरे- हेर चाउरे। मास्टर बाले जे भन्छ मान्लास्, जे भन्छ त्यसै गर्लास् बुझिस्। (मास्टर बा’तिर फर्केर हात जोड्दै) ल त मास्टर बा! म जानु पर्यो। (भन्दै प्रस्थान गर्छ)

*** *** ***

मास्टर बा – ल त भन् चाउरे। तैंले पहिले स्कूल पढ्या छ छैन?

चाउरे – क्या न नपढ्नु मास्टर बा। म त सबै कुरा अँग्रेजीमा भन्छु।

मास्टर बा (छक्क पर्दै) ल त भन् के के जान्दछस्?

चाउरे- (अन्कनिन्दै) सीएटी क्याट्-क्याट मने काट्नु, डीओजी डग-डग माने ढोग्नु, एमएएन मेन-मेन माने मार्नु. आरएटी रैट- रैट माने रेटनु, एफएएन फेन फेन माने मरेपछि फ्याँक्नु ।

मास्टर बा- ल.. ल.. ल.. भयो भयो। तैंले यस्तो अँग्रेजी कुन स्कूलमा पढिस् हँ? काट्नु. मार्नु र रेट्नु बाहेक केही पनि जान्दैनस्? कसरी पास भइस् हँ?

चाउरे- पास मात्र कहाँ हो र मास्टर बा’ पछाडिबाट गन्दा सँधै म फस्ट हुन्थें।

मास्टर बा- लु भै’गो। तँ उल्टा जन्मेको थिस् होला त्यसैले पछाडिबाट फस्ट भइस्। किताप ल्या’को छस्?

चाउरे- (गोजीबाट पट्याएको नेपाली वर्णमालाको किताप निकाल्दै) ल्या’को छु मास्टर बा। इ यै हो।

मास्टर बा- लौ हेर, मुर्खले किताब पनि कसरी दो’boutर ल्याएको। झोला छैन? खाता पेन्सिल छैन?

चाउरे-(अर्को गोजीबाट पट्याएकै खाता र ठुटे पेन्सिल निकाल्दै) छ मास्टर बा। इ.. यै त हो।

मास्टर बा- (बेञ्चमा बस्ने संकेत गर्दै) लु तँ यहाँ बस् अनि म जे भन्छु त्यसै भन्नु ल।

चाउरे- (टाउको कन्याउँदै) हुन्छ मास्टर बा। बाउले पनि मास्टरले जे भन्छ त्यही भन्नु र जसो गर्छ त्यसै गर्नु भनेको छ।

मास्टर बा- (नेपाली वर्णमालाको साउँ अक्षर देखाउँदै) लु क भन् चाउरे।

चाउरे- (मास्टरले भने जस्तै) लु क भन् चाउरे।

मास्टर बा- क मात्रै भन् मोरा।

चाउरे- क मात्रै भन् मोरा।

मास्टर बा- (अलि झर्किएर) तैंले चै क मात्र भन् बजिया।

चाउरे- तैंले चैं क मात्र भन् बजिया।

मास्टर- (रिसाउँदै) तेरो बाउ भन्।

चाउरे- तेरो बाउ भन्।

मास्टर बा- एइ तँ मसँग ठट्टा गर्छस् उल्लु।

चाउरे- एइ तँ मसँग ठट्टा गर्छस् उल्लु।

मास्टर बा- ए कस्तो उल्लुसित फेला परेछु आज। क भन्।

चाउरे- ए कस्तो उल्लुसित फेला परेछु आज। क भन्।

मास्टर बा (केही सिप नलागेपछि किताब बन्द गर्दै) मेरो टाउको दुखेको छ आज। तँलाई भोलीदेखि पढाउँछु।

चाउरे- (शिर हल्लाउँदै) हुन्छ मास्टर बा।

*** *** ***

(मास्टर बा प्रस्थान भएपछि चाउरे कुचो लिएर घर बढाल्न लाग्छ। यतिकैमा गाउँकै एकजना बलवीरे प्रवेश हुन्छ।

बलवीरे- चाउरे भाई, मान्छेले परोपकार गर्नुपर्छ। हाम्रो गाउँको एकजना बज्यै हिज राती बित्नु भो। रातभरी बती नभएर कस्तो मुश्किल भा’हैन। अन्त मास्टर बा’को त्यो पेट्रोल्म्याक्स् मांग्न भनेर आ’को क्या। हेर चाउरे भाई, परेको बेलामा अरूलाई चाहिएको चिज दियो भने ठूलो धर्म हुन्छ क्या। मर्ने मान्छेले धर्म गरेको देख्छ अरे… परोपकार भनेको त्यही हो।

चाउरे- विचरा बज्यै! अनि रातभरी बज्यैले आँखा देख्नु भयो के त?

बलवीरे- अनि मरिसकेको मान्छेले पनि आँखा देख्छ त?

चाउरे- (रिसाउँदै) अनि मर्ने मान्छेले धर्म गरेको चैं कसरी देख्छ त ? कसलाई पेट्रोलम्याक्स चाहिएको त?

बलवीरेः (झोंकिँदै) हन कस्तो वाइयात मान्छे र’छ। राती रुंग्ने मान्छेलाई चाहिएको नी।

चाउरे- ए ल ल। लौ लैजाउ न त। अझै केही चाहियो भने आउ है।

बलवीरे- (हातमा पेट्रोलम्याक्स् झुण्ड्याएर) ल त चाउरे भाई। म गएँ त ल।
(बलवीरे गएको केहीक्षणपछि मास्टर बा आइपुग्छ।)

मास्टर बा- चाउरे! झमक्कै रात परिसक्यो। हैन, यसले अझैसम्म घरमा पेट्रोलम्याक्स पनि बालेको छैन?

चाउरे- (खुशी हुँदै) मास्टर बा, हिज राती पल्लो गाउँको पोक्ची बजै पनि मरिन् अरे अनि रातभरी आँखै नदेखेर पेट्रोलम्याक्स लिन आएको थियो बलवीरे। दिई हालें। भन्दै थियो मरेको परेको बेला चाहिएको कुरा दियो भने ठूलो धर्म हुन्छ रे, परोपकार हुन्छ रे।

मास्टर बा-(झोंक्किएर) गधा! उल्लु! कुरा बनाएर भन्नु जान्दैनस्। हाम्रो पेट्रोलम्याक्सको भुँडी (ट्याङ्की) कुच्चिएको छ, पिंधबाट तेल चुहुने भएको छ, बल्दै बल्दैन भन्नु पर्दैन लाटोकोसेरो, उल्लु।

चाउरे-(डराउँदै) हुन्छ मास्टर बा, अबदेखि त्यसै भन्छु।

*** *** ***

(भोलिपल्ट चाउरे घर बढाल्दै थियो।)
गम्भीरे- अहो चाउरे भाई। लच्छिन आउने बेलामा घर बढाल्नु हुँदैन हौ। मास्टर बा छैन? पोहोर लगेको ऋण बल्ल बल्ल जोगाड गरेर तिर्न आ’को ………।

चाउरे- (कुरा टुंगिनै नपाइ फतफताउन लाग्छ) पर्दैन पर्दैन। मास्टर बाले हुँदैन, पर्दैन भन्नु भएकोछ, हाम्रो मास्टर बा’को भुँडी कुच्चिएको छ, पिंधबाट तेल चुहुने भएको छ। बोल्दै बोल्दैन। लाटोकोसेरो, उल्लु भएको छ।

गम्भीरे- (छक्क पर्दै) अप्पुइ नी, विचरा! कहिलेदेखि? मास्टर बा, साह्रै परोपकारी छन्।

चाउरे- जाउ जाउ। अहिले मास्टर बा’ले देख्नु भो भने त मार्छ।

गम्भीरे- (डराउँदै भाग्ने दाउमा) ए ल त म गएँ है, आफूलाई पनि त्यस्तै खोजेको बेला, के खोज्छस् कानो आँखो। राम्रै भो, जोगियो।(भन्दै प्रस्थान हुन्छ)
(केही बेरपछि मास्टर बा’ लर्खरिंदै आइपुग्छ)

मास्टर बा-( मुख लर्बराउँदै) चाउरे.. ए चाउरे! कहाँ मुन्टिस् हँ?

चाउरे- (छेउमा गएर) मास्टर बा, छेउमै मुन्टेको छु।(अघिको कुरा सम्झेर) मास्टर बा। आज त मैले दिंदै दिंइनँ। मान्दै मानिनँ…।

मास्टर बा-(राम्ररी चाउरेलाई नियालेर) को आएको थियो? के भनिस् त?

चाउरे- मास्टर बा! त्यो गम्भीरेले पोहोर लगेको ऋण बल्ल जोगाड गरें भन्दैथ्यो।

मास्टर बा-(झसंग भएर) अन्त तैंले के भनिस्?

चाउरे- मैले भने, पर्दै-पर्दैन। हाम्रो मास्टर बा’को भुँडी कुच्चिएको छ, पिंधबाट तेल चुहुने भएको छ। बोल्दै बोल्दैन। लाटोकोसेरो, उल्लु भएको छ भनिंदिएँ।

मास्टर बा- (रिसले चुर भएर पछाडीबाट एक लात हान्दै) साला गधा, तँ उल्लु कि म उल्लु। तँलाई रातभरी खटेर पढाएको र फोकटमा घिचाएको यस्कै लागि हो?

चाउरे- (चिच्याउँदै) आइया! बाबै! मरें नी। गर्दा पनि जश छैन, नगर्दा पनि जश छैन।

मास्टर बा- तैँ गधा, तैं लाटोकोसेरो, तैं उल्लु। यस्तो महामुर्खलाई पोस्याएर घर बर्वाद गर्नु भन्दा त ज्ञानी चोरलाई पाल्नु ठिक छ।
(अघि अघि चाउरे पछि पछि मास्टर। दुवै कराउँदै प्रस्थान हुन्छ।)

चाउरे-यस्तो बैगुने गुरुको कच्कच् सुन्नु भन्दा त घरमा हलो-कोदालो गरेकै जाती…. आइय्या।

मास्टर बा- तँ जस्तो मुर्खलाई पालेर, फोकटको परोपकार गर्नु भन्दा खरानी घसेर चिम्टा बोकेर गाउँको कुकुर भुकाउँदै साधु हुनु जाती……… ला गधा….. आइय्या।…. आवाज मधुरो हुँदै जान्छ। पर्दा खस्छ। )

समाप्त

नाटककारः प्रभात थापा, दलसिंहपाडा (2016/11/28/)

(स्रोत : Dalsingtara)

This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.