~विजय कुमार राना~
प्रकृतिले सृजना गरेको
एक टुक्रा जमीनको निम्ति
यो कत्रो द्वन्द ?
ईश्वर छन उता, छन ईश्वर यता
जता-ततै, जहाँ सुकै ईश्वरै छन ईश्वर ।
एक ईश्वरको आत्मालाई बास दिने गृह
निर्माणको लागि हजारौं लाखौं ईश्वरहरुको
किन विजोग? किन विजोग?
तिम्रो, उसको, मेरो, हाम्रो
हृदय त भरसक मिलदो-जुलदोनै छन !
तर-तर किन यहाँ ‘यज्ञ’ र ‘नमाज’को लड़ाई ?
एउटै प्रकृतिले सृजिएको हामी
आँसू एउटैछ हांसों एउटै छ ।
तर विचार किन बेग्लै छ ?
दशरथले दु:ख झेलेको देश
कौशल्या, कैकेयी र सुमित्राले पीर बिसाएकी यो देश,
राम-लक्ष्मण र सीताले चौधवर्ष बिताएको,
बाली-सुग्रीव र हनुमानले कष्ट सहेको देश,
रावणले आँखा गाड़ेको
जटायुले पनि विघ्न र बाधा खपेको
यो देशमा, फेरी कुन चाहिँ राम र रावण निसकनू आंटयो ?
अयोध्यामा फेरी कुन-कुन योद्धाहरु जन्मियो ?
‘जटायु’ अब त ‘मिजाइल्स’ भएको छ।
अग्नि वाण अब त ‘एटम’र ‘न्यूक्लियर’ भएको छ है;
तिमीले बनाएको, श्रीङ्गारेको स्याहारेको पूजा स्थल,
उसलाई भत्काउने के को रहर?
उसले बनाएको, श्रीङ्गारेको स्याहारेको पूजा स्थल,
तिमीलाई भत्काउने के को कर?
समझी हेर त – बर्तमान ‘राम’ र ‘अल्लाहका’
अनुयायीहरु त्यो मन्दिर र मस्जिद
बनाउनु कति दु:ख बेहोर्नु पर्यो होला
तर भत्काउनु कति बेर लाग्यो र !
आज मन्दिर-मस्जिद तोड़ियो भने
भोली गुम्बा र गिर्जा पनि त तोड़िएला
इतिहास अघि नै रोयो, धेरै धेरै रोयो,
रोएर धेरै थाक्यो ।
भयो अब आजको इतिहासमा राम, अल्लाह
यीशु र बुद्धलाई नरुवाउ, हिक्का छोड़नु नलगाउ
भरसक उनीहरूलाई खुशी पारौं ।
राम र बाबरले हिजोको
इतिहास रुवाएको छ भने आजको इतिहासमा हँसाऊ ॥
-विजय कुमार राना,मगरजुंग(दार्जीलिंग)
2012-09-02
(स्रोत : Dalsingtara)