हास्य एकाङ्की : मानिस ठूलो दिलले हुन्छ जातले हूँदैन

~प्रभात थापा~

(एकजना तिलमाधवप्रसाद नाम गरेका चर्चित बाहुन थिए। जजमान गरेर आफूलाई विद्वान र सर्वज्ञ ठान्दथे औ सानातिना झुस्मूसे मानिसहरुलाई मान्छेनै गन्दैनथे। चिच्चाको धन लुच्चाले खान्छ भने झै एउटो छोरोलाई लेखाई पढाई समाजमा निक्कै धाक पिटौला भन्थे तर पढे गुणेको छोरोले अन्तर्जातीको बिहे गरेपछि बुढाको समाजको अघि शिरै ढल्यो। जिउँदै छोरोको किरिया खाएपछि पीर र सन्तापले दिनदिनै रोग्याउँदै गएको तिलमाधवलाई नमरी जानु न गरी खानु भन्ने अवस्थामा पुर्यायो। लामो पीढा र कष्ट भोग्दै लम्पसार परेको तिलमाधवले आँखाभरी चिप्रैचिप्रा परेको नजरले छेउमा ‘कति पीरसरीको एकमुठी सास अड्याएर तडपी रहन्छौ, हुरुक्कै गई हाले त दुःखै लुक्थ्यो’ भनेर हेरे झै गरेकी बुढी गंगादेवीलाई पुलुक्क हेर्यो।)

गंगादेवी (लोग्नेको निधार छाम्दै) के खान्छौ बुढा खोले बनाई दिउँ?

तिलमाधव:(आफूलाई हेर्न आएका मानिसहरुलाई लक्ष्य गर्दै) यिनीहरु किन यसरी ओइरीरहेका छन? कि म मर्यो भने किरिया खान पाइन्छ भनेर आ’का?

गंगादेवी (यता उता हेरेर लोग्नेलाई चुप लाग्ने इशारा गर्दै सासले बोल्छ) यस्तो अवस्थामा सबैले बिमारी हेर्न आउंछन बुढ़ा। यसरी असद्धी बोल्नु हुँदैन।

तिलमाधव-(माया लाग्दो अनुहार पारेर) के गर्छेस बुढी, तेरो कर्मै त्यस्तो रैछ, एउटो छोरो पाईस, पढाईस्, वंशको नाख राख्ला भनेको त्यो पनि बुद्धिमा किरै परेको…..!अब म मरे के गर्छेस?

गंगादेवीः(खास्टोले अश्रु पुछ्दै) के असती बोल्नु पर्या…सञ्चो छँदा सक्दो पूजापाठ गर्या होइन भगवानले हेर्लान् नी त।

तिलमाधवः (पुर्पुरोमा हात राख्दै)खै पुजापाठ गरेकै त हो, अलिकति कमाएको दुनियाँको ईख परेपछि कस्को के लाग्या र?

गंगादेवीः (अलिक छेउमा आएर) ए बुढा! अब जे जसै भए पनि… मान्छेले पत्याइ राखेकै छ, जुरेलीको बाबुले फूकफाक पारेपछि त जाती भएकै अरे कि बोलाउँ..!!

तिलमाधव- हे! कृष्ण, तेरो दिमागमा पनि किरो पर्न लाग्या होइन? यत्रो काशीमा पढेर आ’का पण्डितको घरमा जाबो त्यो शुद्रले फाकफुक पारेर पनि कतै हुन्छ… तेरो सुद्धि छैन।

गंगादेवीः(झर्किन्दै) आ बुढा, तिम्रो सुद्धिले त आज झनझन शरीर सुकेर सिन्का भइसक्या थाहा छैन। आफ्नु जिउलाई ज्यासुकै गर।

तिलमाधवः(झिजो मान्दै अर्कोतिर फर्केर) तेरो कुराले…..!घरको कुलवंश नाश हुन्छ। बरु त्यो सरकारी अस्पतालको डाक्डरले सितैमा जाँच गर्छ रे, डाकेर ल्या।

(गंगादेवी डाक्टर डाक्न प्रस्थान हुन्छ। नेपथ्यबाट मानिसहरु कानेखुशी गरिरहेको सुनिन्छ,’कस्ता अगति काठा, मर्ने बेलामा पनि कसैलाई देखि नसकेका’,’यो अगति काठा बुढ़ा मरेर पनि शान्ति पाऊँदैन होला’,’जातले ठूलो भएर के भो व्यवहार कति चुत्थों’, ‘धर्म कर्मको नाउँमा दुनियाँलाई लुटेको कहाँ जान्छ र, एउटा घरमा मराउ पर्यो उसको पो चाँदी कटाई, गाईदान, सुनदान, अर्थदान र भूमिदान गरेर लुटेको फल यस्तै हुन्छ’ इत्यादि। )

तिलमाधव (किरिया गरेको छोरोलाई एक्लै सराप्न थाल्छ) तेस किरियालाई कोख मै तुहाउन जानिन। पढे लेखेर बींडो थाम्ला, वंशको नाम राख्ला भनेको किरियालाई डुम्रो बन्न लेख्या र’छ। किरो पर्न नसक्या।(फेरी बुढीतिर रीस पोख्न लागे)….. मर्ने बेलामा एकबटुका तातोंचिसों विचार्न पर्छ भन्ने कुरा तलाई अझै थाहा छैन?ए आ न,, कहाँ मरिई।

**** **** *****
(एउटा सुटकेश र गलामा जन्तर भिरेको एकजना डाक्टरसित गंगादेवी कोठामा प्रवेश हुन्छ। रोगी तिलमाधवको छेउको सानो टुलमा बस्दै डाक्टर रोगीलाई नियालेर हेर्दै प्रश्न गर्छ)

डाक्टरः (जन्तर कानमा टाँस्दै) अहिले कस्तो छ? के के खाँदै छ बाजे…?

माधवप्रसादः (राम्ररी ठिम्याउँदै) के जातको डाक्टर हो? सोधखोज नगरी……!कसरी भित्र आयौ?

डाक्टर (रिसाए जस्तो गर्दै) मेरो जात हो सेवा अनि रोगीको सेवा गर्नु मेरो धर्म…..अरु केही सोध्नु छ?

तिलमाधवः (रिसाउँदै) ओ हो! हरे कृष्ण! हरे कृष्ण! ए बुढी, कहाँबाट आएको यो डुम्रोले सत्यनाश पार्यो। नाराण नाराण… यत्रो वर्ष गरेको धर्म कर्म बर्वाद भो।

डाक्टर (एकक्षण छक्क पर्यो, के बिगार पो गरें कि भनेर अनि फेरी सम्झाउन लाग्छ) कस्ता कस्ता रोगी देखें तर तपाईं जस्तो सानो चित भएको रोगी देखिन। तपाईंलाई अहिले आफ्नो ज्यान ठूलो कि जात ठूलो?

तिलमाधवः यत्रो उमेरसम्म यै जात र धर्म बचाउन खातिर पूजा पाठ गरिहिंडेको….!यै धर्मको संरक्षणको निमित मैले मेरो छोरोको किरिया खाई सकें….!मेरा लागि पूजापाठ र धर्मकर्म नै ठूलो कुरा हो। अब मैले केको लागि बाँच्नु छ र.. मर्न देऊ मलाई।

डाक्टर (रिसाउँदै) तपाईंले जातपातको भेदभाव र थोत्रो धर्मकर्म गरेर खोक्रो प्रशंसा कमाउनु भयो होला तर म डाक्टर हुँ, मलाई तपाईंको जस्तो जातपात र धर्म कर्मसित कुनै सरोकार छैन। तपाईंलाई बाँच्नु छ भने म केही औषधि लेखेर दिन्छु मगाएर खानु होला… बाँकी तपाईंको मर्जी तर बाजे एउटा कुरा याद राख्नु…यो संसारमा जात भनेको दुईटा मात्र छ…..लोग्ने र आइमाइ। अरु त तपाईं जस्तो स्वार्थी, घमण्डी, लोभी, पाखण्डी धर्मको नाममा कलंकहरुले बनाएको कुसंस्कृति मात्र हो, तपाईं जस्तो संकिर्ण मानसिकता भएको मानिसले नै यो समाजलाई तुच्छ र स्वार्थी बनाईरहेका छन्, तपाईं विकृत समाजको उपज हो। कुन धर्मग्रन्थमा सानो जातको मानिसहरुले ठूलो जातको दास भएर, हेपिएर, थिचिएर बस्नुपर्छ भनेर लेखेका छन्? तपाईं जस्ता ढोंगी धर्म र कर्मको वकालत गर्ने, खोक्रो यशका भोगी र संकिर्ण विचार भएका मानिसहरुले बनाएको नियमले गर्दानै आज हाम्रो समाज पछाडिएको हो। पश्चिमी मुलुकलाई हेर, त्यहाँका मानिसहरु कति स्वतन्त्र र सुखी छन्। तर यहाँ… एउटै समाजभित्रका मानिसहरुलाई जातपात र वर्णभेदको कुरा गरेर तपाईंले कुन ठूलो धर्म कमाउनु भयो? एउटै समाजमा बसेका प्राणीहरुलाई वर्गीकरण गरेर कुन ठूलो कर्म गर्नु भो? आजको यो एक्काईसौं शताव्दीमा तपाईंले कुन धर्मको रक्षार्थ पक्षपातपूर्ण कार्य गर्नु हुँदैछ? मानिस जुनमा पुगेर फर्किसके तपाईँ त्यसलाईं भगवान भनेर मानिसलाई भ्रममा पारिरहेका छन्। आज देशको सर्वोच्च सम्विधानले जातपातको भेदभाव गर्नेलाई कानुनी कार्वाही गर्ने कुरा तपाईंलाई थाहा छ?तपाईं ठूलो जात भएर आज समाजलाई के दिनु भयो? दिनु त परै रहोस् के लुटेनन्। जातपातको भेदभाव गरेर आफ्नो सन्तानसम्म गुमाउनु भयो? खोक्रो प्रशंसाकै निम्ति। तपाईंलाई थाहा छ, तपाईंको छोराले अन्तर्जाति विवाह गरेर समाजमा एउटा सिंगो उदाहरण बनेका छन्, समाजमा कत्रो ठूलो कदर छ उनको। आज उनलाई सरकारले आरक्षण दिएर ठूलो ओहोदामा पुर्याएका छन्, दलीतवर्गको महान नेताको रुपमा चिन्हिन्छ। उनले गरीब दुःखीहरुको सेवाको निम्ति निःशुल्क अस्पताल खोलेका छन। उसित धन र सुखसम्पती छ, मानसम्मान छ। जातले म पनि एउटा बाहुनको छोरो हुँ तर मलाई मेरो स्वतन्त्र देशमा जात र धर्मसित कुनै सरोकार छैन। मेरो निम्ति कामी, दमाई, सार्की, बाहुन, छेत्री, शेर्पा, भोटे, तामांग, मंगर सबै एउटै हो। सबैको सेवानै मेरो धर्म हो। म पनि त्यही अस्पतालमा डाक्टरी गर्दछु। यो भन्दा ठूलो धर्म र कर्म अरु के हुनसक्छ? यो जातपातले एउटै समाजको मानिसमा फाटो ल्याउँछ। सोंच र मानसिकतामा हामीले परिवर्तन ल्याउनु पर्छ। रुढीवादी विचारधाराबाट माथि उक्लिएर यो समाजमा हामीले ससम्मान जिउने अधिकार बराबर छ। दलीत-शोषितवर्गलाई विकासित गर्नु पर्छ। ल यो औषधि लिनु होस………….!!!(भनेर रोंगी तिलमाधवप्रसाद प्रति औषधि दिन खोज्छ तर तिलमाधवले एकोहोरिएर हेरेको देख्दा शंका लाग्छ…।औषधि खान अघिनै उनले अन्तिम सास लिसकेका रहेछन् कसैलाई थाहै भएन। केहीक्षण वार्तालाप रोकिएकोले गंगादेवी पनि अक्कमक्किन अनि फेरी आफ्नो लोग्ने अचल देखेपछि एकक्षण छक्क पर्छिन र फेरी डाँको छोडेर रुन लागिन। उनको लाशलाई हेरेर सबैले एकपट्क च्व….च्व….च्व गरे। नेपथ्यबाट एउटा पार्श्व गीतको ध्वनि आईरहेको छ ‘छेत्रीको छोरो यो पाऊ छुन्छ घिनले छुँदैन। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।’

समाप्त

नाटककारः प्रभात थापा, दलसिंहपाडा (2016/11/28/)

(स्रोत : Dalsingtara)

This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.