~विजय मल्ल~
निर्धक्क भई गाउने त्यो दिन कहिले आउला ?
यो घाँटीमा मीठो सुरले बास कहिले पाउला ?
चारैतिर मसान छ, चीत्कार कोलाहल
नैराश्य-हुरी आएर आशा दीप निभ्दछ पल-पल ।
ओइलाएका रूपहरूले मलाई आएर हेर्दछन्,
रन्थनिएर पछारिएका आँखाहरूले घेर्दछन् ।
‘कसको भरमा बाँचू’” भन्दै माथि आकाश हेरेको,,
आँखा टल्बलाउँदै फेरि आफूलाई निहारिरहेको ।
कुनै आँखा लट्ठिएर मृत्युको छायांमनि छिप्तछ,
कुनै आँखा डराएर जीवनीलाई बलले च्याप्तछ ।
आँखै-आँखा चारैतिर भोक र पीडाका प्रतिविम्बझैँ।
‘के हो’ भन्दै छटपटाएर आत्तिएका निरन्तरझैँ
मेरो अघि-पछि सबै आउँछन् झुम्मी झुम्मी पछ्याएर।
के भनूँ यिनलाई म कुन सान्त्वनाको स्वर ल्याएर !
त्यो दिन कहिले आउला, यिनलाई म सम्झाउन सकूँ।
त्यो दिन कहिले आउला निर्धक्क भै म गाउन सकूँ!
…………………………………………..
प्रगति, १६, कार्तिक-मार्ग २०१२
(स्रोत : ईश्वर बरालद्वारा सम्पादित साझा प्रकाशनबाट वि.सं. २०१२मा प्रकाशित कविता सङ्कलन ‘हिमालचुली’ बाट सभार)