~विजय मल्ल~
१
तिमी जन्म्यौ ।
त्यो वेला शायद आकाश तार-तारामय हुँदो हो !
अथवा जून हाँसिरहेको हुँदो हो
या त सूर्य बलिरहेको हुँदो हो !
बालक, तिमी जन्म्यौ !
तिम्री आमाको ओँठमा एउटा सानो मुस्कान नाच्यो होला,,
तिम्रो बाबुको गालामा खुशीको लहर दौड्यो होला ।
तर मलाई भने लाग्छ –
हाम्रो घरमा एउटा नयाँ ताकत लिएर
एउटा नयां जिन्दगीको शुरुवात भयो,
एउटा नयाँ शक्ति, अन्धकारको एक कट्टर दुश्मनको उदय भयो ।
२
बालक !
स्याहार–सुसारले, म्वाइँहरू पाउँदै, तिमी हुर्कंदै जानेछौ,,
मायाले, अँगालोमा गुटमुटिदै तिमी बढ्दै जानेछौ,
कुनै बेला, म बस्ने गरेको झ्यालबाट
त्यो विशाल आकाशलाई जब तिमी निहार्नेछौ, …
जब तिमी हजारौं समस्याले भरिएको-
मानिसहरू दब्दै पिसिंदै गइरहेको-
तलको यो पृथ्वीलाई हेर्नेछौ ।
बालक !
उम्लिरहेको जवानी लिएर जब तिमी त्यही बाटो कुल्चनेछौ
जहाँ म कुनै वेला कुल्चने गर्थे
त्यस वेला के तिमी आफ्नो कर्तव्य संस्झोइनौ ?
३
सम्भव छ अनाचार र दुराचारसित भिड्दा-भिड्दै
तिम्रो काकाको हार हुनेछ,,
दुश्मनको सामना गर्दा-गर्दै तिम्रो काकाको अन्त हुनेछ ।
सम्भव छ-
स्वतन्त्रताको संग्राम नै मेरो नाशको बिउ हुनेछ ।
तर, बालक !
यो पृथ्वीलाई प्रिय मान्दै
आमाबाबुको माया पिउँदै
आफ्नी प्रियतमलाई म्वाई खाँदै ।
उसको हृदयको धड्कनलाई सुन्दै हिंड्दा
के वास्तविक संसारलाई तिमी नबुझौला ?
सधैं बन्धनमा छु भन्ने चाल नपाऔँला ?
४
तिम्रो काकाको पराजयमा दुश्मनले चहाड मनाउनेछन्
उनीहरूको मुठ्ठीमा बलसञ्चय हुँदै गएको ठान्नेछन् ।
तर मेरो बालक, तिमी भन,
के उनीहरूले साँच्चि नै जित्न सक्लान् त ?
तिमीले झन्डा उठाउँदै अग्लाउँदै आएको
के तिमीलाई उनीहरूले देखोइनन् ? ..
मेरो पछि-पछि स्वतन्त्रताको पताका फहराउँदै बढिरहेको
के तिमीलाई उनीहरूले देखोइनन् ?
५
बालक !
मलाई पक्का विश्वास छ,
हाम्रो घरमा एउटा नयाँ जिन्दगीको शुरुवात भएको छ,
एउटा नयाँ जिन्दगी,
अन्धकारको एउटा जबर्दस्त दुश्मनको जागा भएको छ ।
…………………………………………..
शारदा, १६।११, फाल्गुण २००७ (रचनाकाल २००६ कारागारमा)
(स्रोत : ईश्वर बरालद्वारा सम्पादित साझा प्रकाशनबाट वि.सं. २०१२मा प्रकाशित कविता सङ्कलन ‘हिमालचुली’ बाट सभार)