~वासु शशी~
रूख आफ्नो छायालाई नजीकै बिछाएर
उभिरहन्छ !
त्यो उसको अनुकृति हो
त्यसलाई
ऊ हेरिरहन्छ !
आफ्नो भन्नु पनि त्यही हो
उसको
ऊ त्यसलाई घामपानीकन खपेर पनि बनाइराख्छ !
ऊ हेर्छ कहिलेकाहीँ
यसो हल्लिएर
कि त्यो जीवित छ कि छैन !
अनि आफूसंगसंगै चल्बलाएको देखेर
मन मायाले
ऊ आफ्ना पातहरू ओढाएर त्यसलाई बचाउन खोज्छ !
कतै ढल्नै परे पनि
ऊ
त्यसैलाई गएर ढाक्न पुग्छ !
अनि त ऊ भुत्रै भएर गए पनि
त्यो पनि
उसैको सामु भरिरहन्छ !
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )