कविता : गीत म कसरी गाऊँ ?

~हेमन्त श्रेष्ठ~

छेउमा सागर छ
सागरसँगसँगै अनन्त लहर
र लहरसँगसँगै अनन्त सङ्गीत छ
म किनारको प्यासी बगर बनेर
पानीको गीतमा कसरी रमाऊँ ?
तृष्णा बोकेर मनभरि
गीत म कसरी गाऊँ ?

चाहेको वसन्त हो
कहिले पलाँससम्म फुलेन
गुराँसको रक्तिम अनुहारमा
स्वयम् लालीको रङ्ग चढेन
चाहनाको असीम गन्तव्यमा
अभावको काँडा कुल्चेर म
कसरी यात्राको टुङ्गो लगाऊँ ?
उमेर काटेर बिनाअर्थ
गीत म कसरी गाऊँ ?

भाषा छ तर शब्दहरू कैद छन्
सङ्गीत छ तर स्वरहरू कुँजिएका छन्
बिनादृष्टि कसरी म आँखाले देखूँ ?
बिनाआवाज गीत म कसरी गाऊँ ?

सारङ्गी बन्न सकिएन
कि खोक्रो पेटले पनि सङ्गीत सिर्जन सकूँ
अचानो भएर जिउन सकिएन
कि चोट खपेर पनि चुपचाप सहिरहूँ
आफ्नो त मन छ
मनसँगसँगै दुख्ने तन छ
कसैले बजाउँदैमा बज्न सकिएन
खुकुरी नाच्दैमा नाच्न सकिएन
एउटै बगैँचामा फुलेर के गर्ने ?
म उन्यू गुलाफसँग कसरी प्रीत लाऊँ ?
हीनताको बोझ बोकेर सधैँ
गीत म कसरी गाऊँ ?

जीवनमा धेरै–धेरै पटक रोएँ
रोएर बाँच्नुलाई जीवन भनेँ
तर रोदनका स्वरहरू गीत बनेनन्
आँसुका थोप्लाहरू मोती बनेनन्
कलेँटी परेका ओठहरूले
कसरी मुस्कान छर्न सक्छ ?
व्यथाले पोलेका गलाहरूमा
कसरी हाँसो रमाउन सक्छ ?
ग्रहणले छोपेको घामबाट
स्वर्णिम ज्योति कसरी पाऊँ ?
पीडा साँचेर मुटुभरि
गीत म कसरी गाऊँ ?

भर्जिनिया

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.