समीक्षा : यौनिक लेखनमा लहसिए लेखकहरु

~लोकनाथ भुषाल ‘घायलश्री’~

कुनै बेला थियो, जतिखेर नेपाली पाठकहरु सुवास घिसिङको ‘नीलो चोली’मा उल्लेखित यौनिक सन्दर्भ पढेर रोमान्चित हुन्थे । टेलिभिजन र मनोरन्जनका अन्य साधनहरु सर्वसुलभ नभइसकेको तीसको दशकमा प्रायः पाठकहरुको सिरानीमुनि घिसिङ र युधिर थापाका उपन्यासहरु भेटिन्थे । उनीहरुका उपन्यास पढेर प्रेरणा लिनेहरु थुप्रै पाठकहरु अहिले स्थापित स्रष्टा बनेका छन् । अहिले तिनीहरुमध्ये कतिपयले सुवास र युधिरका उपन्यासलाई तल्लोकोटिमा राख्छन्, त्यो मनोरोग बेग्लै पाटो हो ।

यद्यपि नेपाली साहित्यमा यौनिक लेखनका आरम्भकर्ताहरु भने पुष्कर समशेर, विश्वेश्वरप्रसाद कोइराला, विजय मल्ल, गोविन्द गोठाले, परशु प्रधान, पारिजात, पुष्कर लोहनी आदि हुन् । उनीहरुका प्रायः सिर्जनामा यौनिक सन्दर्भ मनोवैज्ञानिक रुपमा समावेश छन् । त्यसमध्ये कोइरालाको ‘सुम्निमा’, मल्लको ‘अनुराधा’, पारिजातको ‘शिरिषको फूल’ उपन्यास नेपाली साहित्यका यौनमनोविज्ञान आधारित उपन्यासका मानक नै बनेका छन् । पारिजातको ‘मैले नजन्माएको छोरो’ कथा त क्याम्पसको पाठ्यक्रममै छ ।

परशु प्रधान र लोहनीले भने अहिले पनि यौनमनोविज्ञानमाथि कलम चलाइरहेका छन् । प्रधानको ‘सीताहरु’ नामक कथोपन्यास पूर्णत यौन स्वच्छन्दता अपनाएका हाम्रो समाजका नारी पात्रहरुमाथि केन्दि्रत छ । केही वर्षअघि बजारमा आएको अर्को कथोपन्यास ‘घर’मा पनि यौनिक सन्दर्भहरु प्रशस्तै छन् । लोहनीका कथा भने पाठक माझ उति जम्न सकेका छैनन् ।

यौनिक विषयमा आख्यान लेख्ने क्रम भने निरन्तर छ । एकपछि अर्को गर्दै आइरहेका यौनिक विषयक कथा उपन्यासको बाढी देख्दा यस्तो लाग्छ, नेपाली लेखकहरुबीच अघोशित प्रतिष्पर्धा नै छ । पाकादेखि भर्खरका युवाहरु समेत प्रतिष्पर्धामा समेल छन् । यद्यपि महिलाहरुको संख्या भने विविध कारणले कमै देखिएको छ । बोल्ड लेखनमा मानक मानिने प्रेमा शाह, कुन्ता शर्मा, सीता पाण्डे आदिजस्ता नयाँ पुस्ता उपन्यास लेखनमा अझै आउन सकेका छैनन् ।

विमल भौकाजीले ०६५ तिर ‘प्रतिनिधि नारी यौनकथा’को संकलन-सम्पादन सुरु गरेका थिए । मौलिक सोचको खडेरी परेर होला उनको कामको चर्को देखासिकी भयो । अहिले प्रायः हरेक प्रकाशनले अनेक नाम दिएर यौनविषयक कथाहरुको संकलन बजारमा ल्याइसकेका छन् ।

पछिल्लो समय यौनिक विषयमा उपन्यास विधामा कलम चलाउने पाका लेखकहरुमा मोहनराज शर्मा, किशोर नेपाल, सरुभक्त, कृष्ण धरावासी आदि पर्छन् । शर्माको ‘सलिजो’ उपन्यासमा समलिंगीहरुका कथा बनिएको छ । यद्यपि यो उपन्यासले बजारमा अपेक्षित सफलता पाउन भने सकेन । नारी अधिकारका बारेमा वकालत गरिएको सरुभक्तको प्रयोगात्मक उपन्यास ‘तरुनी खेती’ भने उपन्यासको बजारमा सफल नै मानियो । उपन्यासमा उठाइएको सन्दर्भै नबुझी कथित महिला अधिकारकर्मीहरुबाट जलाइयो पनि । पाको पुरुष र कलिली युवतीका बारेको प्रेममाथिको कृष्ण धरावासीको ‘टुंडाल’ ले पनि बिक्रीको राम्रै मानक बनायो । यद्यपि ‘शरणार्थी’, ‘राधा’ जस्ता अब्बलकोटिका उपन्यास पढिसकेका पाठकले ‘टुंडाल’का सन्दर्भमा लेखकलाई गाली नै गरे । धरावासीको शाख गिर्ने कृतिको कोटिमा ‘टुंडाल’लाई राख्नेहरु पनि थुप्रै छन् ।

निकै समयको अन्तरालमा साहित्य लेखनमा फर्केका किशोर नेपाल भने उमेरले पाका भए पनि तन्नेरी पुस्ताका यौनिक क्रियाकलाप पस्कन मन पराउने लेखक बनेका छन् । ०६७ र ०६८ मा बजारमा आएका उनका दुई उपन्यास ‘पाताल’ र ‘शहरको कथा’ले उनलाई यही चिनारी दिलायो । यद्यपि ‘पाताल’ बजारमा उति चलेन ।

पाकाहरुको देखासिकी नयाँ लेखकहरुबाट हुने नै भयो । यद्यपि उनीहरुले आफ्नो लेखनमा फरक विषवस्तु उठाइरहेका छन् । यस्तैमध्येमा पर्छन् पछिल्लो पुस्ताका किरण रिमाल पनि । उनको ‘सान्नानी’ उपन्यासमा सपनाको पोको बोकेर शहर पसेकी ग्रामिण युवतीका यौनजन्य भोगाइ छन् । ‘संयोग’ उपन्यासमा पनि यौनका कुरा छताछुल्ल छन् । यद्यपि ती उपन्यासले बजारमा स्थान बनाउन सकेनन् । रिमालकै पुस्ताकी अनुपम रोशीको उपन्यास ‘कुमारी आमा’ मा पनि यौनिक सन्दर्भहरु प्रशस्त छन् । नारीको यौन अधिकारको खुला वकालत गरिएको यो उपन्यासले साहित्य वृत्तमा राम्रै चर्चा पायो ।

सोही पुस्ताका सुविन भट्टराईको प्रेम विषयक उपन्यास ‘समर लभ’मा पनि यौनिक कुराहरु प्रशस्तै छन् । पछिल्लो समयका कलेज पढ्ने उमेरका युवायुवतीका दैनिकी र अनुभूतिलाई समेट्ने प्रयास गरिएको यो उपन्यासले बजारमा राम्रै सफलता पायो । उनलाई साहित्यिक सेलिब्रेटी नै बनायो । समर लभसँगै बजारमा आएको राजेन्द्र थापाको ‘खेलौना’ले भने लेखकलाई कठोर आलोचनाको कठघरामा उभ्यायो । ‘मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ’ भन्ने मोडल स्मिता थापाको जीवनको सेरोफेरोमा घुमेको यो उपन्यासमा पात्रभन्दा बढी लेखक हावी भएका छन् । कथानक पटक्कै छैन । पात्र र चरित्रको विवधताभन्दा बढी लेखकका यौनजन्य अनुभूति पटकपटक घुसेकोले उपन्यास बोझिल बनेको छ । बिक्रीमा रेकर्ड बनाए पनि किनेर पछुताएँ भन्ने पाठकहरु प्रशस्तै छन् । अचेल त यौनिक लेखनकै कारण ओरालो लागेको लेखकको नमूनाका रुपमा थापाको नाम लिन थालिएको छ ।

फिल्मी लेखक बज्रेशको उपन्यास ‘यायावर’ पनि पूर्णतः यौनिक उपन्यास हो । यद्यपि यसमा यौनलाई मनोवैज्ञानिक ढंगले प्रस्तुत गरिएको छ । यसको प्रमुख पात्र बैकुण्ठेले आफूसँग ठोक्किन आएका युवतीहरुका बारेमा गरेका अनुभूतिहरु साँच्चै रोचक छन् । कतिपय यौनिक गालीहरु भने लेखकले आवश्यकताभन्दा बढी नै प्रयोग गरेर कतिपय पाठकलाई झिंझो लाग्ने बनाएका छन् । यद्यपि यायावर यौनिक विषयको मानक उपन्यास बनेको छ ।

केही महिनाअघि बजारमा आएको नयांपुस्ताकी उमा सुवेदीको ‘तोदा’मा पनि यौनिक सन्दर्भ थुपै्र छन् । सामाजिक-पारिवारिक उत्पीडनपछि रोजगारीको खोजीमा विदेशिन विवश नेपाली नारीहरुका भोगाइको कथा रहेको यो उपन्यासमा इजरायल पुगेका महिलाहरुका यौनिक क्रियाकलापका बारेमा लेखिएको छ । त्यसको अगुवाइ रोशनी नामकी पात्रले गरेकी छ । नारी लेखकको लेखन भएर पनि होलान यौनिक सन्दर्भहरु अत्यन्त शिष्ट र शालिन छन् । उपन्यास पढुन्जेल पाठकलाई रोशनीको सन्दर्भ कतिखेर आउँछ भन्ने कौतुहल भइरहन्छ । अहिले ‘तोदा’ विक्रीमा उकालो चढ्ने क्रममा छ ।

पछिल्लो समय बजारमा आएको रक्तकुण्डका लेखक कृष्ण अविरलको ‘विषपुरुष’ पनि यौन विषयक उपन्यास हो । यसमा शहरिया समाजमा भेटिन थालेका पेशेवर पुरुष यौनकर्मीहरु र तिनलाई प्रयोग गर्ने आधुनिक महिलाहरु बारेको कथा छ ।

यी त भए अहिलेसम्म चर्चामा देखिएका केही उपन्यास । माथि उल्लेख भएबाहेक पनि यौनिक विषय समेटिएका उपन्यास प्रशस्तै छन् । देखासिकीको संस्कार भएको समाजमा यसखाले उपन्यास अझै कति आउने हुन् भन्न कठिन छ ।

(स्रोत :घायलश्रीको आँगन)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.