~राजेन्द्र गिरी~
लेखसार
प्रस्तुत आलेखमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन गरिएको छ । यो समाजशास्त्रीय सिद्धान्तको मान्यतामा आधारित अध्ययन हो । समाजशास्त्रले साहित्यको समाजसँग रहेको वा रहने सम्बन्धको खोजी गर्दै त्यसको व्याख्या विश्लेषण गर्दछ । कलासाहित्यलाई व्यक्तिगत प्रतिभा र चिन्तनको उपज मानिन्छ । ती उपजहरुले सामाजिक मूल्य र मान्यता, परम्परा, विश्वास र आस्था प्राप्त गर्दछन् । त्यसैले, साहित्य व्यक्तिद्वारा सृजना गरिए पनि ती सामाजिक अभिव्यक्तिका रुपमा देखा पर्दछन् । साहित्यको समाजशास्त्रीय सिद्धान्तका विभिन्न आधारमध्ये प्रजाति, क्षण र परिवेश रहेको छ । तसर्थ, यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन गरिएको छ । प्रजातीय अध्ययनका विविध आधारमध्ये सहज आनुवंशिक गुण, समान सांस्कृतिक विशेषता, जलवायु र भूगोल, खानपान र शारीरिक संरचनालाई मुख्य आधार बनाई व्याख्या विश्लेषण गरिएको छ ।
शब्दसूची : पीतवर्ण, देहात, वनारस, धोती, चोलो, गोसाईंस्थान ।
१ विषयपरिचय
विश्वेश्वरप्रसाद कोइराला (१९७१–२०३९) नेपाली साहित्य जगत्का विशिष्ट प्रतिभा हुन् । उनले नेपाली साहित्यका कथा, कविता, उपन्यासजस्ता विधामा कलम चलाएका छन् । उनका दोषी चस्मा (२००६) र श्वेतभैरवी (२०३९) दुईवटा कथासङ्ग्रहहरु प्रकाशित छन् भने तीनघुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४०) र बाबु, आमा र छोरा (२०४५) गरी छवटा उपन्यासहरु प्रकाशित छन् । उनका कृतिमा मनोवैज्ञानिक, सामाजिक, मानवतावादी, नियतिवादी, अस्तित्वमूलकजस्ता विचारहरुको कलात्मक प्रस्तुति भएको पाइन्छ । विश्वेश्वरप्रसाद कोइरालाको प्रथम नेपाली कथा चन्द्रवदन (१९९२) हो । उनले यसै कथाबाट कथायात्रा सुरू गरेका हुन् । उनको दोषी चस्मा (२००६) कथासङ्ग्रहमा चौधवटा कथाहरु रहेका छन् भने श्वैतभैरवी (२०३९) कथासङ्ग्रहमा अठारवटा कथाहरु रहेका छन् । ती कथाहरुमध्ये यहाँ सान्नानी (२०३९) कथाको प्रजातीय अध्ययन गरिएको छ ।
२. अध्ययनको समस्या
साहित्यको समाजशास्त्रीय सिद्धान्तका आधारमा सान्नानी कथाको प्रजातीय विश्लेषण गर्नु यस अध्ययनको समस्या हो । यस कथामा केकस्तो प्रजातीय चित्रण गरिएको छ भन्ने विषय नै यसको मूल समस्या हो । उल्लिखित शोधसमस्यालाई निम्नलिखित प्रश्नहरुबाट थप प्रस्ट पार्न सकिन्छ ।
१) सान्नानी कथामा केकस्तो प्रजाति पाइन्छ ?
३. अध्ययनको उद्देश्य
सान्नानी कथाको प्रजातीय विश्लेषण गर्नु नै यस लेखको मूल उद्देश्य रहेकोले यस मूल उद्देश्य प्राप्तिका निम्ति निम्नानुसारको उद्देश्य रहेको छ :
१) सान्नानी कथामा प्रजातिको कोणबाट विश्लेषण गर्नु ।
४. अध्ययनविधि
साहित्यको समाजशास्त्रीय अध्ययन सिद्धान्तहरुमध्ये हिप्पोली टेनको प्रजातिसम्बन्धी सिद्धान्तको आधारमा सान्नानी कथाको प्रजाति पहिचान गरी त्यसको आधारमा विश्लेषण गरिने भएकाले मुख्यतः निगमनात्मक विधिमा केन्द्रित छ । स्थापित सिद्धान्तको आधारमा अध्ययनको आधार तयार पारिएको भए तापनि कथा विश्लेषणका सन्दर्भमा भने आगमनात्मक विधिको प्रयोग गरिएको छ । त्यसैले, प्रस्तुत लेखमा निगमनात्मक र आगमनात्मक दुवै विधिको उपयोग गरिएको छ ।
५. विश्लेषणको ढाँचा
यस अनुसन्धानमा टेनको समाजशास्त्रीय अवधारणालाई आधार बनाएर विश्लेषण गरिएको छ । उनले प्रजाति, क्षण र पर्यावरणसम्बन्धी समाजशास्त्रीय मान्यता उल्लेख गरेको भए तापनि यस लेखमा टेनको प्रजातिसम्बन्धी अवधारणालाई मात्र आधार बनाई व्याख्या विश्लेषण गरिएको छ ।
टेनको प्रजातिको व्याख्या सहज वंशाणुगत गुण, समान सांस्कृतिक विशेषता, जलवायु र भूगोल तथा खानपान र शारीरिक संरचनासम्बन्धी मान्यता उल्लेख गरेकाले सोही आधारमा सान्नानी कथाको व्याख्या विश्लेषण गरिएको छ ।
६. ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन
सान्नानी कथाको समाजशास्त्रीय विश्लेषणका निमित्त फ्रान्सेली दार्शनिक हिप्पोलिट टेनको मान्यताअनुसार गरिएको छ । उनले साहित्यका समाजशास्त्रका निमित्त कृतिमा रहेको प्रजातिको अध्ययनबाट मात्र सम्भव भएको हुन्छ भन्ने मान्यता राख्दछन् ।
कथाको ‘म’ बाल पात्रले कथाकारको प्रतिनिधित्व गरेको छ । सान्नानी उसकी बालसखाको रुपमा कथामा देखिएकी छे । यी दुवैको अतिरिक्त सान्नानीकी आमा, मुनरिया, फगुनी, नजरिया आदिले कथामा प्रतिनिधित्व गरेको पाइन्छ । तिनीहरुको प्रतिनिधित्वलाई
निम्नलिखित आधारमा विश्लेषण गरिएको छ :
६.१ ‘सान्नानी’ कथामा सहज आनुवंशिक गुण
सान्नानी कथामा ‘म’ पात्रले नै प्रमुख भूमिका खेलेको छ । उसले कथाको सुरूदेखि अन्त्यसम्म आप्mनो प्रमुखता व्यक्त गरेको छ । उसले आमालाई गौण पात्र र मनुरिया, फगुनी र नजरियाजस्ता पात्रलाई सहायक भूमिकामा सीमित पारेको पाइन्छ । खासगरी ‘म’ पात्रको परिवार पूर्वी–मध्य देहातको गाउँमा बसाइँ सर्छन् । ‘म’ पात्र बालक छ । उसले सहरको वातावरणभन्दा तराईमा विल्कुल फरक पाउँछ । उसले सहर र ग्रामीण परिवेशको संसार बुझ्न निकै कठिन भएको छ । आफ्नी आमासँग हिँड्न सधैँ बस्ने क्रियाकलापले आमामा वितृष्णा पैदा भएको पाइन्छ । यही परिवेशबाट उत्पन्न घटनाक्रम समाज र देशकै समस्याका रुपमा केन्द्रित छ । अन्य सहायक पात्रको कुनै खासै भूमिका छैन । कथामा वितरित घटनाक्रम तथा पात्रको उपस्थितिका आधारमा समान र भिन्न नश्लीयसम्बन्ध पहिचान गर्न सकिने सहज अवस्था छैन । जाति पहिचानका लागि सहज आनुवंशिक अभिलक्षणको केन्द्रीयतामा दुई स्वरुप छन्– एउटा पात्र ‘म’ पात्र वा पुरूष जाति हो भने अर्को पात्र सान्नानी वा स्त्री जाति हो । यसमा बाल पात्रमा नश्लीय स्वभावको उत्पीडन प्रस्ट देखिँदैन । बरू, आमाबाट ‘म’ पात्र सुरूमा किनारीकृत भएको छ । यसमा घर, परिवार, समाज, संस्कृति आदिले बाल पात्रलाई विवश बनाएको छ । कथाको समग्रता हेर्दा पितृसत्तात्मक सत्ता गौण देखिन्छ । बालकलाई आमाले मात्र संस्कारमा उपस्थित गराएकी छिन् । त्यसैले, यस कथामा प्रयोग भएका सहज आनुवंशिक गुणलाई पहिचान गर्न सकिन्छ ।
साक्ष्य : एक
मन टुहुरो हुन्छ; घबडाहटले आमाकहाँ टाँस्सिन पुग्छ, त्यो भयभीत बालक । (पृ. २१८)
यस साक्ष्यमा शहरीय क्षेत्रमा बसोबास गरेको जातिको चित्रण छ । कथामा पीतवर्ण बालक असहाय प्राणीको रुपमा उल्लेख छ । बालक शहरमा जन्मिन्छ, शहरमै हुर्किन्छ तर एक्कासि शहरबाट चुँडिएर बाध्यतावश परिवारसहित मध्य देहातको क्षुद्र गाउँमा पुग्दछ । त्यसबेला ऊ निरीह हुन्छ, देहातको विराट् संसार हेर्छ तर कुनै समाधान छैन । जसको फलस्वरुप उसको मन टुहुरो हुन्छ र आमासँग टाँसिन्छ । बालकले गरेका विविध व्यवहार आमासँग मिल्दो छ । यस प्रभावले आमा र अबोध बालक निरीह देखिन्छन् । यी मानवजीवनका सामाजिक, आर्थिक, मानसिक, चारित्रिक पक्षहरुमा प्रत्यक्ष प्रभाव जातीयरुपमा प्रकट भएको छ । ‘म’ पात्र बालकको रुपमा देखिए तापनि जातीय आधारको गुण सहज आनुवंशिकरुपमा आएको छ । बालकको बोली, व्यवहार, चरित्र, जीवनचर्या र संस्कारले एउटै प्रजातिको सन्तानको रुपमा रहेको पहिचान गर्न सकिन्छ ।
साक्ष्य : दुई
यो गाउँमा खोइ कहाँ छ सडक, यहाँ त आमालाई छाड्यो कि यो महाशून्य कहीँ लोप होइएला भन्ने डर । (पृ. २१८)
यस साक्ष्यमा बालकले मध्य देहातको गाउँमा अनुभव गरेको प्रसङ्ग आएको छ । शहरको व्यवस्थित बाटो, पर्खाल र महलको सम्झनास्वरुप यो अनुभव गरेको हो । उसले जैविक तथा प्राकृतिकरुपले आफ्नो परिवारको अभिलक्षणलाई आनुवंशिक गुणले पछ्याएको छ । बालकले आमाबाहेक अरुलाई देखेको छैन । यो गुण बालकमा देखिएको छ । त्यसैले, आमालाई छोड्न सक्दैन । आमाको वंशानुगत गुण बालकमा सरेको छ । ती क्रियाकलापहरु जीवनभरि विभिन्न किसिमले प्रकट हुने हुँदा आमालाई छाड्यो कि महाशून्यको अनुभव गर्दछ र डराउँछ । त्यसैले, बालकमा वंशानुक्रमको प्रभाव यथार्थरुपमा प्रस्तुत गरिएको पाइन्छ ।
साक्ष्य : तीन
आँखा साना–साना, नाकको पोरा सेख बाक्लो तर डाँडी केही थिचिएको, साँघुरो ललाट, हातगोडा रूखा भए तापनि नराम्रा होइनन् । (पृ. २२१)
यस साक्ष्यमा ‘म’ पात्रले सखीको शारीरिक बनावटलाई प्रस्तुत गरेको छ । मेरै उमेरकी सखीको आँखा साना–साना भएका, नाकको पोरा, सेख बाक्लो भएको, डाँडी कहीँ थिचिएको, साँघुरो ललाट र हातगोडा रूखा भएको सङ्केत गरिएको छ । शरीरको वर्ण छुट्याउन गाह्रो भएको ताम्र, गहुँ र कालो वर्ण समिश्रणबाट बनेको शारीरिक संरचनाको सङ्केत गरिएको छ । ती गुणहर आमाबाबुसँग मिल्दोजुल्दो रहन्छन् । मध्य देहातमा बसोबास गर्ने प्रायः सबैजसोको शारीरिक संरचना अस्पष्ट माटो र सूर्यको तापले बनाउने गरेको यथार्थ चित्रण छ । त्यसैले, यसमा मध्य देहातको प्रजाति समिश्रण गुणलाई चित्रण यस साक्ष्यले दिएको छ ।
साक्ष्य : चार
उसको मुखमा हलुको चिल्लोपन मैले देखेँ, गालाका मध्यमा गुलाफी रङ्ग, बाक्लो ओठ, स्निग्ध, छाती पुष्ट जसमा स्तनाङ्कुरको तीक्ष्ण आभास, कम्मर पातलो, नाभी गहिरो, तिघ्रा र पिँडुलाले केही गोलाइ धारण गर्न लागेको । (पृ. २३१)
यस साक्ष्यमा ‘म’ पात्र र उसकी सखी सान्नानी र गोसाईंस्थानको दर्शन गर्न जाँदा ‘म’पात्रले अनुभव गरेका प्रसङ्ग चित्रण छ । सान्नानीले उसलाई गोसाईंजीको ध्यान गर्न भने पनि उसको ध्यान सान्नानीमा रहेको पाइन्छ । सान्नानीको शारीरिक बनोटको प्रसङ्ग उल्लेख छ । जैविक तथा प्राकृतिकरुपले देखिने अभिलक्षण यसमा ‘म’ पात्रले देखाएको छ अर्थात् यसमा जातिको पहिचान सहजरुपले गरिएको छ । पूजाआजा, क्रियाकलाप ब्रह्माण्ड जातिको अभिलक्षण हो । त्यसैले, यसमा पात्रगतरुपले विभेद जातिको प्रसङ्ग छैन । नारीमा हुनुपर्ने गुणको प्रसङ्ग दिइएको छ । बालक अवस्थाबाट युवा अवस्थामा प्रवेश गर्न लागेकी सान्नानीको चित्रण गरिएको छ । उसको गुलाबी ओठ, पुष्ट छाती, पातलो कम्मर, तिघ्रा र गोलो पिँडुला आदिको चित्रण गरेर सांस्कृतिक तथा चारित्रिक पक्षको प्रसङ्ग देखाई सहज आनुवंशिक गुण जातिमा उपस्थित गराइएको पाइन्छ ।
६.२ ‘सान्नानी’ कथामा समान सांस्कृतिक विशेषता
प्रजाति पहिचानमा आनुवंशिकताका अतिरिक्त सांस्कृतिक अभिलक्षणलाई मह¤वपूर्णरुपमा हेरिन्छ । आनुवंशिक दृष्टिकोणले नजिक हुनुले भूगोल र संस्कृतिमा पनि समानता रहन्छ । यदि समान सांस्कृतिक भएमा एउटै प्रजाति र भिन्न भएमा भिन्न प्रजाति हुने प्रबल सम्भावना रहन्छ । सान्नानीको परिवार मध्य देहातको हो । ‘म’ पात्र शहरबाट मध्य देहातमा गएपछि यी दुईको भेट भएको छ । यी दुवैको भेटमा समान सांस्कृतिक सम्बन्धसमेत निर्माण गरेको छ । यस प्रसङ्गलाई निम्न साक्ष्यबाट प्रस्ट पार्न सकिन्छ ः
साक्ष्य : एक
आमाले खाडीको छिटको चोलो लाउनुभएको थियो जसको कालो–रातो रङ्गको बुट्टा धुँदा–धुँदा खुइलिइरहेको थिए, केवल बुट्टाका अस्पष्ट रेखाहरु मोटो खाँडीमा बाँकी बचेका थिए । (पृ. २१९)
यस साक्ष्यमा ‘म’ पात्रलाई टेठी दीपनगर भन्ने गाउँ अनौठो लाग्छ । आपूm वनारसमा जन्मेको, त्यहीँ हुर्केकोले यो गाउँ अनौठो लागेको हो । आमासँगै टाँस्सिएर बसिरहेकाले आमाले बाहिर खेल्न जान आग्रह गर्छिन् तर ‘म’ पात्रलाई सबै वातावरण नौलो लागेकाले पृथ्वी सबैकी आमा होलिन् भन्ने बुझ्दाबुझ्दै पनि त्यसदिन वृद्धाले नगरेको माया उनका निम्ति अभिशाप संस्कृति बनेको पाइन्छ ।
‘म’ पात्रको आमाले समेत खाँडीको छिटको रातो रङ्गको चोलो खुइलिएको उल्लेख गरेर समान सांस्कृतिक विशेषता देखाउन खोजेका छन् । आमाले लगाएको अस्पष्ट बुट्टे चोलोका रेखाहरु मोटो खाँडीमा बचेकाले ती मेरा लागि आफ्नोपन र विश्वासका ढुकुटी उल्लेख गर्दछन् । मेरा हृदयले सारा धूमिल रेखा अङ्कण माया भएर गएकोले आमाको पिठ्यूँमा अङ्कमाल गर्न पुगेको समान संस्कृतिको प्रवेश गराइएको छ ।
साक्ष्य : दुई
दृढतासँग हात समातेर सङ्कोच र लज्जाले भूमिसात हुन लागेको कलिलो शहर बालकलाई एउटी हावापानीमा स्वच्छन्दरुपबाट हुर्केकी ग्राम बालिकाले बाहिर लगी । (पृ. २२१)
यस साक्ष्यमा ‘म’ पात्रको सांस्कृतिक मनोविज्ञानलाई उल्लेख गरिएको छ । उसले आमालाई भीडभाड रहेकोले घरदेखि बाहिर गएर साथीसँग खेल्दिए राम्रो भन्दछिन्, तर लज्जा र सङ्कोचले ‘म’ पात्रको भावना नखुलेको संस्कृति देखिन्छ । पुरूषप्रधान समाजमा पुरूषले गर्नुपर्ने क्रियाकलापबाट ऊ टाढा छ । त्यसको फलस्वरुप स्वच्छन्दरुपबाट हुर्केकी बालिकाले तानेर खेल्नको लागि लगेको समान संस्कृति विकसित भएको छ । संस्कृति एउटै भएकाले ‘म’ पात्र र कथाकी सान्नानीमा भय, लज्जा र सङ्कोच विलीन हुँदै गएको चित्रण गरिएको छ ।
साक्ष्य : तीन
हामीहरु कुद्दै पुग्यौँ, नजरियाकहाँ । सान्नानीले बाटैमा सचेत गरेकी थिई, नजरिया मुसलमान हो, जसकी दुलही गाउँगाउँमा काँचका चुरा बेची–बेची हिँड्छे । (पृ. २२४)
यस साक्ष्यमा मुसलमान जातिको मौलिक संस्कारको पहिचान दिइएको छ । मुसलमानले पान पसल र मुसलमानकी दुलहीले आफ्नो संस्कृतिअनुरुप गाउँगाउँमा काँचका चुरा बेच्ने प्रचलन पाइन्छ । उनीहरुको सानो झुप्रो घर छ । उनीहरुले आफ्नो पेसाबाट सामाजिक र आर्थिक संस्कारलाई कायम गरेको देखिन्छ । ‘म’ पात्रलाई कथाकी सान्नानीले सचेत गराउँदै उनीहरुको जातिगत पहिचान बताइएको पाइन्छ ।
साक्ष्य : चार
छाप्रोको छानोमा एउटा सेतो टाउको भएको बिरालो देखा प¥यो । बतहिया राति त्यसैमा चढेर निस्कन्छे र गाउँका असावधान व्यक्तिहरुको सुतेको मौका पाएर रगत चुस्छे । तिघ्राको मेटिन लागेको एउटा नीलो डाम देखाएर सान्नानीले मलाई भनी हेर, हिजो राति मलाई बोक्सीले चुसेको । (पृ. २२६)
यस साक्ष्यमा ‘म’ पात्र र कथाकी सान्नानी एक दिन घुम्न निस्कन्छन् । सोही समयमा सेतो टाउको भएको बिरालो देखा पर्छ, त्यस बिरालोलाई कथाकी सान्नानीले बतहिया यसैमा चढेर निस्किने गरेको, गाउँका व्यक्तिहरु सुतेको मौका छोपेर रगत चुस्ने गरेको भन्दै सान्नानीले आफ्नो तिघ्राको डाम देखाउँछे । यसैले, यसमा जातीय अन्धविश्वासको संस्कारलाई पहिचान गराइएको छ । यस प्रसङ्गमा कथाको ‘म’ पात्रले कुनै प्रतिक्रिया नदिएकोले उसमा पनि यस्तो संस्कृति रहेको थाहा पाउन सकिन्छ ।
६.३ ‘सान्नानी’ कथामा जलवायु र भूगोल
सान्नानी कथाको वर्णित भूगोल मुख्य गरी मध्य देहातको ठाउँ रहेको छ । यद्यपि ‘म’ पात्रले आपूm जन्मेको, हुर्केको वनारसको प्रसङ्ग र बाबाजीको अखाडा भएको गोसाईंस्थानको समेत चर्चा गरेको पाइन्छ । सान्नानी कथाको प्रसङ्गमा पीतवर्ण बालक एक्कासि शहरबाट चुँडिएर मध्य देहातको विराट् संसारलाई हेर्छ । त्यहाँको स्थानको फैलाव र नीलो आकाशको विस्तीर्णतासमेत पाउँदछ । यसको प्रसङ्ग कथामा यसरी आएको छ ः
साक्ष्य : एक
स्थानको कत्रो फैलाव, नीलो आकाशको कत्रो विस्तीर्णता । (प. २१८)
यस साक्ष्यमा ‘म’ पात्र जन्मेर हुर्केको ठाउँ भनेको शहर हो । तर, ऊ देहातमा परिवारका साथ स्थानान्तरण भएको छ । उसले त्यस देहातको नयाँ ठाउँ अनौठो पाउँछ । देहातको भूगोलले उसलाई अचम्मित पार्छ । आँखाले देखेसम्म जमिनको फैलावट र आकाशको विस्तीर्णता पाउँछ । जसको फलस्वरूप ऊ एक्लो महसुस गरी आमासँग टाँस्सिन पुगेको पाइन्छ ।
यसमा भौगोलिक सीमामा पाएको फरकले डर भित्रिएको छ । उसले देहातमा सडक शहरको जस्तो पाउँदैन । वायु त्यस्तै निर्गन्ध, काशीको हावाभन्दा बिल्कुल फरक, नालापनालाको गन्ध, चिसो गल्ली र घामले तातेको अटालिका, मिठाईको ग्वालाहरुले ठूल्ठूलो कराईमा तताइराखेको दूधको गङ्गाजीपारिको बालुवाको गन्धले भरिएको विभिन्न आत्मीयताको न्यानो लिएर बग्ने वनारसको हावा नभएको वर्णन गरेको छ ।
साक्ष्य ; दुई
खोमचावालाले चाट बेच्दै हिँडेको पुरानो शिशी, बोतल किन्ने मानिसको लेघ्रो तनाई, माग्नेहरुको आर्तनाथ, पानवाला, मिठाईवाला, सियो, धागो, सिन्दूर बेच्ने बाक्सावाला, हिँग र मेवा किन्छौ कि भन्दै हिँड्ने कावुलीवालाहरुका विभिन्न तीव्रता र सुरका पुकारहरुको सम्मिलित ध्वनि । (पृ. २१९)
यस साक्ष्यमा भौगोलिक कारणले जातमा सांस्कृतिक, आर्थिक र सामाजिक विविधता पाइन्छ । ‘म’ पात्रले वनारसको गल्लीको ध्वनि भित्री कानले सुन्दछ भने बाह्य कानले देहातको जातीय अभिलक्षण पाउँछ । त्यसैले, कथामा खोमचावालाले चाट बेच्दै हिँडेको, कबाडी माग्दै हिँडेको, मान्छेको आवाज, माग्नेहरुको र सामान बेच्नेहरुको ध्वनिले समेत उपस्थित गराई सहजरुपमा देहातको जातीय पहिचान गराइएको छ ।
साक्ष्य : तीन
ढुङ्गाका घर, ढुङ्गाका सडक, ढुङ्गाका घाटहरु, त्यहाँको जीवनको चारैतिरका दृढ, स्थिर, प्रस्तर आधार– ढुङ्गा । यहाँ गाउँमा केवल छ खुकुलो माटो, जो सानो हावाको झोँकामा पनि फुकिन्छ र जताततै छाप्छाप्ती भएर झर्छ । (पृ. २२०)
यस साक्ष्यमा यसमा ‘म’ पात्रले वनारसको अनुभव उल्लेख गरेका छन् । त्यहाँको ढुङ्गाका घर, सडक, घाटहरु देख्दा अहिलेसम्म अमिट छाप मनमा रहिरहेको बताउँछन् । उनले देहातमा पाएका खुकुलो माटोका घर, सडक र घाटहरु सानो हावाको झोक्काले छाप्छाप्ती भएर झर्ने भौगोलिक र जलवायुको चित्रण छ । काशीमा माटोले घेरेर पुष्पवाटिकामा नागरिकका लागि सजाइएर राखिएका गमलाहरुको चर्चा गरेकाले भूगोलअनुसार फरक जलवायुले जातिको निर्माणमा भूमिका खेलेको पाइन्छ ।
६.४ ‘सान्नानी’ कथामा खानपान र शारीरिक संरचना
सान्नानी कथामा पात्रयोजनाअनुसार निर्धारित भूमिकामा जाति पहिचान गर्न सहज छैन । सहज आनुवंशिक स्वरुप वा नश्लीय अभिलक्षणमा एकीकृत हुने पात्र छैनन् । यसर्थ खानपान, शारीरिक संरचनाका आधारमा समेत जाति पहिचान गर्नु जरूरी छ । कथाको सङ्कथनात्मक संरचनामा मानव दुई जातिभा विभाज्य छ– पुरूष र नारी । यसमा ‘म’ पात्र र उसको सखी सान्नानीको बालमनोविज्ञानको चिन्तन प्रवाहित भएको छ :
साक्ष्य : एक
काँचो आँप, इमली खाएर दिनभरि घाममा नुहाएर आँखा राता–राता पार्दै हामीहरु बेलुकीपख घर फर्किन्थ्यौँ– शरीरमा थकान, पीडा र जलन लिएर । (पृ. २२९)
यस साक्ष्यमा ‘म’ पात्र र कथाकी सान्नानी बालसखी हुन् । नेपाली बालबालिकाले खाने गरेको काँचो आँप र इमलीको उल्लेख छ । बालबालिककाका अभिभावकले जतिसुकै भने पनि घाममा नुहाएर राता–राता आँखा पार्ने चित्रण गरिएको छ । बालबालिकाले खेल्न थालेपछि समय र थकानका पीडाले ‘म’ पात्र पनि ज्वरोले पीडित भएको पाइन्छ । उसलाई ज्वरो आउँदा सान्नानी नजिकै बस्ने, ज्वरोले टन्केको कन्चटमा आफ्नो शीतल हात राखिदिने संस्कारले यो संस्कृति बोकेको जाति हो भन्ने बुझिन्छ ।
साक्ष्य : दुई
जङ्गली फलको खोजीमा चहारी हिँड्ने, बडहर, बेल, बयर, शरिफा, इमली, सान्नानी जसले मलाई यी फलहरुको सञ्चयको जुक्ति बताएकी थिई, रुख चढेर हाँगा लच्काएर टिप्न झटारो हानेर । (पृ. २३२)
यस साक्ष्यमा ‘म’ पात्रको बालसखी टाढा हुनलाग्दाको अनुभूति पाइन्छ । नेपाली पूर्वीय समाजमा संस्कारले ठूलो भूमिका खेल्छ । लामो समयसँग खेलेको र हुर्केको साथी सान्नानी चोलो र धोती लाएर टाढा हुन लागेको सन्दर्भ आएको छ । भेला भएर घर फर्कंदाको सम्झना, रात्रिको आलु पोलेर खाएको, जङ्गली फलको खोजीमा चहारी हिँड्ने र जङ्गली फललाई सञ्चयको जुक्ति बताइदिने, हाँगा लट्काएर वा झटारो हानेर टिप्ने प्रवृत्तिको सङ्केत छ । यसमा नेपाली वा हिन्दु जातिको धर्म, संस्कार, खानपान र पहिरनको पहिचान गरिएको छ ।
साक्ष्य : तीन
एउटी पूर्णवयस्का नारी, गाढा नीलो रङ्गको धोती लगाएकी र त्यस्तै रङ्गको चोलो, जसको माथिल्लो तुनो उधारेर एउटा काखको बालकलाई स्तनपान गराइरहेको छ र केटाकेटी उसको गोडातिर बसेर दूध–चिउरा खाइरहेका छन् । (पृ. २३३)
यस साक्ष्यमा ‘म’ पात्रले सान्नानीलाई तीस वर्षपछि खोजिरहेको सङ्केत गरिएको छ । सान्नानीको विवाह भएको, ‘म’ पात्र पढ्का लागि वनारसतिर लागेकोले लामो समयपछि सान्नानी घर आएको भन्ने थाहा पाई ‘म’ पात्र उसको घरमा गएको पाइन्छ । यसले गर्दा नेपाली जाति, हिन्दुधर्म, संस्कारको अभिलक्षण प्रवेश भएको छ ।
‘म’ पात्रले अर्धवयस्क एक युवक र पूर्ण वयस्का नारी, गाढा नीलो रङ्गको धोती लगाएर नेपाली हिन्दु नारीको पहिचान गरिएको, हिन्दु नारीको चोलाले परम्परागत भेषभूषाको सम्मान गर्न सिकाएको छ । केटाकेटी हुँदा जेजस्तो भए पनि प्रौढ हुँदा अनिवार्य लगाउनु पर्ने सङ्केत छ । उसले माथिल्लो तुना फुकालेर काखको बच्चालाई स्तनपान गराइरहेको समेत ‘म’ पात्रले पाउँछ । यसमा नेपाली आमाको मूल्य, मान्यता भित्रिएको छ । अन्य केटाकेटीहरु गोडानेर बसेर दूध–चिउरा खाइरहेको प्रसङ्ग छ । यसले गर्दा नेपाली समाजको खानपिनको पहिचानलाई जातीयरुपमा उल्लेख गरिएको छ ।
७. निष्कर्ष
विश्वेश्वरप्रसाद कोइरालाको सान्नानी कथामा ‘म’ बाल पात्रले कथाकारको प्रतिनिधित्व गरेको छ । सान्नानी उसकी बालसखीका रुपमा छे । ‘म’ पात्रले आफ्नो बाल्यकाल वनारसमा बिताउँदाको क्षणहरुको स्मरण गराएको छ । ऊ वनारसबाट विस्थापित भई पूर्वी नेपालको मध्य देहाती गाउँ टेढी दीपनगरमा पुग्छ । त्यहाँ उसले दौँतरीका रुपमा सान्नानीलाई पाउँछ । यी दुई पात्रका अतिरिक्त ‘म’ पात्रकी आमा मनुरिया, फगुनी, नजरिया आदि समेत आएका छन् ।
‘सान्नानी’ कथामा सहज आनुवंशिक गुण ‘म’ पात्र र सान्नानीको व्यवहारबाट प्रकट भएको छ । ‘म’ पात्रले आफ्नी आमाबाहेक कसैलाई विश्वास गरेको देखिँदैन । आमालाई छाडेर अरूसँग खेल्न नजानु, जातीय संस्कृतिका रुपले गोसाईंजीको ध्यान गर्नुले सहज आनुवंशिक गुणको प्रवेश छ । यसमा समान सांस्कृतिक विशेषता प्रजातिको बीचमा रहेको पाइन्छ । ‘म’ पात्र र सान्नानीको बालमनोविज्ञानले यसलाई प्रमाणित गर्छ । मुसलमान जातिको पेसागत पहिचान र बोक्सीको अन्धविश्वासले समेत समान संस्कृतिको विशेषता बोकेको छ । ‘म’ पात्र मध्य देहातमा पुग्दा सान्नानीले हात तानेर खेल्न लागेको प्रसङ्गसमेत जातीय संस्कारभित्र पर्दछ । यस कथामा ‘म’ पात्र मध्य देहातमा पुग्दा नयाँ अनुभवको भागीदार बन्छ । उसलाई त्यहाँको जलवायु र भूगोलले समेत सहज जातीय पहिचान गराउन सहयोग गरेको छ ।
त्यस्तैगरी, यस कथामा जातीय पहिचानको लागि खानपिन र शारीरिक संरचनाले भूमिका खेलेको छ । ‘म’ पात्र र सान्नानी बालसखा भएकाले फलपूmल टिप्न जाने, सहयोग गर्ने र पोसाक लगाउँदा जातीय संस्कृतिलाई आत्मसात् गरेकाले बोली, व्यवहार, चरित्र, जीवनचर्या, संस्कार र संस्कृतिको आचरणबाट प्रजातिको पहिचान गर्न सकिन्छ ।
rajendragiri191@gmail.com
(स्रोत : चितवन पोष्ट)