~वासु शशी~
यस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमा
र एउटा यस्तो क्षण उत्पन्न भयो
जब तिमी तिमी रहिनौ, म म रहिनँ
ती म र तिमीको एउटा हामी बन्यो
हामी अर्थात् एउटा आजु जिन्दगीको तेलकासामा
हामी अर्थात् एउटा बिहान पर्वत र आकाशका बीचमा
साउनले एक वर्षा पानीजस्तै
मैले अलिकति आफू तिमीलाई दिएँ
तिमी एउटा नदी बनेर देखापर्यौ
एउटा रातो नदी
र तिम्रो सिउँदमा र मेरो नसामा बग्यौ
मैले विस्तारै गीतहरू बन्द गरेँ
र तिमीलाई सुनेँ
तिमी मेरो छातीमा बज्यौ
मैले तिमीलाई हेरेँ
र सपनाहरू देख्न छाडिदिएँ
ताराहरूकी चाँदनी मैले ताराहरूलाई नै फर्काइदिएँ
फूलहरूलाई मैले तिम्रो गाला हैनन् भनिदिएँ,
मैले वसन्तलाई अब मेरो कोठामा ठाउँ छैन भनिदिएँ
तिमी एउटा साथ र अभिभूत भयौ
सिङ्गै ममा
तिमी, सिरसिरे हावा एउटा रूखमा
तिम्रो साथ, एउटा रूप एक चौटा बादलमा
म तिम्रो ओठमा देखापरेँ
मैले आफ्नो उपस्थितिलाई तिमीमा भेट्टाएँ
मैले तिमीलाई पाएँ
र लौ, यो सारा संसारका प्रति भयाल लगाइदिएँ
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )