~वासु शशी~
मेरो रात, मेरा सपनाहरूबाट
मुक्ति देऊ मलाई !
म केवल सुत्नलाई पल्टेको हुँ
लछार पछार नगर निद्राभित्र मलाई !
म कुनै शिकार खेल्दिनँ
यस वापलाई हटाइदेऊ !
सित्तै गए जाउन मेरो आँखाहरू
निभाइदेऊ यो क्यै देखानपार्ने बत्तीलाई !
मरीचिकाका विषयमा क्यै भन्नु छैन
प्यासबाट यसकै
छुट्टी देऊ यस मृगलाई !
लहरहरू नहुनु पनि नदीको सौन्दर्य हो
र बिनाछाल पनि बग्छ, बग्छ यो
बग्न देऊ यसलाई !
थाकेको शिर बिसाउनै परे
ढलिदिन्छ यो रूख
एक्लै, बिल्कुल एक्लै उभिन देऊ यसलाई !
हुरी चल्छ, आँधी आउँछ
उड्न देऊ, यो बगर
उड़ाएर बस्छ आफूलाई !
अरू क्यै होइन, अरू क्वै होइन
मुक्ति देऊ आफूबाट
आफूबाट मुक्ति देऊ मलाई !
यो नर्सिसस, यसलाई
यसको छायाँबाट मुक्ति देऊ,
मुक्ति देऊ आफ्नै छायाँबाट मलाई !
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )