कविता : खोज्दा खोज्दा मैले यो बिर्सेँ

~वासु शशी~Basu Sashi

खोज्दा खोज्दै मैले यो बिर्से
कि म के खोजिरहेको छु –
मलाई बत्तीहरू देऊ
मैले आफ्नो स्मृतिलाई देख्नु छ
आफूलाई हेर्नु छ
र यस रातलाई उज्यालो पार्न छ !

जो पाइएन त्यसले
जो छन् ती सबलाई निरर्थक तुल्याइरहेछ !
म सहन सक्तिन
कि म यी मेच-टेबुलहरूमा वितेर जाउँ !
कदाचित् मानिसदेखि पारी जानलाई
म रवाना भएको थिएँ !
मैले जे जति छोएँ
ती सुवर्ण बने !
किन्तु त्यसैले मेरो स्पर्शलाई
बस्तुको उता जान दिएन !
( यी जो जुत्तामा मेरा खुट्टा परे
मलाई धापमा गाडिएजस्तो भयो )
बत्तीहरू देऊ बत्तीहरू देऊ –
गुमसुम यस अँध्यारो-उज्यालो रात जो आई बसेको छ यहाँ
यसमा कदाचित आज त्यो आउने हो
जसको नहुनु ममा उकुसमुकुसाइरहेछ

लौ, पोखरीमा परेको मेरो मायाबाट पनि
म भित्र गएँ –
जरूर म अस्तित्व देखि पर पुग्छु
र त्यसलाई जसलाई मैले बिर्से
म आफ्नो उपस्थिति सुम्पिदिन्छु !
मलाई बत्तीहरू देऊ,
मलाई बत्तीहरू देऊ

(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.