~वासु शशी~
म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ
यस टेबुललाई जस्तै, यी बालबच्चालाई जस्तै
यो अवश्य धरतीमा हराएर जानेछ,
मभित्र सुकेर जानेछ ।
चाहे म झलमल्ल उज्यालो पारेर राखूँ
चाहे चिम्झिरहूँ
यो निरपेक्ष मेरो उमेरजस्तै बितेर जानेछ ।
यो बम खसाल्न तयारहरू पनि निदाए कि जस्तो रात,
यो रोगी र भोकाहरू पनि सुते कि जस्तो रात
सम्भवतः जिन्दगी भयमुक्त हुनेछ
यस रातलाई समातेर बचाउन सकिए,
यस अन्धकारलाई सेफमा भरेर राख्न सकिए ।
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )