~विजय मल्ल~
प्रिये, त्यो दिन सम्झँदा
तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ।
अहिले चीसो हावाले कानमा सरसराएर भनेको
तिमीले बोलेजस्तो लाग्छ ।
पर्वतको अविच्छिन्न मालालाई हेरेर
विस्मयलाई अँगालेजस्तो हात बाँधेर
भनेकी थियौ – यसको पार पाइन्छ ?
मैले भनेथेँ-पाइन्छ ।
बागमतीको नागबेलीलाई हेरेर
अनिश्चितताले औँला टोकेझैँ
तिमीले त भनेकी थियौ – यसको मूल भेटिएला ?
मैले भनेथेँ –भेटिन्छ ।
पहाडलाई चुम्बन गर्न लागेको गुलाबी बादललाई
संकेत गरी तिमीले भनिथ्यौ – यसलाई समेट्न सकिएला ?
मैले भनेथेँ – सकिन्छ ।
त्यसो भए – मैले भनेथेँ-ब्रम्हाण्ड नै सानो हुनेछ
तिमीले एकफेरामात्र हाँसे।
…………………………………………..
(शारदा, १३।८, मार्ग २००४ )
(स्रोत : ईश्वर बरालद्वारा सम्पादित साझा प्रकाशनबाट वि.सं. २०१२मा प्रकाशित कविता सङ्कलन ‘हिमालचुली’ बाट सभार)