~भुवन ढुङ्गाना~
आत्मबोधको पीडाले
अचेत
एक मध्याह्रनमा
पीडा
म तिमीसँगै सुतेकी थिएँ
कतै लाग्यो
पीडा खुर्केर
बोक्रा ताछेर
पहेँला आलुसरह
म पनि यी लुगाहरूले
नबेरिएकी हुँदी हुँ
लज्जित
भयभीत र आतङ्कित
पीडा
म तिमीलाई छाम्न पुगेछु
तिमी टाँसिएछौ
जुकासरह
र, रगत चुसिरहन्छौ
हठात्
झिँगाको स्वरले
ब्युँझाइदिएछ पीडा
मध्याह्रनमा
मानौँ मलाई सम्झाइरहेछ
तिमी ज्युँदै छौ