~रुद्रराज पाँडे~
गगन्मा छ क्यै हेर नक्षत्र शेष
लिई रात्रिले श्वेत वैधव्य भेष ।
भनूँ क्यै भने छैन फुर्सत् मलाई
सलाम् गर्दछु तैपनी जानलाई ।।१।।
मा जान्छू बसे साँझमा अउनेछू
पछी फेरि यै काखमा राखनेछू ।
नमाने रती शोक दिनभर् तिमीले
कसैको पनी जान्न दिन् एक रीतले ।।२।।
गुलाफी भयो पूर्व अकाश हेर
कराऊँन थाले कुखूरा ति धेर ।
सबै थाह पाऊँदछन् हुन्छ लाज
विदा द्यौ तिमी सूर्यभर् मात्र आज ।।३।।
न मुर्झाउ हा शोकले छट्पटाई
गरुँला लहड् साँझमा फेरि आई ।
तिमी राख मनभित्र यो बात नित्य
म तिम्रै हूँ छाडनेछैन सत्य ।।४।।
झिकी भारि घुम्टो गरी सुँक्क सुँक्क
पछयौरा लिई पोछ्दछयौ के सुरुक्क ।
विदा द्यौ मलाई तिमी झट्ट बोली
रहन्छयौ कती बेरसम्मन् नबोली ।।५।।
चरा बोल्न थाले बसी वृक्षमाहाँ
सबै हिंड्न थाले जमी गल्लिमाहाँ ।
नल्यौ चित्तमा भेटको क्यै निराश
म तिम्रै जनमभर् बनेकै छु दास ।।६।।
नछाड भन्छ यो चित्त ता तड्फडाई
उदाऊँन थाले रवी झल्मलाई
कसोरी म छाडूँ तिमीलाई ऐल्हे
बिदा द्यौ तिमी चित्त बाँधी करैले ।।७।।
नरोऊ तिमी आँसु बरबर् खसाली
रहू प्रेमले चित्तलाई समाली ।
जसै पर्न जाला घुमी फेरि रात
गरुँला अनी प्रेम छायेर बात ।।८।।
बित्यो रात ता भारि गाना लहडले
वियोगी बनायो भरेसम्म यस्ले ।
नबिर्से चिनो राख यो औंठि मेरो
तिमीले पनी द्यौ चिनो क्यै पियारो ।।९।।
चिनो साटि झट्पट् गरी अङ्कमाल
चढी बग्गिमा रेशमी ली रुमाल ।
विदा दी जसै प्रेमले बाँधि चित्त
खुशी भै गयो सब् उडायेर वित्त ।।१०।।
(स्रोत : कविता सङ्कलन कृती “सूक्तिसिन्धु (फेरि)”, जगदम्बा प्रकाशन, २०२४ बाट सभार)