समीक्षा : लिम्बू लोकपद्यमा केसामको अध्ययन

~मधुराज केरुङ~

१. विषयप्रवेश

लिम्बू लोकपद्यमा विभिन्न प्रकारका छन्दहरू छन् । अहिलेसम्मको खोज अन्वेषणमा चौध पन्ध्र वटाभन्दा बढी लिम्बू लोकछन्दहरू पाइएका छन् । हाक्पारे, पालाम्, ख्याली, नुवाप्मा र ताम्के, तुवाहरूजस्तै केसाम पनि एक किसिमको लिम्बू लोक छन्द हो । लिम्बू लोकगीत केसामको विषयमा कुरा गर्दा ‘के र केलाङको अलिकति प्रसंग नजोडिकन केसाम छन्दको कुरा पूर्ण हुँदैन । के, के–लाःङ र के–सामको अन्योन्याश्रित त्रिपक्षीय सम्बन्ध रहेको पाइन्छ । ‘के’ भनेको च्याब्रङ, लाःङ भनेको नाच र साम भनेको गीत हो । यदि के–लाःङबिना के–सामको कुरा गरियो भने बिनामष्तिस्कको मानिसको चेतनाको कुरा गरेजस्तो मात्र ठहरिन आउँछ । सामान्यतया के–लाःङ नाच्दा गाइने किसिमको लोक गीतलाई नै के–साम भनिएको हो । के–साम गीत विवाहकर्म, नयाँ घरमा सर्दा र विभिन्न उत्सव र पर्वहरूमा अवशरवस के–लाःङ सँगै गाइने गरिन्छ । यो गीत गाउँदा घरको मूल खम्बामा जाँड, रक्सि भरिएका बोतल, काँसको थालमा चामल, दियोकलस, तितेपाती र फूलहरू राखिन्छ र मूल खम्बा वरिपरि च्याब्रुङको तालमा बिस्तारै गाउँदै घुम्ने गरिन्छ । यसको व्युत्पतिका सन्दर्भमा अनेक आख्यान, जनश्रुति, मिथक र किंवदन्तीहरू छन् ।

यसै सन्दर्भमा च्याब्रुङविद आईत खजुमका अनुसार “मुन्धुममा वर्णित आख्यानलाई आधार मान्दा सर्वप्रथम हाल ताप्लेजुङको लेलेपको केधिङ तेम्बेमा साप्री र लेम्ब्री भन्ने दुई मानिसहरूले नै सर्वप्रथम ‘के’ बनाएका हुन्, मुन्धुममा केसामको बेग्लै गायक पाँइदैन मुन्धुममा पाइने सर्वप्रथम गायकहरू: साम्केलो केलो केवाफुङ, साम्केलो केलो साम्लोतिबा, साम्केलो केलो साम्लोअक्तबा, साम्केलो केलो साम्लोखाङलाङबा, साम्केलो केलो साम्लो फु?लुम्बा, साम्केलो केलो साम्लो पइनाबा नै हुन् त्यसैले केसामको गायक पनि यिनीहरू नै हुन्’ । यसरी ‘के’ को निर्माणपछि समयान्तरमा केसाम गाउन थालिएको कुरा सहजै अनुमान लगाउन सकिन्छ । अत्यन्तै मार्मिक र लयबद्घ के–साम गीत च्याब्रुङको तालमा ‘कुसरक्पा’ नाचसँग मात्र गाउन उपयुक्त हुन्छ । यस गीतमा पनि पालाम् र हाक्पारेको जस्तै प्रमुख गायकले पहिले सुरु गर्छ र अन्य सहभागीहरूले एक–एक लाइनमा कोरस (पहिलो गायकको कुरामा सहमति जनाउँदै सर लै सर सर लै सर भन्छन्) हाल्छन् र प्रत्येक पंक्तिको टुङ्ग्याउनीमा ‘सर लै सर’ को ‘काफेक्वा’ (अन्त्यानुप्रास) मिलाउँछन् । यसमा वृद्घ–वृद्धा, तरुण–तरुणी सबै उमेर समुहकाहरूले सामुहिक रुपमा केसाम गाउने गर्छन् ।

कुनै उमेर र लिङगको छेकबार हुँदैन । आवश्यकता, प्रसंग र कथानुसार गीतमा मुन्धुमी दृष्टिकोणले निर्माण गरेको तर्क मात्र अघि सार्ने गरिन्छ । मुलतः सृष्टि वर्णन, मायाप्रीति, प्रेम, फूल, जोवन र यौवनका सन्दर्भहरू आउने गर्छन् । केसाम गाउनेहरूबीच मुन्धुमी सवाल­जवाफमा अनेक आनेक तर्क वितर्कहरू हुने गर्छन् । आफ्नै मुन्धुमी भाषा, मौलिक भेषभूषा र गरगहनामा सजिएर याक्थुङहरूको कथा गाथाहरू गाउँदा याक्थुङ सभ्यताको गौरवान्वित इतिहास सुनिन्छ । याक्थुङहरूको आदिम बाजा च्याब्रुङको तालमा नाच्दै केसाम गाउँदा एक किसिमले अनुभूतिको गहिराइमा पुर्‍याउँछ र याक्थुङ सभ्यताको बोध गराउँछ ।

२. छन्दको परिचय

नेपाली बुहत शब्दकोशका अनुसार “यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित मान वा रुप, त्यसरी गठन हुने विभिन्न किसिमका विभिन्न वाक्यलाई छन्द भनिन्छ” । नेपाली साहित्यमा छन्दलाई जम्मा चार प्रकारमा विभाजन गरिएको पाइन्छ । शास्त्रीय छन्द अन्तर्गत वार्णिक र मात्रिक छन्द पर्दछन् भने लोकछन्द अर्थात जातीय छन्द अन्तर्गत हाक्पारे, पालाम्, ख्याली, नुवाप्मा, देउडा, सवाई, झ्याउरे र भजनहरू पर्दछन् । मुक्त छन्द अन्तर्गत गद्यात्मक र पद्यात्मक छन्दहरू पर्दछन् भने आगन्तुक छन्दमा गजल, रुवाई, हाइकु, ताङका र सायरीहरू पर्दछन् । इतिहासमा नेपाली साहित्यको उज्यालो विहानी छन्द साहित्यबाट नै शुभारम्भ भएको पाइन्छ । यसको गतिलो प्रमाणको रूपमा मुन्धुमका सबै श्लोकहरू र प्रायः सबै वेदहरू छन्दोबद्व हुनु हो । छन्दले कवितालाई निश्चित सिमाङकन गरेर बाँध्ने, रक्षा गर्ने काम गर्दछ । छन्दको इतिहास मानिसको लयात्मक अभिव्यक्तिसँग जोडिएको देखिन्छ । मानिसका लयात्मक भावहरूलाई नियमित गराउने बाह्य तत्व अथवा लयात्मक अभिव्यक्ति कला नै छन्दको प्राण हो भन्न सकिन्छ (भण्डारी र पौडेल २०७५: ९३) ।

नेपाली लोकजीवनमा ‘छन्द न बन्दको कुरा’ वा ‘छन्द न बन्दको मान्छे’ भन्ने चलन छ । यसले नियमसङगत नभएको, लय नमिलेको वा गति, यति एवम् सन्दर्भसँग नजोडिएको भन्ने अर्थ दिइरहेको छ । यसका आधारमा हेर्दा पनि छन्द शब्दले अनुशासन र आनन्द दुवै कुराको अपेक्षा गरेको पाइन्छ (नेपाल २०७७: २११) । यद्यपी नेपाली काव्य जगतमा गद्यात्मक र पद्यात्मक कविताको बारेमा थुप्रै विवाद र विमर्शहरू आजपर्यन्त भइरहेका छन् । अतएव: छन्द साहित्यको यति दीर्घ परम्परालाई नकार्न खोज्नु स्वय स्रस्टाहरूको नै काव्यप्रतिको बेइमानी हो । छन्दमा मात्र साहित्य सिर्जना गर्ने स्रस्टाहरूले पनि गद्य कविहरूलाई कमजोर र बेप्वाकको ठान्नु, गन्दै नगन्नु झन् साहित्यिक असहिष्णुपन हो । जसरी पनि कविहरूले कविता कर्म गर्ने हो । रचनाहरू गद्यमा होस् चाहे पद्यमा होस् कसरी सुन्दरतम काव्य सिर्जना गर्न सकिन्छ भन्ने विचारले त्यतातिर ध्यानोन्मुख हुन आवश्यक छ । यसरी विश्वव्यापी रूपमा नै प्रचलित छन्दहरूको अस्तित्व कायम रहनुपर्दछ । यो हाम्रो नेपाली वाङमयको अनमोल सम्पति हो । हाम्रो प्राचीन ग्रन्थहरू पनि छन्दमा हुनु र प्रायः सबै लोकसाहित्यका विद्याहरू पनि छन्दमा नै पाइनुले छन्दको इतिहास कति पुरानो र महत्व कति छ भन्ने कुरा सु­स्पष्ट हुन्छ ।

३. केसाम छन्द

के–साम एकप्रकारको लिम्बू लोक छन्द हो । के–साम पनि अन्यान्य लिम्ब लोकछन्दहरूजस्तै नियमबद्घ हुन्छ । यो छन्द पनि आफ्सेआफ निर्माण भएको पेन्युक (छन्द) हो । याक्थुङ पेन्युक्हा? (२०४८) ले पेन्युक नामाकरण गरेअनुसार के–साम गीत ८ अक्षरको हुन्छ । यसमा विभिन्न अलङ्कार, रस, उपमा, रुपक र छन्दयुक्त हुन्छ । दृष्टान्त स्वरुप हिम ‘के’ (थक्थाम्मा) गर्दाको संक्षिप्त केसाम निम्नानुसार प्रस्तुत गरिएको छ –

दृष्टान्त:
हुक्फाक्वा सिभाक खेङबासे
पङजिरी पङवा तेङबासे
सेमिक्ला सिघक् फा?लआ
आनि?ग चुम्से आल्लआ
सोखुदो थाम्मा लिम्मोओ
तुम्याहाङ यम्बा हिम्मोओ
च्वा पक्वा नुमेन् आभाङे
हिम्सिगाङ आनि आधाङे
हेम्बारि हेप्लेक खुङमेओ
हाङजिरी सिलाङ पुङमेओ
इक्सादिङ खाम्बेक खाम्मेत्नु
अक्वाना माङमेन् साम्मेत्नु
नाहेन्दिङ मिक्सो एःप्तेर्रो ।
नेत्तिगेन् फुङवा चाङघते?रो ।। सरलै सर (याक्थुङबा, २०४८: ५९)

पेनी भावानुवाद–
दौतरी साथीहरू हो ।
निगालो काटी बाँसजस्तै
अब त हामी साथी हो ।
उखुको रस गुलियोमा पल्किएर
घरको ठूलो घरमूली
पवित्र पानी बाँध्यौँ
घरभित्र हामी पस्यौँ
दोसल्ला घुम्लुङ्ग ओढेर
सम्मानित खाँबो फेदमा
पृथ्वी धरती माटो मान्दै
अक्वाना देवतालाई मान्दै
ईर्ष्या डाहा थिची लैजाऔँ
घरधनीको जगजगी उठाऔँ लैजाऔँ । सोरलै सर ।

माथि नै केसामको नेपाली भावानुवाद पनि गरिसकिएकाले थप ब्याख्या गरिरहनु आवश्यक छैन । त्यस्तै यहाँ पान्थर फालेलुङ गाउँपालीका वडा नं. ४ हाल, फेदेन–५, गडि निवासी केलाङ् साँस्कृतिक समाजका अध्यक्ष मनकुमार केरुङका अनुसार विवाहमा बेहुला बेहुलीलाई आशिस दिँदा यस्तो के–साम गाइन्छ –

दृष्टान्तः
के–लाःङ नु के–साम साम्मेमार
नेत्तिगेन् फुङवा चाःङमार
ताक्चेप्पि फेजा साघकि आ
नेत्तिरे फुङवा ता?धकिआ
माङगेन्ना येबो खुङसिर
लाहेक्के नामहेक्के युङसिर
सिगेवा फुङग चाङचाङलो
नेत्तिगेन फुङवा थाङथाङलो, सरलै सर ।

पेनी भावानुवाद–
च्याब्रुङ नाच र केसाम गाउँदै
जीवनको फूल जगाउँदै
मासु है काटी खुकुरीले
जीवनको फूल फुलाउँदै
शिरमा मैनाम ओडेर
जूनजस्तै घामजस्तै भइरहुन्
सिगेवा फूल त जगजगी है
जीवनको फूल जगाउँदै है, सरलै सर ।

उपर्युल्लिखित सोदाहरणबाहेक अहिले लिम्बू साहित्यका विभिन्न कृतिहरूमा पनि केसाम छन्दको पर्याप्त मात्रामा प्रयोगहरू भइरहेका छन् । विभिन्न स्रस्टाहरूले सिर्जेका नाटक, कविता, खण्डकाव्य र महाकाव्यहरूमा पनि यस छन्दको पर्याप्त मात्रामा भएको पाइन्छ ।

जस्तै: महाकवि थाम्सुहाङ पुष्प सुब्बाको महाकाव्य ‘मख्खिवा फूङ’मा प्रयुक्त केसाम छन्द यसप्रकारको छ ।

केवाबा लाजे? सिङ्बुङ्हा?
केनम्बा च्यजि ताम्भुङहा?
इसिके अम्बा नेलापा
कप्नाबेन् केरेक्क नेयाक्पा ।

बुद्वहाङ नेम्बाङको महाकाव्य ‘मुक्कुमभुङ’मा प्रयुक्त केसाम छन्द:

सावागेन् युक्पुङ्गेम्बान् मु
साम्याङ्वा प?लुङ् लेप्पी मु
ख्यामेङ सुङ् मत्ति मत्ति ई
ख्या लाङ्योक थक्की थक्की ई
सरलै सर सरलाई सर ।

बस्तुतः अहिले लिम्बू लोकछन्दहरूको प्रयोग कृतिहरूमा बढिरहेता पनि नयाँ पुस्ताका लिम्बू लिम्बुनीहरूले केसाम गाँउन भने बिर्सिँदै गइरहेका छन् । याक्थुङ समुदायमा केसाम गाउने तरुण­तरुणीहरूको खडेरी लाग्न थालिसकेको छ । अब याक्थुङ लोक नृत्यगीत केसाम पनि केवल पुस्तकहरूमा मात्र सिमित हुँदै गइरहेको छ । केसाम छन्दलाई जिवन्त राख्नको लागि स्वयम लिम्बू लिम्बुनीहरूले मात्र होइन, हाम्रो समाजमा बसोबास गर्ने सबै बर्ग र समुदायका मानिसहरूले सिकेर गाउन जरुरी देखिन्छ । किनकी केसाम समग्र नेपालीहरूकै साँस्कृतिक सम्पति हो ।

४. केसामको महत्व

मुन्धुमी सभ्यतामा के–साम केवल गीत मात्र होइन, च्याब्रुङको अद्भुत शक्ति पनि हो । च्याब्रुङकै आवाजले घरको धमिराहरू थर्किएर मरेको किंवदन्ती पनि छ । के–साम गाउँदा ‘के’ उत्पत्तिको आख्यान र यससँग मानवजीवनको सम्बन्धित अनेक किस्साहरू आउँछन् । नयाँ घर बनाएपछि घरको रक्षक देवता सेअक्लुङ अक्वानामा माङ्लाई घरको रक्षा गर्नु भनेर मानमनितोसहित च्याब्रुङ नाच्दै अक्वानामालाई मनाउँदै के–साम गाइन्छ । घर बाँध्ने (हिमखेङमा) गर्दा मुधक थकनाम (माउ धमिरा) नलागेस्, दैवी तथा प्राकृतिक प्रकोपहरू आउन नदिन, मुन्धाङ सेरी (चट्याङ), साम्हिक सुरित (आँधी बतास), वाहिकतुङहिक (मुसलधारे पानी), छेक्ने विश्वासकासाथ के–साम गाइन्छ । विवाह (तेन्धाम मेख्खिम) गर्दा बेहुला बेहुलीको जीवन सुखमय बितोस् । यो जुनिमा मात्र होइन, अर्को जुनिमा पनि छुट्नु नपरोस् । सगरमाथाजस्तै सधैँ अटल र फुलेको फूलजस्तै सधैँ जगजगी रहोस् । जनधनको लाभ होस्, यश कीर्ति कमाउन भनेर आर्शिवाद प्रदान गरिन्छ । च्याब्रुङ नाच्दै के–साममा बेहुला बेहुलीलाई शुभकामना तथा हार्दिक बधाई ज्ञापन गरिन्छ ।

शुभ कार्यमा मात्र के–साम गाइन्छ तर दुखको कार्यमा भने वर्जित नै गरिन्छ । स्वभाविक रूपले के–साम गीत र यसको सांगीतिक महत्व उच्चतम् कोटीको हुन्छ नै । मूलत: याक्थुङ जातिको जीवन दर्शन मुन्धुमले निर्देशित गरे अनुरुप हुने भएकोले सामाजिक परम्परा, रितिरिवाज र मूल्यमान्यताहरू मुन्धुममा आधारित हुन्छन् । अतएव, मानवीय जीवनमा गीतको अत्यन्तै अहम भूमिका हुन्छ । के–साम गीतको अजस्र स्रोत पनि मन्धुम नै हो । त्यसैले लोक जीवनमा के–साम गीतबाटै आस्था, विस्वास र ज्ञानहरु पुस्तान्तरण भइरहेको हुन्छन् । विभिन्न कार्यहरूमा गाइने के–साममा शदियौँदेखि संगालेर राखिएका अनुभव, कला र दर्शनहरू के–साम गीतबाटै अभिव्यजित हुन्छन् । लिम्बुवानको गाउँबस्तीहरूमा च्याब्रुङको आवाज र के–सामको गुञ्जायसले नेपालको साँस्कृतिक विविधताको गतिलो प्रमाण दिन्छ । गाउँबस्ती डाँडापाखामा गञ्जिने के–सामले मौलिक नेपाली गीत संगीतको पनि परिचय दिन्छ । ‘के’ र के–सामको महत्व सर्वथा र विश्वजनिन छ । तर अझैसम्म राम्ररी यसको महत्ताबोध गर्न सकिरहेका छैनौँ । यदि के-साम लोप भएर गयो भने हाम्रो अत्यन्तै ठूलो ज्ञान परम्परा पनि समाप्त भएर जानेछ । केसाम समान्त भएको खण्डमा इतिहास मुन्धुम र त्यसले बोकेको जीवन दर्शन पनि लोप भएर जानेछ ।

५. निष्कर्ष:

केलाङ नाच्दा गाइने नृत्यगीतलाई नै केसाम भनिन्छ । यो गीत विभिन्न उत्सवहरूमा च्याब्रङको तालमा नाच्दै गाँउने गरिन्छ । केसाममा मुन्धुमले निर्माण गरेको बैश्विक दृष्टिकोणहरूको आधारमा प्रसंगवश विविध विचारहरू अभिव्यक्त हुन्छन् । अत्यन्तै हर्षोल्लासपूर्ण रुपमा नाच्दै गाइने यस गीतमा ओठे सवाल­जवाफ पनि गर्ने गरिन्छ । यसमा जुनसुकै वयका मानिसहरूले पनि गाउन सक्दछन् । उमेर र लिङगको कुनै छेकबार हुँदैन । जीवन, जगत, यौवन, फूल, मायाप्रेम अनेकानेक विषयका गीतहरू गाइन्छन् । विशेषतः यो गीत लिम्बू समुदायले परम्परादेखि नै मौखिक रुपमा उत्जिवित राख्दै ल्याएका हुन् । अहिले तमाम लिम्बू लोकसाहित्यहरू सिःलाम (मृत्युपथ) तिर उन्मुख भएका छन् । यसको प्रमुख कारकतत्व राज्यको एकल भाषिक नीति र स्वयम् स्वजातीहरूमा चेतनाको कमी हुनु नै हो । राज्यले सुनियोजित रुपमा भाषाको हत्या गरेपछि स्वत: साहित्यको पनि मृत्यु हुन्छ । युनेस्कोका विद्वानहरूले भविष्यवाणी गरिसकेका छन् “यो शताब्दीको अन्त्यसम्ममा केही शासकहरूको भाषाबाहेक अधिकांश भाषाहरू ठाडै जान्छन् ।” यसको सिकारमा फेरि पनि लिम्बू भाषा पर्‍यो भने केसाम गीतसँगै बचेखुचेका सबै लिम्बू लोकसाहित्यहरू पनि ठाडै जानेछन् ।

लिम्बू भाषा बोल्दा असभ्य, जंगली, भूसतिघ्रे, अगतिलो भन्ने अनि अंग्रेजी, चाइनिज, र हिन्दी भाषाहरू बोल्दा मात्र सभ्य र गतिलो भन्ने । राज्यले नै जर्बजस्ती यस्तो मानसिकताको बिकास गरिदिएपछि कस्ले बोल्छ त लिम्बू भाषा ? कस्ले गाउँछ त केसाम गीत ? अनि कसरी बाँच्छ त लोकसाहित्य ? के (च्याब्रुङ) बिना केसाम गाइँदैन । त्यसैले राज्य पक्षबाटै च्याब्रुङ संरक्षणको वैज्ञानिक नीति अवलम्बन गर्न जरुरी छ । यी तमाम मूर्त ­अमूर्त साँस्कृतिक सम्पदाहरूलाई समयोचित रुपमा व्यवस्थापन गरेर साँस्कृतिक उत्पादनतिर ध्यान जान सकेको खण्डमा गतिलो आर्थिक उपार्जन पनि गर्न सकिन्छ । युग युगान्तरसम्म केसाम पनि बाँच्छ र समग्र नेपाली संस्कृति पनि वैभवशाली हुने कुरामा दुई मत छैन ।

६. सन्दर्भ सामग्री

  • आङदेम्बे, तेजमान, (२०६९), भाषा संस्कृति र इतिहासका क्यान्सरहरू, काठमाडौँ: दिलविक्रम आङदेम्बे
  • केरुङ, मधुराज, (२०७७), केसामको कहानी, ब्लास्ट दैनिक, अंक २५ श्रावण, धरानः पूर्व क्षितिज प्रकाशन प्रा.लि. ।
  • खजुम, आइत, (२०७१), च्याब्रुङको नालीबेली, सुनसरी: विश्व याक्थुङ मुन्धुम समाज
  • चेम्जोङ, इमानसिंह, (२०४१), किरात इतिहास र संस्कृति (अनु, शेर बहादुर इङनाम), डिल्लिबहादुर लिबाङ
  • नेपाल, देवी, (२०७४), छन्द पराग, (चौथो संस्करण) काठमाडौँ: ऐरावती प्रकाशन
  • नेपाल, देवी, (२०७७), नेपाली छन्द कविता: परम्परा र प्रवृत्ति, (काव्य विमर्श) काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान
  • नेम्बाङ, बुद्वहाङ, (२०७७), मुक्कुमभुङ, पान्थर: याक्थुङ प्रज्ञा प्रतिष्ठान
  • पोखरेल, बालकृष्ण, (२०५०), नेपाली बृहत शब्दकोश, (दशौं संस्करण) काठमाडौँ: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  • भण्डारी, पारसमणी र पौडेल, माधवप्रसाद, (२०७५),साहित्य शास्त्र र नेपाली समालोचना ,काठमाडौँ: विधार्थी पुस्तक भण्डार
  • याक्थुङबा, हाङवासाङ, (२०४८), याक्थुङ पेन्युखा, पाँचथरः रूपनारायण लाओती
  • याक्थुङबा, हाङवासाङ, (२०६८), केलाङमा केसाम र औचित्य (फिदिममा प्रस्तुत कार्यपत्र) ।
  • सुब्बा, थाम्सुहाङ पुष्प, (२०४८), माख्खिवा फूङ, पान्थरः गोपीमाया चबेगू पान्थर, फेदेन

लेखसार

यस आलेखमा लिम्बू लोकपद्यमा केसाम छन्दको अध्ययन गरिएको छ । अन्यान्य लोकछन्दहरूजस्तै केसाम पनि विशिष्ट र मौलिक किसिमको लिम्बू लोक छन्द हो । अहिले लोपोन्मुख अवस्थामा पुगेको यस छन्दलाई पुनः उत्थान गर्न जरूरी देखिएको छ । यस आलेखको अध्ययनको क्रममा लिम्बू समुदायमा गएर स्थलगत (फिल्ड स्टडी) रूपमा अध्ययन गरिएको हो । यसमा आवश्यकतानुसार प्राथमिक र द्वितीयक दुवै प्रकारका सामग्रीहरूको यथोचित प्रयोग गरिएका छन् । ‘के’, ‘केलाङ’ र ‘केसाम’बिचको सम्बन्धको सामान्य चर्चा गर्दै मुन्धुम अनुसार सर्वप्रथम ‘के’को निर्माताहरू: साप्री र लेम्ब्री नै हुन् र गायकहरू: साम्केलो केलो केवाफुङ, साम्केलो केलो साम्लोतिबा, साम्केलो केलो साम्लोअक्तबा, साम्केलो केलो साम्लोखाङलाङबा, साम्केलो केलो साम्लो फु?लुम्बा, साम्केलो केलो साम्लो पइनाबा नै हुन् भन्ने पुष्टि गरिएको छ । आफ्नै पृथक संरचनामा रहेको ‘केसाम’ गीत आठ अक्षरको मौलिक लिम्बू नृत्यगीत हो भन्ने समुचित निष्कर्ष निकालिएको छ । लिम्बू समुदायमा च्याब्रुङ नाच्दै सामुहिक रुपमा गाइने यस गीतमा मुन्धुमले निर्माण गरेको ‘स्कुल अफ थट’ वैश्विक दृष्टिकोणहरू व्यक्त गरिएका हुन्छन् । वस्तुतः केसाममा सृष्टि निर्माणको आख्यानदेखि जीवन जगतका विविध पक्षहरूको मार्मिक रुपमा व्याख्या विश्लेषण गरिएका हुन्छन् ।

शब्दकुञ्जी
के, के­लाङ, कुसरक्पा, काफेक्वा, साप्री, लेम्ब्री, केधिङ तेम्बे, साम्केलो केलो केवाफुङ, साम्केलो केलो साम्लोतिबा, साम्केलो केलो साम्लोअक्तबा, साम्केलो केलो साम्लोखाङलाङबा, साम्केलो केलो साम्लो फु?लुम्बा, साम्केलो केलो साम्लो पइनाबा, सरलै सर,

(स्रोत : शब्द सोपान)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.