~वासु शशी~
जब मलाई यो बताइयो कि हिँड्नाले मात्रै पुगिँदैन
तब मैले पुग्नुलाई छाडिदिए
र हिँड्नुलाई वरण गरे
त्यस दिनदेखि मेरा यात्रा र जीवन एउटै बने
मलाई थकाई लाग्न छाड्यो
मैले हतारिन छाडे ।
अब मलाई चिन्ता छैन
कि मैले हिँडेको जति सोरेर लगी कसैलाई बुझाउनु छ ।
अब मलाई चिन्ता छैन
कि पर गएर मैले कसैलाई भेट्नु छ ।
जुन ठाउँमा टेक्छु त्यहाँ मेरै मात्र खुट्टा हुनेछ-
आफआफैँमा पर्याप्त अब मेरा जानुहरू
नअड़न पर्ने भए मलाई-
अब छोटा मेरा बाटाहरू ।
अब हिँडन सिद्धिन्छ बाटैपिच्छे
बाटो टुङ्गिन्छ पाइलैपिच्छे ।
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )
