कविता : तिम्रो बूढा र म

~दीपक लोहनी~

तिम्रो बूढा मेरो घर आउँदै थिए ।
मैले झट्पट तिमीलाई थाहा दिएँ ।
तिमीले भन्यौ –
“मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।”
मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन ।
तसर्थ,
याद बल्झाइरहने फोटो फ्रेम हटाएँ ।
टेबुलमा पल्टिरहेका
प्रेमील कविताहरू लुकाएँ।
सम्झना टिप्ने डायरी र पेन पन्छाएँ।
भित्तेपात्रो तिमीले नै दिएकी थियौ,
फ्रिजभित्रको क्याटबरी तिमीले नै थमाएकी थियौ।
मोबाइलको चार्जर तिमीले किनिदिएकी थियौ
-सबै लुकाएँ।

केही क्षणपछि तिम्रो बूढा
टुप्लुक्क मेरो घर आइपुगे ।
हामी गफियौँ ।
पियौँ ।
रमायौँ ।
३ घण्टापछि उनी फर्किए ।
तिम्रो बूढा फर्किसकेपछि
मैले आफूलाई ऐनामा हेरेँ।
तिमीले दिएको प्रेम त
मेरो अनुहारमा झुण्डिरहेको थियो ।
त्यो त लुकाउनै बिर्सेछु -धत् !!!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.