~धर्म सापकोटा राजु~
राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?”
“ह्या तिमी पनि के नचाहिने कुरा गर्या ? आज भ्यालेन्टाईन डे थाहा छैन ? बाहिर रमाईलो गर्दै होला नि साथीहरुसँग एकैछिनमा आईहाल्छ नि । ‘डन्ट वरी’” लोग्नेले खासै वास्ता गरेन ।
आमाको मन के मान्थ्यो ? एकचोटी बरन्डामा पुगी । टाढा सम्म हेरी कोही आउदै छ कि भनेर अनि फेरी आएर लोग्नेकै छेउमा बसी ।
“हैन किन आत्तिरा ? भनिहाले नि, ‘भ्यालेनटाइन डे’ मनाउदै होलान नी केटाकेटी मिलेर । एकछिनमा आईहाल्छ नि । हाम्रो पाला जस्तो हो र अचेल ? जमाना अर्कै भईसक्यो जमाना अनुसार चल्न सिक्नुपर्छ” लोग्नेले सम्झाउदै भन्यो ।
लोग्नेको कुराले कमला ढुक्क जस्तो त भई तर पनि मन भने कताकता पोलिरह्यो । एकछिनपछि कमलाको खट्पटी फेरी बढ्न थाल्यो ।
लोग्नेले सोध्यो – “हैन तिमी अझै किन आत्तिरहेकी ?”
कमलाले डराउदै भनि “छोरी पनि पो आईपुगेकी छैन अहिलेसम्म । “
“ह्वाट ?” लोग्ने सोफाबाट एक्कासी आगोमाथि बसेजसरी जुरक्क उठ्यो ।